रिपोर्ट
समाज
समावेशी बन्दैछ प्रवचन
हिजोसम्म 'कर्मकाण्डी' कुरा मात्र गर्ने गुरु–पण्डितहरूका
प्रवचनमा अब देशको बदलिँदो परिवेश, समावेशी र समाज रुपान्तरणका कुरा
पनि थपिन थालेका छन्।
• डम्बरकृष्ण श्रेष्ठ
 |
| खेमराज केशवशरण |
देश
संविधानसभामार्फत् नयाँ नेपालको निर्माणमा लम्किरहेको बेला धर्मगुरु
र वाचकहरू पुरातनवादी सोचमै रहने कुरै भएन। त्यसैले होला सप्ताह, यज्ञ
र प्रवचनमा प्रस्तुति, विषय र वाचकको शैली फेरिँदै गएको छ। अहिले धेरैजसो
वाचकहरूले छुवाछूत, सामाजिक विकृति र हिंसा विरुद्ध बोल्ने, दलितका
समस्या बारेमा सचेतना फैलाउने अनि राष्ट्रले खोजेको सामाजिक रुपान्तरणको
व्याख्या समेत गर्ने गरेका छन्। बदलिँदो शैलीका कारण पनि नेपाली समाजमा
यस्ता गुरुहरूप्रति सकारात्मक दृष्टिकोण निर्माण हुँदै गएको छ।
अस्पताल, क्याम्पस भवन बनाउन, मोटरबाटो खनाउनका निम्ति
यज्ञ र सप्ताह आयोजना गर्ने क्रम बढ्दो छ। त्यसैगरी धार्मिक सद्भाव
कायम राख्न, छुवाछूत, महिला माथिको भेदभाव हटाउन, विकृति, विसङ्गति
विरुद्ध चेतना छर्दै सामाजिक रुपान्तरणका मामिला पनि पण्डितहरूको प्रवचनमा
पर्न थालेका छन्। त्यसैले वाचनमा छुवाछूतको पक्षपोषण, नारी निन्दा
र उपेक्षा, शृङ्गार रसका वर्णन र असान्दर्भिक र पौराणिक कुरालाई जस्ताको
तस्तै पस्किने परम्परामा परिवर्तन आउन थालेको छ।
प्रवचन, कथावाचन र सप्ताह पुराणलाई सामाजिक रुपान्तरणसँगै
आधुनिक युग सुहाउँदो प्रस्तुति गर्न २१ जेठ २०६४ मा काठमाडौँको थापाथलीमा
धर्मगुरुहरूको प्रशिक्षणमूलक एकदिने धर्म–सभाको आयोजना गरिएको थियो।
हिन्दू विद्यापीठ नेपालका संस्थापक प्राचार्य तथा नेशनल इण्टरफेयर
काउन्सिल नेपालका अध्यक्ष डा. चिन्तामणि योगीको संयोजनमा भएको सो धर्म–सभामा
२५ जना गुरु, पण्डित तथा सञ्चार–माध्यमका प्रवचन–कथा वाचकहरूको सहभागिता
थियो। प्रवचन गर्ने बेलामा अलौकिक मुक्तिको वर्णन र शास्त्रका कुरा
मात्र गर्ने कि समाजका वर्तमान समस्या र जटिलताबाट कसरी मुक्ति पाउने
भन्ने बारेमा पनि बोल्ने भनेर धर्म–सभाको आयोजना गरिएको डा. योगी बताउँछन्।
योगीका भनाइमा कतिपय गुरुहरूमा नयाँ सोचको अभाव, विदेश भ्रमणको कमी,
वैज्ञानिक विश्लेषण र विश्व सन्दर्भ सुहाउँदो नयाँ चिन्तनको अभाव छ।
उनी भन्छन्, “दैनिक जीवनका कुरालाई सम्बोधन नगरी शास्त्रका कुरा मात्र
गरिन्छन्, जो यथार्थ जीवनमा प्रयोग गर्न सकिँदैन। त्यसैले धर्मको व्याख्यामा
सम्भव र समन्वय आवश्यक छ। आदिवासी जनजाति, दलित, मधेशीका समावेशी मुद्दा
र समाज रुपान्तरणका कुराहरू आउन जरुरी छ।”
छाउँदैछन् नेपाली गुरु
 |
| तारा घिमिरे |
नेपाल आइरहने भारतीय धर्मगुरुहरू र तिनका व्याख्यानलाई
समेत विर्साउने गरी कथावाचन गर्ने नेपाली गुरुहरूको बढ्दो प्रभावका
कारण भारतीय प्रवचनकर्ताहरू क्रमशः विस्थापित हुँदै गएका छन्। नेपाली
कथावाचकहरूको बढ्दो लोकप्रियताका कारण ठाउँठाउँमा सामाजिक–सांस्कृतिक
र धार्मिक कार्यहरूले थप प्रश्रय पाउँदै गएका छन्। भक्तहरूको समूह
जुटाउन र सामाजिक कार्यका लागि करोडौँ रकम उठाउन समेत नेपाली गुरुहरू
सफल भइरहेका छन्। श्रीमद्भागवत् ज्ञान महायज्ञ गराएर करोडौँ रुपैयाँ
सङ्कलन गर्न सफल पण्डित स्वर्गीय नारायणप्रसाद पोखरेलको स्थान अहिले
उनकै छोरा दिनबन्धु पोखरेल (२६) ले लिन थालेका छन्।
भागवत व्याख्यानका निम्ति प्रख्यात आचार्य खेमराज केशवशरण
(७०) अष्ट्रेलिया, अमेरिका, भारतमा समेत उत्तिकै निम्त्याइन्छन्। प्रवचनका
लागि उनले युरोप–अमेरिकामा बसोवास गर्ने नेपाली माझ ख्याति कमाइसकेका
छन्। उनी नेपालीका अतिरिक्त संस्कृत, हिन्दी र अङ्ग्रेजीमा समेत व्याख्यान
गर्ने क्षमता राख्छन्। अहिले अमेरिकामा रहेका केशवशरणले बनारसमा अध्ययनका
क्रममा रहँदा १७ वर्षको उमेरबाटै प्रवचन दिन शुरु गरेका थिए।
२२ वर्षदेखि देश–विदेशमा प्रवचन दिँदै आएका डा. चिन्तामणि
योगीको प्रवचन इमेज च्यानलमा दैनिकजसो हेर्न र केही एफएममा सुन्न पाइन्छ।
यसअघि उनले ७ वर्ष नेपाल टेलिभिजनमा र १ वर्ष कान्तिपुर टीभीमा प्रवचन
गरेका थिए। अमेरिका, युरोप, दक्षिण अफ्रिका, सिङ्गापुर, थाइल्याण्डलगायतका
देशहरूमा पुगेर प्रवचन दिइसकेका योगीले योग र नेचुरोप्याथिकमा विद्यावारिधि
गरेका छन्। उनी आफूले प्रवचनमा मानवमनको उद्बोधन, सन्तुलित व्यक्तित्वको
विकास, राष्ट्रिय संस्कृतिको संरक्षण, सम्वर्द्धन, चेतना विस्तार,
सामाजिक विसङ्गति र कुरीति निराकरण तथा युवापुस्तालाई नयाँ दिशाबोध
दिने कुरालाई विशेष रूपमा समेट्दै आएको बताउँछन्।
 |
| आत्मानन्द लिङ्देन |
किराती धर्मगुरु आत्मानन्द लिङ्देन (सेइङ) ले इलामको
बाँझो गाविसकोे वडा नं ८ र ९ को लारुम्बामा हजारौँका सङ्ख्यामा रहेका
किरातीहरूलाई प्रवचनमार्फत् ज्ञान बाँड्दै आएका छन्। लिङ्देनको शिक्षाले
किरातीहरूका लागि जीवन सुधार्ने नया ऊर्जा दिइरहेको छ। लारुम्बामा
बसोवास गरिरहेका किरातीहरूमा जाडरक्सी मात्र होइन; माछा, मासु, चुरोटखैनी
समेत निषेध गरिएको छ। किरातीहरूले हिंसा गर्नै नहुने उनको आदेशको पालना
गर्नेहरू प्रशस्तै छन्। ध्ार्मगुरुका रूपमा पुजिने ५३ वर्षीय आत्मानन्दले
दिने प्रवचनहरू भने बढीजसो व्यक्ति र समाजलाई कसरी सुमार्गतर्फ ल्याउने
भन्ने नै हुने गर्छन्। किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष
डकेन्द्रसिंह थेगिमको भनाइमा धर्मगुरुले प्रवचनमा किरातीहरूमा रहेको
कुप्रथाको अन्त्यका लागि पनि कोशिश गर्नुभएको छ। थेगिम भन्छन्, “हामीमा
सामाजिक रुपान्तरण नै भएको छ।”
हिन्दू धर्मावलम्बीहरूले श्रद्धा गरेको सुनसरी बराहक्षेत्रको
थप धार्मिक महत्त्व उजागर गरेर बालसन्त मोहनशरण देवाचार्य (२८) धर्मावलम्बी
माझ छाएका छन्। उनकै सक्रियतामा बराहक्षेत्रमा ०५९ सालमा भारतमा मात्र
हुने कुम्भ मेला सम्पन्न भएको थियो। चौध वर्षमै प्रवचन दिन थालेका
बालसन्तले करिब ६० जिल्लाको भ्रमण गरी सय भन्दा बढी स्थानमा प्रवचन
दिएका छन्। सुनसरीको चतरामा आश्रम स्थापना गरेर बसेका उनले चतरामै
संस्कृत शिक्षाका लागि राधाकृष्ण संस्कृत वेद विद्याश्रम स्थापना गरेका
छन् जहा ४५ विद्यार्थी अध्ययनरत् छन्। उनका भनाइमा पहेँलो लुगा लगाएकाहरूले
लिन मात्र होइन दिन पनि जान्दछन् भन्ने देखाउनु अहिलेका साधुसन्तको
चुनौती हो।
वेदले सामाजिक आन्दोलन भन्दा पनि समाजको सेवा गर्ने
भएकाले आन्दोलनका नाममा जनतालाई राजनीतिक ज्ञान बाँड्दै हिँड्नु साधुसन्तको
काम नभएको उनी बताउँछन्। उनको भनाइमा धर्मको निश्चित वैदिक नियम र
आचरण हुन्छ तर राजनीतिको हुँदैन।
पुरुष वाचकहरूको भीडमा महिलाहरूले पनि आफ्नो चिनारी बनाउन थालेका छन्।
तीमध्ये अग्रपंक्तिमा आउँछिन् पं. तारा घिमिरे (३६)।
 |
| डा. चिन्तमणि योगी |
धान्याचल यज्ञमार्फत् ५० जिल्लाका १४० स्थानमा प्रवचन
दिइसकेकी घिमिरे हालसम्म सामाजिक विकासका लागि करिब २० करोड रुपैयाँ
सङ्कलन गरिसकेको बताउँछिन्। केही वर्षअघि गोरखाको एउटा यज्ञमा अरूले
पस्नै नदिएका दलितलाई घिमिरे आफैँले बोलाएर टीका लगाइदिएकी थिइन् भने
उनको प्रवचन सुनेर धेरै युवाहरूले लागूऔषध दुर्व्यसन त्यागेका छन्।
अर्थ सङ्कलनसँगै अनावश्यक आडम्बर र सामाजिक विकृति विरुद्धको अभियान
पनि आफूले यज्ञस्थलबाटै शुरु गरेको उनको भनाइ छ।
९ वर्षअघि धरानस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा पहिलो
प्रवचन दिँदा 'पोथी बास्यो, राम्रो हुँदैन' भन्दै ठूला पण्डितहरूले
समेत निन्दा गर्दा पनि पछि नहटेकी घिमिरे भन्छिन्, “शास्त्रको आधारमा
समाज रुपान्तरणका लागि आवश्यक कुराहरू गर्छु, त्यसमा अहिलेका समावेशी
र सामाजिक मुद्दाहरू पनि आउँछन्।” तारासँगै उनकी दिदी जमुना घिमिरे
पनि प्रवचनस्थलमा भजन गाउँदै हिँड्छिन्। अहिले चितवन देवघाटमा ५ रोपनी
जग्गा लिएर श्री प्राणनाथ अनाथ सेवा आश्रमको निर्माणमा उनीहरू जुटेका
छन्। त्यस्तै महिला वाचकमा पं. मञ्जुदेवी पाठक, भिक्षुणी कुसुम गुरुआमा
आदिको पनि नाम आउँछ।
आकर्षक प्रवचन दिने नेपाली वाचक तथा धर्मगुरुहरूको सङ्ख्या
बढ्दो छ। स्वामीहरू ज्ञानानन्द, आत्मानन्द, रामानन्द, पुण्यानन्द,
प्रपन्नाचार्यका साथै पं. मुकुन्दशरण उपाध्याय, योगी विकासानन्द, व्यासाचार्य
किशोर गौतम, डा. गुरुप्रसाद सुवेदी, डा. दीर्घराज घिमिरे, डा. भवानी
खतिवडा, कृष्णप्रसाद गुरागाइँ, भवानीशङ्कर निरौला, आचार्य कपिलदेव
सुवेदी, वासुदेव आत्रेय, दुर्गाप्रसाद दाहाल, डा.रामानन्द गिरी, आचार्य
नारायणप्रसाद रिमाल, डा. नरेशमान बज्राचार्य, स्वामी आनन्द अरुण, स्वामी
कमल नैनाचार्य जस्ता भागवतवाचक, वक्ता–व्याख्याताहरूले सामाजिक जागरण
अभियानमा पनि भरथेग गरिरहेका छन्।
 |
| मोहनशरण देवाचार्य |
सत्संग, सप्ताह मात्र हैन सञ्चारमाध्यमका कारण पनि यस्ता
गुरुहरूको प्रवचन घरघरमा पुगिरहेका छन्। टेलिभिजन, देशभरका जिल्ला
जिल्लामा समेत खुलेका एफएम रेडियोदेखि धार्मिक मठ–मन्दिर र आश्रमहरूमा
नियमित हुने सत्संग, प्रवचनमा युवापुस्ताका गुरुहरू देखिने क्रम बढिरहेको
छ। डा. चिन्तामणि योगीका भनाइमा उपत्यकामा मात्र करिब २०० यस्ता वाचक
तथा धर्मगुरुहरू छन् जसको सक्रियता देशभरका गाउँ र जिल्लासम्म छ। सञ्चार
माध्यममा प्रवचन दिनेहरूमा आधाजसो युवाहरू छन्। सुशील ब्रह्मचारी,
ढुण्डीराज न्यौपाने, जनार्दन घिमिरे, टहल किशोर, कृष्णमुरारी शास्त्री,
रामकृष्ण उपाध्याय, अजीतबाबु गौतम, मुरलीधर पोख्रेल, भिक्षु कर्मा
स्याङ्बोलगायतका धेरै युवाहरू राम्रा वाचकका रूपमा देखिँदैछन्। कान्तिपुर
टेलिभिजनका धार्मिक कार्यक्रम संयोजक वासुदेव शास्त्री टेलिभिजनमा
प्रसारण हुँदै आएका प्रवचनहरूमा पनि पुरातनवादी सोचभन्दा आधुनिक र
समाजको बदलिँदो सोच सुहाउँदा कुरालाई प्राथमिकता दिइँदै आएको बताउँछन्।
बानेश्वरस्थित संस्कृत गुरुकुलम्का महासचिव शास्त्री संस्थामार्फत्
प्रवचनको माध्यमबाट देशभरी संविधानसभा र समावेशी मुद्दामा जानकारी
गराउने आफूहरूको योजना रहेको बताउँछन्। टेलिभिजनले हिन्दू धर्मसँगै
पर्वविशेषको रूपमा बौद्ध, क्रिश्चियन, मुश्लिम धर्मका गुरुहरूका प्रवचन
समेत प्रसारण गर्ने गरेका छन्।
समाजमा छुवाछूत, भेदभाव, जातीयता विवाद र हुँदा खाने
र हुनेखाने बीचको खाडलले गर्दा नै असन्तोष, विग्रह, अशान्ति जन्मने
गरेको छ। तर, यस्ता कुरालाई चिर्न र सद्भावको सन्देश फैलाउन यस्ता
गुरुहरूका समावेशी बन्दै गएका प्रवचनले अहम् भूमिका खेल्न सक्छन्।
साथमा रविन गिरी, धरानमा
बाबुकै बाटो पछ्याउँदै
 |
| डम्बरकृष्ण श्रेष्ठ |
| दिनवन्धु पोखरेल |
बाबुले देखाएकै बाटोमा हिँडेका दिनबन्धु
पोखरेल एक वर्षको अन्तरालमा ३३ स्थानमा प्रवचन गरेर सामाजिक कार्यका
लागि रु.२० करोड जति सङ्कलन गरिसकेको बताउँछन्। आध्यात्मिक चेतना र
धार्मिक पक्षबाट सामाजिक भौतिक विकास गर्ने अभियान बुबाको 'आध्यात्मिक
चिन्तन, भौतिक विकास– सामाजिक यज्ञ एकैसाथ,' 'छुवाछूत, रुढीवाद– हिन्दू
धर्ममा गम्भीर आघात' जस्ता नारालाई उनले अँगालेका छन्।
आध्यात्मिक बहस र चर्चा शान्ति तथा समाजको
रुपान्तरणसँग जोडिएको हुन्छ भन्ने कुरामा जोड दिने तन्नेरी पण्डित
पोखरेल हिजोसम्म धर्म र शास्त्रलाई कर्मकाण्डी पाराले मात्र बुझ्ने
सोचलाई परिवर्तन गर्न आफू अग्रसर भएको बताउँछन्। पोखरेल भन्छन्, “मान्छेलाई
सेवा र सुख पुर्याउने भौतिक कुरासँग आध्यात्मिक पक्षलाई जोडिएन भने
त्यसको कुनै अर्थ हुँदैन। त्यसैले धर्मशास्त्रमा पारङ्गत विद्वान्हरूले
अहिले समाजका हरेक तहमा रहेको राज्यको पुनर्संरचना, समावेशी कुरासँगै
मुलुकको संविधानसभा र रुपान्तरणलाई आफ्ना ठाउँबाट सघाउन जरुरी छ।”
भागवतमा भएका घटना, परिघटना, कथाहरूलाई
समाजसँग आफूले तुलना गर्ने उनी बताउँछन्। भन्छन्, “मार्क्सको द्वन्द्वात्मक
भौतिकवादलाई पनि भागवतको प्रसङ्गमा मैले उत्खनन् गरिरहेको हुन्छु।”
उनका भनाइमा भगवान मानिने कृष्ण कम्युनिष्ट भाषामा भन्दा एउटा गोठालो
मजदुर वर्गका हुन् र कंस भनेको सामन्ती वर्गको हो जसले समाजमा वितण्डा
मच्चाइरहेको हुन्छ। हिन्दूधर्मका व्याख्याताहरूले गलत व्याख्या गर्दा
धर्मलाई नै असर पुर्याएको ठान्छन् पोखरेल। उनी भन्छन्, “हाम्रो धर्मको
मान्यता भनेको समाज विकास नै हो, बौद्धिक कालमा रामले पनि साम्यवाद
अर्थात् समानताका कुरा नै गरेका थिए।” नेपालमा हाम्रै धर्मग्रन्थको
आडमा विशेषतः जातीय भेदभाव र छुवाछूत प्रथा चलाइएकोले यसलाई सच्याउनुपर्ने
उनको धारणा छ। आफ्ना प्रवचनमा छुवाछूत र साम्प्रदायिकताको विरोध गर्दै
आएका पोखरेल जात जन्मका आधारमा नभई, कर्मका आधारमा हुने बताउँछन्।
पोखरेल अहिले १००१ सदस्य रहेको मूल समिति
बनाएर देशका ७० जिल्लामा अभियानकै रूपमा आफ्ना प्रवचन कार्यक्रम लैजाने
तयारी गरिरहेका छन्। यस क्रममा आगामी असोजमा ढाड भाँच्चिएका गरिब नेपालीहरूको
उपचारका लागि सहयोग गर्ने जोरपाटीस्थित स्पाइनल इञ्जुरी पुनर्स्थापना
केन्द्रको सहयोगार्थ सैनिक मञ्चमा सार्वजनिक प्रवचन गर्ने तयारीमा
जुटेका छन्।
|