रिपोर्ट संविधानसभामा साना दल
बाबुलाई 'साइकल' 'भकुण्डो'
छोरालाई
संविधानसभा निर्वाचनमा भाग लिन थरीथरीका दल
अघि सरेका छन्। बाबु–छोराले नेतृत्व गरेका, कार्यसमितिका सबै सदस्य
एनजीओमा जागिरे भएका र सम्पादकले नेतृत्व गरेको दल पनि आउने चुनावमा
भाग लिन कस्सिएका छन्।
•
ध्रुव
सिम्खडा
 |
| तस्बिरः मीन/किरण |
| पद्मिनी प्रधानाङ्ग। |
दल दर्ताका
लागि आवेदन गर्ने ६२ मध्ये ५८ वटा पार्टीलाई निर्वाचन आयोगले संविधानसभा
चुनावमा भाग लिन अनुमति र चुनाव चिन्ह दिएको छ। आयोगबाट अनुमति पाउनेमा
संसदभित्रका ११ र बाहिरका केही बाहेक जनाधार नभएका नाम मात्रका पार्टी
धेरै छन्। यो देख्दा तिनले दल दर्ता गर्न आवश्यक १० हजार हस्ताक्षर
कसरी जुटाए भन्ने प्रश्न उठ्छ।
यस्ता धेरैजसो दलहरूका कार्यालय र ठाम–ठेगाना समेत थाहा
हुँदैन। झोलामा कागजपत्र बोकेर हिँड्ने दुईचार पदाधिकारीसम्म भेटिएलान्,
कार्यकर्ता र समर्थकहरू भेटिँदैनन्। थरीथरीका छन् पार्टी र तिनका नेता
पनि। यिनले आफ्नो नाममा 'राष्ट्रवादी', 'हिन्दू', 'राष्ट्रिय', 'शान्ति',
'प्रजातान्त्रिक', 'जागृति', 'विकास', 'शान्तिक्षेत्र', 'जनभावना',
'समाजवादी' जस्ता शब्द गाँसे पनि अधिकांश हिजो राजाका समर्थकका रूपमा
चिनिएकाहरू नै छन्।
जापानी मूलका एक नेपाली नागरिकको नेतृत्वमा समेत एउटा
पार्टी दर्ता भएको छ। एउटा पत्रिकाका सम्पादकले पनि दल दर्ता गरेका
छन्। एकैघरका बाबु–छोराका समेत भिन्दाभिन्दै दल खुलेका छन्।
महिला, काइँयो र बच्चा
 |
| सलिममिया अन्सारी |
जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराको कुपण्डोलस्थित
ट्रान्स हिमालयन टुर्स भन्ने ट्राभल एजेन्सीको अफिसमा अहिले 'नेपाल
राष्ट्रिय विकास पार्टी' को कार्यालय पनि छ। ३२ असारमा निर्वाचन आयोगले
'रेडियो' चुनाव चिन्ह दिएको यस पार्टीका अध्यक्ष उनै मियाहारा हुन्।
धेरै पहिले सरकारी कामको सिलसिलामा नेपाल आएका इञ्जिनियर मियाहारा
अहिले नेपालमै पर्यटन व्यवसाय गर्छन्। उनले करिब ३० हजार मतदाताको
हस्ताक्षरसहित पार्टी दर्ताको लागि आवेदन गरेका थिए।
मियाहाराले राजनीति गर्न नभई विकास गर्न पार्टी खोलेको
बताएका छन्। पूर्व–पश्चिम रेलमार्ग, ठाउँठाउँमा भूमिगत रेलमार्ग, उत्तर–दक्षिणका
प्रमुख शहरहरूको भारतीय रेल्वेसँग सम्पर्क, वीरगञ्ज–काठमाडौँ, नारायणगढ–काठमाडौँ
र नारायणगढ–पोखरा राजमार्ग तथा सुरुङमार्ग यिनका केही महत्त्वाकांक्षी
योजना हुन्। राजधानीलाई नारायणघाट सार्ने, सिमरामा अन्तर्राष्ट्रिय
विमानस्थल बनाउने, कोशी, गण्डकी, कर्णालीमा बाँध बाँधेर यातायात, सिंचाइ,
विद्युत् उत्पादन, माछापालन, पर्यटन आदिको विकास गर्ने पनि उनको योजना
छ। मियाहारा भन्छन्, “आउने चुनावमा ललितपुर दुई नम्बर क्षेत्रबाट चुनावमा
उठ्छु।” हेरौँ, ६ मङ्सिरमा मियाहाराको 'जापानी रेडियो' कत्तिको बज्नेछ।
यसपटकको निर्वाचनमा पत्रिकाको कार्यालयबाट पनि एउटा
दल जनतासँग मत माग्न जाँदैछ– 'हिन्दू प्रजातान्त्रिक पार्टी'। यसका
अध्यक्ष हुन्– प्रतिस्पर्धा साप्ताहिकका सम्पादक विष्णुकुमार प्रसाईं।
२ साउनमा 'महिला' चुनाव चिन्ह पाएको यस दलले 'हिन्दू जनतन्त्रः सबैखाले
निरङ्कुशताको अन्त' भन्ने चुनावी नारा तय गरेको छ। प्रसाईं भन्छन्,
“हामीलाई राजा, माओवादी र आठदल कसैको पनि निरङ्कुशता स्वीकार्य हुँदैन।”
राजाको विरोध गरेजस्तो पनि गर्दै प्रसाईं भन्छन्, “आठ पार्टी दरबारिया
हुन्, किनभने तिनले जनतालाई ढाँटेर दरबारलाई साढे बाह्र करोड बजेट
दिए।”
 |
| ताकासी मियाहारा |
शाहीकालका मन्त्री गोरेबहादुर खपाङ्गीको 'प्रजातान्त्रिक
जनमुक्ति पार्टी' छ। धोवीघाटस्थित आफ्नै घरमा कार्यालय रहेको उनको
पार्टीलाई निर्वाचन आयोगले 'काइँयो' चिन्ह दिएको छ। जातीयताको आधारमा
समानुपातिक राजनीतिक प्रतिनिधित्व हुनुपर्ने बताउने खपाङ्गी राजतन्त्र
राख्ने या फाल्ने निर्णय जनमतसङ्ग्रहले मात्र गर्न सक्ने ठान्छन्।
उनको भनाइ छ, “जनमुक्ति पार्टीको लागि जातीय मुक्ति प्रमुख उद्देश्य
हो भने राजतन्त्र र गणतन्त्र गौण कुरा हुन्।”
संविधानसभा निर्वाचनमा महिला सहभागिताको आवाज उठाउन
पद्मिनी प्रधानाङ्गको अध्यक्षतामा गठन भएको 'स–शक्ति नेपाल' ले आफ्नो
चुनावी नारा तय गरेको छ– 'तेत्तीसमा हैन पचासमा, कुरामा हैन व्यवहारमा',
'गाउँ–गाउँमा सहकारी, परिवारमा महिलाको पनि रोजगारी।' पद्मिनीको पार्टीको
नौ सदस्यीय कार्यसमितिबाहेक एउटा पनि उपसमिति वा शाखा छैन। उनी भन्छिन्,
“जिल्ला जानै भ्याइरहेको छैन।”
योगले पद्मिनीको पार्टीलाई 'तराजु' चुनाव चिन्ह उपलब्ध
गराएको छ। उनका पार्टीका सबै सदस्य एनजीओ, आईएनजीओमा काम गर्छन्।
'आमाको काखमा बसेको बच्चा' चुनाव चिन्ह पाएको सोममाया तामाङको 'नेपाल
जागृति दल' ले पनि सम्भवतः महिला सहभागिताकै कुरा गर्दो हो। तर यसका
अध्यक्ष तामाङले आयोगलाई उपलब्ध गराएको टोलिफोन नम्बरमा सम्पर्क गर्दा
उनी त्यहाँबाट डेरा सरिसकेकी थाहा भयो। उनको पार्टी कार्यालयको कुनै
सम्पर्क पत्ता लगाउन सकिएन।
 |
| युनुश अन्सारी |
अर्को एउटा दल छ– 'शान्ति पार्टी', जसका अध्यक्ष झनकप्रसाद
ढुङ्गाना हुन् र चुनाव चिन्ह 'षटकोण' हो। आफ्नो एकमात्र चुनावी नारा
नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने रहेको बताउने यसका संस्थापक
अध्यक्ष विष्णुप्रसाद खरेल भन्छन्, “नैतिकता, इमानदारी र बहुजन हित
हिन्दू धर्मले मात्र गर्न सक्ने भएकोले यही लक्ष्य स्थापित गर्न हाम्रो
पार्टी लागिपर्नेछ।”
आगामी ६ मङ्सिरमा हुनलागेको संविधानसभा निर्वाचनमा रामराजाप्रसाद
सिंहको 'नव जनवादी मोर्चा' 'बालक' चुनाव चिन्ह लिएर मैदानमा उत्रिँदैछ।
मधेश आन्दोलनका अगुवा उपेन्द्र यादवको 'मधेसी जनअधिकार फोरम' लाई आयोगले
'हातले समातेको मसाल' चुनाव चिन्ह दिएर संविधानसभामा भाग लिने ढोका
खोलिदिएको छ।
साना ठूला पार्टीले बाहिर जे जस्ता नारा लगाए पनि निर्वाचन
आयोगसमक्ष उग्र कुरा गरेका छैनन्। आयोग प्रवक्ता लक्ष्मणप्रसाद भट्टराई
भन्छन्, “उनीहरूले आयोगमा पेश गरेको दस्तावेजमा संविधान, ऐन र नियम
अनुकूलको प्रावधान राखेकाले दर्ता गरिएको हो।” अन्तरिम संविधान–२०६३,
राजनीतिक दल दर्ता ऐन र नियममा कुनै पनि खालको विखण्डन, विद्वेष वा
साम्प्रदायिक दङ्गा भड्काउने उद्देश्य बोकेका राजनीतिक दल दर्ता हुन
नसक्ने व्यवस्था छ।
बाबु–छोरा नै अध्यक्ष
 |
| विष्णुकुमार प्रसाईं |
पछिल्लो समय एमाले छोडेर दरबारतिर लागेका शाही शासनकालका
भूमिसुधार तथा व्यवस्था मन्त्री सलिममिया अन्सारी र भर्खरै शुरु भएको
नयाँ टेलिभिजन च्यानल 'एभिन्युज' का प्रशासन निर्देशक रहेका उनका छोरा
युनुस अन्सारीले आ–आफ्नै अध्यक्षतामा छुट्टा–छुट्टै पार्टी दर्ता गरेका
छन्– क्रमशः 'समाजवादी पार्टी नेपाल' र 'राष्ट्रिय जनता दल'। युनुसले
आयोगलाई उपलब्ध गराएको सम्पर्क नम्बर समेत एभिन्युज टेलिभिजनकै छ।
आयोगले बाबुको पार्टीलाई 'साइकल' र छोराको पार्टीलाई 'भकुण्डो' चुनाव
चिन्ह दिएको छ।
लोकेन्द्र–एमाले सरकार (२०५४) का कानूनमन्त्री कर्णाली,
कालीकोटका प्रेमबहादुर सिंहको पनि अलग्गै पार्टी छ– समाजवादी प्रजातान्त्रिक
जनता पार्टी, नेपाल। शाही शासनकालमा राजाको पक्षमा वक्तव्य दिएपनि
आफू समाजवादी लोकतन्त्रको पक्षमा रहेको दाबी गर्ने सिंहले राजतन्त्रबारे
जिज्ञाशा राख्दा उल्टै प्रश्न गरे, “समाजवादमा पनि राजतन्त्र रहन्छ
र?” दुई वर्षअघि दर्ता भएको यो पार्टीले आयोगमा १८ हजार मतदाताको हस्ताक्षर
बुझाएको थियो। ३२ असारमा उनको पार्टीलाई आयोगले 'चन्द्रमा' चुनाव चिन्ह
दिएको छ।
शाही शासनकालका मन्त्री नारायणसिंह पुन र कुवेर शर्मा
पनि चुनाव लड्न तत्पर देखिन्छन्। समतामूलक समाज निर्माण गर्ने उद्देश्य
लिएर खुलेको पुनको 'नेपाल समता पार्टी' र स्वच्छ राजनीति, स्वच्छ वातावरणको
नारा दिएको शर्माको 'हरियाली नेपाल पार्टी' ले क्रमशः 'माछा' र 'आँप'
चिन्हमा भोट माग्नेछन्।
 |
| नारायणसिंह पुन |
जातीय मुक्ति, गणतन्त्र र राजतन्त्रको पक्ष–विपक्षका
कुरा नउठाइकन खुला बजार अर्थतन्त्र र लोकतन्त्रको मुद्दा लिएर चुनावमा
जाने सुरमा छन् नारायणसिंह पुन। राजतन्त्र राख्दा यो–यो फाइदा र यो–यो
बेफाइदा हुन्छ भनेर जनतासामु जाने र त्यसमा जनताले जे निर्णय दिन्छन्
त्यसलाई मान्ने उनको धारणा छ। शाहीकालमा मन्त्री भएर खासै काम गर्न
नसकेको बताउने पुन भन्छन्, “अर्काले बनाइदिएको मन्त्रीले केही हुँदोरहेनछ,
जनताबाट चुनिएर बनेकोले मात्र केही गर्न सक्दोरहेछ।”
आफूलाई बहुदलीय लोकतन्त्र र सुशासनका पक्षपाती भन्ने
कुवेर शर्माको पार्टीले निजी सम्पत्ति र वैयक्तिक स्वतन्त्रता संरक्षणलाई
चुनावी मुद्दा बनाएको छ। राजतन्त्रबारे अझै अस्पष्ट शर्मा भन्छन्,
“जनताको निर्णय हरियाली पार्टीलाई स्वीकार्य हुनेछ।”
अर्का शाही मन्त्री कमल थापाको पहलमा गठन भएको 'राष्ट्रिय
प्रजातन्त्र पार्टी नेपाल' ले खुला रूपमा संवैधानिक राजतन्त्रको वकालत
गर्ने गरेकोले यसका नेता–कार्यकर्ता बरोबर लोकतन्त्रवादी कार्यकर्ताको
आँखाको तारो बन्दै आएका छन्। खासगरी माओवादी निकट युवा–विद्यार्थीले
यसका अध्यक्ष रवीन्द्रनाथ शर्मामाथि आक्रमण गर्दै पोखरा, काठमाडौँलगायत
देशका विभिन्न भागमा आयोजित उनीहरूका भेलालाई विथोलेका छन्। ७३ हजार
मतदाताको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको राप्रपा
नेपालले 'गाई' चुनाव चिन्ह पाएको छ।
|