हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

सफलतापछिका चुनौती

अपेक्षा गरिए भन्दा उत्कृष्ट ठहरिएको एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शनलाई खस्कन नदिनु नेपाली महिला क्रिकेटको चुनौती बनेको छ।

रामेश्वर बोहरा
नेपालगञ्जको विजय जुलुशमा खेलाडीहरु (बीचमा लेखबहादुर क्षेत्री)।

११–१८ जुलाईसम्म मलेशियामा सञ्चालित एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपाली किशोरीहरूको उत्कृष्ट प्रदर्शनले क्रिकेटमा नेपालको राम्रो सम्भावनालाई फेरी प्रष्ट पारेको छ। तर, यो सफलतासँगै समयक्रममा खेलस्तर खस्कँदै जाने नेपाली क्रिकेटको तीतो अनुभवले महिला क्रिकेट पनि त्यही बाटोमा जाने त होइन भन्ने आशङ्का पनि छ।

 

अन्तर्राष्ट्रिय मैदानमा पहिलोपटक पाइला टेकेका किशोरी क्रिकेटरको अनपेक्षित खेलप्रदर्शन र त्यसको नतिजा प्रशंसा गर्नलायक थियो। “सहभागिता नै ठूलो कुरा” भन्दै सेमिफाइनलसम्म पुग्ने लक्ष्य बोकेको टोली फाइनलसम्मै पुग्यो तर फाइनलमा अनुभवी बङ्गलादेशसँग पराजय भोग्नुपर्‍यो। नेपालमा महिला क्रिकेटको सुरुआत गर्ने पहल गरेका नेपाल क्रिकेट संघ (क्यान) का सदस्य लेखबहादुर क्षेत्री भन्छन्, “फाइनलसम्म पुग्नु ठूलै सफलता हो।”

नेपालमा पुरुष क्रिकेटको इतिहास खोतल्ने हो भने महिला क्रिकेटजस्तै आशावादी हुने ठाउँ धेरै थियो। नेपाली जुिनयर टिम पहिलोपटक सहभागी भएको सिङ्गापुरमा सन् १९९९ मा सम्पन्न एसीसी अण्डर–१९ प्रतियोगितामा उपविजेता, त्यसको दुई वर्षपछि नेपालमा, सन् २००३ मा पाकिस्तान र सन् २००५ मा नेपालमै आयोजित प्रतियोगिताको विजेता बनेको थियो। अण्डर–१९ टिम एसीसीमा तीनपल्ट विजेता बन्दै हरेकपल्ट फाइनलसम्मको यात्रा तय गर्न सफल रह्यो। तर, त्यसैबाट बनेको सिनियर टोली भने सेमिफाइनलभन्दा माथि उठ्न सकेन। सन् २००३ मा मात्रै नेपाली टिम फाइनलसम्म पुगेर युएईसँग पराजित भएको थियो।

पवित्रा राउत
सेमिफाइनलमा चीनलाई पराजित गरेपछिको उत्साह ।

जुनियर टिमले राम्रो खेल प्रदर्शन गर्दै सफलता हात पार्ने तर त्यही टोली सिनियरमा पुगेपछि पाखा लाग्ने नेपाली क्रिकेटको नियति नै बनेको देखिन्छ। महिला क्रिकेटले पनि त्यस्तै नियति भोग्नु नपरोस् भन्नेतर्फ मलेसिया सफलताले हौसिएका क्यान पदाधिकारी र खेलाडीसमेतले सोच्नैपर्ने हुन्छ। हङकङ, चीन र मलेसियासँग तुलनात्मक रूपले राम्रो खेल प्रदर्शन गरेपनि अनुभवी बङ्गलादेशसँग सस्तैमा समेटिएको अनुभवलाई नेपालले आफ्नो खेलस्तर सुधार्ने राम्रो पाठका रूपमा लिनुपर्ने देखिन्छ। कप्तान नेरी थापाकै अनुभवमा, अनुभवी टोलीसँग मुकाबिला गर्न त्यति सजिलो रहेनछ। “हाम्रो बलिङ लाइन राम्रो थियो” नेरी भन्छिन् “तर व्याटिङ भने अझै सुधि्रएको छैन।”
यसपालि उपविजेता बनेपछि अर्को प्रतियोगितामा नेपाली टिमको लक्ष्य विजयकै हुनेछ तर, अहिलेकै अवस्थामा लक्ष्य पछ्याउन सहज छैन।

योपल्ट कमजोर प्रदर्शन गरेका टिम अर्कोपल्ट खेलस्तर सुधारेरै आउने चुनौती र आफ्नो खेलस्तर पनि सुधार्नै पर्ने बाध्यता एकसाथ छ। नेपाली किशोरीले राम्रो खेलप्रदर्शन गरेको ठान्ने दुईपल्ट अण्डर–१९ टिमको नेतृत्व गरेका नेपाली क्रिकेट टोली कप्तान विनोद दास भन्छन् “बढीभन्दा बढी अभ्यास गरी खेलस्तर सुधार्नैपर्छ, अहिलेकै अवस्थामा भिडन गाह्रो हुनेछ।” जुनियर टिममा हुँदा मरिमेटेर खेल्ने र सिनियर भएपछि करिअरको समेत चिन्ता बढ्ने हुँदा खेलस्तर खस्कने गरेको अनुभव सुनाउँदै उनी भन्छन् “नेपाली क्रिकेटरले व्यावसायिक रूपमै खेल्ने अवस्था नआएसम्म यो स्थिति रहिरहन्छ।”

तीन वर्षअघि नेपालगन्जबाट क्रिकेटको सामान्य अभ्यास थालेका किशोरीहरु नै अहिले राष्ट्रिय टिम धान्ने महिला क्रिकेटर बन्न पुगेका छन्, त्यो पनि सिनियर टिमकै। यसपालि मलेसिया जानुभन्दा १० दिन अघिमात्र टिम छनौट गरी एकसाता लामो प्रशिक्षणका भरमा नेपाली महिला क्रिकेट टोली प्रतियोगितामा सहभागी भएको थियो। आउँदो दिनमा महिला क्रिकेटलाई पुरुषकै नियतिमा नपुर्‍याउने हो भने अर्को प्रतियोगिताको मुखैमा होइन, अहिलेदेखि नै खेलमा अभ्यस्त बनाउन शुरु गर्नुपर्छ। नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष विनयराज पाण्डे पनि महिला क्रिकेटरहरूको यो सफलतालाई निरन्तरता दिनुलाई नै मुख्य चुनौती ठान्छन्। उनी भन्छन्, “बधाई दिएर मात्र पुग्दैन, उनीहरुलाई मुलुककै गौरव ठानेर राज्यले पूर्वाधार निर्माण, खेल सामग्री साथै खेल्ने उचित वातावरण बनाउन पहल गर्नुपर्छ।”

रामेश्वर बोहरा