रिपोर्ट
चार्टर्ड एकाउन्टेन्ट
जागिर छ, मान्छे छैनन्
नेपालमा अहिले झाण्डै २५ सयदेखि तीन हजार चार्टर्ड
एकाउन्टेन्टहरूको माग छ, तर उपलब्ध चाहिँ २९८ मात्रै छन्।
• जयराम गौतम
 |
| तस्बिरहरू किरण पाण्डे |
| भावी चार्टर्ड एकाउन्टेन्टहरूः सिए पढ्ने
आकर्षण बढेको छ। |
जागिरका
लागि विभिन्न ठाउँमा प्रयास गरिरहेका वाणिज्यशास्त्रमा स्नातकोत्तर,
पाल्पाका रमेश न्यौपाने लेखा परीक्षकको एउटा साधारण जागिरमा सफल हुन
सकेनन्। अहिले आफ्नो क्षमता बढाउन 'चार्टर्ड एकाउन्टेन्सी' (सिए) पढिरहेका
रमेश भन्छन्, “म कलेजमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएपनि सिद्धान्तकेन्द्रित
नेपालको शिक्षा प्रणालीको दोषका कारण जागिरमा अयोग्य ठहरिएँ र सिए
पढ्न लागेको छु।” यसै वर्ष सिएको फाउण्डेसन कोर्ष उत्तीर्ण गरेकी भक्तपुरकी
सिर्जना गौतमले डाक्टर बन्ने इच्छा राखेर वायोलोजीमा १२ कक्षा सिद्ध्याइन्,
तर सिएमा अन्य प्राविधिक विषयमा भन्दा राम्रो अवसर र प्रतिष्ठा देखेर
वायोलोजी छाडिदिइन्।
पछिल्लो समय नेपाली युवामा सिए अध्ययन लोकप्रिय हुँदै
गएको छ। सामाजिक प्रतिष्ठाका साथै स्वरोजगारी, जागिर र वैदेशिक रोजगारीमा
समेत राम्रो अवसर पाइने हुनाले यसको आकर्षण बढेको हो। सन् २००० मा
नेपालमा 'फाउण्डेसन कोर्ष' शुरु हुँदा २१ जना भर्ना भएका थिए भने यो
वर्ष २१३ पुगेका छन्। गएको वर्ष (२००६) २५३ र त्यसअघि ३३० जना फाउण्डेसन
कोर्षको परीक्षामा सामेल भएका थिए। सात वर्षदेखि नेपालमा सिएको विषयवस्तु
निर्धारण गरेर परीक्षा सञ्चालन गर्दै आएको 'नेपाल चार्टर्ड एकाउन्टेन्टस्
संस्था' (आईक्यान) का अनुसार यहाँ अहिले पनि झण्डै २५ सयदेखि तीन हजार
'चार्टर्ड एकाउन्टेन्ट' हरूको माग छ भने उपलब्ध जनशक्ति २९८ मात्र
छ, जसमध्ये २३ जना नेपालकै उत्पादन हुन्। नेपालमा लेखा परीक्षणका लागि
सदस्यता लिएका 'ख', 'ग', र 'घ' नम्बरका लेखा–परीक्षकहरू चाहिँ सातहजार
भन्दा बढी छन्।
कोलम्बो प्लानअन्तर्गत सन् १९६४ मा भारतको मुम्बईमा
सिए तालिम उत्तीर्ण गरेका कुवेर शर्मा र डाकुरनाथ शर्मा नेपालका पहिलो
चार्टर्ड एकाउन्टेन्ट हुन्। अहिले पढ्ने सुविधा यहीँ भए पनि विद्यार्थीहरू
बाहिर जाने क्रम पनि जारी नै छ। भारतीय बोर्ड आईकाईको परीक्षा फर्म
भर्ने काममा १५ वर्षदेखि सहयोग गर्दै आएको 'एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्टस्
अफ नेपाल' (अकान) मार्फत् यो वर्ष १८१ जनाले परीक्षा फर्म भरेभने गत
वर्ष १७६ जनाले भरेका थिए। विद्यार्थीहरूले फर्म भरेर सोझै भारत पठाउन
पनि सक्ने भएकाले सङ्ख्या अझै धैरै हुनसक्छ। मे र नोभेम्बर महिनामा
हुने भारतीय बोर्डको परीक्षा आईकाईका प्रतिनिधिहरूले काठमाडौँस्थित
भारतीय दूतावासमै लिने गरेका छन्।
सिए अध्ययन गर्न व्यवस्थापनमा कम्तीमा ५० प्रतिशत अङ्क
प्राप्त गरेको वा अन्य संकायबाट प्रथम श्रेणीमा उत्तीर्ण भएको हुनुपर्छ।
यसको पढाइ एक/एक वर्षको फाउण्डेसन र इन्टरमिडियट तथा तीन वर्षको फाइनल
गरी पाँच वर्षको हुन्छ। फाइनल कोर्षमा कुनै सिए फर्ममा व्यावहारिक
तालिम (आर्टिकलसिप) लिनु पर्छ। यो प्राज्ञिक नभई स्वाध्यायनमा आधारित
कोर्ष भएकोले विद्यार्थीहरूलाई सहयोग गर्न काठमाडाँैमा आधा दर्जन जति
ट्युसन सेन्टर खुलेका छन्। तीमध्ये एक पुतलीसडकको 'सिमा' मा यो सेसनमा
करिब २५० विद्यार्थी छन्। अन्य सेण्टरहरूमा पनि सोही हाराहारीमा विद्यार्थीहरू
पढ्छन्।
पाँच वर्षका लागि रजिष्ट्रेशन र परीक्षा शुल्क नेपालमा
रु.३२ हजार ८५० र भारतमा रु.२७ हजार ५०० छ। ट्युसन सेन्टरहरूले पाँच
वर्ष पढाएको रु.८५ हजारदेखि १ लाखसम्म लिन्छन्। सिए अध्ययनको एउटा
आकर्षण पढाइकै बीचमा केही कमाउन सक्नु पनि हो। तीन वर्षको अनिवार्य
आर्टिकलसिप कुनै सिए फर्ममै गएर गर्नुपर्नेर त्यसो गर्दा ती फर्मका
काममा पनि पर्याप्त सहयोग पुग्ने भएकाले आइक्यानले विद्यार्थीलाई मासिक
सरदर रु.२५०० दिनुपर्ने नियम नै बनाएको छ। फर्मको अवस्थाअनुसार अधिकांश
विद्यार्थीले त्यसको दुईदेखि चार गुणा बढी पैसा पाइरहेको सिमाका कार्यक्रम
निर्देशक विजय पाठक बताउँछन्। तर विद्यार्थीहरू चाहिँ फर्महरूले उचित
पारिश्रमिक नदिएर आफ्नो शोषण गरेको ठान्छन्। तालिम लिइरहेको संस्थाविरुद्ध
बोल्दा आफैँलाई समस्या पर्ने डर देखाउँदै केही विद्यार्थीले आईक्यानले
तोकिदिएको पैसा समेत आफूहरूले नपाएको बताए।
 |
| सिए हुन ट्युशन पढ्दै। |
आर्टिकलसिप तालिम सकेका विनीत झाको अनुभवमा यसरी पाइने
पैसा पढ्नका लागि पर्याप्त नभए पनि सहयोगी भने हुन्छ। नेपाली बोर्डको
पहिलो सिए भवनाथ दाहाल पोखरामा भएको एउटा अन्तरक्रियामा विद्यार्थीहरूले
सिए पढ्नेले पैसा पाउँछन् भन्दा विश्वास नगरेर तीन पटकसम्म 'साँच्चै
हो' भनी सोधेको स्मरण गर्छन्। काठमाडाँै उपत्यका बाहिर पर्याप्त जानकारी
नपुगेको ठानेर आईक्यानले दुई वर्षदेखि उपत्यका बाहिरका व्यवस्थापनका
विद्यार्थी र शिक्षकहरूलाई सिएको बारेमा जानकारी दिने अभिमुखीकरण कक्षा
चलाउन थालेको छ। ट्युसन सेन्टरहरूले पनि यस्ता कार्यक्रम चलाउने गरेका
छन्।
भारतलगायत तेस्रो मुलुकमा सिए पढेर आएका विद्यार्थीहरूले
नेपालमा काम गर्न यहाँको कर प्रणाली, कर्पोरेट कानुन र एकाउन्टिङ एण्ड
अडिटिङ स्टाण्डर्डजस्ता विषयहरूमा आईक्यानको परीक्षा उत्तीर्ण गरी
सदस्यता लिनु पर्दछ। सिएको साख जति ठूलो छ, पढ्न त्यति नै गाह्रो छ।
सिर्जना भन्छिन्, “सिए पढ्ने विद्यार्थीबाट ठूलो मेहनत र धैर्य आवश्यक
पर्छ।” आईक्यानका प्रबन्ध निर्देशक नन्दकिशोर शर्मा यो पूर्णतः व्यावहारिक
अध्ययन भएकोले कठिन हुने बताउँछन्। सिएको फाउण्डेसन तह एकैपटकमा उत्तीर्ण
हुनुपर्छ भने इन्टरमिडियट र फाइनलमा केही खुकुलो व्यवस्था छ।
सिए तथा लेखा परीक्षकहरूको छाता सङ्गठन अकानका पूर्वअध्यक्ष
सतिशचन्द्र लाल सरकारले सिएहरूको भूमिकालाई परम्परागत लेखा परीक्षकको
रूपमा मात्रै बुझेको गुनासो गर्छन्। कर प्रणाली, औद्योगिक नीतिका साथै
समग्र आर्थिक विकासमा सरकारले सिएहरूको सहयोग लिन सक्नुपर्छ भ्ान्दै
उनी डुब्दै गएका सार्वजनिक संस्थानहरूको विकासमा पनि सिएहरूले योगदान
गर्न सक्ने बताउँछन्। “ब्याङ्किङ र निजी क्षेत्रले सिएको भूमिकालाई
चिनेकाले नै यो क्षेत्रले विकास गरेको हो”, उनले भने।
नेपाली विद्यार्थीहरूको अझै भारतीय बोर्डलाई विश्वास
गर्ने प्रवृत्तिप्रति लक्ष्य गर्दै आईक्यानका निर्देशक शर्माले नेपालको
पढाइको गुणस्तर भारतको भन्दा कम नभएको बताए। ठूलो देशमा धेरै सम्भावना
हुन्छ भन्ने धारणाका कारण पनि भारतीय बोर्डलाई विश्वास गरिँदै आएको
शर्माको अनुभव छ। बालाजुका आशिष ढकालले सिए पढ्न भारतीय बोर्ड नै किन
छाने? उनी भन्छन्, “भारतीय बोर्डको पढाइ केही स्तरीय हुने भएकाले रोजेको
हुँ।” भारतको परीक्षा शुल्क नेपालको तुलनामा केही सस्तो भए पनि आर्र्टिकलसिप
तालिम गर्न भारतमै बस्नुपर्ने हुनाले त्यहाँको पढाइ नेपाली विद्यार्थीका
लागि बढी खर्चिलो छ।
नेपालमा सिए उत्तीर्ण गर्ने पहिलो समूहका भवनाथ दाहाल
आईक्यानसँग पर्याप्त पूर्वाधार नहुँदा आफूहरूले पढ्दा धेरै दुःख पाएको
सम्झन्छन्। महालेखा परीक्षकको विभागमा कार्यरत उनले पढ्ने बेलामा चार्टर्ड
एकाउन्टेन्टहरूका घरघर र सार्वजनिक पुस्तकालय धाएर पाठ्यपुस्तक जुटाएका
थिए। तर अहिले नेपालको गुणस्तर पनि अन्य देशको हाराहारीमै आइपुगेकोले
तेस्रो मुलुक जानुपर्ने बाध्यता नरहेको बताउँदै उनी नेपालमा काम गर्ने
सिएले यहीँ पढ्नु उचित हुने सुझाव दिन्छन्।
|