| •
वसन्त कुँवर |
 |
रिपोर्ट
विष्टसरको हत्या र दुर्व्यसन
प्रमाणित भइसकेको पक्ष हो– समाजमा घट्ने अपराधको
७० प्रतिशत कारक तत्व लागू औषध नै हो। प्रहरी र जेलको सङ्ख्या बढाएर
होइन, कानूनी राज्यप्रतिको जनताको प्रतिबद्धताले मात्रै यसलाई नियन्त्रण
गर्न सम्भव छ।
२८ असार
२०६४ मा काठमाडौँको शंखमुलमा प्राध्यापक धर्मराज विष्ट (तस्बिर) को
हत्या भयो। किन र कसले यो हत्या गर्यो भन्ने यकिन भइसकेको छैन। तर
केही परिस्थितिजन्य आधारहरूको अध्ययन गर्यो भने यो हत्याकाण्डसँग
अर्को एउटा डरलाग्दो मामिला जोडिन आइपुग्छ। अर्थात् सार्वजनिक विवरणअनुसार
यो हत्याकाण्डका पछाडि लागू औषध (ड्रग्स) दुर्व्यसनीको हात हुनसक्छ।
यो अनुमान मान्न किन कर लाग्छ भने विश्वमै प्रमाणित
भइसकेको छ– समाजमा घट्ने अपराधको ७० प्रतिशत कारक तत्व लागू औषध नै
हो। दुर्व्यसनीलाई हरेक दिन वा धेरै पटक यस्तो वस्तु आवश्यक पर्छ।
लागू औषध नपाए निन्द्रा लाग्दैन, जीउ दुख्छ, आत्मबल कमजोर हुन्छ, डिप्रेसन
हुन्छ भन्ने भ्रम उसलाई परेको हुन्छ। त्यसबाट मुक्ति पाउन उसले पटक–पटक
त्यस्तो पदार्थ खोजिरहन्छ। त्यो वस्तु अवैध भएकोले अपराधीसँग किन्नुपर्ने
हुन्छ। पीडित व्यक्तिको कमजोरीको फाइदा उठाई अपराधीहरूले हजारौं प्रतिशतसम्म
मूल्य बढाएर पदार्थ बेच्ने गर्दछन्। लागू औषधको नियन्त्रणमा परिसकेको
व्यक्तिले सो पदार्थ प्राप्तिका लागि जुनसुकैस्तरको अपराध गर्न पछि
पर्दैन।
दुर्व्यसनी आफूलाई चाहिने लागू पदार्थ किन्न आवश्यक
पर्ने पैसा जुटाउन सक्रिय भइरहन्छ। उसले त्यो रकम सकभर घरभित्रबाट
नै जुटाउने प्रयास गर्दछ। विभिन्न कारण देखाइ घरमा पैसा माग्छ, त्यसरी
नभए झूठो कुरा गरेर ठग्छ। त्यसरी नभए चोर्छ, चोर्न पनि नसके घुर्की
लगाएर कोशिश गर्दछ। त्यसले पनि नभए घरमा क्षति पुर्याएर प्राप्त गर्ने
प्रयास गर्दछ। यसबाट पनि पार लागेन भने उसले परिवारका सदस्यहरूलाई
शारीरिक, मानसिक चोट पुर्याई डर, त्रास, धम्कीको सहारा लिएर पैसा
प्राप्त गर्न प्रयास गर्दछ।
घर भित्र हुने यस्तो प्रयासले पैसा प्राप्त हुने लक्षण
नदेखेको अवस्थामा पैसाका लागि घर बाहिर प्रयास गर्न बाध्य हुन्छ। अनि
गुण्डाहरूको समूहमा पुग्ने, कसैलाई रकम लिएर आक्रमण गर्ने, पैसा उठाउने
काम गर्ने, लुटपाट गर्ने, चोरी गर्ने, बगली मार्ने, तस्करीमा सहयोग
गर्ने, लागू औषध बेचविखन गर्ने, अवैध हातहतियार ओसारपसारमा समन्वय
गर्ने, हत्या गर्ने, अपहरण गर्ने, सरसामान कम मूल्यमा बेच्ने, ठगी
गर्ने जस्ता काममा ऊ संलग्न हुनपुग्छ। यस बाहेक चुनावमा कुनै दल वा
व्यक्तिको पक्षबाट झैझगडा गर्ने, बुथ लुट्ने, चिठ्ठा आदिका नाममा पैसा
उठाउने, मोटरसाइकल चोरी गर्ने काममा पनि यस्ता व्यक्तिहरू लाग्छन्।
लागू पदार्थको असरका कारण दुर्व्यसनीको चेतना र शरीरले
ठीक ढङ्गले काम गरिरहेको हुँदैन। यस्तो अवस्थामा उसले आफ्नो कामको
परिणाम अनुमान गर्न सक्दैन। फलस्वरुप तर्साउँछु भनेर प्रहार गर्दा
व्यक्ति मारिसकेको हुनसक्छ। गलत र सही छुट्याउन नसक्ने हुँदा उनीहरू
गुण्डा वा राजनीतिक दलका सानातिना प्रलोभनमा पर्छन्। आफ्नो स्वार्थसिद्धिका
लागि दल वा समूहले उनीहरूलाई भयानक परिणाम हुनसक्ने गलत काममा सजिलै
उपयोग गर्न सक्दछन्।
यकिन भइनसके पनि विष्टसरको हत्या पनि पैसा लुट्ने उद्देश्यले
त्यो दुर्व्यसनको समस्यामा परेको कसैबाट भएको हुनसक्ने सम्भावना छ।
तर जसरी विष्ट सरको हत्या भएको छ त्यसरी नै धेरै हत्याहरू अझै रहस्यमै
छन्। झण्डै दुई वर्ष अगाडि जोरपाटीमा हत्या गरिएका सुजेन्द्र श्रेष्ठको
परिवार अझै आफ्नो छोराको हत्यारा खोजिरहेको छ। कति अरू परिवारको यस्तो
अवस्था होला।
गृह प्रशासन निक्कै चिन्तित हुनु यस कारण पनि जरुरी
छ कि नेपालमा झण्डै १ लाख ५० हजार दुर्व्यसनी भएको अनुमान छ। तिनको
एक प्रतिशतले पनि लुटपाटका माध्यमबाट रकम जुटाउन प्रयास गरिरहेका छन्
भने झण्डै पन्ध्र सय यस्ता व्यक्ति देशभर लुटपाट र अपराधमा संलग्न
हुन्छन्। हरेक दिन पन्ध्र सय व्यक्ति पैसाका लागि अपराधमा संलग्न रहनु
आम जनताका लागि जतिसुकै वेला पनि जीउधन र स्वतन्त्रता हर्ने कारण हुन
सक्दछ।
गृहमन्त्री कृष्णप्रसाद सिटौला र प्रशासनका उच्च कर्मचारीले
यदि दुर्व्यसनको समस्यालाई सानो ठानिरहेका छन् भने त्यो उनीहरूको गम्भीर
भूल हो। अमेरिकाले नेपालको हेटौँडाको पहाडमा उमे्रको गाँजा उखेल्न
त्यसै पैसा दिएको होइन, कोलम्बियामा सैनिक आक्रमण त्यसै गरेको होइन।
आफ्नो देशको नागरिकलाई लागूऔषधबाट जोगाउन उसले यस्तो काम गरेको हो।
चीनमा 'अफिम वार' भएपछि मृत्युदण्डको सजाय त्यसै राखिएको होइन उनीहरूले
बुझे, देशका युवाहरूलाई दुर्व्यसनी बनाई शत्रु राष्ट्रले सार्वभौम
सत्ता नै खत्तम गरिदिन पनि सक्छ।
ेपाल विरुद्ध पनि त्यो षड्यन्त्र भएको छैन भन्ने स्थिति
छैन। हाम्रो देश भित्र करिब ८ देखि ९ अरब रुपैयाँ वार्षिक ड्रग्स खरिदको
नाममा विदेशिन्छ यो पैसा कुनै विकास हेर्ने मन्त्रालयको भन्दा धेरै
हो। देशभित्र घट्ने अपराधको ७० प्रतिशत कारक तत्व ड्रग्स भएपछि जबसम्म
ड्रग्स रोकिन्न अपराध पनि रोकिन्न। संसारमै आतङ्कवादको एउटा आर्थिक
श्रोत ड्रग्स भएको छ। दुर्व्यसनी सदस्य भएको घरमा ९९.९ प्रतिशत घरायसी
हिंसा निश्चित छ। आज एचआईभी/एड्स हेपटाइटिस सि जस्ता रोगको मुख्य कारक
ड्रग्स नै हो। सामान्यतया दुर्व्यसनी भएपछि उपचार नपाए १० वर्षभित्रमा
सो व्यक्तिको मृत्यु भएको देखिएको छ। दुर्व्यसनको समस्या भएको घरमा
अरू निरपराध सदस्यको समेत उत्पादकत्व घट्छ।
प्रहरी र जेलको सङ्ख्या बढाएर अपराध रोकिने होइन। कानूनी
राज्यप्रतिको जनताको प्रतिबद्धताले मात्रै यो अपराध नियन्त्रण गर्न
सम्भव छ। युरोपका मुलुकमा बसमा कन्डक्टर छैनन् तर पनि सबै पैसा नतिरी
यात्रा गर्दैनन्। दुई जना प्रहरी पनि सडकमा हुन्नन् तर कैयौं किलोमिटर
क्षेत्र शान्त देखिन्छ। त्यहाँ प्रहरी प्रति जनविश्वास छ। अपराध नियन्त्रण
गर्न अपराधको कारक तत्व नियन्त्रण गरी प्रहरी दक्षता र जनविश्वास सँगसँगै
बढाउँदै लैजानु पर्दछ। तर हाम्रा गृहमन्त्री आफ्ना दर्शन परिक्षण गर्नमै
व्यस्त छन् जसको मूल्य अरू कति विष्टसर र तिनका परिवारले चुकाइरहनुपर्ने
हो टुङ्गो छैन।
|