आवरण
“कु भए प्रतिरोध हुन्छ”
अनन्त,
डेपुटी कमाण्डर, नेकपा माओवादी
माओवादीले
'टेकओभर' गर्दैछ भन्ने बहाना र अरू अवसर छोपेर नेपाली सेनाले 'डेमोक्रेटिक
कु' को तयारी गर्दैछ भन्ने सूचना हामीले पाएका छौँ। तर अहिले नेपालमा
कुनै पनि नामको सैनिक हस्तक्षेप सफल हुने अवस्था छैन। पाकिस्तानमा
जस्तो प्रत्यक्ष सैनिक शासन सम्भव छैन भन्ने कुरा नेपाली सेनाले राम्रोसँग
बुझेको हुनुपर्छ। चिली, इन्डोनेशियामा जस्तो हजारौँको हत्या गरेर पनि
सम्भव छैन भन्ने बुझेर नै यहाँ बङ्गलादेश वा थाइल्याण्डको जस्तो सैनिक
नियन्त्रणको 'नागरिक सरकार' को चर्चा गरिएको हुनुपर्छ। त्यो मोडलमा
जाँदा विदेशी समर्थनबाट टिकाउन सकिन्छ भन्ने विश्लेषण हुनसक्छ। तर
बुझ्नुपर्ने कुरा के हो भने नेपालको अवस्था बङ्गलादेश वा थाइल्याण्डको
जस्तो छैन। त्यहाँ जस्तो यहाँका राजनीतिक दलहरू पूरै भ्रष्ट र अलोकप्रिय
छैनन्। दलहरूबीचको अन्तरविरोध पनि त्यति चर्को छैन।
धेशी, आदिवासी जनजाति, दलित सबै आफ्ना अधिकारका लागि
आन्दोलित छन्। सैनिक हस्तक्षेपको अर्थ अगाडि बढ्ने नभई झन् पछाडि फर्किने
भएकाले जनताले त्यसलाई सहने छैनन्। फेरि यहाँ १० वर्ष जनयुद्ध गरेर
आएको माओवादी जस्तो लडाकू शक्ति छ, जसलाई 'क्रस' गर्न सम्भव छैन।
जनयुद्ध शुरु भएको दुई वर्षपछि २०५४ सालदेखि नै सेना
अगाडि आउन खोजेको हो तर २०५८ मा मात्रै त्यो सम्भव भयो। राजा, देउवा
सरकार, दलहरू र अन्तर्राष्ट्रिय शक्ति सबैको सहमतिमा सङ्कटकाल लगाएर
२०५८ मा माओवादीविरुद्ध सेना परिचालन गरियो। त्यति हुँदा पनि माओवादी
समाप्त भएन। किनभने माओवादी, जनमुक्ति सेनासहितको राजनीतिक शक्ति थियो।
अहिले भारत वा अमेरिकाको समर्थनमा अगाडि आउन खोजे सेनाभित्रकै ठूलो
देशभक्त समूह त्यसको विपक्षमा खडा हुने स्थिति आउँछ। आशङ्का गरिएजस्तो
कुनै ठूलो वा सानो राजनीतिक दललाई अगाडि सारेर सत्ता आफ्नो नियन्त्रणमा
लिने प्रयास सेनाले गर्यो भने पनि त्यस्तो राजनीतिक नेतृत्वलाई स्वीकारेर
सबै फौज बस्दैन। कुनै राजनीतिक दलले सेनाको आडमा शासन गर्ने सपना देख्छ
भने त्यो उसकै लागि पनि घातक हुनेछ। माओवादीले त्यसको प्रतिरोध गर्नेछ
र राजनीतिक फाइदा पनि उठाउनेछ।
यी सबै कारणहरूले गर्दा सैनिक 'कु' असफल हुन्छ भन्ने
विभिन्न शक्तिकेन्द्रहरूले पनि बुझेका छन्। त्यसैले त्यसको विकल्पमा
विदेशी शक्तिको आडमा देशलाई गृहयुद्धमा धकेली यथास्थितिमा राखिराख्ने
सम्भावना ज्यादा छ। मधेशका सशस्त्र समूहहरूलाई अझ सक्रिय बनाउने र
पहाडमा उनीहरूविरुद्ध प्रतिरोध दस्ता खडा गर्ने तयारी भइरहेको आभास
हुन्छ। जातीय र क्षेत्रीय भिडन्तमा अल्झाएर दक्षिण अफ्रिकाका द्वन्द्वग्रस्त
मुलुकको हालतमा देशलाई पुर्याउने र माओवादीलाई क्रमशः खत्तम गर्दै
लैजाने रणनीति अपनाइने सम्भावना प्रबल छ।
|