| •
ऋतुराज |
 |
ऋतुविचार
सेतो हात्ती
हात्ती
गजबकै प्राणी हो। यति ठूलो ज्यान भएको अर्को थलचर संसारमा छैन। कज्याउन
र पाल्न सकियो भने हात्तीले काम पनि गजबकै गर्न सक्छ। नेपालमा हात्तीलाई
मानिसको सवारीका रूपमा मात्र प्रयोग गरिन्छ। तर अन्यत्र हात्तीलाई
भारी बोकाउने, रूखका मुढा ओसारपसार गराउने काममा लगाउँछन्।
एसियामा पाइने हात्तीलाई एसियाली हात्ती भन्दछन्, अफ्रिकामा
पाइने हात्तीलाई अफ्रिकाली हात्ती। यी दुवैथरी काला–खैरा रङका हुन्छन्।
यीबाहेक अर्को थरीको हात्ती पनि हुन्छ। त्यो हो सेतो–हात्ती। यो यस्तो
हात्ती हो जो संसारको जुनसुकै भागमा र जुनसुकै ठाउँमा पाइन्छ। यो त्यस्तो
हात्ती हो जसले खाने काम बाहेक अरू केही काम गर्दैन। यसले हसुर्छ मात्र
बदलामा केही दिँदैन।
 |
| मीन बज्राचायर् |
अचेलभरी काठमाडौँ र देशका अन्य भागमा अङ्ग्रेजीका दुई
अक्षर 'यू.एन.' लेखिएका सेता रङका बडेबडे गाडीहरू गुडेका देख्दा त्यही
काल्पनिक सेतो–हात्तीको अनायास याद आउँछ।
एक हात चौडाइका टायर भएका दुई/तीन हजार सी.सी.का ती
गाडीका अघिल्तिर हात्तीको झैँ एउटा सुँड हुन्छ। त्यसलाई कहिलेकाहीँ
टुप्पामा बटारेर पछिल्तिर बाँधिएको हुन्छ। त्यो हेर्दा हात्तीले सुँडलाई
बटारेर आफ्नो शिरमा अड्याएको जस्तै देखिन्छ। गाडीका कारणले मात्र होइन
त्यस संस्थाको काम गर्ने तौरतरिकाले गर्दा त्यो संस्था आफैँ पनि सेतो–हात्ती
प्रतीत हुन्छ।
पहिलेपहिले त्यसको अङ्ग्रेजीमा छोटकरी नाम यू.एन.ओ.
हुने गर्थ्यो। कसै कसैले त्यसलाई 'यू नो' भन्ने गर्थे र अगाडिको 'यू'
बिर्सिदिए त्यो केवल 'नो' पनि हुन जान्थ्यो। त्यसै भएर हो कि केही
समययता पछिल्तिरको 'ओ' हटाइएको छ र अङ्ग्रेजीका केवल दुई वर्ण 'यू'
र 'एन' मात्र प्रयोग हुने गरेको छ। त्यसलाई पनि कसैले 'अन्' र कसैले
'उन्' भनी उच्चारण गर्छन्। अ्रग्रेजीका ती दुई वर्ण कुनै अंग्रेजी
शब्दको अघिल्तिर राखे त्यो नकारात्मक अर्थ दिने उपसर्ग बन्न जान्छ।
जे होस्, त्यस्तो नाम भएको अन्तर्राष्ट्रिय संस्था नेपालमा
भित्रिएको छ यहाँको झगडा छिनाउने काममा सहयोग गर्न भनेर। झगडियाहरूले
आइदिनोस् हामी आफैँ मिल्न सक्तैनौँ भनेर अनुनय–विनय गरे। ऊ ढ्याङ्
लाएर आइदियो आफ्ना लावालस्कर र असबाब लिएर। अहिले काठमाडौँका साँघुरा
सडक गुड्ने गाडीहरू त्यही असबाबको एक अंश हुन्। अझै आउँदैछन् त्यस्ता
गाडी ताँतीका ताँती। किनभने उनका हरेक अफिसरलाई जनही भनेजस्तो गाडी
हुनुपर्छ। एउटा अफिसरका लागि तोकिएको गाडीमा अर्को अफिसर जानुहुँदैन,
जाने ठाउँ एउटै भए पनि।
नेपाली नागरिकले भलै पेट्रोल–डिजेल नपाउन् उनका गाडीका
ट्याङ्की पहिले भरि दिनै पर्यो। आफ्नै अफिसहरूलाई ठाउँ पुगेको छैन,
तर उनीहरूलाई जसरी भए नि ठाउँ निकाल्नै पर्यो। आफैँलाई जहाज अपुग
छ, उनीहरूले चार्टर माग्नेवित्तिकै दिनैपर्यो। फोनको लाइन नेपालीलाई
नै नपुग्दो छ, तर उनीहरूलाई छिट्टै लाइन पुर्याउनै पर्यो। उनीहरूका
लागि भन्सार छूट, कर छूट के के छूट पनि दिनैपर्यो। जे जे माग्छन्
खुरुक्क लगाएर दिनपर्यो, त्यो पनि प्राथमिकताका साथ।
झगडा मिलाउन अहिले आएका साहेबहरू त गैरसैनिक छन्। उस्तै
परे त्यस संस्थाको झण्डामुनि नीलो टोपी लाउने सैनिकहरू नै आउन बेर
छैन। धेरै देशमा गएको छ त्यस्तो सेना। तर उनीहरू हुँदैमा शान्तिवहाल
हुन्छ, देशमा खुसहाल छाउँछ भन्ने कुराको ग्यारेन्टी छैन। कति देशमा
दशकौँदेखि बसेका बस्यै छन्।
एउटा मन भड्किन्छ र भन्छ किन चाहियो यस्तो सेतो हात्ती
हामीलाई? अर्को मन थुम्थुम्याउँछ र भन्छ देशभित्रै सेत्ता हात्ती धेरै
छन् के फरक पर्यो एउटा अर्को सेतो हात्ती बाहिरबाट भित्र्याउँदा हामीलाई?
रेमिङ्गटन युग
एउटा बेला थियो, जागिरका लागि जहाँ दरखास्त हाले पनि
प्रश्न एउटै हुन्थ्यो– 'टाइप हान्न आउँछ?' टाइप हान्न नजाने त नोकरी
नै नपाइने। हुन पनि टाइपराइटरबिना उसबेला कुनै अफिसको कारोबार नचल्ने।
देश–विदेशमा पत्राचारका लागि टाइपराइटर नै चाहिने।
ोटोकपी मेसिन आइपुगेको थिएन। सक्कल कागजको धेरै नक्कल
प्रति चाहिएमा कार्बन राखेर टाइपराइटरमै ठोक्नुपर्ने। त्यस्तो रेमिङ्गटन
टाइपराइटर युगको मान्छे परियो आफू, तर अचेल काम गर्न परिरहेछ चारैतिर
कम्प्युटरको जालो (नेटवर्किङ भन्छन् नि!) भएको वातावरणमा। कम्प्युटर
कामका लागि हो या कम्प्युटर आफैँमा एउटा काम हो, अझै बुझ्न सकेको छैन
यस बोधो दिमागको धनीले।
जुन अफिसमा जाउँ कम्प्युटर छ। हरेकको टेबुलमा कम्प्युटर
हुन्छ जसरी उहिले टाइपराइटर हुने गर्थ्यो। जो कोही किबोर्डमा औँला
चलाएर कम्प्युटरको पर्दामा आँखा गडाएर बसिरहेका पाइन्छन्। त्यसरी बस्नेले
साँच्ची नै काम गरेको हो या हेर्नेलाई भान पारेको हो त्यो भन्न गाह्रो
छ। कोही कम्प्युटरमा तासको जोखना हेरेर पनि बसिरहेको हुन सक्छ या विभिन्न
खेलहरू खेलिरहेको हुन सक्छ।
कोही साथीसंगीसित 'अनलाइन च्याट' मा व्यस्त हुनसक्छ
या इन्टरनेटमा चाहिँदो–नचाहिँदो साइट चहारिरहेको हुनसक्छ। अथवा 'फोटोसप'
मा नानाभाँती आकृति कोरेर बसेको हुनसक्छ। तर परबाट हेर्दा त कम्प्युटर
चलाउने व्यक्ति काममा तल्लीन र मग्न देखिन सक्छ।
हतारमा कुनै काम लिन खोज्यो कम्प्युटर कहिले 'डाउन'
हुन्छ, कहिले 'ह्याङ्' हुन्छ, कहिले 'नेटवर्क' बिग्रिएको हुन्छ। कहिले
कम्प्युटरमा 'भाइरस' पसेर उत्पात हुन्छ। कहिलेकाहीँ त कम्प्युटर नै
'क्य्रास' भएर भएभरको काम स्वाहा हुन्छ। यो हेरी त उही टाइपराइटर नै
कता हो कता बेस थियो। के काम हुँदैछ प्रस्टसित देख्न र टाढैबाट सुन्न
सकिने। बिजुली हुँदा नहुँदा फरक नपर्ने। भाइरस नलाग्ने, क्य्रास नहुने।
कति मानिस छन् एक्काइसौँ शताब्दीको नेपालमा आएको लोकतन्त्रभन्दा
बीसौँ शताब्दीको पञ्चायती व्यवस्था नै ठीक थियो भन्ने। कति त त्यसभन्दा
पर्तिर गएर राणायुगमै बरु अमनचयन थियो भन्छन्।
त्यसैगरी आफूलाई पनि कम्प्युटरको झैझञ्झट देखेर रेमिङ्गटन
टाइपराइटरको युग नै पो ठीक जस्तो लाग्न थालेको छ। आफ्नो सानो दिमागले
'डिजिटल क्रान्ति' थेग्न नसकेर हो कि यसो भएको?
|