| •
ऋतुराज |
 |
ऋतुविचार
माइतीघरको मण्डलाकृति
लन्डनमा
हाइडपार्क छ हाम्रो रत्नपार्कभन्दा कता हो कता ठूलो। त्यसको एउटा कुनो
छ, जहाँ जहिले पनि ठूलो–सानो भीड जम्मा भइरहेको हुन्छ। किनभने त्यहाँ
कोही न कोही भाषण गरिरहेको र सरकार तथा नेताहरूको धतुरो झारिरहेको
हुन्छ। त्यहाँ जसले जे बोले पनि हुन्छ। कुनै रोकटोक छैन, कुनै बाधाविरोध
छैन। त्यो ठाउँ नै बनेको असन्तुष्टहरूको मनको भडाँस पोख्नलाई जस्तो
देखिन्छ।
नजिकको नयाँदिल्लीमा जन्तर–मन्तर नामको ठाउँ छ। राजा
मानसिंहले निर्माण गरेको सौर्य घडी र वास्तुकलाको विचित्र नमुना रहेको
त्यो ठाउँ एउटा लोकप्रिय पर्यटकस्थल पनि हो। तर त्यो ऐतिहासिक पर्यटकस्थल
यता आएर नयाँदिल्लीको विरोधस्थल बनेको छ। त्यहाँ गएर दिल्ली महानगरका
निवासी विरोध प्रदर्शन गर्छन्, नारा लगाउँछन्, धर्ना दिन्छन्, भोक
हड्ताल गर्छन्― अर्थात् शान्तिपूर्ण विरोधका हरेक उपाय र हत्कण्डाको
आजमाइस गर्छन्।
अनि हाम्रो आफ्नै काठमाडौँमा 'माइतीघर शान्ति मण्डला'
छ जसले हाइडपार्क र जन्तर–मन्तर दुवैको बाहेक सानोतिनो खेलमैदानको
विशेषता पनि ग्रहण गरेको छ। प्रजातन्त्रोत्तर कालमा सानो स्केलको विरोध
जनाउने ठाउँ भद्रकाली मन्दिरछेउको चौतारो बनेको थियो। त्यसबेला माइतीघरको
तीनकुनेको जग्गा अझै केही घरहरूले ओगटिराखेका थिए। प्रशासनको दखलले
होला भद्रकाली छाडेर विरोधस्थल रत्नपार्क सर्यो। रानीपोखरीतिरका घर–टहरा
भत्काइएकाले त्यो ठाउँ छ्याङ्ग र खुला पनि भएको थियो। तर त्यहाँ पनि
प्रशासनले दखल दियो, राजाको शासनकालमा त झन् बढी नै।
अनि सबैको दृष्टि पुग्यो माइतीघरमा। पायक परेको र खुला
ठाउँ, त्यसमाथि दुबो रोपेको चउर पनि छ त्यहाँ। स्त्री–पुरुष सबैले
माइतीघर नै भन्थे त्यस ठाउँलाई त्यतिन्जेल। अब त्यो ठाउँ मण्डला भनिन
थाल्यो त्यहाँ जमिन खनेर मण्डलको आकार बनाइएकाले। (धेरै जान्नेहरूले
बुद्धलाई बुद्धा, कृष्णलाई कृष्णा र मण्डललाई मण्डला भन्ने गर्दा रहेछन्)।
पछि त त्यो शान्तिमण्डला कहलिन थाल्यो, शान्तिका नाममा बत्ती बाल्ने
गरिनाले।
लोकतन्त्रको उदयपूर्व नै चलेको लघु स्केलको गतिविधि
लोकतन्त्रको उदयपश्चात् त तमाससँग बढेको छ। बत्ती बाल्ने कामबाहेक
भाषण गर्ने, गीत गाउने, धर्ना दिने, रिले अनसन गर्ने, प्रदर्शन गर्ने
यावत् काम त्यहाँ हुन्छन्, कहिलेकाहीँ त पालसमेत गाडेर। ती सबै राजनीतिक
कर्मले विश्राम लिएका बेला त्यहाँ फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेटको
खेल हुने गरेको छ। यद्यपि ती कुनै खेलका लागि पनि त्यो ठाउँ सुहाउँदो
छैन। तर द्रुतगतिमा सार्वजनिक चउरहरू बिलाइरहेका बेला केटाकेटीहरू
जाउन् पनि कहाँ?
त्यो ठाउँ कसैले यस्तो होला भनी कल्पना गरेको थिएन।
केशव स्थापित काठमाडौँको मेयर हुँदा उनको परिकल्पनाले त्यहाँका कुरुप
घरहरू उडाएको थियो। अहिले त्यहाँ जे भइरहेछ त्यो देखेर केशव स्थापितलाई
कस्तो लाग्दो हो। सोध्न मन लाग्छ, यसैका लागि भनेर उनले डोजर चलाएर
त्यहाँ पार्क निर्माण गरेका हुन्?
त्यहाँको वास्तुकलाको अवधारणा कलाकार वत्स गोपाल वैद्यको'रे।
सोध्न मन लाग्छ, यही क्रीडा कर्मका लागि भनेर उनले मण्डलाकृति त्यहाँ
उतारेका थिए?
नेपाल बिगार्नेहरूका माझमा
थाहा छ आफ्नै खुट्टामा बन्चरो हान्ने काम हो यो। तैपनि
जानाजान गरिरहेछु। बानी नै त्यस्तै छ आफ्नो। मनमा लागेका कुरा ओकल्नु
परिहाल्छ। त्यसैले धेरैको दृष्टिमा तित्रा भइएको छ।
सन्दर्भ एउटा स्वागत समारोह अर्थात् 'रेसेप्सन' को हो,
जो लालदरबारको विशाल र भव्य हलमा भएको थियो विश्व ब्याङ्कको आतिथ्यमा।
चार–पाँच सय व्यक्तिको त्यस जमघटमा नेपालका जानेमानेका धेरै अनुहारहरू
थिए। उद्योगपतिदेखि आ–आफ्ना क्षेत्रका अधिपतिहरू, बहालवालादेखि खुस्केका
मन्त्रीहरू, सुरक्षाविद्हरू, दलका नेताहरू, व्यापारीहरू, पहिलेका र
भविष्यका राजदूतहरू, साँच्चिकै नाडी छाम्नेदेखि विभिन्न विषयका डाक्टरहरू,
मानवअधिकारवादी र विकासे हस्तीहरू, ब्याङ्क व्यवसायीहरू, मन्त्रालयका
हाकिमहरू, योजनाविद्हरू, कूटनीतिज्ञहरू, कानूनविद् र संविधानविद्हरू
अनि यी सबै भएका ठाउँमा अनिवार्यतः हुने नै भए वरिष्ठ पत्रकारहरू।
वीर शमशेरले बनाएको त्यो राजसी हलमा मदिराको अनवरत आपूर्ति
र शक्तिशाली कुमहरूको घर्षणबाट उत्पन्न बडो प्रभावशाली माहोल थियो।
लाग्थ्यो नेपालको सारा शक्ति त्यहीँ खिचिएको छ। त्यस्तोमा एक जना होइन
दुई जना होइन तीन–तीन जनाले नामीगिरामी व्यक्तिहरूको त्यस भेलालाई
लक्ष्य गर्दै यस अकिञ्चनलाई बताए― 'नेपाल बिगार्नेहरू सबै यहीँ छन्।'
आफू विलखबन्द! शायद उनीहरू बुझेर त्यसो भनिरहेका थिए।
त्यस्ताहरूको वरिपरि हातमा गिलास चेपेर ङिच्च दाँत देखाउँदै चक्कर
लगाउने हामीजस्ता निम्छरा चाहिँ मतियार भएछौँ थाहै नपाई ती बदमासहरूको।
अथवा तिनले नेपाल बिगारेको टुलुटुलु हेरिबस्ने फड्केका साक्षी बनेछाँै।
धिक्कार्न मन लाग्यो त्यस घडी आफैँलाई।
सितिमिति नेपालीमा लेखेका कुराहरू हेर्दैनन् यी ठूलाठूला
विदेशी सङ्गठनका मानिसहरूले। तर कथम् हेरिहाले या कसैले देखाइदियो
भने फेरि बोलाउला त विश्व ब्याङ्कले ऋतुराजलाई कुनै पार्टीमा? पार्टीमा
पनि आउने र हाम्रा आदरणीय अतिथिहरूलाई भिलेन पनि बनाउने भनी रिसाउँदैन
विश्व ब्याङ्क? त्यसैले भनेको आफ्नै खुट्टामा बन्चरो हान्दैछु भनेर।
त्यस्तै त भयो नि अमेरिकी राजदूतावासको हकमा। कुन काकतालीले
हो दुई वर्षअघि निम्ता आएको थियो ऋतुराजलाई अमेरिकी स्वतन्त्रता दिवसको
अवसरमा आयोजित स्वागत समारोहको। ४ जुलाई अमेरिकी स्वतन्त्रता दिवस
भनेर पढी–सुनिराखेको, तर समारोह त झन्डै एक महिना अगाडि जून महिनामै
थियो। ठूलाले त जे गर्दा पनि हुँदो रहेछ। त्यस्तै हो भने जनवरी महिनामै
स्वतन्त्रता दिवसको अग्रिम समारोह किन नगरेको भनी लेखेको थिएँ। नाखुस
भएछन् क्यार अमेरिकी आतिथेयहरू। मैले लेखेको पढेर 'अब तपाईंलाई बोलाउँदैनन्
है' भन्दैथिए पत्रकार मित्र पद्मसिंह कार्की। उनको लख ठीकै रहेछ। त्यसपछि
४ जुलाई दुईपटक आइसक्यो, तर निम्तो भने फेरि आएन।
थाहा भयो विदेशी मित्रहरूको सहिष्णुताको मात्रा। तर
पार्टीको निम्ता नपाइएला भन्ने डरले ब्रह्मले देखेको कुरा कसरी नलेख्ने?
|