जनता
अर्की पासाङ ल्हामु
 |
| किरण पाण्डे |
पासाङ
ल्हामु शेर्पा (२३) नाम सुन्ने बित्तिकै धेरैले उनलाई 'ए तिमी त पक्कै
सगरमाथा चढ्छौ होला' भनेर हौस्याउँथे। नभन्दै पहिलो पासाङ ल्हामु शेर्पा
शिखर पुगेको चौध वर्षपछि सन् २००७ को मे महिनामा उनले सगरमाथा चढेरै
देखाइन्। यति मात्र होइन सोलुखुम्बुकी पासाङ नेपालकै पहिलो महिला पर्वतारोहण
प्रशिक्षकको रूपमा पनि चिनिन्छिन्। पासाङ भन्छिन्, “पहिले नपत्याउनेहरूबाट
पनि अहिले राम्रो प्रतिक्रिया र प्रोत्साहन पाइरहेकी छु।”
उनले फ्रान्सस्थित इन्टरनेशनल माउन्टेन गाइड स्कुल एन्साबाट
सन् २००६ मा एड्भान्स तालिम लिएपछि रक र आइस क्लाइम्बिङ तथा रेस्क्युको
तालिम दिँदैआएकी छिन्। यो वर्ष पासाङ नेपाल पर्वतारोहण संघको बेसिक
माउन्टेनेरिङ कोर्सका लागि पहिलो नेपाली महिला प्रशिक्षक हुनेछिन्
भने अर्को वर्ष सगरमाथा आरोहण गर्ने तयारीमा रहेको नेपाली महिला टोलीको
क्लाइम्बिङ गाइड। उनी भन्छिन्, “नेपालमा महिला गाइडको माग, आम्दानी
र इज्जत राम्रो भएपनि धेरै उचाइका लागि चाहिएमा विदेशबाटै बोलाउनुपर्ने
बाध्यता छ।” पासाङको कामलाई नजिकबाट हेरिरहेका नेपाल पर्वतारोहण संघका
बोर्ड सदस्य दागोम्बु शेर्पा भन्छन्, “पहिलो महिला गाइडको रूपमा पासाङ
आउनु निकै खुसीको कुरा हो।” पासाङको अनुभवमा जानकारी र प्रोत्साहनको
कमीले पर्वतारोहणमा महिलाहरू आकर्षित नभएका हुन्। भन्छिन्, “पर्वतारोहण
पेशामा महिलाको सहभागिता बढाउनु नै मेरो लक्ष्य हो।”
मन त नेपाली
 |
| कशिशदास श्रेष्ठ |
बुबा आमाको सपना साकार
भइदिएको भए अशोक गुरुङ (४४) आज सेनामा हुनेथिए। भारतीय सेनाका सिपाही
गजमान गुरुङले छोरा अशोकलाई ऋणपान गरेर देहरादुनको अफिसरहरूका छोरा–छोरी
पढ्ने विद्यालयमा पढाए। परिवारको त्यो सपना पूरा गर्न नसकेका तिनै
अशोक अहिले अमेरिकामा सामुदायिक विकासविद् र भारत–चीन–नेपाल विज्ञको
रूपमा चिनिन्छन्। कास्कीको नामर्जुङ गाविस, ताङ्तिङका गुरुङले अमेरिकाको
चर्चित विश्वविद्यालय 'न्यू स्कूल युनिभर्सिटी'को भारत–चीन इष्टिच्युटको
सिनियर डाइरेक्टरको पदमा रहेर नेपालकै नाम राखिरहेका छन्।
'इण्टरनेशनल अफेयर्स' र 'इण्टरनेशनल डेभलपमेण्ट' अध्ययनका लागि छात्रवृत्ति
पाएर डेढ दशकअघि अमेरिका पुगेका गुरुङले 'ट्रेस फाउण्डेशन' र 'कोलम्बिया
युनिभर्सिटी' जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका उच्च पदमा रहेर काम
गरिसकेका छन्। गुरुङले यो उचाइ सजिलै पाएका भने हैनन्। सेनामा भर्ती
हुन नसकेपछि १९ वर्षको उमेरमा देहरादुनबाट एक्लै काठमाडौँ आएका गुरुङले
शुरुमा याक एण्ड यती होटलमा टेलिफोन अपरेटर र त्यसपछि भानुभक्त माध्यमिक
विद्यालयमा शिक्षकको जागिर पनि खाए। अमेरिका जानुअघि भाषा, संस्कृति,
प्रशिक्षण अनुसन्धान केन्द्रमा अनुसन्धान सहायक र पछि कार्यक्रम सहायक
निर्देशकको रूपमा उनी नेपालका ६० जिल्ला पुगे।
हाल नेपाल आएका गुरुङ भन्छन्, “नेपालीका आशा र चाहनामा म के सहयोग
गर्न सक्छु भनेर बुझ्न आएको हुँ।” दुई महिनाअघि उनले अमेरिकामा 'आजको
नेपाल र समावेशी लोकतन्त्रका चुनौती' विषयक कार्यक्रमको आयोजना पनि
गरेका थिए। टाढा रहेर पनि देशका लागि केही गरिरहने चाहना राख्ने गुरुङ
भन्छन्, “मेरो कामले नै सधैँ मलाई नेपाल र नेपालीकै नजिक ल्याइरहन्छ।”
|