यौनव्यापार
महिनामा ५० हजारसम्म कमाउछु
विनिता, यौन व्यवसायी
यो व्यवसायमा लागेको कति भयो?
तीन वर्ष।
आफन्तलाई थाहा छ?
छैन, मलाई चिन्ने नजिकका साथीसङ्गीलाई पनि थाहा छैन। पाँचतारे होटेलमा
काम गर्छे भनेर चिन्छन् उनीहरूले।
कमाइ कति हुन्छ?
महिनामा ५० हजारसम्म कमाउँछु। मेरै कमाइका भरमा त परिवार चलेको छ।
यत्रो पैसा कहाँबाट ल्याएको
भनेर सोध्दैनन्?
पाँचतारे होटेलमा काम गर्दा राम्रै टिप्स पाइन्छ भनेकी छु।
आफूले लिएको सबैभन्दा
बढी र घटी रकम कति हो?
एक पटक त ३० हजार पनि लिएकी छु। अरू बेला सामान्य पाँच हजार हो, कहिलेकाहीँ
तीन–चार हजार मात्रै पनि हुन्छ। त्यो मान्छे हेरेर हुन्छ।
'मान्छे हेरेर' भनेको
के नि?
भर्खरका र पढेलेखेका केटासँग थोरै रकममा पनि मान्छु, तर अलि उमेर खाएको
र विदेशी भएमा १० हजार घटी बस्दिनँ।
कस्ता मानिसहरू धेरै
आउँछन्?
व्यापारी र पैसा कमाउनेहरूसँग धेरै बसेकी छु।
काम दैनिक हुन्छ कि हुँदैन?
टुङ्गो हुन्न, कहिलेकाहीँ हप्ताभरी एक जना पनि हुन्न, कहिलेकाहीँ दिनैपिच्छे
हुन्छ।
दलाललाई पनि पैसा दिनुपर्छ?
पैसा आधा–आधा हुन्छ। ठाउँ हेरेर कहिलेकाहीँ दलालले अलि बढी पैसा लिन
पनि सक्छ।
'व्यवस्थित बनाउनुपर्छ'
केबी राना, प्रहरी नायव महानिरीक्षक
अपराध अनुसन्धान विभाग
यौनव्यवसाय 'अपराध' मानिन छाडेको हो?
सबै यौन क्रियाकलाप वेश्यावृत्ति हुँदैन। केही कुरा प्राकृतिक पनि
हुन्छ। यौन क्रियाकलाप गर्नै नहुने भन्ने छैन। सही तरिकाले सही मान्छेसँग
गरिने यौन क्रियाकलाप आपत्तिजनक हुँदैन। जहाँ पैसाको लेनदेन हुन्छ,
त्यसलाई वेश्यावृत्ति भनिन्छ। यस सम्बन्धमा स्पष्ट कानून पनि छैन।
प्रहरीले कानूनभन्दा बाहिर गएर कारबाही गर्ने कुरा आएन। त्यसैले ललाई–फकाई,
फँसाएर र जबर्जस्ती गरेर गरिने गैरकानूनी यौन क्रियाकलापमा मात्रै
हामी कारबाही गर्छौं र काठमाडौँमा प्रहरीको नजरमा भएसम्मका यस्ता गैरकानूनी
कामलाई हामीले छाडेका छैनौँ।
काठमाडौंमा यौनव्यवसाय चलिरहेको बारे
प्रहरीलाई जानकारी छ?
प्रहरी जानकार छ। आवश्यकता अनुसार कारबाही पनि गरेको छ।
कुन स्तरमा यस्तो व्यवसाय भइरहेको
होला?
कति छ भन्ने कुरा आफ्नो ठाउँमा छ। मैले अघि नै भनिहालेँ नि, सबै यौनकर्म
वेश्यावृत्ति हुँदैन। कसैलाई जबर्जस्ती यौनकार्यमा लगाएको अवस्थामा
कानून अनुसार हुन्छ। तर राजीखुशीले यौनकर्म गरेको छ भने त्यो वेश्यावृत्ति
हो या स्वाभाविक यौनकर्म, छुट्याउन गाह्रो हुन्छ।
यौनव्यवसायलाई अब के गर्नुपर्ला?
यौनकर्मलाई स्पष्ट र समयसापेक्ष हिसाबले परिभाषित गरेर कानूनको दायराभित्र
ल्याउनु पर्छ। अबको दुनियाँमा यौन क्रियाकलाप रोक्न पनि सकिन्न,छाडा
र खुल्ला राख्नु पनि हुन्न। त्यसैले धार्मिक, सांस्कृतिक पक्षलाई पनि
ध्यान दिएर व्यवस्थित बनाउनुपर्छ। व्यवस्थित नहुँदा एचआईभी/एड्स बढ्छ
र हाम्रो संस्कृति पनि बिग्रन्छ।
|