तन्नेरी
ड्रेस फेशन
राजधानीका कलेजका विद्यार्थीहरुको 'युनिफर्म
डिजाइन' मा विविधता देखिन थालेकोछ।
•
शैली
बस्नेत
कोही चुज
पाइन्ट लगाएका त कोही बेलीबटनमा सजिएका। कसैको दोहोरो मुजा भएको स्कर्ट,
कसैको मुजै नभएको र्यापर स्कर्ट। कसैको सर्टको आधी बाहुला पट्याइएको
त कसैको पूरै बाहुला खुलै छोडिएको। कपाल रंगाएर ठाडो पारेका र लामो
कपाल पालेर बाँधेका युवकदेखि कपाल सीधा छाडेका र कर्ल गरेका युवतीसम्म।
कलेज छुट्टी हुने समय उपत्यकाका सडकमा देखिने विद्यार्थीहरूको
रूपरंगका केही झलक हुन् यी। एसएलसीपछि बेग्लै स्वतन्त्र संसारमा पुगेको
अनुभव गर्ने कलेजका विद्यार्थीहरूका लागि फेशन र स्टाइल महत्त्वपूर्ण
बन्दै गएको छ। पछिल्ला दिनहरूमा त कलेज युनिफर्ममा समेत फेशनले प्रभाव
पार्न थालेको छ। यसलाई राम्रो ठान्ने सिग्मा कलेजकी छात्रा ममता श्रेष्ठ
भन्छिन्, “व्यक्तित्व विकासका लागि समयअनुसार परिवर्तन त हुनैपर्छ
नि! पुरानै युगमा अड्कियो भने अरूले पनि हेप्छन्।”
कलेज युनिफर्ममा थरीथरीको फेशन देखिन थालेको तीन–चार
वर्षदेखि हो। विदेशी टेलिभिजन च्यानल र चलचित्रमा देखिने फेशनको बढ्दो
प्रभाव यसको एउटा कारण हो। त्यसबाहेक साथीहरूको देखासिकी गर्ने वा
आफूलाई फरक देखाउने चाहनाले पनि प्रायः शहरी विद्यार्थीहरू फेशन गर्छन्।
क्याम्पियन एकेडेमीका छात्र उकेश श्रेष्ठ भन्छन्, “प्लस टु का ९० प्रतिशत
विद्यार्थीलाई कुनै न कुनै रूपमा फेसनले छोएको हुन्छ, जसको मुख्य कारण
साथीहरूको प्रभाव नै हो।”
एसएलसी परीक्षापछि लामो समय खाली बस्दा नै किशोरकिशोरीहरू
फेशनप्रति सजग हुन थालिसक्छन्। नेशनल स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका
प्रदीप भुसाल आफ्नो अनुभव सुनाउँदै भन्छन्, “मोफसलका धेरै विद्यार्थी
एसएलसी सकेर उच्च माध्यमिक शिक्षाका लागि काठमाडौँ पसेदेखि नै फेशनबाट
प्रभावित हुन थाल्छन्।”
यता कलेजले पनि स्कुलमा जस्तो फेशनमा बन्देज लगाएका
छैनन्। त्यसैले कलेज जाने विद्यार्थीले बोक्ने झोलादेखि नै फेशनको
छटा देखिन्छ। झोलामा उनीहरू थरीथरीका ब्याज टाँस्ने, सन्देश लेख्ने
र चित्र कोर्ने गर्छन्। कलेजले तोकेको कपडा र रंग मिलाएपछि विद्यार्थीले
आ–आफ्नो चाहनाअनुसार विभिन्न डिजाइनमा युनिफर्म सिलाउन तथा थरीथरीका
जुत्ता लगाउन पाउँछन्।
मुजा नराखिएका फिटिङ स्कर्ट, दोहोरो मुजा पारिएका डबल
बक्स स्कर्ट, साँघुरो मुजा पारिएका स्कर्टदेखि र्यापर स्कर्ट छात्राहरूबीच
निकै लोकप्रिय डिजाइन हुन्। पाइन्टमा क्रिज नराखिएको चुज, चौडाइ कम
भएको स्ट्रेट र चौडाइ बढी भएको बेलीबटन चल्तीमा छन्। सर्टमा पनि साना–साना
खल्ती भएका, अगाडि क्रिज नराखिएका, टिसर्ट जस्तो गोलो कटाइ भएका र
छेउमा चिरेका डिजाइनको माग बढ्न थालेको युनिफर्म डिजाइनरहरू बताउँछन्।
शिवशङ्कर युनिफर्मका महावीर अग्रवाल भन्छन्, “एसएलसी सकिएका विद्यार्थी
स्कुलका विद्यार्थी भन्दा फरक देखिन चाहन्छन्, त्यसैले अलि फेसनेबल
डिजाइन खोज्छन्।”
थेम्स कलेजमा अध्ययनरत् मिस्टर एण्ड मिस वेभ युनिभर्सिटी
प्रतियोगिताका उपविजेता डेविड शाक्य युनिफर्ममा सृजनशीलता र फरकपन
देखिनु राम्रो मान्छन्। उनी भन्छन्, “विद्यार्थीको हदमा बसेर कलेजमा
स्मार्ट देखिन सक्नु राम्रो कुरा हो। सुतेको खाटबाट उठेर सीधै कलेज
पुगेको जस्तो देखिनु पनि त भएन।” कलेजमा अरू भन्दा फरक देखिन विद्यार्थीहरू
युनिफर्म डिजाइनमा मात्र नभएर लगाउने तरिकामा पनि आ–आफ्नै शैली अपनाइरहेका
हुन्छन्।
लचिलो नियन्त्रण
फेशनको मामलामा स्कुलहरूभन्दा उदार भएपनि अनुशासन र
बजारमा आफ्नो राम्रो छविका लागि कलेजहरूले केही न केही नियन्त्रण भने
गरिरहेका छन्। कतिपय कलेजले केटीहरूलाई पनि पाइन्ट अनिवार्य गर्ने,
केटाहरूलाई कपाल पाल्न, रंगाउन र मुन्द्रा लगाउन नदिने, पाइन्टको मोताको
चौडाइ र स्कर्टको लम्बाइ तोकिदिने गरेका छन्। जेभिएर एकेडेमीमा कक्षा
१२ मा अध्ययनरत् मिस टिन खुश्बू ओली भन्छिन्, “घँुडाभन्दा तलसम्म स्कर्ट
लगाउँदा स्मार्ट देखिँदैन, त्यसैले त्यसो गर्न बाध्य पार्नुहुँदैन।
धेरै छोटो स्कर्ट लगाउँदा सबैको अनावश्यक ध्यान तानिने र पढाइको वातावरणमै
अवरोध पुग्ने हुनाले विद्यार्थीले पनि यो कुरा बुझ्नुपर्छ।”
कतिपय कलेजका कडा नियम पालना गर्न कलेज परिसरमा केटीहरूले
लामो स्कर्ट लगाए पनि बाहिर निस्केपछि त्यसलाई छोटो बनाउने गरेको खुश्बू
बताउँछिन्। शिक्षकहरूका अनुसार धेरै विद्यार्थीहरू कलेजभित्र साधारण
भएर बस्छन् तर बाहिर निस्किने बित्तिकै लुगा मिलाउँछन् जसले गर्दा
फलानो कलेजका विद्यार्थी बढी फेसनेबल छन् भनेर बजारमा चर्चा हुन्छ।
विद्यार्थीले युनिफर्ममा फेशन खोज्ने हो भने युनिफर्म
नै नराखे कसो होला? पीटीआई कलेजमा अध्ययनरत् सुजाता शाक्य भन्छिन्,
“युनिफर्म भनेको कलेजको पहिचान हो। त्यसैले भएकै राम्रो।” यससँगै युनिफर्म
हुनुका अन्य फाइदा पनि छन्। दुई या तीन जोर युनिफर्म भयो भने कलेज
नसकुन्जेल पुग्छ, युनिफर्म भएन भने विद्यार्थीमाझ फेशनमा चर्को प्रतिस्पर्धा
हुने भएकाले त्यसमा अनावश्यक तडकभडक र खर्च बढ्ने संभावना हुन्छ। युनिफर्म
हँुदा हरेक बिहान आज के लगाउने भन्ने चिन्ता हुँदैन। डेविड शाक्य भन्छन्,
“युनिफर्म भनेको एकता अर्थात् आर्थिक वा अरू अवस्था जस्तोसुकै भए पनि
सबै विद्यार्थी बराबर छन् भन्ने पनि हो।”
धेरैजसो विद्यार्थीहरू युनिफर्म नै मन पराउँछन्, तर
यसमा पनि आफ्नै खालको छनौट छ। यतिसम्म कि कुन कलेजमा पढ्ने भनेर छनौट
गर्दा समेत युनिफर्मलाई आधार बनाउनेहरू हुन्छन्। कलेजका व्यवस्थापकहरूका
अनुसार भर्नाबारे बुझ्न आउने कतिपय छात्राहरूको पहिलो प्रश्न नै स्कर्ट
लगाउन पाइन्छ कि पाइँदैन भन्ने हुन्छ। शुल्क, पढाइ सबै चित्तबुझ्दो
भए पनि युनिफर्म मन परेन भने त्यस्तो कलेजमा पढ्न मन नलाग्ने बताउँछिन्
सिग्मा कलेजकी छात्रा ज्वाला खनाल। जेभिएर एकेडेमीको रातो टार्टन स्कर्टले
आफूलाई आकर्षित गरेको बताउने छात्रा ग्रेस रौनियार भन्छिन्, “हेर्दै
मन नपर्ने रंगको युनिफर्म भयो भने पढाइमा समेत असर पर्छ नि!”
जे होस्, विद्यार्थीले युनिफर्मलाई दिने महत्त्वका कारण
कलेजका लागि पनि यो एउटा ध्यान दिनुपर्ने पक्ष बन्न थालेेको छ।
|