हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी मौसम

मनसुनी वर्षामा परिवर्तन

पछिल्ला दुईदशकको वर्षाको चरित्र विश्लेषण गर्दा मनसुनको उदय, विस्तार र अस्त हुने सामान्य तालिकामै परिवर्तन आइसकेको त होइन भन्ने प्रश्न उब्जिएको छ।

ङमिन्द्र दाहाल

रामेश्वर बोहरा

लगातार तीन वर्ष भयो, नेपालमा सरदर भन्दा थोरै र कुसमयमा पानी परेर देशको प्रमुख कृषिबाली धानको उत्पादन प्रभावित भएको। गत वर्ष मनसुनमा इतिहास नै बन्ने खडेरी पर्‍योभने यसपालि मनसुनी वर्षा झण्डै एक महिना ढिलो शुरु भएर पनि सबैतिर सामान्य किसिमले पानी पर्नसकेको छैन। कतिपय पहाडी क्षेत्रमा सुख्खा भइरहँदा तराईमा बाढीले जनजीवन अस्तव्यस्त पारेको छ। साउनको दोस्रो सातादेखि महाभारतको उत्तरी क्षेत्रमा पनि झरी पर्न थालेपछि मात्र सबैतिर वर्षा लागेको अनुभव हुँदैछ।

पछिल्ला दुई दशकको वर्षाको प्रवृत्ति विश्लेषण गर्दा मनसुनको उदय, विस्तार र अस्त हुने सामान्य तालिका बदलिएको तथा पहिले–पहिले चार–पाँच दिनसम्म विभिन्न परिमाणमा पर्ने झरीलाई थोरै समय हुने घनघोर वर्षाले विस्थापित गर्दै गएको त होइन प्रश्न उब्जिएको छ। यी प्रश्नको प्रस्ट उत्तर दिन सकिने पर्याप्त अध्ययन भइसकेको त छैन, तर छनक भने आइसकेको छ। केही घटनाहरू हेरौं।

गत वर्ष बाँके–बर्दियामा खडेरीग्रस्त क्षेत्रको क्षति आकलन गर्न काठमाडौँबाट गएको सरकारी टोली नेपालगन्ज विमानस्थलमा पुग्दा त्यो क्षेत्र बाढीग्रस्त भइसकेको थियो। मनसुनी झरीको सिमसिमे पानी आश गरिरहेका किसानहरू एक्कासी बाढी आउँदा झन् आहत भएका खबर हिमाल मै प्रकाशित भएको थियो।
असारमा बाग्लुङलगायत केही पहाडी जिल्लामा भएको घनघोर वर्षापछिको भलपहिरोमा परेर ५० जनाको ज्यान जाँदा देशका कैयौँ क्षेत्रमा पानी नपरेर रोपाइँ हुनसकेको थिएन। साउनको दोस्रो सातादेखि भएको घनघोर वर्षाले सम्पूर्ण तराई जलमग्न पारेको छ।
हिउँदे झरीले पार्ने हिउँ नै पानीको मुख्य स्रोत हुने गरेको मनाङ, मुस्ताङलगायतका हिमाली भेगका बासिन्दाले हिउँदे झरी घट्दै र वर्षामा पर्ने पानी बढ्दै गएको अनुभव गर्न थालेका छन्। यसले गर्दा माटोबाट बनाइएका र छानो समेत माटोकै हालिएका परम्परागत घरहरू भत्किन थालेका छन्।

जल तथा मौसम विज्ञान विभागको देशभर छरिएका करिब ४०० 'रेनगज' (वर्षा नाप्ने उपकरण) बाट प्राप्त आँकडाले पनि मनसुनी वर्षाको बदलिँदो सङ्केत बुझ्न केही सघाउ पुर्‍याउँछन्। यद्यपि तीमध्ये अधिकांश आँकडा २४ घण्टामा परेको पानीको आधारमा तयार पारिने र जति घण्टा वर्षा भएपनि त्यो २४ घण्टामै परेको मानिनेहुनाले त्यसबाट वर्षाको वास्तविक समयावधि एवं वेग थाहा पाउन सकिँदैन। तर किसान र पानी व्यवस्थापनमा संलग्न मानिसहरूलाई पानी कति पर्‍यो भन्दा पनि कसरी पर्‍यो भन्ने प्रश्नको उत्तर चाहिएको हुन्छ।

आँकडा विश्लेषणको अर्को विधि हो– महिनामा वर्षा हुने दिनगन्ती। कुन महिनामा सरदर कति दिन वर्षा हुन्छ भन्ने कुरा लामो समयको आँकडाबाट थाहा हुन्छ। यसरी हेर्दा पहिलेका दशकहरूमा भन्दा पछिल्ला दशकमा थोरै दिन पानी पर्ने गरेको पाइन्छ, यद्यपि कुनै महिनाको वर्षा त्यो महिनाको सरदर वा त्योभन्दा बढी पनि हुन सक्छ। यो राम्रो सङ्केत होइन।

सिमसिमे झरीले बालीनालीलाई फाइदा पुर्‍याउनुका साथै भूमिगत जलभण्डार भर्न ठूलो भूमिका निर्बाह गर्छ। मध्य–पहाड र तराईको सिमसिमे झरीको स्थान मुसलधारे वर्षाले लिन थालेको खण्डमा त्यसले कृषिबाली र पानी आपूर्तिमा प्रतिकूल प्रभाव पार्नुका साथै भलपहिरो र बाढी–डुवानको समस्या उत्पन्न गर्छ। घनघोर वर्षा हुँदा उत्पन्न हुने अर्को समस्या कुनै ठाउँको सानो क्षेत्रमा ज्यादै बढी र वरिपरिको ठूलो क्षेत्रमा कम पानी पर्नु वा पानी नै नपरी सुख्खा हुनु पनि हो। यो अवस्था महादेश, देश, क्षेत्र, नगर र गाउँ क्षेत्रसम्मै हुनसक्छ।

अहिले दक्षिण–पूर्वी युरोपमा गर्मी र तातो हावाले सयौँको ज्यान लिइरहेको बेला उत्तरी युरोपमा बेलायतका जनता भीषण बाढी झेलिरहेका छन्। चीन र भारतमा कुनै ठाउँ बाढीग्रस्त त कुनै सुख्खाग्रस्त छन्। गएको वर्ष नेपालमा खडेरी परिरहँदा भारतको बिहार, बङ्गाल र आसाममा भीषण वर्षा भएको थियो। यसपाली पनि यस्तै प्रवृत्ति दोहोरिएको छ।

नेपालमै पनि, साउनको पहिलो सातासम्म भारी वर्षाका कारण महाभारत दक्षिणको भू―भागमा बाढीको समस्या उत्पन्न भइरहेको बेला मध्य–पहाडका किसानहरू वर्षाको अभाव झेलिरहेका थिए। साउनको दोस्रो सातादेखि सम्पूर्ण पहाडी क्षेत्रमा वर्षेझरीले राहत दिन शुरु गर्दा तराईमा अति वर्षाले बाढी र डुबानको कहालीलाग्दो समस्या उत्पन्न गरिरहेको छ।

कारण जे भएपनि जनजीवनलाई तुरुन्त अस्तव्यस्त पार्नसक्ने यी घटना आउँदा वर्षहरूमा झन् कठिन हुनसक्छन्। यस्तो प्रवृत्तिबाट मनसुनी वर्षाको सन्तुलनमा टिकेको हाम्रो खाद्य–सुरक्षा र वातावरण प्रणाली सङ्कटमा पर्नथाल्नु स्वाभाविकै हो। परम्परागत पात्रोमा उल्लिखित तिथिमिति भन्दा हप्तौँपछि मनसुन शुरु हुनथालेको र पूर्ण सक्रिय हुन अझ ढिलो हुने गरेकोले किसानले यो परिवर्तनसँग मिल्ने गरी वाली–चक्र नै बदल्नुपर्ने अवस्था आएको छ।

मौसम विज्ञान विभागमा उपलब्ध आँकडालाई नेपाली पात्रोमा ढालेर महिनाको सरदर वर्षा, पछिल्ला दशकको वर्षा, खडेरी चक्रको स्वरुप र भौगोलिक क्षेत्र, समयावधि तथा घनत्वको हिसाबले तिनको दोहोरिने अवस्था, आदिका बारेमा थप विश्लेषण हुनसके किसान र पानी व्यवस्थापकलाई निर्णय गर्न सजिलो हुनेछ। मौसमी आँकडालाई दिनको सट्टा घण्टा―घण्टामा टिपोट गरेर त्यसको विश्लेषण गर्न सके यसमा अझ ठूलो फड्को मार्न सकिन्छ। आखिर सबै आँकडा कम्प्युटर अर्थात् डिजिटल स्वरुपमा नै राखिने हुनाले यसमा सुधार गर्न त्यति कठिनाई नहुनुपर्ने हो।