हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

उच्चशिक्षा

स्वदेशमै छन् धेरैै विकल्प

केही वर्षयता उच्च शिक्षामा विषयगत विविधता आएपछि स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरूले स्वदेशमै थुप्रै विकल्प पाएका छन्। यसले नयाँ–नयाँ विषय पढ्न चाहनेहरूलाई अवसर दिनुका साथै कहाँ के पढ्ने भन्ने द्विविधा पनि बढाएको छ।

विवेकराज मौर्य र शैली बस्नेत

तस्बिरहरू किरण पाण्डे
तस्बिर मोन्टाज गरिएको हो।

गत हप्ता काठमाडौँ विश्वविद्यालय परिसर नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरूको भीडले खचाखच थियो। विश्वविद्यालयको स्नातक तहकोे २५० सीटमा भर्ना पाउन एक हजार विद्यार्थी प्रतिस्पर्धा गर्दैथिए। मुलुकभर उच्च माध्यमिक वा सो सरहको परीक्षा सकेर बसेका झण्डै दुई लाख विद्यार्थीहरूको अहिलेको पिरोलोको विषय स्नातक तहमा के पढ्ने र कहाँ पढ्ने भन्ने चिन्ता नै हो। केही विद्यार्थी निश्चित विश्वविद्यालय वा निश्चित कार्यक्रम पढ्नमा दृढ छन् भने अनिर्णयको अवस्थामा परेर कतिपय चाहिँ अभिभावक, साथीभाइ तथा शिक्षकहरूको सल्लाह बटुल्दैछन्। धेरै विद्यार्थीहरूका निम्ति भने आफ्नो आर्थिक क्षमता नै स्नातक कार्यक्रम छनौटको सबैभन्दा महत्त्वपूर्ण आधार बन्ने गरेको दर्शाउँदै वीरगञ्जकी विद्यार्थी नम्रता जोशी भन्छिन्, “पढ्न त छात्रवृित्तमा एमबीबीएस नै पढ्ने रहर छ। तर छात्रवृित्त मिलेन भने ह्युमनबायलोजी वा बायोटेक्नोलोजी पढ्छु होला।”

शिक्षाः हिजो र आज
एक दशकअघिसम्म पनि उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका निम्ति थोरै अवसर थियो। त्यसताका सीमित कलेज वा विश्वविद्यालयमा सीमित विषय मात्र पढ्न पाइन्थ्यो। नेपालमा उच्च शिक्षाको इतिहास लामो नभएको बताउने ख्वपः इञ्जिनियरिङ कलेजका भूकम्प विभाग प्रमुख प्रचण्डमान प्रधानको अनुभवमा विगतमा प्राविधिक विषय पढ्न निकै कम अवसर हुने गर्दथ्यो। भन्छन्, “उत्कृष्ट अङ्क ल्याउने थोरै विद्यार्थीहरूले मात्र श्रीलङ्का, भारत र सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाउँथे। छात्रवृत्तिमा नाम निकाल्न नसक्ने तर प्राविधिक विषय पढ्न चाहने अन्य विद्यार्थीका लागि राम्रो विकल्प थिएन।”

पछिल्लो समयमा नयाँ कलेज तथा विश्वविद्यालयहरूको स्थापनासँगै विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू फराकिला हुँदै गएका छन्। सन् १९९४ मा काठमाडाँै विश्वविद्यालयको स्थापना भएपछि कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, वातावरण विज्ञान तथा फार्मेसी जस्ता नयाँ विषयहरू पढ्न चाहने विद्यार्थीहरूलेे देशभित्रै पढ्ने अवसर पाए। त्यसपश्चात् सन् २००१ मा पूर्वाञ्चल विश्व– विद्यालय र सन् २००३ मा पोखरा विश्वविद्यालयको आगमनपछि उच्च शिक्षाका लागि विद्यार्थीहरूको रोजाइको दायरा झनै फराकिलो भयो।

नयाँ विश्वविद्यालयहरूको आगमनसँगै नयाँ विषय मात्र नभई उल्लेख्य सङ्ख्यामा कलेजहरू पनि खुलेका छन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयको सम्बन्धनमा हाल देशभर करिब चार सय कलेजहरू सञ्चालनमा छन्। यी कलेज तथा विश्वविद्यालय स्वयंले पचास भन्दा बढी स्नातक कार्यक्रम सञ्चालन गरिरहेका छन्। हाल त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा करिब ६० हजार, नेपाल संस्कृत विश्वविद्यालयमा झण्डै सात सय तथा अन्य विश्वविद्यालयहरूमा लगभग २० हजार विद्यार्थी अध्ययनरत् छन्।

पछिल्ला वर्षहरूमा विदेशी शैक्षिक संस्थाको सम्बन्धनमा पनि नेपालमा कलेजहरू सञ्चालन भएका छन्। सिल्भर माउन्टेन कलेजमा अमेरिकी संस्थाको सम्बन्धनमा होटेल व्यवस्थापन र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा भारतीय विश्वविद्यालयको सम्बन्धनमा सूचनाप्रविधि, व्यवस्थापन, फेशन डिजाइन तथा बायो–टेक्नोलोजीको अध्यापन भइरहेको छ। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका प्रशासकीय निर्देशक पंकज जलाल भन्छन्, “आफ्नै मुलुकमा विश्वस्तरको शिक्षा पाइने हुनाले विद्यार्थीलाई विदेश जानै पर्ने बाध्यता छैन। यसले गर्दा शैक्षिक शुल्क मात्र होइन विद्यार्थीलाई खान बस्न लाग्ने खर्च पनि विदेशमा भन्दा कम पर्न जान्छ।”

शैक्षिक प्रतिस्पर्धा शुरु हुन थालेयता नेपाल बाहिर स्थापित भइसकेका तर स्वदेशमा पढ्न नपाइने कार्यक्रमहरू नेपाल भित्र्याउन प्रायः सबै विश्वविद्यालयहरू लागेका छन्। यस्ता नयाँ विषयहरूले तन्नेरी पुस्तालाई उत्साहित बनाउन सफल भएको त छ नै साथै तिनले विदेशको तुलनामा नेपालमै कम खर्चमा पढ्न पाएका छन्। “मैले खोजेको विषय पढ्न बाहिरै जानुपर्ला जस्तो लागेको थियो, तर नेपालमै पढ्न र इन्टर्नसीप समेत गर्न पाइने भएपछि विदेश जानै परेन” बीआइएम अध्ययनरत् गेसन मानन्धर बताउँछन्।

स्वदेशभित्रै विकसित विषयगत विविधताप्रति खुशी व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केदारभक्त माथेमा भन्छन्, “अहिले पढ्न पाउने विषय पनि धेरै छन् र पढाइ सकेपछि काम गर्न पाइने अवसरहरू पनि।” शिक्षा क्षेत्रमा नेपालमा देखिएको विकासले एकातर्फ विद्यार्थीहरूको भविष्यको चिन्ता कम गरेको छ भने विदेश गई पढ्न नसक्ने, छात्रवृित्त पाउन नसक्ने वा राम्रो अङ्क ल्याउन नसक्ने विद्यार्थीहरूका लागि नयाँ ढोकाहरू खुलेका छन्।

एउटै संकायभित्र पनि अनेकौँ विषयमा विशेषज्ञता हासिल गर्न पाइने संभावनाको सुरुआत भएपछि हिजोका दिनहरूमा जस्तो परम्परागत विषयहरू नै पढ्नुपर्ने बाध्यता कम हुँदै गएको छ। सूचनाप्रविधि तथा व्यवस्थापन विषयलाई जोडेर तयार पारिएका बीसीआईएस, बीबीआईएस, बीआईएम जस्ता विषयहरू यसका उदाहरण हुन्। व्यवस्थापन संकायकै विद्यार्थीका लागि होटेल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम, बिजनेश एडमिनिस्ट्रेशन जस्ता नयाँपन भएका र बजारमा माग भएका विषयहरूको पठनपाठन पनि नेपालमै शुरु भइसकेको छ।

डाक्टर, इन्जिनियर भन्दा अलग विषय लिएर पनि विज्ञान संकायमै अगाडि बढ्न चाहने विद्यार्थीहरूका लागि बायोटेक्नोलोजी, ह्युमनबायोलोजी, जियोम्याटिक्स, फार्मेसी जस्ता विषयहरू सहयोगी भएका छन्। एसएलसीमा थोरै प्रतिशत ल्याउनेले मात्र रोज्ने भनेर चिनिने मानविकी संकाय पनि डेभलपमेन्ट स्टडिज, मिडिया टेक्नोलोजी, फिल्म स्टडिज, इन्टेरियर डिजाइनिङ जस्ता ताजा विषयहरूको प्रवेशपछि विद्यार्थीहरूको रोजाइमा पर्न थालेको छ। साथै बजारको मागसँगै समाजशास्त्र, पत्रकारिता, अङ्ग्रेजी साहित्य, बौद्ध दर्शन जस्ता पहिल्यैदेखि अध्यापन गराइने विषयहरूमा पनि विद्यार्थीहरूको चाप बढेको छ। देशमा गैर सरकारी संस्था, अस्पताल तथा नर्सिङ होमको सङ्ख्या वृद्धिसँगै चाहिने जनशक्तिको माग बढेकोले स्वास्थ्य तथा जनसङ्ख्या विषयमा विद्यार्थीहरूको चाप बढेको शिक्षाविद्हरू बताउँछन्।

यसैगरी सरकारी शिक्षण संस्थामा शिक्षक बन्नका लागि बीएड कार्यक्रम अनिवार्य गरिएपछि सोको अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा उल्लेख्य वृद्धि भएको महेन्द्ररत्न क्याम्पसका प्रमुख भीमबहादुर कुँवर बताउँछन्। विश्वविद्यालयले मात्रै नभइकन बजारको मागअनुसार निजी क्षेत्रका कलेजहरूको अग्रसरतामा पनि नयाँ कार्यक्रमहरू तयार भएका छन्। सन् १९९९ बाट शुरु भएको डेभलपमेन्ट स्टडिज तथा सन् २००६ मा शुरु भएको डेभलपमेन्ट फाइनान्सको स्नातक अध्ययन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग हेरेर नेशनल कलेजले तयार पारेको जानकारी प्रधानाध्यक माधव न्यौपाने दिन्छन्।

कानून अध्ययनको हकमा भने कानून स्नातक बन्नका लागि उच्च माध्यमिक शिक्षा सकेर कि त पाँच वर्ष पढ्नुपर्ने वा अन्य संकायमा स्नातक अध्ययन पूरा गरेर मात्र कानूनको तीनवर्षे स्नातक तहमा पढ्नुपर्ने भएपछि कानून पढ्ने विद्यार्थीहरूको सङ्ख्यामा कमी आएको छ। नेपाल संस्कृत विश्वविद्यालयमा भने विद्यार्थी सङ्ख्यामा खासै परिवर्तन नआएको संस्कृत विश्वविद्यालयका उप–प्रशासक हरिप्रसाद पाण्डेय बताउँछन्। यद्यपि उनको भनाइमा बौद्ध दर्शन पढ्ने विद्यार्थीहरूको सङ्ख्या भने बढेको छ। हाल ८ कलेजअन्तर्गत ६३६ विद्यार्थी शास्त्री अर्थात् स्नातक तहमा अध्ययनरत् छन्।

चनाखो हुनुपर्छ

विगतमा विषय छनौट कम हुँदा पनि पढ्न गाह्रो र अहिले विषय छनौट बढी हुँदा छान्न गाह्रो हुने विद्यार्थीको मनस्थिति बयान गर्दै कान्तिपुर सिटी कलेजका कार्यकारी निर्देशक सुमन कटुवाल भन्छन्, “विद्यार्थीहरूले भविष्यमा आफू के बन्ने र उपलब्ध विषयहरू पढे के–कस्तो काम गर्न सकिन्छ भन्ने हेक्का नभएको कारण पनि अल्मलिएका हुन्छन्।”

बदलिँदो समयसँगै बजारको माग पनि बदलिएको छ। परिवर्तनशील समयलाई बुझेर नयाँ अवसर ठम्याउनका लागि नयाँ विषयहरूप्रति फराकिलो सोच राख्न सक्नु आजको समयमा महत्त्वपूर्ण भइसकेको शिक्षाविद्हरूको बुझाइ छ। परम्परागत विषयतर्फ मात्र आकर्षित हुनुको साटो फाइन आर्ट तथा व्यवस्थापकीय विषयहरूको गम्भीरता बुझ्न पनि जरुरी रहेको बताउँदै प्रा. डा. माथेमा भन्छन्, “अहिलेको जमाना निकै परिवर्तनशील छ। आफ्नो करिअरलाई पनि परिवर्तित गर्न सक्ने ढङ्गले विषय पढ्नुपर्छ।”

नेपालमा विभिन्न नयाँ कार्यक्रम देखा परे पनि कार्यक्रम छनौटमा भने विद्यार्थी चनाखो हुनै पर्छ। कार्यक्रम वा कतिपय अवस्थामा कलेज नै बन्द भएका कारण विद्यार्थीहरूको भविष्य नै दिशाहीन भएका उदाहरणहरू पनि छन्। विद्यार्थीलाई सचेत गराउँदै गोल्डेन गेट इन्टरनेशनल कलेजका रमेश सिलवाल भन्छन्, “विद्यार्थीले भर्ना हुनुअगाडि शैक्षिक कार्यक्रम, कलेज, शिक्षक शिक्षिका, पूर्वाधारका बारेमा बुझ्नैपर्छ।”

यसका साथै अहिले बजार निकै प्रतिस्पर्धी भएकाले कुनै पनि कार्यक्रममा भर्ना हुनुअघि विद्यार्थीले उचित परामर्श लिनु जरुरी छ। प्राइम कलेजका प्रधानाध्यापक नरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, “सुन्दा गजब लाग्ने नयाँ विषयहरू रोज्नुअघि त्यस्ता विषयको समाजमा र रोजगार बजारमा उपयोगिता र प्रयोगको आकलन गर्नु आवश्यक छ।”

उच्च शिक्षामा प्रवेश गर्नुअगावै आफूले पढ्न चाहेको विषय, शैक्षिक संस्था र पेशागत लक्ष्यका बारेमा प्रस्ट हुनसके उच्च शिक्षाका लागि विषय छान्न सजिलो हुन्छ। कसैको लहैलहैमा लाग्नुभन्दा आफूमा पढ्न सक्ने क्षमता मनन गरेर मात्र निर्णय लिनुपर्छ। आइन्सटाइन एकेडेमीका प्रमुख कार्यकारी निर्देशक केआर राईको विचारमा राम्रा विद्यार्थी मात्र लिएर राम्रो नतिजा ल्याउने शैक्षिक संस्थाको पछि लाग्नुभन्दा विद्यार्थीले आफ्नो स्तर बुझेर औसत विद्यार्थीलाई पनि प्रगति गर्न प्रोत्साहन दिने शैक्षिक संस्था रोज्नु उपयुक्त हुन्छ।

खर्च र छात्रवृत्ति

विवेकराज मौर्य

विषयहरूमा विविधता र शैक्षिक संस्थाहरूको विकल्प बढे पनि निजी कलेज वा अन्य विश्वविद्यालयले विद्यार्थीहरूलाई त्रिभुवन विश्वविद्यालयले जस्तो सुलभ शुल्कमा शिक्षा प्रदान गर्न सकेका छैनन्। राजनीतिक क्रियाकलाप नहुनु, पूर्वनिर्धारित समयतालिकाअनुरुप कार्यक्रम सञ्चालन हुनु, समयमै परीक्षाफल हुनु, माग अनुसार आफ्नो प्रणालीमा परिवर्तन गराउनु जस्ता विद्यार्थीले रुचाउने संयन्त्रबापत कतिपय निजी कलेजहरूले विद्यार्थीहरूसँग महँगो शुल्क लिने गरेका छन्।

हुन त त्रिभुवन विश्वविद्यालयलाई सरकारी सहयोग प्राप्त हुने भएकाले त्यहाँ अध्यापन गराइने एमबीबीएस तथा इन्जिनियरिङ जस्ता साधारणतया महँगा विषयलगायत अन्य विषयहरू पनि विद्यार्थीले निकै सस्तोमा पढ्न पाउँछन्। तर यस्ता विशिष्ट कार्यक्रमहरूमा सीट सङ्ख्या निकै सीमित हुने भएकोले त्यहाँ पढ्ने अवसर सीमित दक्ष विद्यार्थीले मात्र पाउने गर्छन्। यद्यपि खुल्ला बजार नीतिअन्तर्गत स्थापित भएका शैक्षिक संस्थाहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि शुल्क पनि प्रतिस्पर्धी हुँदै गएको छ। पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान तथा प्रविधि विभागका डीन प्रा. डा. प्रदीप प्रधान भन्छन्, “कलेज तथा विश्वविद्यालयबीच प्रतिस्पर्धा हुनु राम्रो हो तर शिक्षा परिषदले निरन्तर रूपमा पढाइको स्तर तथा आवश्यक भौतिक संरचनाको अनुगमन गरिरहनुपर्छ।”

विभिन्न शैक्षिक संस्थाहरूले विद्यार्थीको सजिलोका लागि फरक फरक ढङ्गले छात्रवृत्ति दिँदै आएका छन्। काठमाडौँ विश्वविद्यालयले वार्षिक रु.१६ करोड बराबरको छात्रवृत्ति दिने बताउँदै विश्वविद्यालय योजना तथा विकास प्रबन्धक सिजन शर्मा भन्छिन्, “हामीले बर्सेनि करिब ३०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौँ।” यसैगरी निजी कलेजमा लागू हुने गरी शिक्षा मन्त्रालयले कुल सीट सङ्ख्यामध्ये २० प्रतिशत सीटमा छात्रवृत्ति दिनुपर्ने सर्कुलर हालै जारी गरेको छ। तर सबै शैक्षिक संस्थामा यो कार्यान्वयन भने भइसकेको छैन। क्याम्पियन एसोसिएट्सका कार्यकारी सम्पर्क अधिकृत ध्रुवराज शर्मा भन्छन्, “कलेजहरू विश्वविद्यालयको मातहतमा रहेर काम गर्ने हुनाले विश्वविद्यालयबाटै छात्रवृत्ति सम्बन्धी नियम तोकिँदा छात्रवृत्तिमा एकरुपता आउँछ। हामीले अहिले आफ्नै हिसाबले उत्कृष्टता र आवश्यकताका आधारमा विभिन्न छात्रवृत्ति दिँदै आएका छौँ।” केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विकास नियोगहरूले पनि पिछडिएका वर्गका विद्यार्थीका लागि विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएका छन्।

छात्रवृत्ति मात्र नभइकन पछिल्लो समयमा विद्यार्थीका लागि शैक्षिक ऋण पनि उपलब्ध हुन थालेका छन्। काठमाडौँ मोडल कलेजका निर्देशक रामेश्वर अर्याल आफ्नो कलेजमा आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीका लागि पार्टटाइम जब मिलाएर आंशिक वा पूर्ण छात्रवृत्ति दिने व्यवस्था भएको जानकारी दिन्छन्। उनी भन्छन्, “केही विद्यार्थीका लागि हामीले पढाइ सकेर काम गर्न थालेपछि कलेजको शुल्क तिरे हुनेसम्मको व्यवस्था पनि मिलाएका छौँ।” यसैगरी काठमाडौँस्थित वेभसर्च नामक कम्पनीले पढाइपछि चार वर्ष आफ्नो कम्पनीमा काम गर्नुपर्ने शर्तमा वर्षको दुई विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङ आफ्नो खर्चमा पढाउने योजना यो वर्षदेखि शुरु गरेको छ। विभिन्न ब्याङ्कहरूले समेत स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा दिन थालेका छन्।

विदेशको रहर

नेपालमै शिक्षाको अवस्था सुधि्रँदै गएपनि युवाहरूमाझ विदेशको शिक्षाको आकर्षण प्रत्येक वर्ष बढ्दो छ। खोजेको जस्तो कार्यक्रम अझै पनि स्वदेशमा नहुनु, व्यक्तिगत स्वतन्त्रताको चाहना, धेरै कमाउने सपना र साथीभाइको देखासिकी जस्ता कारणले विदेश जानुलाई विद्यार्थीले प्राथमिकतामा राखेको पाइन्छ। बाह्र कक्षा सकिनेवित्तिकै कतिपय विद्यार्थीहरू विदेशमै स्नातक अध्ययन शुरु गर्न तम्सिन्छन् भने हिजोआज नेपाली विश्वविद्यालयमा पढ्दा पढ्दै क्रेडिट ट्रान्सफर गर्ने परिपाटी पनि बढेको छ। विशेषगरी व्यवस्थापन संकाय र प्राविधिक विषयमा पछिल्लो पटक थपिएका सेमेस्टर प्रणालीमा अध्यापन हुने, ग्रेडमा मूल्याङ्कन हुने र विषयहरूको क्रेडिट आवर छुट्याइएका कार्यक्रमबाट विदेशमा क्रेडिट ट्रान्सफर गर्न सजिलो भएको छ। नेपालमै केही समय पढेर विदेशमा पढाइलाई निरन्तरता दिँदा पैसा जोगिने फाइदाले गर्दा विद्यार्थीहरू विश्वस्तरका नेपाली कार्यक्रममा भर्ना हुने त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा. परासर कोइराला बताउँछन्।

विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले राम्रो गरिरहेका पनि छन् तर छात्रवृत्ति नपाउँदा वा राम्रो विश्वविद्यालयमा भर्ना नपाउँदा विदेशमा दुःख पनि पाइन्छ। त्यसैले राम्ररी बुझेर मात्र विदेश जानुपर्ने सुझाव दिँदै काठमाडौँ विश्वविद्यालयका स्कूल अफ साइन्सका सहायक डीन प्रा. डा. आरबी क्षेत्री भन्छन्, “विदेशका सबै शैक्षिक संस्था राम्रा हुन्छन् नै भन्ने ग्यारेन्टी हुँदैन। जानै परे पनि राम्रो शैक्षिक संस्थामा पर्याप्त छात्रवृत्ति पाएपछि मात्र जानु बुद्धिमानी हुन्छ।”

नेपालमा खुलेका शैक्षिक संस्थाले विद्यार्थीहरूलाई स्नातक शिक्षाको छनौट गर्न सजिलो पारेको छ। संसार भूमण्डलीकरणतर्फ गइरहेकोे सन्दर्भमा विद्यार्थीको आकाङ्क्षा अनुसार शैक्षिक कार्यक्रम, मूल्याङ्कन प्रणाली, पाठ्यक्रम तथा अन्य पूर्वाधार विश्वस्तरको हाराहारीमा पुर्‍याउन सक्नुपर्ने चुनौती स्वदेशी कलेज तथा विश्वविद्यालयहरूको अगाडि छ। यो चुनौतीलाई पार गर्न सकेमा स्नातक पछि देश निर्माणमा योगदान गर्न सक्ने वा संसारको जतासुकै र जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्ने दक्ष जनशक्ति नेपालबाटै उत्पादन हुनसक्नेछ।

इञ्जिनियरिङ
  त्रिभुवन विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय
पोखरा विश्वविद्यालय
सिभिल
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन
इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स
इलेक्ट्रिकल
कम्प्युटर
इन्फर्मेसन टेक्नोलोजी      
सफ्टवेयर
आर्किटेक्चर
मेकानिकल
जियोम्याटिक्स
जियोम्याटिक्स एण्ड ल्यान्ड रिसोर्स म्यानेजमेन्ट
कृषि
बायोमेडिकल इन्जिनियरिङ
चिकित्सा विज्ञान
एमबीबीएस
नर्सिङ
पब्लिक हेल्थ
मेडिकल ल्याब टेक्नोलेजी
आयुर्वेद चिकित्सा
रेडियोग्राफी
ओप्थाल्मोलोजी
होमियोपेथिक मेडिसिन एण्ड सर्जरी
विज्ञान
फार्मेसी
बायोकेमेस्ट्री
इन्भायरोमेन्टल साइन्स
इन्भायरोमेन्टल म्यानेजमेन्ट
इन्भायरोमेन्टल इञ्जिनियरिङ
कम्प्युटर साइन्स
कम्प्युटर एप्लिकेशन
बायोटेक्नोलोजी
ह्युमनबायोलोजी
माइक्रोबायोलोजी
बीएस्सी
बीएस्सी कृषि
बीएस्सी वन
बीएस्सी भेटेनरी साइन्स
बी टेक फुड टेक्नोलोजी
बी टेक डेरी टेक्नोलोजी
वाइल्ड लाइफ कन्जर्भेसन
व्यवस्थापन
बिजनेस स्टडिज
बिजनेश एड्मिनिस्ट्रेशन
कमर्श स्टडिज
ट्राभल एण्ड टुरिजम
होटेल म्यानेजमेन्ट
हस्पिटालिटी एण्ड केटरिङ म्यानेजमेन्ट
बिजनेश इन्फर्मेशन सिस्टम्स्
कम्प्युटर इन्फरमेशन सिस्टम्स्
इन्फरमेशन म्यानेजमेन्ट
कम्प्युटर एप्लिकेशन
डेभ्लपमेन्ट फाइनान्स
फेशन डिजाइन
हेल्थ केयर म्यानेजमेन्ट
शिक्षा
बीएड
बी टेक एड
कानुन
एलएलबी
मानविकी
डेभ्लपमेन्ट स्टडिज
ललितकला
सोसल वर्क
शास्त्री
बौद्ध दर्शन
संगीत
मिडिया टेक्नोलोजी
जर्नालिजम एण्ड मास कम्युनिकेशन
लिवरल आर्टस् एण्ड साइन्स
बीए

(त्रिवि बीएअन्तर्गत अध्यापन हुने विषयहरूः संस्कृति, अर्थशास्त्र, भूगोल, मैथिली, नेपाली, अंग्रेजी, हिन्दी, उर्दू, नेपाल भाषा, संस्कृत, अन्तर्राष्ट्रिय भाषा, भाषा विज्ञान, इतिहास, गृह–विज्ञान, लाइब्रेरी साइन्स, राजनीतिशास्त्र, जनसंख्या, मनोविज्ञान, ग्रामीण विकास, समाजशास्त्र, स्टाटिजिक स्टडिज, नृत्य, फिल्म स्टडिज, गणित, चित्रकला, दर्शन, मूर्तिकला, स्टाटिस्टिक्स)