हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण

“मलाई लाग्दैन सेनाले शक्ति हत्याउन सक्छ”

माधव नेपाल,
महासचिव, नेकपा एमाले

मिति नजिकिँदै जाँदा पनि कसैलाई चुनावको तातो लागेको देखिन्न नि!
अरूको थाहा छैन, नेकपा एमालेलाई भने चुनाव लागिसक्यो। हामी चुनावको तयारीमा छौँ। विस्तारै अरूलाई पनि लाग्ला।

तर आठ दलले गर्ने भनेको संयुक्त–सभा नै हुनसकेको छैन, किन?
बर्खा भएकोले संयुक्त–सभा हुन नसकेको हो। भदौको दोस्रो सातासम्म स्थिति स्पष्ट हुन्छ र दलहरू संयुक्त–सभामा गइहाल्छन्। कुराकानी भइरहेको छ।

अनि माओवादी नि?
उनीहरूलाई पनि चुनाव लाग्ला। नलागी उपाय नै छैन। चुनावमा जाने सहमति भइसकेको छ।

तर माओवादी त आफ्नो 'पोजिसन' पुनर्विचार गर्ने भनिरहेको छ?
राजनीतिक रूपमा त्यो सम्भव देखिन्न। बाहिर हल्ला आए जसरी माओवादी अघि बढ्ने हो भने त्यो उनीहरूकै लागि घातक हुन्छ।

वाममोर्चा वा लोकतान्त्रिक मोर्चा बनाएर मात्रै चुनावमा जाने उनीहरूको भनाइ आएको छ त!
त्यस्तो कुराले बृहत् राजनीतिक सहमतिको वातावरण बनाउँदैन। हामीले बृहत् गणतान्त्रिक मोर्चा बनाउने प्रस्ताव अघि सारेकै छौँ। जसमा गणतन्त्र चाहने सबै दलहरू अटाउँछन्। कोही आउँदैन भने तिनलाई छाडेर भएपनि अघि बढ्नुपर्छ। फेरि कोही कसैसँग तालमेल भएन भनेर चुनावमा जान सकिन्न भन्ने मानसिकता पाल्न मिल्दैन माओवादी मित्रहरूले।

माओवादीले सुरक्षास्थितिमा सुधार नआइकन चुनावको वातावरण नबन्ने बताइरहेको छ नि?
मन्त्रिपरिषद्ले सुरक्षा समिति बनाउनुपर्छ, माओवादीले सम्पत्ति फिर्ता गर्नुपर्छ, सरकारको कार्यशैली फेरिनुपर्छ, राज्यको पुनर्संरचनासम्बन्धी उच्चस्तरीय आयोग बन्नुपर्छ लगायतका अनेकन् कुराहरू चुनाव अघि नै हुँदा राम्रो हुन्छ। त्यसले सहमति निर्माण गर्छ। तर त्यो भएन भन्दैमा चुनावलाई नै असर पार्नुहुँदैन। अहिलेको मुख्य कुरा भनेको संविधानसभाको निर्वाचन हो। निर्वाचन अघि यो वा त्यो भन्ने कुराहरू निकालेर चुनावलाई असर पार्न मिल्दैन। कहीँ 'अवरोध' हुँदैन भन्ने छैन। तर त्यस्तो अवरोध क्रस गरेर भएपनि चुनाव हुनुपर्छ र हुन्छ।

६ मङ्सिरमा चुनाव नभएमा कतिपयले 'कु' को सम्भावना पनि औंल्याएका छन् के यस्तो संभव छ?
मलाई लाग्दैन। कसैले 'कु' सम्बन्धमा सोचेको छ भने त्यो बिर्से हुन्छ। यहाँ कुनै पनि खाले 'कु' टिक्न सक्दैन। यसको सामना गर्न यहाँका दलहरू, जनता र नागरिक समाज सक्षम छ। सेनाले संविधानले दिएको दायरा ननाघोस्।