हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

यु–एन–मी बजारमा

म्यारिगोल्ड फुड्स प्रालिले यु–एन–मी चिजी चिज रिङ्गस् (स्न्याक्स) को बिक्री शुरु गरेको छ। शहरी क्षेत्रका उपभोक्तालाई लक्ष्य गरेर बजारमा ल्याइएको यस्तो खाजा नेपालमै पहिलो भएको कम्पनीको दाबी छ। 'मेटालिक' प्याकमा उपलब्ध २० ग्राम तौल भएको यु–एन–मीको उपभोक्ता मूल्य रु.१० छ।

युनाइटेड फाइनान्सद्वारा सेवा विस्तार

वित्तीय संस्था युनाइटेड फाइनान्स लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मर्चेन्ट ब्याङ्किङ सेवा शुरु गरेको छ। नेपाल धितोपत्र बोर्ड र नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट धितो व्यवसायीका रूपमा स्वीकृति पाएको यस संस्थाले कम्पनीहरूको प्राथमिक र हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा पनि काम गर्नेछ। साथै कम्पनीको शेयर रजिष्ट्रेशन, 'अन्डरराइटिङ' र मर्चेन्ट ब्याङ्किङसँग सम्बन्धित अन्य कामसमेत शुरु गरेको फाइनान्सले जनाएको छ।

केइसी टीभीमा उपहार

केइसी टेलिभिजनको उत्पादक केडिया समूहको अलंकरन इलेक्ट्रोन प्रालिले उपहार योजनासहित नयाँ उत्पादन बजारमा ल्याएको छ। 'भाग्य तपाईंको केइसीको साथ, जाँदैन खाली हात' भन्ने नारासहित मार्केटिङ गर्न शुरु गरिएको उक्त योजनाअन्तर्गत उपभोक्ताले कम्तीमा रु.५०० देखि रु.१० हजारसम्म जित्न सक्ने कम्पनीले जनाएको छ।

राष्ट्रिय पुरस्कार वितरण

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (आइक्यान) ले प्रदान गर्ने यस वर्षको 'उत्कृष्ट वित्तीय प्रतिवेदन राष्ट्रिय पुरस्कार' नेपाल इन्भेष्टमेन्ट ब्याङ्कले पाएको छ। दक्षिण एशियाली लेखा व्यवसायी संस्थाको मापदण्ड अनुसार हरेक वर्ष प्रदान गरिने यो सम्मान अन्तर्गत ब्याङ्किङतर्फको पुुरस्कार नेपाल इन्भेष्टमेन्ट ब्याङ्कले पाएको हो। ब्याङ्कको पारदर्शी र स्वच्छ नीतिगत उद्देश्य, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखा प्रणाली, व्यवस्थापन र सञ्चालनलाई ध्यानमा राखेर सो सम्मान दिइएको ब्याङ्कले जनाएको छ।

बुटबलमा यूटीएल

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले साउनदेखि बुटबलमा यूटीएल फोन सेवा शुरु गरेको छ। निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनी यूटीएलले बुटवलमा आफ्नो नेटवर्क विस्तार गर्नुका साथै रु.२,५२५ (सबै करसहित) मा सीमित मोबिलिटी सुविधा भएको यूटीएल मोबाइल उपलब्ध गराउने भएको छ। यसका साथै कम्पनीले र रु.९,५९५ पर्ने वायरलेस फिक्स सीडीएमए फोन शुरुमा रु.३,५३५ लिएर बाँकी रकम सरल किस्ताबन्दीमा बुझाउन सकिने गरी बिक्री गर्ने व्यवस्था गरेको छ। काठमाडौँ, हेटौँडा र वीरगन्जमा सेवा विस्तार गरिसकेको यूटीएलले निकट भविष्यमा भैरहवा र पोखरामा पनि सेवा दिने जनाएको छ।

मेरो मोबाइल को नेटवर्क विस्तार

स्पाइस नेपाल प्रालिले मेरो मोबाइल फोन सेवा लहान, मलंगवा, निजगढ, ढल्केवर, चन्द्रगढी, बिर्तामोड र काकडभिट्टामा पनि शुरु गरेको छ। नेपालका प्रमुख शहरमा नेटवर्क विस्तार गर्ने क्रममा रहेको मेरो मोबाइल लाई अब साना शहर तथा गाउँमा पनि आफ्नो सेवा पुर्‍याउन थालेको कम्पनीले जानकारी दिएको छ। ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको स्पाइस नेपालले आफ्नो सेवामा एसटीडी र रोमिङ शुल्क तथा हरेक महिना एक घण्टा बराबरको कल छुट दिँदै आएको जनाएको छ।

यूडब्लुटीसीमा सोल फ्यासन मार्ट

काठमाडौँ मलमा पुरुषका लागि 'क्याजुअल' पहिरन बिक्री गर्दै आएको सोल फ्यासन मार्टले त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर (यूडब्लुटीसी) मा आफ्नो सेवा विस्तार गरेको छ। सोलले सेण्टरमा हालै स्थापित स्टोरबाट पुरुषहरूका लागि सुपथ मूल्यमा ब्राण्डेड र ननब्राण्डेड तयारी पाइन्ट, सर्ट, टीसर्ट, जुत्ताचप्पल आदि बिक्री गर्ने कम्पनीले जनाएको छ।

माछापुच्छ्रे ब्याङ्कको नयाँ एटीएम

आफ्नो सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे ब्याङ्क लिमिडेटले कालीमाटीमा आठौँ एटीएम (रकम झिक्न सकिने स्वचालित मेशिन) सञ्चालन गरेको छ। उक्त एटीएम अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्रयोग गर्न सजिलो हुने गरी स्थापना गरिएको ब्याङ्कले जनाएको छ। केही समयभित्र काठमाडौँ उपत्यकामा थप पाँच एटीएम काउण्टर सञ्चालनमा ल्याउने तयारी गरिरहेको माछापुच्छ्रे ब्याङ्कको कुनै पनि एटीएमबाट रकम झिक्दा अतिरिक्त शुल्क नलाग्ने ब्याङ्कले जानकारी गराएको छ।