हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ–रिपोर्ट यार्सागुम्बा

बदलिँदैछ जीवनशैली

हिमाली भेगमा पाइने यार्सागुम्बा सामान्य औषधि मात्र नरही त्यस क्षेत्रका बासिन्दाको जीविकोपार्जनको आधारसमेत बन्न पुगेको छ।

रवि धामी, दुधिवन, दार्चुलामा

सिजनमा २० हजार मानिस यार्सा खोज्न लेक पस्छन्।

यार्सागुम्बा टिप्नेहरूको समाचार सङ्कलन गर्न दार्चुलाको उत्तरी गाविस खण्डेश्वरी पुग्दा यो क्षेत्र उनीहरूका लागि वरदान झैँ लाग्दथ्यो भने सँगसँगै यस भेगका बासिन्दाले उठाएको जोखिम र व्यहोरेको दुःख–कष्ट देख्दा अत्यास पनि हुन्थ्यो। सदरमुकाम खलङ्गाबाट चार दिन हिँड्नुपर्ने खण्डेश्वरी विगतमा भोकमरीग्रस्त गाउँको रूपमा चिनिन्थ्यो। तर, अहिले अवस्था फेरिएको छ। कुनै बेला साँझ–बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता हुने गाविसका ९० प्रतिशत घरमा सोलार प्यानल, डिस एन्टिना र रङ्गीन टेलिभिजन छन्। जीवन निर्वाहको दरिलो स्रोत बनेको यार्सागुम्बा (स्थानीय भाषामा यार्सा) बारे नरबहादुर ठेकरे भन्छन्, “वैशाखको अन्तिमसातादेखि असार १५ सम्म डेढ–दुई महिनाको सिजनमा लेकमा बसेर यार्सा टिपेपछि वर्ष सजिलोसँग कट्छ।”

दार्चुलाकै राप्ला गाविसका बासिन्दाको जीवनमा पनि यार्साले ठूलो परिवर्तन ल्याएको छ। यार्सा टिप्न जान थालेपछि १० वर्षअघिसम्म रोजगारीको अभावमा कुल्ली काम खोज्दै भारत पस्ने स्थानीय युवाहरूको भारत पलायन हुने क्रम घट्दै गएको छ। उल्टो विभिन्न ठाउँमा जागिर खाएर बसेकाहरू समेत सिजनको बेला विदा लिएर घर आउँछन्। राजधानीको दरबारमार्ग प्रहरी वृत्तमा काम गर्ने राप्ला, दुम्लिङ्गका हवल्दार करनसिंह बुढाथोकी यार्सा टिप्ने बेला नै पारेर यसपालि घर आएका थिए। २ जेठमा दुधिवनमा भेटिएका बुढाथोकीले भने, “राम्रो आम्दानी हुनेभएकाले अब कसैले पनि यार्सालाई बेवास्ता गर्न सक्दैन। राम्रो पैसा आउँछ भने परिश्रम किन नगर्ने?” खण्डेश्वरी र राप्लाजस्तै दार्चुलाको उत्तरी क्षेत्रका हुति, ब्याँस, घुसा, गुल्जर, तपोवन, सुनसेरा, सित्तोला गाविसमा यार्सा पाइन्छ। यसबाहेक नेपालका बझाङ्ग, डोल्पा, हुम्ला, मुगु, मुस्ताङ्ग, रसुवालगायतका जिल्लामा पनि यार्सागुम्बा सङ्कलन गरिन्छ।

समुद्री सतहबाट ३५०० देखि ५५०० मिटर उचाइको ६ महिना हिउँ पर्ने र वर्षायाममा पग्लने क्षेत्रको आसपासमा पाइने यार्सागुम्बा सङ्कलन गर्ने मुख्य सिजन वैशाखको अन्तिम सातादेखि असार मध्यसम्म हो। ढुसी परिवारको वनस्पति यार्सागुम्बा वर्षा शुरु हुनुअघि पुतलीको लार्भाको अगाडिपट्टिको भागमा उमि्रन्छ। धार्मिक ग्रन्थहरूमा उल्लिखित सञ्जीवनी बुटी भनेको पनि यार्सागुम्बा नै हो भन्ने कतिपय मानिसहरूको भनाइ छ। करिब दुई हजार वर्षदेखि चिनियाँहरूले यसलाई शक्तिवर्द्धक औषधिका रूपमा प्रयोग गर्दै आइरहेका छन्। यार्सागुम्बाको अध्ययनमा लागेका दार्चुलाका जिल्ला वन अधिकृत (जिवअ) कृष्णदत्त भट्ट यार्सागुम्बाको सामान्य जानकारी भएपनि यसको पूर्ण जीवनचक्र, प्रजनन प्रणालीबारे अझै अध्ययन भइनसकेको बताउँछन्।

जिवअ भट्ट यार्सागुम्बा बहुपोषक वनस्पति भएकाले यसलाई शक्तिवर्द्धक र रगत बढाउने औषधिका रूपमा प्रयोग गरिने बताउँछन्। उनका अनुसार, यस भेगको प्रमुख बजार चीनमा यार्सालाई स्मरणशक्ति र यौनशक्ति बढाउने, हातखुट्टाको जोर्नी दुखेको ठीक पार्ने, हेपाटाइटिस 'बी', क्षयरोग, खोकी, मुटु र रगतसम्बन्धी रोगहरू निको पार्ने औषधिको रूपमा प्रयोग गरिन्छ। नेपाल हर्बल उत्पादक संघद्वारा प्रकाशित यार्सागुम्बा भन्ने किताबमा सन् १९८२ मा चिकित्साशास्त्रसम्बन्धी चिनियाँ प्रतिष्ठानले यार्साको प्रयोग गरेर उत्पादन गरेको 'जिनसुई वाओ' नामको क्याप्सुल थकाइ, नपुंसकता र कमजोरी हटाउन लाभदायी भएको उल्लेख छ।

बजार पनि मूल्य पनि

दार्चुलामा यार्सागुम्बा उत्तरी भेगका दुधिवन, मुन्नी तिनछडे, शिवनन्था, हुमदुम्ती, गलगस्या, स्याङ्पा, वयली, लोलु, सत्संगा, चाइमटेला, फाफुलगायतका लेकहरूमा पाइन्छ। सिजनमा ती लेकहरूमा २० हजार जति मानिसले १० देखि १५ क्विन्टल यार्सागुम्बा सङ्कलन गर्ने गरेको अनुमान छ। जिल्ला वन कार्यालय (जिवका), दार्चुलाको एक अध्ययनले यो वर्ष १३ हजार स्थानीय बासिन्दाले नौ क्विन्टल यार्सा सङ्कलन गरेको देखाएको छ।

यसरी सङ्कलित यार्सागुम्बा दार्चुलाको तिंकर नाकाबाट चीनको ताक्लाकोट, ल्हासा हुँदै बेइजिङ्ग पुग्दा यसको मूल्य कैयौँ गुणा बढ्दै जान्छ। तर, दुःख गरेर सङ्कलन गर्ने दार्चुलावासीहरू बेइजिङको त कुरै छाडौँ, त्यहीँ ताक्लाकोटको बजारसम्म पनि पुग्न सक्दैनन्र गाउँमै आउने दलालहरूसँग मोलमोलाइ गरेर ताक्लाकोटको भन्दा आधा मोलमा बेच्छन्। यो वर्ष दार्चुलाका गाउँमा यार्सागुम्बाको मूल्य किलोको रु.४ लाखदेखि ४ लाख ५० हजारसम्म छ भने ताक्लाकोटमा झण्डै दोब्बर, करिब रु.८ लाख रहेको अनुमान छ (हेर्नुस् तालिका)।
दुर्गम लेकमा डेढ–दुई महिना कठोर परिश्रम गरेर सङ्कलन गरिने यार्सा कम मोलमा बेच्नुपरेकोमा निराश राप्ला–७ का मोहनलाल धामी भन्छन्, “सरकारले नै यार्सागुम्बा खरिद–बिक्री गर्ने व्यवस्था मिलाएमा सङ्कलकहरू मारमा पर्ने थिएनन् र सरकारलाई पनि फाइदा हुन्थ्यो।” लेकबाट टिपेर सङ्कलकहरूले गाउँमा लैजाने यार्सागुम्बा त्यहाँबाट दलालहरूले खरिद गरेर दार्चुलाको छाङरु वा चीनको ताक्लाकोट पुर्‍याई तिब्बती व्यापारीहरूलाई बेच्ने गर्दछन्। व्यापारी चक्रसिंह ह्याँकी ताक्लाकोटबाट ल्हासा हुँदै बेइजिङ्गसम्म पुर्‍याइने यार्सागुम्बालाई त्यहाँ स–साना प्याकेटमा हालेर बेचिने बताउँछन्।

सरकारले यार्सागुम्बाको सम्पूर्ण कारोबारलाई आफ्नो दायरामा समेट्न नसकेकोले नगण्य राजस्व मात्र उठाउन सकेको छ। वर्षको १०–१५ क्विण्टल यार्सा निकासी हुने दार्चुलामा जिवकाको रेकर्डले गएको आर्थिक वर्षमा ७२ किलो मात्रै निकासी भएको देखाउँछ। यो वर्षको २ साउनसम्म २२ किलोको मात्रै राजस्व उठेको छ। यार्सागुम्बाको प्रतिकिलो निकासी कर रु.१० हजार तोकिएको छ। जिवअ कृष्णदत्त भट्ट भन्छन्, “व्यवस्थित गर्न सके दार्चुलामा मात्रै यार्सागुम्बाबाट वार्षिक रु.१ करोड हाराहारी राजस्व सङ्कलन हुनसक्छ।” विगतमा तिंकर नाकामा सुरक्षाकर्मी र भन्सार कर्मचारी थिएनन्। यो वर्ष प्रहरी पुगिसके पनि महाकाली भन्सार कार्यालय झुलाघाटमा कर्मचारी नभएकाले भन्सार अझै बस्न सकेको छैन।

सानो छैन जोखिम

यार्सागुम्बा टिप्नेहरूले ठूलो जोखिम उठाउनुपर्दछ। यार्सा टिप्न जाँदा १७ जेठ बिहान दार्चुला, गुल्जरका बलदेवसिंह ठगुन्नाको हिउँमा चिप्लिएर दाहिने खुट्टा भाँच्चियो। १५ जेठ ०६४ मा भएको भारी हिमपातले धेरैलाई बिचल्लीमा पार्‍यो। कतिबेला हिउँपहिरोमा परिन्छ भन्ने ठेगान हुँदैन। २९ वैशाखमा खण्डेश्वरी गाविसकी १३ वर्षीया कौशल्या कार्की हिमपहिरोबाट बच्न भाग्दा ढुङ्गामा च्यापिइन्। ०६३ जेठमा खण्डेश्वरीका १९ वर्षीय मुकेश ठेकरेको दाहिने खुट्टा काट्नु पर्‍यो।

बाटोघाटो असजिलो छ, खानेपानी पाइँदैन। राप्ला गाविसको कल्जु गाउँबाट दुधिवन पुग्ने १८ घण्टाको उकालो बाटोमा कहीँ पानी भेटिँदैन। ठाउँठाउँमा महाकाली नदी वारपार गर्नु अर्को ठूलो जोखिम छ। काठका साँघु र भर्‍याङ्गहरू प्रयोग गर्दा चिप्लेर ज्यान जान सक्छ। दार्चुलाका सञ्चारकर्मी विक्रम गिरीले गएको वर्ष दुधिवन जाँदा बाटो बिर्सेर एक रात खुला आकाशमुनि बिताएका थिए। गिरी भन्छन्, “बाँच्ने आशा मारिसकेको थिएँ।”

जुनसुकै बेला खतरामा परिने डर भएपनि वैशाखको अन्तिम सातादेखि असार मध्यसम्म हिमाली क्षेत्रका लेकहरूमा मान्छेको ठूलो जमघट हुन्छ। डेढ–दुई महिनासम्म उनीहरू हिमाली लेकमा डेरा जमाएर बस्छन्। सदरमुकाम खलङ्गाबाट दुधिवन लेकमा सामान ढुवानी गर्न मात्रै प्रतिकिलो रु.४२ भाडा लाग्छ। त्यसैले त्यहाँ जाँदा बचेको रसदपानी र लेकमा प्रयोग हुने पालहरू फर्किँदा जमिनमुनि गाड्ने गरिन्छ।

गुरु–चेला सबै
किन यति मरिहत्ते? राप्ला गाविसका पूर्व अध्यक्ष चक्रसिंह बुढाथोकीसँग जवाफ हाजिर छ, “सिजनमा यार्सा टिप्न नगए चुलोमा आगो बल्दैन। आफ्नो पाखाबारीेको अन्नले तीन महिना पनि नपुगेर भोकभोकै बस्नु पर्दथ्यो। यार्साले गर्दा अचेल वर्षभरी खानलाउन र छोराछोरीलाई स्कूल पढाउन पुगेको छ।” ०४८ सालदेखि यार्सागुम्बा सङ्कलन गर्दै आइरहेका राप्लाका जसपाल भण्डारीलाई पटकपटक दुर्घटनामा परे पनि अहिलेसम्म केही भएको छैन। पाँच वर्षअघि हिउँपहिरोबाट बल्ल–बल्ल जोगिएका उनी भन्छन्, “हामी त हिउँ पहिरोको चाल पाउनेवित्तिकै भागिहाल्छौँ, बच्चाहरू सङ्कटमा पर्छन्।”

भण्डारीले बच्चाहरूको समस्या देखाए पनि सिजनमा स्कूलै छोडेर यार्सागुम्बा टिप्न लेकमा पुग्छन् केटाकेटीहरू। राप्लाको दुम्लिङ्ग प्रावि यही कारण विद्यार्थी स्कूल नआएकाले वैशाखको अन्तिम सातादेखि असार मध्यसम्म बन्दै भयो। विद्यार्थी नभएपछि के काम भन्दै शिक्षक/शिक्षिका पनि लेकतिरै लागे। दुम्लिङ्ग प्राविकी शिक्षिका सरोजनी बुढाथोकी पनि दुधिवनमै भेटिएकी थिइन्।

यार्सागुम्बाको मोल (प्रति केजी रु. हजारमा)
वर्ष
दुम्लिङ्ग दार्चुला
ताक्लाकोट चीन
२०५१
४.८
६०
२०५३
१६
७०
२०५५
३२
८०
२०५७
८०
१००
२०५९
१०७
१३०
२०६१
११६
२२०
२०६३
१७०
५५०
२०६४
४५०
८००

स्रोत : संकलनकर्ता, दलाल र व्यापारीहरू