यौनव्यापार
'नो कण्डम, नो सेक्स'
 |
| डम्बरकृष्ण श्रेष्ठ |
होटेल
हो, तर साइनबोर्ड छैन। बाहिरबाट झट्ट हेर्दा रक्सी
र चाउचाउले भरिएको सोकेस मात्रै देखिन्छ, भित्रपट्टि कोठामा 'फास्ट
विट' का हिन्दी गीत घन्किरहेका छन्। २२ असार दिउँसो त्यहाँ पुग्दा
कोठामा २५ वर्षभन्दा कमै उमेरका लाग्ने चार वटी युवती सिङ्गारिएर बसेका
थिए। यौनव्यवसायी महिलाका हितमा क्रियाशील सहयोगी समूहका पदाधिकारीहरूको
समेत उपस्थितिमा होटेल सञ्चालक महिलाले भनिन्, “ग्राहकको इच्छामा उनीहरू
बाहिर पनि जान्छन्।” यहाँ प्रचलित भाषामा 'बाहिर जानु' भनेको यौन कारोबारमा
सामेल हुनु हो।
पूर्वी नेपालको एउटा ठूलो व्यापारिक एवं यातायात केन्द्र इटहरीमा यौनकर्मीहरूको
सङ्ख्या केही वर्षयता निकै बढेको छ। महिला सहयोगी समूहकी सचिव विमला
भन्छिन्, “इटहरी, इनरूवा, झुम्का, धरान, विराटनगरलगायतका शहरमा दुई
सयभन्दा बढी महिला यो काम गर्छन्।” रोजगारीको अभाव, गरिबी र शहरी जीवनशैलीको
जबर्जस्ती नक्कल गर्ने प्रवृत्तिसँगै पूर्वका शहरबजारमा यौनव्यवसाय
फैलिँदै गएको हो।
इटहरी वरपर यौन व्यवसाय गर्दैआएकी
सिर्जनाको कमाइ राम्रै छ। होस्टलमा बसेकी ६ कक्षामा पढ्ने छोरी र आफन्तले
थाहा पाउलान् भन्ने बाहेक उनलाई अरू कुनै डर छैन। उनले हाकाहाकी भनिन्,
“एक पटकको साढे चार हजारसम्म लिएकी र केही पैसा बचाएकी पनि छु।” उनका
ग्राहकमा सरकारी कर्मचारी, सैनिक, प्रहरी र नेतादेखि विद्यार्थीहरूसम्म
हुन्छन्। जिन्स पाइन्टमा ठाँटिएकी सिर्जना खल्तीमा सधैँ कण्डम राख्छिन्।
एचआईभी एड्स र यौनरोगबारे सचेत उनले भनिन्, “नो कण्डम, नो सेक्स!”
यौनव्यवसाय गर्ने महिलाहरू कहिलेकाहीँ
होटेल सञ्चालकहरूबाट ठगिन्छन् पनि। शर्मिला भन्छिन्, “होटेलवालाले
ग्राहकसँग आफैँ कुरा मिलाउने हुनाले ग्राहकले कति पैसा तिर्छ हामीलाई
भन्दैन र थोरै पैसा दिन्छ।” शर्मिला र उनका साथीहरू यसरी हुने थोरै
कमाइको पनि ठूलो हिस्सा 'मेकअप' र लुगामा खर्च गर्छन्। बेलाबखत प्रहरी
र माओवादी कार्यकर्ताले दुःख दिने भएकाले उनीहरूले ठाउँ सरिरहनुपर्छ।
तर, मोबाइलले कहाँ भेट्ने भन्ने टुङ्गो गर्न सजिलो बनाइदिएको छ।
पछिल्लो वर्ष प्रहरी त्यति सक्रिय
भएन। अघिल्लो महिना मात्रै वाईसीएलले होटेलबाट केही युवतीहरूलाई समाएर
प्रहरीमा बुझायो, तर प्रहरीले दुई दिन राखेपछि 'आइन्दा यस्तो काम नगर्नू'
भनेर छाडिदियो। सहयोगी समूहकी सचिव विमला भन्छिन्, “महिलाहरूलाई सहायता
र उद्धारको खाँचो छ। नत्र उनीहरू शोषणमा परिरहन्छन्।”
पूर्वी क्षेत्रमा यौनव्यवसायीहरू
सङ्गठित छन्। उनीहरूले अघिल्लो वर्ष इटहरीमा एक अन्तरक्रिया कार्यक्रम
समेत गरेका थिए, जसमा सहभागी इटहरी उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष
तथा तत्कालीन महासचिव टङ्क दुलाल भन्छन्, “दुहवी र इटहरी क्षेत्रमा
अढाई सय जति यौनव्यवसायी होलान् र यो क्षेत्रको यौन बजारमा दैनिक दुईदेखि
अढाई लाख बराबरको कारोबार हुन्छ।” यौनकर्मी महिलाहरूलाई सीप सिकाउन
सकेमा उनीहरूलाई अरू पेशामा आकर्षित गर्न सकिने तर्क दुलालको छ।
यौन व्यवसायीहरू विभिन्न कारणले
यो पेशामा लागेका छन्। कतिलाई हिंसात्मक द्वन्द्वले त कतिलाई गरिबीले
घर छाड्न र यस्तो पेशामा आउन बाध्य बनाएको छ। कोही लोग्नेसँगको झगडा,
सौताको आगमन, घर निकाला, प्रेमीसँग विछोड जस्ता कारणले आइपुग्छन्।
सजिलो कमाइ हुने भएकाले साथीहरूको लहैलहैमा लागेर यौन व्यवसायमा आउनेहरू
पनि प्रशस्तै हुन्छन्।
इटहरी क्षेत्रमा अहिले यौनव्यवसायीहरूले
बचत योजना शुरु गरेका छन्। मासिक रु.५० का दरले उनीहरूले गरेको बचत
रकम करिब रु.५० हजार पुग्न लागेको छ। यो रकम महिला समूहबीच नै लगानी
गर्ने गरिएको छ। सहयोगी समितिले यौनकर्मी महिला र तिनको परिवारका सदस्य
दुर्घटनामा परेमा वा बिरामी भएमा उपचार गर्न अर्को छुट्टै कोषको व्यवस्था
पनि गरेको छ।
गोपाल गड्तौला, दमकमा
बुटबलः खुलेआम व्यापार
कति पैसा हो?
तपाईँ यहीँको भएकोले १६ सय मात्रै। साँझ ६ बजेतिर आउनुस्, पैसा यहीँ
जम्मा गर्नुस्र जहाँ मन लाग्छ, त्यहीँ लैजानुस्।
बुटबलका एक होटेल व्यवसायी र यौनकर्मी महिला खोज्दै हिँडेका ग्राहकबीचको
संवाद हो यो। यौनव्यवसायी महिलासँग कार्यरत गैरसरकारी संस्थाहरू बुटबल,
भैरहवा र आसपासका क्षेत्रमा करिब १५ सय यौनकर्मी महिला भएको अनुमान
गर्छन्। परिवर्तनका लागि कार्यरत महिला समूह (वाच), बुटबलकी लुना घिमिरे
भन्छिन्, “आठ सय हाराहारी त हाम्रो सम्पर्कमै छन्। बाँकी समेत गरेर
करिब १५ सय यो पेशामा लागेको अनुमान छ।”
धेरैजसो महिला पारिवारिक झगडा, हिंसा र श्रीमानको यातनाका कारण यो
पेशामा आएका छन्। गरिबीका कारण यसलाई आयआर्जनको एउटा माध्यम बनाउने
श्रमिक महिलाहरू पनि छन्। पहाडी र तराईका अन्य जिल्लाबाट शहरमा पढ्न
आएर जीविकोपार्जनका लागि रेष्टुराँमा काम गर्न पुगेका कतिपय युवती
पनि यो पेशामा लागेका छन्। उनीहरू कसरी यस्तो पेशामा आउन बाध्य हुन्छन्
भन्ने कुरा बुटबल, पाखापानीकी एक युवतीको कथाले देखाउँछ। बुटबलमा दिनभरी
मजदुरी गरेर पनि साँझ पैसा नपाएपछि एकदिन उनी ठेकेदारकहाँ पुगिन्।
ठेकेदारले यौन शोषण गर्न थाले। तर पछि उनलाई समयमै पैसा पाइने र खासै
शारीरिक श्रम नगरिकन धेरै कमाइ हुने यो 'काम' ठीकै लाग्न थाल्यो। अहिले
उनी यस क्षेत्रमा नाम चलेकी यौनकर्मी भएकी छन्।
कतिपय युवती चाहिँ खान–लाउन नपुगेर मात्र होइन, अझ राम्रो खान–लाउन
र रमाइलो गर्न यता लागेका छन्। गएको वैशाखमा भैरहवा बसपार्क नजिकैको
शान्ता होटेलमा माओवादी योङ्ग कम्युनिष्ट लिगको फेला परेका कपिलवस्तु,
चन्द्रौटा र रुपन्देही, देवदह खैरेनीका चार युवतीले ग्राहकसँग बसेबापत
रमाइलो पनि हुने र दुई सय रुपैयाँ पाउने हुनाले यस काममा लागेको बताएका
थिए। सामान्य होटेल–रेष्टुराँको सम्पर्कमा रहेका युवतीहरू यतिसम्म
थोरै पैसामा काम गर्छन् भने राम्रो होटेलको सम्पर्कमा रहने युवतीहरूको
कमाइ तुलनात्मक रूपमा बढी छ। यौन बजारमा भारतीय ग्राहक आउने क्रम पनि
बढेको छ। एक वर्षअघि बुटबलका सर्फराज आलमको प्याराडाइज होटेलबाट प्रहरीले
चार भारतीय ग्राहकलाई नेपाली युवतीहरूका साथ पक्राउ गरेको थियो।
यौन कारोबार बर्सेनि बढ्दै गइरहेको अवस्थामा पनि प्रहरीले प्रायः
'जानकारी नभएको' औपचारिक जवाफ दिने गरेको छ। इलाका प्रहरी कार्यालय
बुटबलको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक रोमबहादुर ओली भन्छन्,
“उजुरी पनि आउँदैन, हामी जाँदाखेरी कोही भेटिँदैन पनि।”
यहाँका अर्का एक प्रहरी अधिकारी यौनकर्मीलाई पक्राउ गरे पनि कारबाही
गर्न नसकिने थाहा पाएर प्रहरी सक्रिय हुन छाडेको बताउँछन्। एक वर्षअघि
प्याराडाइज र चौतारी होटेलबाट पक्राउ गरिएकाहरूलाई जिल्ला प्रशासन
कार्यालयले रु.५०० धरौटी लिएर छाडेपछि 'पक्राउ गरेर केही हुन्न' भन्ने
निचोडमा प्रहरी पुगेको हो।
मुकेश पोखरेल, बुटवलमा
|