रमझम
एउटी भूमिका थुप्रै भूमिकामा
कान्तिपुर
एफएमकी रेडियो प्रस्तोता भूमिका थापाको आवाज एफएममा नसुने पनि मोबाइल
बोक्ने जो कोहीले थुप्रै पटक सुन्दै आएका छन्। किनकि नेपाल टेलिकमको
मोबाइलमा अङ्ग्रेजीमा र मेरो मोबाइलमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा
जानकारी दिन राखिएको स्वचालित आवाज उनकै हो। विगत ७ वर्षदेखि एफएम
रेडियोमार्फत् आवाजको जादू छर्दै आएकी भूमिका शुरुमा मनोरञ्जनात्मक
कार्यक्रममा जमे पनि अहिले 'करिअर फोरम' जस्ता जानकारीमूलक कार्यक्रममा
केन्द्रित छिन्। सातामा आठ वटा कार्यक्रम सञ्चालन गर्दै आएकी उनी भन्छिन्,
“अनुभव सँगाल्दै जाँदा रेडियोकर्मी हुनुको सामाजिक दायित्व बुझ्न थालेकी
छु।” रेडियोको माध्यमबाट घरघरमा पुगेर हरेक प्रकारका मानिसको मन जित्नु
र दुःखमा डुबिरहेकालाई पनि खुशी पार्ने काम उनलाई चुनौतीपूर्ण लाग्छ।
तर उनी यसैमा रमाइरहेकी छिन्।
भूमिकाको स्वर स्टेज कार्यक्रमहरूमा समेत जमेको छ।
विगतमा नेपाल वान टेलिभिजनको 'नेपाल स्टार'की सञ्चालिका रहेकी र नेपाल
टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला क्याटमाण्डू मा अभिनय समेत गरेकी
भूमिकालाई फेशन–मोडलिङमा लाग्ने र क्याट्वाक गर्ने मन भने छैन। अभिनयलाई
नै करिअर बनाउनेबारे पनि उनले सोचेकी छैनन्। मिडियामा पनि नेपथ्यमा
रहेर नै काम गर्न उनी बढी रुचाउँछिन्। कान्तिपुर सीटी कलेजमा आमसञ्चारमा
स्नातकोत्तर पढ्दै गरेकी भूमिका आफ्नो ब्याचकी उत्कृष्ट विद्यार्थी
ठहरिएकी छिन्। मिडियामार्फत् समाजलाई बुझ्न सजिलो भएको बताउने भूमिकाको
इच्छा विद्यावारिधि सकेर पिछडिएका महिला र बालबालिकाको क्षेत्रमा काम
गर्नेछ।
शब्दः अनुशील
तस्बिरः मीनरत्न बज्राचार्य
रमझम रिपोर्ट
चलचित्र क्षेत्रमा हैकमवाद!
नेपाली चलचित्र क्षेत्रलाई हैकमवादले यसरी जकडेको
छ कि पुरानाहरू आजित भएका छन् भने नवप्रवेशीले कहिल्यै नपाएको सास्ती
खेप्नुपर्छ।
•
कृष्ण शाह यात्री
 |
| सिफारिश लिनैपर्छः अशोक शर्मा। |
निर्देशक मनोज
पण्डितले चार वर्षअघि चलचित्र 'लक्ष्य' बनाउँदा धेरै दुःख खेप्नु पर्यो।
सर्वप्रथम चलचित्र विकास बोर्डबाट स्वीकृति लिनुपर्ने थियो। बोर्डले
उनीसँग निर्माता संघको सिफारिस चाहिने बतायो। त्यसपछि निर्माता संघले
'लक्ष्य'को निर्माण टोली; कलाकार संघ, निर्देशक समाज, द्वन्द्व निर्देशक
आदि संघ/संस्थाको सदस्य भए/ नभएको खोजीनिती गर्यो। त्यसपछि शुरु भयो
मनोजको सङ्घर्ष।
मनोज भित्री मनदेखि आस्था र विश्वास नरहेको संघको सदस्यता लिन चाहँदैनथे।
तर ती संघहरूको सदस्यता नलिई उनले 'लक्ष्य'को काम नै शुरु गर्न नपाउने
भए। उनको टोलीमा नायक, नायिका, द्वन्द्वनिर्देशकलगायत प्रायः सबै नयाँ
अनुहारका कलाकार थिए। उनले कतिसम्म सास्ती बेहोर्नु पर्यो भने द्वन्द्व
निर्देशनका लागि अष्ट्रेलियाबाट आएका मार्सल आर्टका खेलाडी मेघबहादुर
चेम्जोङ्गलाई काम गर्ने वातावरण नै दिइएन। उनी भन्छन्, “द्वन्द्व निर्देशक
संघका राजेन्द्र खड्गीले पहिला हाम्रो सहायक नभइकन नयाँलाई लिन पाइन्न
भनेपछि बाध्य भएर धेरै काम चेम्जोङ्गको भएपनि केही फिल्ममा सहायक भई
काम गरेका अर्का द्वन्द्वनिर्देशकको नाम राख्नु पर्यो।”
 |
| बद्लियो बोलीः राजेन्द्र खड्गी। |
यो घटना पहिलो होइन। यसअघि पनि 'मुकुन्डो' बनाउने बेलामा
मुलुक बाहिरबाट क्यामेराम्यान ल्याउँदा निर्माता/निर्देशक छिरिङ रितारको
काममा भाँजो हाल्न खोजिएको थियो। नवीन सुब्बासामु पनि 'नुमाफुङ' बनाउँदा
संघ/संस्थाको सदस्यता लिनुपर्ने झमेला तेर्स्याइएपछि इच्छा नभए पनि
सदस्यता लिन बाध्य पारियो। चलचित्रसम्बन्धी विभिन्न संघ/संस्थाको सदस्यता
नलिई चलचित्र बनाइएमा रिलिज नै गर्न नदिइने धम्की दिइएपछि दिपेन्द्र
गौचनले आफ्नो योजना थाती राखे। चलचित्र क्षेत्रको यो नियति लोकतन्त्र
बहाली हुँदा पनि कायमै छ। निर्देशक नवीन सुब्बा भन्छन्, “लोकतन्त्रमा
नागरिकको अधिकार सर्वोपरि हुन्छ। कुनै पनि संघ/सङ्गठनमा आबद्ध हुने
नहुने व्यक्तिको निजी अधिकारको कुरा हो, तर यो कुरा यहाँ चल्दैन।”
चलचित्रकर्मीको स्वतन्त्रताको यो मुद्दा अहिले सर्वोच्च
अदालतसम्म पुगेको छ। १२ असारमा निर्माता राजकुमार राईले आफ्नो नयाँ
चलचित्रको स्वीकृतिका लागि चलचित्र विकास बोर्ड जाँदा पहिले जसरी नै
निर्माता संघ र निर्देशक समाज लगायतकाको सिफारिस माग गरिएपछि चलचित्र
ऐन र संविधान विपरित भएको भन्दै यी संस्थाहरू विरूद्ध सवोच्चमा रिट
हालेका छन्।
सर्वोच्चले ती संस्थाहरूलाइ ३५ दिने कारण देखाऊ आदेश
जारी गरेको छ। बोर्डले ऐन र कानुनको परिधि भन्दा बाहिर गएर संघ/संस्थाहरूको
सिफारिस माग्नु उचित नभएको राजकुमार बताउँछन्। उनी भन्छन्, “यदि सरकारले
तोकेको नियमअनुसार सबै कर चुक्ता गरेको छु भने मैले स्वतन्त्र रूपमा
चलचित्र निर्माण र व्यवसाय गर्न किन नपाउने?” अहिले राईले उठाएको मुद्दा
उनको मात्र नभई सम्पूर्ण चलचित्र उद्योगसँग गाँसिएको सिनेकर्मीहरू
बताउँछन्। मुद्दाको छिनोफानो नभए पनि चलचित्र विकास बोर्डमा भने स्वीकृति
दिने काम यथावत् छ। बोर्डका प्रशासन अधिकृत फणीन्द्र चौलागाई भन्छन्,
“सिफारिस ल्याउनेलाई स्वीकृति दिइरहेका छौँ।”
 |
| हैकमवाद हावी छः राजकुमार राई, नवीन सुब्बा र मनोज पण्डित। |
अहिले 'चलचित्र महासमन्वय समिति' अन्तर्गत ७ सङ्गठनहरू
छन्– चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघ, प्राविधिक
संघ, साङ्गीतिक संघ र द्वन्द्व संघ। २०५७ सालमा चलचित्र विकास बोर्डको
स्थापना भएपछि तत्कालीन निर्माता संघका अध्यक्ष यादव खरेल अध्यक्ष
हुँदा चलचित्र निर्माणको इजाजत दिनुअघि चलचित्र निर्माता संघको सिफारिस
चाहिने कुरा पारित गरेका थिए। त्यो समयमा हलवालाहरूको 'चलचित्र संघ'
र निर्माताहरूको 'निर्माता संघ' बीच अस्तित्वको लडाइँ चलिरहेको थियो।
निर्माताहरू हलवालाहरूबाट मारमा परेको भन्दै आफ्नो पकड दह्रो बनाउन
चाहन्थे। यसै क्रममा एकता र प्रभावको सूत्रको रूपमा खरेलले त्यो निर्णय
गरेको सिनेकर्मीहरू नै बताउँछन्। तत्कालीन बोर्डका अध्यक्ष खरेल त्यो
बाध्यात्मक कानूनी प्रावधान नभई स्वेच्छिक भएको बताउँछन्। भन्छन्,
“बाध्यात्मक हुन ऐनमा हुनुपर्छ। तर प्रशासनिक हिसाबबाट सबैको सहमति
लिएर गरिएको हो। तर मेरो पालामा त्यो सिफारिस लिएर आउन चाहन्न भन्ने
कोही पनि भएन।”
निर्माता संघले रिफारिस पत्र दिने बहानामा आफ्नो संघको
सदस्यता अनिवार्य गर्न थालेपछि यसको सिको अरू संघ/संस्थाले पनि गरे।
२०६० सालमा नेपाल चलचित्र निर्देशक समाजले स्वीकृति दिनुअघि आफ्नो
संघको सिफारिस माग्न बोर्डलाई निर्णय गर्न लगायो। यसपछि निर्माता संघले
सिफारिस दिनुअघि कलाकार संघमा समेत आबद्ध हुनुपर्ने प्रावधान राख्यो।
निर्माता संघका अध्यक्ष अशोक शर्मा भने निर्माता संघले गर्दा नै सरकारबाट
उपकरणमा भन्सार छुट, नेपाली चलचित्रलाई कर छुट भएको बताउँछन्। उनी
भन्छन्, “सिफारिस गर्नु भनेको निर्माताका लागि जमानत बसिदिनु हो। संघको
सदस्यता लिन्न भन्नेले यी सुविधाहरू पनि लिन्न भन्न सक्नुपर्छ।”
 |
द्वन्द्व निर्देशक संघका अध्यक्ष राजेन्द्र खड्गी कलाकारको
सुरक्षाका लागि बीमा गर्न निर्माताहरूलाई दबाब दिने काम आफूहरूले गर्दै
आएको बताउँछन्। पहिले त्यसका लागि कतिलाई 'प्रेसर' नै दिए पनि अहिले
सदस्य बनाउन करकाप र बाध्य नपारेको दाबी गर्छन्। भन्छन्, “सदस्य बनाउन
र सिफारिस अनिवार्य गर्न अहिलेको अवस्थामा जरुरी छैन तर, निर्माताले
सबै कलाकारको बीमा चाहिँ गर्नै पर्छ।” चलचित्र निर्देशक समाजका अध्यक्ष
नारायण पुरी सिफारिसको नियमले चलचित्रको अभिलेख राख्न सहयोग पुग्ने
र यसबाट संस्थाको आयश्रोत पनि बढ्ने बताउँछन्। भन्छन्, “निर्माता संघको
सिफारिस चाहिने भएपछि हामीले पनि बोर्डलाई अनुरोध गरेर थप्न लगाएका
हौँ।” पुरीले सिफारिस बाध्यात्मक नभएको बताए पनि बोर्डले दुईसंस्थाको
सिफारिस बिना निर्माणको स्वीकृति नै दिँदैनन् भने ती दुईसंस्थाले अरु
५ संस्थाको स्वीकृतिबिना सिफारिस दिँदैनन्।
लोकतान्त्रिक आचरण र व्यवहारको अभ्यास गराउन पेशागत
संघ/ सङ्गठनहरू स्थापना हुनु राम्र्रो कुरा हो, तर कसैलाई पनि अङ्कुश
लगाउनुहुँदैन। पछिल्लो समयमा नेपाली चलचित्रसम्बन्धी २९ वटा संघहरू
खोलिएका छन्। चलचित्रकर्मी सुब्बा भन्छन्, “सबै संघको सदस्यता लिने
हो भने ५० हजारभन्दा बढी रकम त त्यसैमा सकिन्छ।”
मोडल बने सर्जक
 |
| तुलसी घिमिरे र माधव घिमिरे। |
बालाजुस्थित नेपाल चलचित्र विकास संघको फिल्म स्टुडियोमा हालै छायाङ्कन
भएको एउटा स्वदेशगानको म्युजिक भिडियोमा पहिलो पटक सर्जकहरू एकसाथ
अभिनय गर्न व्यस्त थिए। तुलसी घिमिरेको निर्देशनमा 'मोडलिङ' गर्न तम्तयार
कविवर माधव घिमिरे मेक अप म्यानले गालामा पाउडर दल्दै गर्दा भन्दैथिए,
“धेरै वर्षपछि तन्नेरी भएको अनुभव भो!” अनि जनकवि केशरी धर्मराज थापाले
थपे, “म पनि अझै क्यामरामा त हिरो नै देखिने रै'छु।”
हर रात सपनामा नेपाल देख्न पाउँ्क
ब्यूँझेेर नेपालकै माटोलाई ढोग्न पाउँ्क
नागरिक मञ्च नेपालका अध्यक्ष जीपी शर्मा ढुङ्गेलद्वारा रचित यस गीतको
म्युजिक भिडियोमा साहित्यकारहरू माधव घिमिरे, मोदनाथ प्रश्रित, गायकहरू
फत्तेमान, प्रेमध्वज प्रधान, धर्मराज थापा, सङ्गीतकार शम्भुजित बास्कोटा,
निर्देशक तुलसी घिमिरे, डा. भोला रिजाल, भिक्षु कुन्दन, धावक वैकुण्ठ
मानन्धर र गीतकार ढुङ्गेल आदिको अभिनय रहेको छ। भिडियोमा २४ नेपाली
र ७ विदेशी सर्जक–कलाकारले अभिनय गरेका छन्।
म्युजिक भिडियोमा दीपक लिम्बू, जगदीश समाल, माण्डवी त्रिपाठी, आभा
मुकारुङ, अञ्जना गुरुङ र रोशन गुरुङको स्वर तथा शम्भुजितको सङ्गीत
रहेको छ।
• सन्तोष
बराइली
विद्रोहको फिलिङ्गो
गाउँकै दलितमाथिको उत्पीडन र विद्रोहको कथामा गाउँले कलाकारहरूले
अभिनय गरेको सामाजिक चलचित्र फिलिङ्गो प्रदर्शन भएपछि दर्शकले लोकध्वज
शाह र गाउँले कलाकारको कामलाई खुबै प्रशंसा गरे। हिँड्नलाई वैशाखीको
सहारा लिनुपर्ने गुल्मी, हर्राचौरका लोकध्वजले दुई वर्ष लगाएर चलचित्र
पूरा गरेका हुन्। चलचित्रको निर्माणसँगै लेखन, निर्देशन, छायाङ्कन,
सम्पादन जस्ता सबै काम उनी एक्लैले गरेका छन्। डिजिटल प्रविधिको सो
चलचित्रमा फुर्से नेपाली, रामे नेपाली र किरण सिंह आदिले अभिनय गरेका
छन्। चलचित्रको शीर्ष गीत–सङ्गीत रामेशको रहेको छ। फिलिङ्गो को च्यारिटी
शोहरूको आम्दानी अपाङ्गता भएका तथा दलितहरूका लागि खर्च गर्ने तथा
अरू सामाजिक विषयमा चलचित्र बनाउँने योजना रहेको लोकध्वज बताउँछन्।
रमझम विविध
मलेशियामा संगीत कुम्भ
 |
| सुरेशराज न्यौपाने |
| सोलोमान आइल्याण्डका कलाकारहरू। |
२०–२२ जुलाईसम्म आकाशे
पानी र १४ साङ्गीतिक समूहहरूको उत्कृष्ट साङ्गीतिक सिर्जनाको अभूतपूर्व
सङ्गमस्थल बन्न पुग्यो, मलेशियाको पर्यटकीय शहर पेनाङको क्वेरी वनस्पति
उद्यान। विश्व सङ्गीत महोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा १२
मुलुकका सयभन्दा बढी कलाकारहरूले भाग लिएका थिए। कार्यक्रमको पहिलो
दिनमा उपस्थित हजारौँ श्रोता र दर्शकहरूको उत्साहले मलेशियन लोक सङ्गीत,
सोलोमन आइल्याण्डको सिराटो र पाइपर्स, मङ्गोलियाको टोबु सङ्गीतलाई
गतिलो साथ दिएको थियो। पहिलो दिनको मुख्य आकर्षण थियो, सोलोमन आइल्याण्डका
कलाकारहरूको गीत–सङ्गीत। उक्त प्रस्तुतिमा तिनले आफ्नो समाजको सांस्कृतिक
परिवेश र त्यहाँ हुने गरेका शोषण र उत्पीडनविरुद्धको साङ्गीतिक अभियानको
गतिलो झलक दिए। त्यसैगरी मङ्गोलियन कलाकारहरूले घाँटीको मद्दतबाट प्रस्तुत
गरेको टोबु गायनले धेरैको मन छोएको थियो। स्थानीय कलाकारहरूले आफ्ना
प्रस्तुतिमार्फत् उपस्थित श्रोतालाई मलेशियन लोकसङ्गीतसँग राम्रो परिचय
गराएका थिए।
तीनदिनसम्म चलेको सो महोत्सवमा मलेशिया, सोलोमन आइल्याण्ड, मङ्गोलियासँगै
अमेरिका, अफगानिस्तान, इटाली, दक्षिण अफ्रिका, रूस, सिङ्गापुर, पेरु,
बेलायतलगायतका मुलुकका कलाकारहरूको सहभागिता थियो। मलेशियाका पर्यटन
मुख्य सचिव डा. भिक्टर वीका अनुसार भ्रमण वर्ष र स्वतन्त्रताको ५०
औँ वर्षगाँठको अवसरमा मलेशियाको पर्यटन मन्त्रालयले विभिन्न साङ्गीतिक
कार्यक्रमहरूमार्फत् पनि पर्यटकहरू भित्र्याउने लक्ष्य लिएको छ। उनले
भने “प्रकृति पर्यटन, खेल पर्यटन सँगसँगै अन्तर्राष्ट्रिय रूपमै चर्चित
कलाकार तथा व्याण्डहरूलाई बोलाएर सङ्गीत पर्यटनमार्फत् पर्यटक भित्र्याउने
लक्ष्य लिएका छौँ।” यद्यपि मलेशियाका लागि सङ्गीत पर्यटन नयाँ भने
होइन। दश वर्षअघिदेखि नै मलेशियाको सरावाकमा रेन फरेस्ट वर्ल्ड म्युजिक
फेस्टिभल आयोजना हुँदै आएको छ। जुन महोत्सव संसारभरका सङ्गीतकर्मीहरूका
लागि पनि मुख्य आकर्षण मानिँदै आएको छ।
• सुरेशराज
न्यौपाने, मलेशियामा
मुखले लेख्ने गीतकार
 |
| किरण पाण्डे |
सशस्त्र द्वन्द्वको
शिकार बनेका टीका बम्जन (२८) पेशाले नेपाली सैनिक हुन्। उनले चार वर्षअघिको
एक भिडन्तमा दुवै हात गुमाए। तर, हात नभए पनि उनका मन–मस्तिष्कबाट
उब्जेका सिर्जनाहरू रोकिएनन्। सुन्दा अचम्म लाग्न सक्छ; उनी मुखले
गीत लेख्छन्। हात नभएपछि शुरुमा खुट्टाले लेख्ने प्रयास गरेँ तर सफल
नभएपछि मुखले लेख्न थालेँ। उनी भन्छन्, “अहिले मुखले लेख्दा सजिलो
लाग्न थालेको छ।”
'कस्तो भाग्य' नामक पहिलो अल्बममा उनीद्वारा रचित आठ वटा गीतहरूमा
उनले आफ्नै जीवन–कथा पोखेका छन्। मुखको सहाराले लेखेका गीतहरू सङ्गीत
र स्वरमा सजिएर अल्बममा समेत आएपछि उनी दङ्ग छन्। पछिल्लो पटक उनले
श्री म्युजिक प्रा.लि.बाट आफैँ लगानी गरेर 'प्रेमिका' अल्बम बजारमा
ल्याएका छन् जसको म्युजिक भिडियो पनि तयार भइसकेको छ। दुवै अल्बममा
चन्द्रकुमार दोङले सङ्गीत दिएका छन् भने ईश्वर अमात्य, कर्णदास, शिव
परियार, रामचन्द्र काफ्ले, त्रिलोक राना आदिले स्वर दिएका छन्।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण २०५६ सालमा नेपाली सेनामा प्रवेश
गरेका राजघाट–२, सर्लाहीका बम्जन सेवाको क्रममा रुकुम, रोल्पा, सल्यानलगायत
काभ्रे, धादिङ र भक्तपुरजस्ता विभिन्न जिल्लाहरूमा पुगे। थुप्रै ठाउँमा
उनी दोहोरो भिडन्तमा परे। तर २०५९ सालमा सूर्यविनायकबाट २८ जनाको टोलीमा
नगरकोटतर्फ सर्च गर्न जाँदा भएको भिडन्तमा लड्दालड्दै आफ्नै सुरक्षाका
लागि राखिएको विद्युतीय धरापमा परेर उनले दुवै हात गुमाए।
गीत/सङ्गीतलाई जीवनको साथी ठान्ने उनी भन्छन्, “गीतमा दुःख, सुख पोख्न
सकिन्छ, त्यसैले म गीत लेख्छु।” जीवनप्रति आशावादी बम्जनको बुझाइमा
जीवनमा मानिसले चाह्यो भने गर्न नसकिने केही छैन। आफूले लेखेका गीत
आफैँ गाउने धोको पूरा गर्न अहिले उनी गायन प्रशिक्षण समेत लिइरहेका
छन्।
• नरेन्द्र
रौले
रमझम सङ्गीत
टुल्केको विद्रुप हास्य
 |
| श्रुति श्रेष्ठ |
सधैँ रमाएर मात्र
हाँसिँदैन। चलनचल्तीका हास्यास्पद हास्यहरूमा झैँ अर्कालाई उल्लीबिल्ली
पारेर, खिल्ली उडाएर वा ओठेजवाफ फर्काएर मात्र हँसाउन सकिने होइन।
मनमा चसक्क हुँदाहुँदै पनि, चित्त दुख्दादुख्दै पनि वा यस्तो नभइदिए
पनि हुने भन्ने लाग्दालाग्दै पनि रमाइलो लाग्छ, हाँस उठ्छ। एक्टर्स
स्टूडियोको नाटक टलकजङ्ग भर्सेस टुल्के ले पनि त्यसरी नै हँसाउँछ।
यो नाटक टुल्के भनिने टलकजङ्ग ठकुरीको कथा हो। 'टुल्के' संसारका धेरै
साहित्यप्रेमीले चिनेको चिनियाँ पात्र आहक्यूको नेपाली अवतार हो। बीसौँ
शताब्दीका उत्कृष्ट चिनियाँ लेखक लुसुनले सन् १९२१ मा चित्रण गरेको
आहक्यू त्यसबेलाको चीनको र अहिलेको नेपालको सामाजिक परिवेशसित मिल्दो
पात्र मात्र होइन, एउटा सार्वकालिक मानवीय प्रवृित्तको प्रतिनिधि पनि
हो।
लुसुनको यो अमर कथापात्रको नाम चिनियाँ वाङ्मयमा एउटा शब्द (पद) नै
हुन पुगेको छ। समकालीन चिनियाँमा 'आहक्यूको आत्मा' भन्नाले यथार्थलाई
स्वीकार गर्न नचाहने र आफूलाई सफल र गज्जबको ठानेर आत्मवञ्चनामा दङ्ग
पर्ने व्यक्ति भन्ने बुझिन्छ।
आहक्यू नेपालमा टुल्के भएर भित्रिएको छ। पश्चिम नेपालको पहाडी गाउँको
ठकुरी बाबुसाहेब टलकजङ्गलाई उसको गरिबीले टुल्के बनाएको हो। निक्कै
छिप्पिँदासम्म पनि उसको घरजम भएको छैन र सम्भवतः त्यसको कारण पनि गरिबी
नै हो। उसको काम, उसप्रतिको अरूको व्यवहार, उसको कुण्ठा सबैले उसलाई
एउटा टिठलाग्दो, धरातल खोसिएको पात्र बनाएका छन्। नाटकको अघिल्लो भागमा
उसलाई दिइएको परिधानले त्यसलाई अरू जीवन्त बनाएको छ।
टुल्के गाउँमा यस्तो पात्र भएको छ जसलाई (मात्र) हेपेर (भए पनि) सबै
आफूलाई मर्द प्रमाणित गर्न चाहन्छन्। उसले 'म पनि बाबुराजाकै आफन्त
हुँ' भनेको कुरासम्म पनि बाबुराजालाई स्वीकार्य छैन, उसलाई एककिसिमले
वंशच्यूत गरिएको छ। एकदिन उसले बाबुराजाकै घरकी एकजना विधवा महिलासित
यौनेच्छा प्रकट गरेपछि भने उसका साँच्चै नै दुःखका दिन शुरु हुन्छन्।
कुटाइ खानु त उसले सधैँ भोगेकै कुरा थियो, त्यसपछि उसलाई कसैले काममा
पनि लगाउँदैन, काम नपाएपछि पेटमा माड पर्न छाड्छ र भोकका मारमा उसले
गाउँ छाड्छ।
शहरबाट आहक्यू धेरै फेरिएर फर्किन्छ। ऊ अब पहिले जस्तो गरिब छैन। वस्त्र
परिधान, भावभङ्गिमा, कुराकानी सबैले उसलाई टलकजङ्ग हुन सघाएका छन्।
पहिले हेप्नेहरू शङ्का र आरिस गरेरै भए पनि उसलाई मान्न थालेका छन्।
ऊ व्यापारी र क्रान्तिकारी पनि भएको छ। तर उसित न त आफ्नो अस्वाभाविक
कमाइका बारेमा चित्तबुझ्दो जवाफ छ न त उसलाई क्रान्ति र क्रान्तिकारीहरूकै
बारेमा केही थाहा छ। अँ, उसले चलनचल्तीको क्रान्तिगीत भने रिट्ठो नबिराई
गाउन जानेको छ, त्यत्ति हो। क्रान्ति चम्किन्छ। परम्पराको ठेक्का लिनेहरू
क्रान्तिको हुरीबाट बच्न प्रयास गर्छन्। नक्कली क्रान्तिकारीहरू सर्वत्र
व्याप्त हुन्छन्। आत्मरक्षाका वैध–अवैध उपायहरू अवलम्बन हुन्छन् र
कथानायकसितै कथा सकिन्छ।
टुल्केसित गुरुकुलको रिमाल थिएटरमा दुई घण्टा बिताउन मज्जा हुन्छ।
खासगरी मुख्य भूमिकामा रहेका आशान्त शर्माको गतिमय अभिनय, सामान्यतया
रङ्गमञ्चमा मुस्किलले सुनिने पश्चिमी पहाडको भाषिक मिठास (लेखक खगेन्द्र
लामिछाने), सृजनशील रङ्गमञ्च (परिकल्पनाकार सुजन चित्रकार) र प्रयोगधर्मी
भइकन पनि एकदमै स्वाभाविक परिधान (परिकल्पनाकार अनुराधा एम बराल) लगायतको
टोलीबाट निर्देशक अनुप बरालले राम्रो काम लिएका छन्। दयाहाङ राई र
पुष्प आचार्यलगायतका धेरै कलाकारले राम्रो सम्भावनातर्फ सङ्केत गरेका
छन्। आलेखलाई मज्जाले सम्पादन गरिएको भए नाटक छरितो त हुन्थ्यो नै,
क्रान्तिको प्रतिनिधित्व नक्कली क्रान्तिकारीहरूबाट मात्र गरिनु जस्तो
तथ्यगत दोषबाट पनि मुक्त हुनसक्थ्यो। कताकता त नाटकले नक्कली क्रान्तिकारीहरूलाई
मात्र होइन, जनआन्दोलनलाई नै उडाएको हो कि भन्ने भान हुन्छ। गीतले
नाटकलाई मिठास मात्र दिएको भए बेस हुन्थ्यो, दर्शकले नाटकमा गीत थोपरिएको
अनुभव गर्छ। अँ, नाटकको नाम चैँ टलकजङ्ग भर्सेस टुल्के भन्दा टुल्के
भन्ने (हिन्दीको उर्फको अर्थमा) टलकजङ्ग भएको भए सार्थक हुन्थ्यो भन्ने
फोसा टिप्पणी पनि यहीँनेर जोड्न मन लाग्यो।
सामाजिक महत्त्वका मार्मिक घटना र विषयहरूको हास्य–व्यङ्ग्यात्मक
प्रस्तुतिलाई अङ्ग्रेजीमा ब्ल्याक कमेडी भनिन्छ जसलाई अनुप बरालले
नेपालीमा ठाडै 'श्याम हास्य' भनिदिएका छन्। सम्भवतः यो विद्रुप हास्य
हो, जहाँ तह तहका ठालुपनको पेलान र क्रान्तिको अन्योलग्रस्त उच्छृङ्खलताको
शिकार भएका टुल्केहरूको बिजोकमा हामी मन दुखीदुखी पनि हाँसेका छौँ।
• केदार
शर्मा
|