रिपोर्ट काङ्ग्रेस एकता
कुरो अड््कियो पदमा
शेरबहादुर देउवालाई कार्यवाहक सभापति अथवा वरिष्ठ उपसभापति
र विमलेन्द्र निधि वा प्रकाशमान सिंहमध्ये एकलाई दोस्रो महामन्त्री
नबनाएसम्म दुई काङ्ग्रेस एक हुने सम्भावना कम छ।
 |
| किरण पाण्डे |
| कोइराला र देउवा |
बहुचर्चित काङ्ग्रेस
एकता प्रकरणले अहिलेसम्म कुनै आकार ग्रहण गर्न सकेको छैन। पछिल्लो
पटक २३ असार २०६४ मा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री
गिरिजाप्रसाद कोइराला र पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस
प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाबीच वार्ता भए पनि यसले ठोस
निष्कर्ष दिन सकेन। बालुवाटारमा भएको सो वार्तामा देउवाले आफूलाई एकीकृत
काङ्ग्रेसमा कार्यवाहक सभापति वा वरिष्ठ उपसभापतिसहित एक महामन्त्री
पद चाहिने बताएका छन्। यससँगै सबै नेता/कार्यकर्तालाई समेट्नुपर्ने
देउवाको मागपछि एकता अभियानमा अवरोध आएको छ।
कोइरालाले 'दुई काङ्ग्रेस छिट्टै एक हुन्छ' भनेको र
देउवाले आफ्ना कार्यकर्तामाझ 'सम्मानजनक एकता' हुन्छ भनेको धेरै पटक
भो। तर, विभाजित काङ्ग्रेस अझै एक हुने छाँट छैन। जतिपटक प्रधानमन्त्री
कोइराला र सभापति देउवाबीच भेटघाट हुन्छ त्यति नै पटक काङ्ग्रेस एकताको
चर्चा शुरु हुन्छ र तुरुन्तै सेलाउँछ पनि। इतिहासमा पनि नेपाल प्रजातन्त्र
काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेस एक भएर बनेको हो नेपाली काङ्ग्रेस।
यसअघि पनि सानातिना समूहहरू चोइटिएर जाने, पछि कुनै काङ्ग्रेसमै समाहित
हुने त कुनै अस्तित्व जोगाउन नसकेर विलाउने गरेका थिए। तर अहिले जस्तो
लगभग समानान्तर रूपमा काङ्ग्रेस कहिल्यै विभाजित भएको थिएन। अहिले
त पार्टी मात्रै होइन समग्र भातृ संस्थाहरू पनि विभाजित छन्। त्यसैले
काङ्ग्रेस एकताको अर्थ यसअघि भन्दा महत्त्वपूर्ण मानिँदै आएको हो।
पाँच वर्षदेखि मुलुकमा दुई वटा काङ्ग्रेस अस्तित्वमा
छन्। झण्डा दुवैले चारतारे बोक्छन्, दुवैका भातृ संघ–संस्थाहरूका नाम
र झण्डा उस्तै छन्। 'जयनेपाल' भन्ने काङ्ग्रेसी अभिवादनलाई पनि दुवैथरीले
प्रयोग गर्छन्। आजभोलि अलि कम भएपनि दुवैतिरका काङ्ग्रेसजनहरू चिरेकै
भादगाउँले कालो टोपी लगाउँछन्। बीपी कोइरालाबाट सिकेका यस्ता कतिपय
संस्कार र व्यवहारप्रति दुवैको मोह धेरथोर बाँकी नै छ। एक राजनीतिक
विश्लेषक भन्छन्, “काङ्ग्रेस उत्पादन हुने खेतबारी मात्र होइन, आली
र कान्ला पनि उस्तै छन्।” विभाजनपछि दुवै काङ्ग्रेसले एक–एक वटा महाधिवेशन
(एघारौँ महाधिवेशन) गरिसकेका भएपनि प्रजातान्त्रिकले नेपाली काङ्ग्रेसको
विधानमा प्रजातान्त्रिक शब्द थप्नु सिवाय केही नयाँ व्यवस्था गरेको
छैन।
दुई काङ्ग्रेसबीच विद्यमान एक मात्र भिन्नता चुनावचिन्हमा
छ। चुनावचिन्हलाई लिएर विभाजन लगत्तै दुई काङ्ग्रेसमा निकै विवाद भएपछि
निर्वाचन आयोगले प्रजातान्त्रिकलाई 'कलश' र मूल काङ्ग्रेसलाई पुरानै
'रूख' चिन्ह दिने निर्णय गरेको थियो। नीति, विधानलगायतका पार्टी संस्कार
समेत उस्तैउस्तै अँगाल्दै आएका दुवैतिरका अधिकांश नेता तथा कार्यकर्ताले
अहिलेसम्म पनि पार्टी किन फुट्यो भन्ने भेउ पाउन सकेका छैनन्।
काङ्ग्रेस एक हुने हल्ला बाहिर जति छ, भित्र त्यति तत्परता
र तयारी देखिँदैन। आफ्नो पक्षको विद्यार्थी सङ्गठनको महाधिवेशन उद्घाटन
गर्न २५ असारमा नेपालगञ्ज पुगेका देउवाले भनेका छन्, “पार्टी एकीकरण
हुन्छ, गिरिजाबाबुसँग कुरा गर्या छु तर मिति भने मलाई पनि थाहा छैन।”
उता कार्यकर्ता पङ्क्तिबाट अगाडि बढाइएको एकता अभियानका संयोजक चिजकुमार
श्रेष्ठ अमेरिकातिर लागेपछि दबाब समूहको भूमिका पनि न्यून हुँदै गएको
छ। ६ साउनमा पर्ने बीपी स्मृति दिवसको अवसरमा एकता हुन्छ भन्ने एकता
पक्षधरहरूको आश पनि निराशामा परिणत हुने छाँट छ। नेपाली काङ्ग्रेसले
बीपी स्मृति दिवस मनाउन सबै जिल्ला र भातृ संघ–संस्थाहरूलाई गरेको
परिपत्रमा एकताबारे केही भनिएको छैन। दुवै काङ्ग्रेसले पार्टीको मात्र
होइन जनसङ्गठनको समेत छुट्टाछुट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन
गरिसकेका छन्। यसबाट दुवै पक्ष पार्टी एकताभन्दा पनि आ–आफ्नो खेमाको
सुदृढीकरणमा लागेको बुझ्न सकिन्छ।
यसअघि भदौ २०६२ र पुस २०६३ ताका दुई काङ्ग्रेसबीच एकता
हुने विषयले निकै चर्चा पाएको थियो। किनभने त्यसबेला दुवै पार्टीले
आ–आफ्ना महाधिवेशन गर्दैथिए। पछिल्लो समय दुवैतिर एकता कार्यदल पनि
गठन गरिएको छ। नेपाली काङ्ग्रेसले आमोदप्रसाद उपाध्याय, डा. शेखर कोइराला
र रामकृष्ण ताम्राकार सम्मिलित एकता कार्यदल निर्माण गरेपछि प्रजातान्त्रिक
काङ्ग्रेसले प्रकाशमान सिंह, डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाललाई
एकताको आधार पहिल्याउने जिम्मेवारी दिएको छ।
एकताको क्रममा दुवैतिरका केन्द्रदेखि जिल्लासम्मका निर्वाचित
समितिहरूलाई समेटेर अघि बढ्न सकिने विषयमा छलफल भएको हो। त्यसोगर्दा
जिल्ला र भातृ संघ–संस्थाका सभापति कसले लिने भन्ने विवाद आउनसक्ने
सम्भावना भएकाले पार्टीमा निरन्तर लागिरहेको, जनआन्दोलनमा सक्रिय भूमिका
निर्वाह गरेको र वरिष्ठताको आधारमा त्यो जिम्मेवारी दिने सहमति पनि
भएको हो। तर पनि यो प्रक्रिया अघि बढेन।
जेहोस् माथिदेखि तलसम्मै दुई चिरा भएको काङ्ग्रेसको
एकता सजिलो छैन। पार्टी एक गराएर वरिष्ठ उपसभापतिसम्म हुनपाए अन्तर्राष्ट्रिय
समर्थन, सुदूरपश्चिमको वर्चस्व र कोइराला परिवारको आन्तरिक खिचातानीलाई
भजाएर सुशील र रामचन्द्रलाई सजिलै उछिन्न सक्ने देउवाको दाउ छ। र,
बालुवाटार निकटस्थहरूका अनुसार, प्रधानमन्त्री कोइराला भने देउवालाई
कार्यवाहक सभापति वा वरिष्ठ उपसभापति दिनुभन्दा पनि प्रजातान्त्रिकका
जो–जो नेता–कार्यकर्ता आउँछन् तिनलाई भित्र्याउन चाहन्छन्। एकताको
प्रयास टाढिँदै जाँदा र सभापति कोइरालाले आगामी निर्वाचनमा उम्मेदवार
बनाउने वचन दिएमा ठूलै सङ्ख्यामा देउवा पक्षधर सांसद, नेता र कार्यकर्ताहरू
छिट्टै कोइराला काङ्ग्रेसतिर नजालान् भन्न सकिँदैन। प्रधानमन्त्रीले
छिटो गर्नु पर्यो भन्नु भएपनि त्यस अनुसारको सक्रियता नदेखिएको स्वीकार्छन्
एकता कार्यदलका सदस्य डा. मिनेन्द्र रिजाल। उनी भन्छन्, “बीपी स्मृति
दिवससम्म त एकता होलाजस्तो लाग्दैन।”
ध्रुब सिम्खडा
|