रिपोर्ट शेयर बजार
नयाँ पैसा, नयाँ अनुहार
शेयर बजारको कारोबारमा यतिबिघ्न कृत्रिम चलखेल
भइरहेको छ, भोलि अर्थतन्त्र उकालो वा ओरालो जता लागे पनि यो बजार एकपटक
धरासायी त हुन्छ नै।
•
किरण
नेपाल
 |
| तस्बिरहरू मीन बज्राचार्य |
२७ असारमा नेपाल
स्टक एक्सचेञ्जको शेयर सूचकाङ्क नेप्से ६३२ अङ्क पुग्यो। गत असार मसान्तमा
३८६.८३ रहेको यो सूचकाङ्कले आफ्नो १४ वर्षको इतिहासमा पहिलो पटक एकै
वर्षमा झण्डै दोब्बर फड्को मारेको छ। विभिन्न कम्पनीहरूको शेयर मूल्य
बढेको कारण नेप्सेमा यति ठूलो वृद्धि भएको हो। २०६३ असार मसान्तसम्म
सूचीकृत १३५ कम्पनीद्वारा जारी झण्डै रु.२० अर्ब मूल्य बराबरको शेयरको
बजार मूल्य (मार्केट क्यापिटलाइजेशन) करिब रु.९७ अर्ब थियो भने २७
असार २०६४ मा त्यति नै कम्पनीद्वारा जारी करिब रु.२२ अर्ब बराबरको
शेयरको बजार मूल्य रु.१६९ अर्ब पुगेको छ।
सङ्क्रमणकालीन अवस्थामा लगानीका अन्य क्षेत्रहरू सङ्कुचित
रहेको कारण धेरैका लागि सहज लगानीको बाटो बन्न पुगेको छ, शेयर बजार।
पुराना लगानीकर्तासँगसँगै उल्लेख्य सङ्ख्यामा नयाँ लगानीकर्ताको भीड
थपिँदा बजारमा शेयरको माग निकै बढेको र गएको एक वर्षमा बजारमा सूचीकृत
कम्पनीहरूको सङ्ख्या तथा शेयर नथपिएकोले भएकै शेयरहरूको मूल्यमा भारी
वृद्धि भएको हो।
लामो समय नटिक्ने वृद्धि
एकवर्ष अघिसम्म प्रतिकित्ता करिब रु.३८ सयमा कारोबार भइरहेको स्टाण्डर्ड
चार्टर्ड ब्याङ्कको शेयर यतिखेर रु.५ हजारमा पनि पाइँदैन। अधिकांश
ब्याङ्क, वित्तीय संस्था र बीमा कम्पनीका शेयरहरू अहिले सहजै पाइँदैनन्।
नेपाल स्टक एक्सचेञ्जका सहायक प्रबन्धक शम्भुप्रसाद पन्तका अनुसार
हरेक दिन माग हुने शेयरमध्ये ९० प्रतिशत भन्दा बढी ब्याङ्क र वित्तीय
क्षेत्रसँग सम्बन्धित संस्थाहरूकै हुने गरेको छ।
यसरी ब्याङ्क र वित्तीय क्षेत्रको शेयर मूल्य अक्कासिएकोले
लगानीकर्ताहरू तिनको शेयर किन्न भागदौड गरिरहेका छन्। नेपाल ब्याङ्कर्स
एशोसिएसनका अध्यक्ष तथा बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी निर्देशक
राधेश पन्त शेयर बजारको पछिल्लो मूल्यवृद्धिलाई अस्वाभाविक भन्छन्।
उनको भनाइ छ, “वित्तशास्त्रको कुनै पनि पाटोबाट अहिलेको वृद्धिलाई
स्वाभाविक मान्न सकिन्न।”
जानकारहरूको भनाइमा पूँजी बजारमा भएको यो वृद्धि लामो
समय टिक्दैन। सङ्क्रमणकालीन अवस्था, संविधानसभाको निर्वाचनलगायतका
कुराले बजारको भोलिको अवस्था निर्दिष्ट गर्नेछ। ब्याङ्कर पन्तको दाबी
त कतिसम्म छ भने शेयर बजारमा यतिविघ्न कृत्रिम खेल भइरहेको छ, भोलि
अर्थतन्त्र खराब वा राम्रो जुनसुकै बाटोमा गएपनि शेयर बजार एकपटक धरासायी
त हुन्छ नै। ६ मङ्सिरपछि मुलुकमा स्थायित्व आउने, अर्थतन्त्र उकालो
लाग्ने र आफूले शेयर किनेको कम्पनीले मुनाफा गर्ने ठानेर अहिले लगानी
गर्ने व्यक्तिहरू भोलि चुनाव हुन नसके स्वभावतः धमाधम शेयर बेच्न थाल्नेछन्।
एकैपटक धेरै शेयर बिक्रीको लागि आउँदा त्यसको मूल्य घट्नु पनि स्वाभाविकै
हुन्छ। पन्त भन्छन्, “त्यो बेला यहाँको शेयर बजारलाई धरासायी हुनबाट
कसैले रोक्न सक्दैन।”
संविधानसभाको निर्वाचन भएर अर्थतन्त्र सुधार हुँदै गएको
खण्डमा पनि शेयर बजार समस्यामै पर्छ। अर्थतन्त्र सप्रँदा ब्याङ्कका
लागि थप लगानीको क्षेत्र खुल्छर उसलाई तरलताको अभाव हुन्छ। जहाँ लगानी
गर्दा बढी नाफा र कम जोखिम हुन्छ, उसको झुकाव त्यतै हुन्छ। ब्याङ्करहरूकै
भनाइमा अहिले शेयर बजारमा भइरहेको लगानी ब्याङ्कका लागि 'न्यून मुनाफा,
अधिक जोखिम' को खेती भइरहेको छ। ब्याङ्कले करिब ५ प्रतिशत हाराहारी
ब्याजमा 'छानिएका व्यक्तिहरू' माथि मात्र लगानी गर्न सकिरहेकोले नै
त्यो क्षेत्र ब्याङ्कका लागि कति जोखिमपूर्ण छ भनेर स्पष्ट गर्दछ।
यो अवस्थामा अन्य क्षेत्रतर्फको लगानी बढाउन ब्याङ्कले शेयरबजारमा
गरेको लगानी फिर्ता गर्न थाल्छ। त्यसका लागि ऋणीले आफूले किनेको शेयर
बेच्नुपर्छ। एकैचोटि धेरै परिमाणमा शेयर बेच्नुपर्दा बजारमा आपूर्ति
बढ्छ र मूल्य घट्छ।
नयाँ पैसा, नयाँ अनुहार
 |
| खरिद–बिक्रीमा संलग्न शेयर दलाल। |
जानकारहरूको भनाइमा अहिले शेयर बजारमा नयाँ पैसा र नयाँ
अनुहारको प्रवेश बढेको छ। एक वित्त विश्लेषकका भनाइमा ब्याङ्कहरूबाट
भएको न्यून व्याजदरको ऋण लगानी, वैदेशिक रोजगार व्यवसायीहरूको कमाई
र चन्दा आदिबाट उठाइएको रकम 'नयाँ पैसा' हो भने ब्याङ्कले त्यस्तो
ऋणको लागि पत्याएका केही 'ठूला' उद्यमी, म्यानपावर कम्पनी सञ्चालक
र माओवादी निकट व्यक्तिहरू 'नयाँ अनुहार' हुन्।
पछिल्लो समय वाणिज्य ब्याङ्कहरूले शेयरमा लगानी गर्न
समेत ऋण उपलब्ध गराउन थालेपछि बजारमा तरलता बढेर शेयरको मागमा बृद्धि
भएको हो। ब्याङ्किङकै भाषामा 'लाइन मार्जिन ट्रेडिङ' वा 'ट्रेडिङ लाइन
मार्जिन' भनिने यस्तो लगानीमा ब्याङ्कहरूले शेयरमा हुने कुल लगानीको
८० प्रतिशतसम्म ऋण दिने गरेका छन्। केही सरकारी र निजी ब्यांक तथा
वित्त कम्पनी र ठूला सहकारीहरूमार्फत् यस्तो ऋण प्रवाह भइरहेको बुझिएको
छ। शेयर कारोबारमा समग्र ब्याङ्किङ क्षेत्रबाट करिब साढे दुई अर्ब
रुपैयाँको लगानी भएको अनुमान छ।
ब्याङ्कर राधेश पन्त ब्याङ्कको पैसाले ब्याङ्ककै शेयर
मूल्य बढ्दा त्यसको परिणाम भयावह हुने खतरा औँल्याउँदै भन्छन्, “एउटा
ब्याङ्कको शेयर ओरालो लाग्यो भने त्यो शेयर खरिद गर्न ऋण दिने अर्को
ब्याङ्कको कर्जा उठ्दैन, खराब कर्जाको परिमाण बढ्छ, अनि त्यो ब्याङ्कको
व्यापार राम्रो हुँदैन र उसको पनि शेयर मूल्य घट्छ। यसले एउटा डरलाग्दो
'चेन' नै बनाउन सक्छ।”
ब्याङ्कहरूले विगतमा कायम शेयरको ६ महिनाको औसत मूल्यलाई
आधार बनाएर यसमा लगानी गरेका हुन्छन्। जसका कारण ब्याङ्कको ऋण लिएर
किनेको शेयरको मूल्य घट्दा लगानीकर्ताको टाउकोदुखाइ शुरु हुन्छ। उसले
किनेको शेयरको मूल्य ब्याङ्कले ऋण दिँदा कायम औसत मूल्य भन्दा कम हुनेवित्तिकै
ब्याङ्कले ऋण तिर्न ताकेता गर्छ। ब्याङ्कको त्यस्तो दबाबबाट बच्न ऋणीहरूले
आफूले किनेको शेयरको मूल्य बढाउन एकापसमा स–सानो परिमाणमा किनबेच गर्ने
र आफूसँग भएको शेयरको माग बजारमा देखाइराख्ने काम गर्छन्। यसको परिणामस्वरुप
विना कुनै ठोस कारण शेयरको मूल्य बढेको बढ्यै हुन्छ।
हल्लाको बजार
नेपाल राष्ट्र ब्याङ्कले वि.सं. २०७० सम्ममा सबै खाले ब्याङ्क र वित्तीय
संस्थाहरूलाई आ–आफ्नो पूँजी बढाउन निर्देशन दिएको छ, जसअनुसार सो अवधिभित्र
वाणिज्य ब्याङ्कहरूले आफ्नो पूँजी रु.२ अर्ब तथा विकास ब्याङ्क र वित्त
कम्पनीहरूले क्रमशः रु.६४ करोड र रु.२० करोड पुर्याउनु पर्छ। यो लक्ष्य
प्राप्तिका लागि हरेक ब्याङ्क र वित्तीय संस्थाहरूले वार्षिक २० प्रतिशतको
दरले आफ्नो पूँजीकोष बढाउँदै लैजानुपर्छ। ब्याङ्क र वित्तीय संस्थाहरूले
पूँजी कोष बढाउन आफ्ना शेयरधनीहरूलाई अग्राधिकार वा बोनस शेयर दिन्छन्
भन्ने आम धारणा छ। कतिपय ब्याङ्कहरूले हिजोका दिनमा यो सुविधा दिएका
पनि हुन्। तर ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष पन्तको भनाइमा कम्पनी
कहाँ पुगेको छ, राम्रो गर्छ/गर्दैन, उसको रणनीति के हो जस्ता कुराहरू
वास्ता नगरी बोनस वा अग्राधिकार शेयर पाउँछु भन्ने आशकै भरमा लगानी
गर्ने लगानीकर्तालाई परिपक्व मान्न सकिन्न।
भोलि गएर दुई वा दुईभन्दा बढी ब्याङ्क एकापसमा गाभिए
भने पूँजी बढाउनका लागि तिनले अग्राधिकार वा बोनस शेयर दिइरहनुपर्दैन,
उनीहरूको विद्यमान पूँजीबाटै आवश्यक रकम जुट्न सक्छ। अहिले ब्याङ्कको
शेयर किन्न दौडिएका अधिकांश लगानीकर्ताहरूले यो संभावनामाथि बिल्कुलै
ध्यान दिएका छैनन्। त्यस्तै भविष्यमा राष्ट्र ब्याङ्कले आफ्नो नीतिमा
फेरबदल गर्यो र पूँजी वृद्धिको परिमाण घटायो भने पनि त्यसको लागि
ब्याङ्क र वित्त कम्पनीहरूले अग्राधिकार वा बोनस शेयर जारी गरिराख्नुपर्दैन।
यो अवस्थामा अहिलेको मूल्यमा खरिद गरिएका शेयरबाट अपेक्षित प्रतिफल
प्राप्त हुनसक्दैन।
शेयर बजार अनुमानको खेल (स्पेकुलेशन) बाट चल्ने भएपनि
यो वास्तविक तथ्याङ्कहरूमा आधारित भएर परिलक्षित तथ्याङ्कहरूबाट निर्देशित
हुन्छ। तर नेपाली शेयर बजार भने अहिले पूरापूर हल्ला र अनुमानको खेलबाटै
निर्देशित छ। स्टक एक्सचेञ्जका प्रबन्धक प्रमोद भट्टराई पनि पछिल्लो
समय अधिकांश लगानीकर्ताहरू हल्लाको पछाडि दौडिएकै कारण शेयरको अस्वाभाविक
मूल्य वृद्धि भएको स्वीकार्छन्। उनी भन्छन्, “हामीले लगानीकर्ताहरूलाई
विभिन्न रोकथामका उपायहरू लगाएर सोधेका छाँै, तर पनि हल्लाको पछाडि
दौडिनेहरू रोकिएका छैनन्।”
पूँजी बजारमा मुद्रा आपूर्तिको तुलनामा शेयर आपूर्ति
भएको छैन। मुद्रा र त्यसलाई उपयोग गर्ने शेयरको आपूर्ति बराबरी हुँदा
मात्र पूँजी बजारमा कृत्रिम वृद्धि हुन पाउँदैन। अहिले जस्तो कृत्रिम
वृद्धि हुँदा बजारमा कार्टेलिङ शुरु हुन्छ, जुन यहाँ भइरहेको पनि छ।
अहिले ब्याङ्क र वित्तीय संस्थाहरूको शेयर मूल्य बढाउन करिब ६ जना
ठूला तथा तिनको मातहतका अन्य करिब ५०० जति सानातिना खेलाडी (स्पेकुलेटर)
हरूको छुट्टाछुट्टै समूहले काम गरिरहेको भित्रियाहरूको दाबी छ। यस्ता
व्यक्ति वा समूहले विभिन्न हल्ला फैलाएर शेयर मूल्य बढाउने (पुस फरवार्ड)
वा घटाउने (बाउन्स ब्याक) काम गर्छन्। तिनले आफूसँग भएको शेयरको माग
बढाउन केही समय नबेची राख्ने अनि एकापसमा स–सानो परिमाणमा किनबेच गरेर
मूल्य बढाउने गर्छन्। यसबाट स–साना क्रेताहरूलाई सम्बन्धित कम्पनीले
राम्रो गरिरहेको छ, शेयर मूल्य बढेको छ, लगानी गर्नुपर्छ भन्ने लाग्छ।
तर ती समूहले आफ्नो शेयरको मूल्य बढाएर बेचिसकेपछि सो शेयर किन्ने
स–साना लगानीकर्ताले बेच्न खोज्दा मूल्य घट्न थालिसक्छ।
सामान्यतः पूँजी बजारमा मूल्यसँगै कारोबार पनि बढ्नु
पर्छ। तर नेपाली शेयर बजारमा भने मूल्यको तुलनामा कारोबार निक्कै कम
छ। गत आर्थिक वर्षको तुलनामा यो वर्षको २७ असारसम्म समग्र बजारको शेयर
मूल्य झण्डै रु.७२ अर्बले बढेको छ भने शेयर खरिदबिक्री चाहिँ करिब
रु.७ अर्बको मात्रै हुनसकेको छ। वित्त विश्लेषक सुजीव शाक्यको भनाइमा
शेयरको मूल्य वृद्धि हुनु, तर कारोबार नहुनु राम्रो सङ्केत होइन। उनी
भन्छन्, “बजार मूल्य र कारोबारको परिमाण परस्पर मेल खानुपर्छ। यसले
देखाउँछ, केही खेलाडीहरूले आपसी स–साना कारोबारबाट शेयरको मूल्य बढाइरहेका
छन्।”
|