रमझम
हिमाल चढ्दै मोडलिङ
काठमाडौँ बाहिरको
नेपाल खासै नदेखेकी सुस्मिता मास्के (२६) लाई तीन वर्षअघिसम्म विदेशी
पर्यटक नेपाल घुम्न आएको देख्दा 'यिनीहरू के हेर्न आएका होलान्' जस्तो
लाग्थ्यो। पर्वतारोहण क्षेत्रमा लागेपछि भने उनको धारणा बद्लिएको छ।
उनी भन्छिन्, “स्वर्ग भनेको यतै रहेछ। नेपालको कति ठाउँ पुग्दा मलाई
स्वर्ग त यै होला जस्तो लागेको छ।” टे्रकिङको तालिम लिएपछि हिमालले
बोलाइरहे झैँ लाग्ने सुस्मितालाई हिमालतिर लाग्नु त लत नै बनिसकेको
छ। भन्छिन्, “हिमालतिर पुगेपछि घर पुगेको जस्तै लाग्छ।”
पर्वतारोहण सामग्रीमा युरोपमा प्रसिद्ध ब्रान्ड स्प्रेवे
का लागि मोडलिङ पनि गर्छिन्सुस्मिता। उनी भन्छिन्, “मैले गर्ने मोडलिङमा
मेक अप पनि हुँदैन पोज दिएर टक्क बस्नु पनि पर्दैन, हाँस्दै रमाउँदै
हिमाल चढ्नुपर्छ।” विदेशी ब्रान्डका लागि काम गरेपछि आम्दानी त निकै
हुन्छ होला नि? सुस्मिता भन्छिन्, “जिन्सी आम्दानी त हुन्छ तर नगद
भने सीधै चेरियम विकास योजनामा जम्मा हुन्छ।”े मोडलिङबाट सोलुखुम्बुको
चेरियम गाउँको मद्दत गर्न पाएकोमा यो काम झनै रमाइलो लागेको उनी बताउँछिन्।
गत वर्ष सुस्मिताले सगरमाथा आरोहणमा पनि भाग लिइन्।
तर उनले ८८०० मिटरसम्म पुगेर पनि शिखर नचुमी फर्किनु पर्यो। उनी भन्छिन्,
“मेरो जिन्दगीको सबैभन्दा नरमाइलो समय नै म शिखरबाट मात्र ४८ मिटरको
दूरीबाट फर्कनु परेको क्षण हो। त्यति बेलामा मलाई 'साइकोलोजिकली डेड'
भएको महसूस भएको थियो।” सगरमाथा चढ्ने अधुरो सपनालाई पूरा गर्न उनी
अन्य पर्वतारोही महिलासँग मिलेर आगामी वर्षको तयारी गर्दैछिन्। सगरमाथा
चढ्ने सपना पूरा भएपछि पर्वतारोहण सँगसँगै एकल महिला तथा बालबालिकाको
हितमा केही काम गर्ने उनको चाहना छ।
शब्दः शैली बस्नेत
तस्बिरः किरण पाण्डे
रमझम सङ्गीत
पाश्चात्य छाडेर लोकतिर
 |
| मीन बज्राचार्य |
नेपाली
मौलिक लोक–सङ्गीतहरू कमै रुचाउने आजका नयाँपुस्ताको बढी लगाव पाश्चात्य
सङ्गीतहरूमा देखिन्छ। त्यसैले पनि नेपाली मौलिक सङ्गीतका अग्रजहरूका
मुखबाट बारम्बार सुन्न पाइन्छ “पप, रक र हेभी मेटलका गीत–सङ्गीतमा
चुर्लुम्मै डुबेका तन्नेरीहरूले लोक गीत–सङ्गीतहरू बिर्सँदै गएका छन्।”
तर, पाश्चात्य छाडेर लोकतिर लागेका साङ्गीतिक समूह कुटुम्ब का सात
जना तन्नेरीहरूको लोक–सङ्गीतप्रतिको समर्पण देखेपछि लाग्छ नयाँ पुस्ताले
चाहे भने मौलिक सङ्गीतको प्रवर्द्धनसँगै संरक्षण गर्न सक्छन्।
कुटुम्ब का २२ देखि २८ वर्षका यी युवाहरूलाई झट्ट हेर्दा
उनीहरू मौलिक नेपाली लोकधुन र बाजा सङ्कलन, संरक्षण र प्रवर्द्धनमा
लागेका छन् भनेर कसैले पनि पत्याउँदैनन्। जब उनीहरूले सङ्ग्रह गरेका
दर्जनौँ मौलिक बाजाहरू देख्छन्, उनीहरू मञ्चमा मौलिक बाजा–गाजा लिएर
रेशम फिरिरि, सालको पात, कलिलो तामालाई, असारे महिनामा, लेकाली, बाझो
खेतमा, सय थरी बाजा एउटै ताल आदिसँगै आफैँले सिर्जना गरेका धुनहरू
प्रस्तुत गर्छन् तब पत्याउन करै लाग्छ। पवित महर्जन, रसिल पलाञ्चोके,
राजु महर्जन, रुविन श्रेष्ठ, विनय महर्जन, अरुण मानन्धर र सिद्धार्थ
महर्जनको यो समूहमा काठमाडौँ उपत्यकाका नेवार युवाहरू रहे पनि यिनका
प्रस्तुतिले सबै जातिलाई समेटछ, कार्यक्रममा सम्पूर्ण नेपाली लोकबाजाहरूको
मात्र प्रयोग हुन्छ। उनीहरूको प्रस्तुतिमा नेवार, राई, लिम्बू, शेर्पादेखि
चेपाङ जातिसम्मका मौलिक बाजा देख्न पाइन्छ, टुङ्गनाको धुन होस् या
मुर्चुङ्गाको झङ्कारदेखि मादल, बाँसुरी–मुरली, सारङ्गी, च्याब्रुङ,
ढोल, अरबाज, एकतारे, ढ्याङ्ग्रोलगायतका करिब पाँच दर्जन बाजाको धुन
सुन्न पाइन्छ।
त्यसो त यसअघि सातै जना पाश्चात्य सङ्गीत र बाजाहरू
नै बजाउँथे। अहिले कुटुम्ब मा छालाबाट बनेका बाजाहरू धिमे, ढोल, छिनाहा,
ढोलक, मादल आदि बजाउने पवित किवोर्ड बजाउँथे भने राजु तबला। सारङ्गी
बजाउने रसिल र घण्ट, झ्याम्टा आदि इफेक्ट बजाउने सिद्धार्थ दुवै जना
गितारमा पोख्त छन्। टुङ्गना, अरबाज बजाउने अरुण गितार बजाउँछन् र गीत
पनि गाउँछन्। बाँसुरी बजाउने विनय र रुविन कि–वोर्ड, गितार र भ्वाइलिन
बजाउँछन्। सबै किसिमका पश्चिमा बाजा बजाउने उनीहरूसँग वाद्यवादकको
रूपमा धेरै टेलिभिजन कार्यक्रम, रेकर्डिङ् स्टुडियो र कन्सर्टहरूमा
ब्याक अफ ब्याण्डको रूपमा समेत काम गरेको अनुभव छ। तर, अहिले पाश्चात्य
सङ्गीत छाडेर लोकतिर किन? पवित भन्छन्, “नेपालमा डेढ सयभन्दा बढी लोकबाजा
पाइन्छ भन्ने सुनेपछि विदेशी बाजाको साटो आफ्नै मौलिक बाजा किन नबजाउने?
भन्ने लाग्यो र बजाउने र खोज्ने काम एकसाथ गर्न थाल्यौँ।” रसिल थप्छन्,
“लोक धुन र बाजातिर आकर्षित भएपछि यस क्षेत्रमा केही गरौँ भनेर कुटुम्ब
समूह नै स्थापना गरेर लाग्यौँ।” दश किसिमका बाजाबाट शुरु भएको यो समूहमा
अहिले ५२ मौलिक बाजा सङ्कलन भइसकेको छ। सिक्दै जाँदा सजिलो भएको र
अझै पनि मौलिक बाजाहरू खोजी–खोजी आफूहरूले सिकिरहेको उनीहरू बताउँछन्।
पाश्चात्य बाजा बजाउँदा भन्दा आफ्नै देशका मौलिक बाजाहरू
बजाउँदा आत्मसन्तुष्टि मिल्ने गरेको पवित बताउँछन्। भन्छन््, “पहिले
कार्यक्रमहरूमा कि–वोर्ड जति बजाए पनि दर्शकले ध्यान नदिने तर अहिले
मादल, ढोलहरू बजाउँदा श्रोता, दर्शकहरूले चासो राख्ने र सम्मान प्रकट
गर्ने गरेका छन्।” रसिललाई भने टेलिभिजन, रेडियो, एफएम जस्ता नेपाली
मिडिया र सांस्कृतिक कार्यक्रमहरूमा समेत लोकधुनहरू पहिलेभन्दा कम
बजाइने, सुनिने गरेकोमा दुःख लाग्छ। “यहाँ जताततै गितार, ड्रमसेट,
कि–वोर्डकै प्रयोग हुन्छ, हामी पनि त्यस्तै बजाउँथ्यौँ तर सोच्दै जाँदा
हामीले नेपालीपन गुमाउँदै गएको आभास भयो।” उनी भन्छन्, “वेस्टर्न बाजा
संसारभर छ तर, हाम्रै मौलिक बाजाहरू प्रशस्तै भएर पनि यसको प्रचार
छैन किनभने यी बाजा बजाउनेहरूको नै अभाव छ।”
तीन वर्षअघि पहिलो पटक पाटन सङ्ग्रहालय परिसरमा कार्यक्रम
गरेपछि यो समूह मौलिक लोकधुनसँगै रमाइरहेको छ। कुटुम्ब ले हालसम्म
कुटुम्ब, फोक रुट्स र नौलो बिहानी नामक तीन वटा लोक–सङ्गीतका धुनहरूको
सीडी बजारमा ल्याइसकेको छ। पहिलो अल्बममा पुराना लोक–धुनहरू समेटिएको
छ, दोस्रोमा बाजा थपेर केही नयाँपन दिएको र तेस्रोमा भने भएका बाजाबाट
नयाँ धुनहरू सिर्जना गरेर समेटिएको छ। त्यस्तै राजधानीका खुल्लामञ्चदेखि
तारे होटेलहरूसम्म आफ्नो प्रस्तुति प्रदर्शन गर्दै आएको छ। आफूहरूको
कार्यक्रम र अल्बममा समेटिएका धुनहरू विदेशीसँगै नेपाली श्रोता त्यसमा
पनि आफूहरूजस्तै तन्नेरीहरूले पनि मनपराएको उनीहरू बताउँछन्।
उनीहरूमध्ये कोही विद्यालयमा सङ्गीत प्रशिक्षक छन्,
कोही परिवारको व्यापारमा त कोही पढिरहेका पनि छन्। तर, पनि उनीहरू
हरेक दिन भेला भएर बाजा बजाउँछन्, नयाँधुन सिर्जना गर्छन् र कसरी युवापुस्तामा
लोकधुन र बाजाको प्रचार गर्ने भनेर छलफल गर्छन्। अब उनीहरू आफ्ना प्रस्तुतिहरू
लिएर उपत्यका बाहिरका शहर र गाउँसम्म जाने योजना बनाउँदैछन्। सिक्न
चाहनेहरूलाई यी बाजाहरू बजाउन सिकाउने मन पनि उनीहरूलाई छ। रसिल भन्छन्
“नयाँ पुस्ताले नसिक्ने हो भने हाम्रा मौलिक बाजाहरू लोप भएर जान्छन्।”
अनुशील
प्रशान्तमय दार्जीलिङ
 |
| कुमार लुइँटेल |
जुनसुकै बेला हुस्सुले
ढपक्कै छेक्ने र सिमसिम पानीमा रुझ्ने दार्जीलिङलाई त्यहाँको चिसो
मौसम बिर्साउनेे गरी इण्डियन आइडलको उत्कृष्ट दशमा पुगेका प्रशान्त
तामाङको चर्चाले तताएको छ।
चोक र गल्लीगल्लीमा प्रशान्तले दार्जीलिङको इज्जत थाम्न सक्लान् वा
असफल होलान् भन्ने एउटै चर्चा र प्रचार छ। हो; अहिले प्रशान्तले दार्जीलिङवासीको
मात्र नभएर भारतका सम्पूर्ण नेपालीभाषीको प्रतिनिधित्व गरिरहेका छन्।
केही मानिसहरू प्रशान्तको जितका लागि भगवानसँग प्रार्थना गरिरहेका
छन् भने उनलाई जिताउन अभियान नै चलाएर हिँड्नेहरू पनि प्रशस्तै छन्।
इण्डियन आइडलको प्रतिस्पर्धामा अब के होला भन्ने उत्सुकता त नेपालीलाई
छँदैछ, त्योभन्दा धेरै प्रशान्तको जित हेर्ने उत्कट इच्छा पनि छ। कर्सियाङका
विवेक तामाङ भन्छन्, “हामी प्रशान्तले उपाधि जितेको समयको पर्खाइमा
छौँ। ” प्रशान्तलाई जिताउन दार्जीलिङसँगै कर्सियाङ, घुम, सुनाधा, कालिङपोङ,
सिक्किम, सिलीगुडी, डुवर्स, जलपाईगुडी सबै क्षेत्र लागिपरेको छभने
सीमा आसपासका नेपालीले पनि भारतीय मोबाइल प्रयोग गरी एसएमएसमार्फत्
भोट हालिरहेका छन्। यहाँका चोक, पसल, सवारीसाधन, विद्यालय, सडकका पेटी
आसपासका पर्खाल, होटेल र घरघरमा प्रशान्तलाई भोट हाल्न अनुरोध गरिएका
तुल, पर्चा र पोष्टर टाँगिएका छन्। विद्यार्थीहरूले विदा लिएर घरघरमा
गई भोट मागिरहेका छन्। दार्जीलिङमा हरेक दिनजसो उनको विजयका लागि दीपावली
पनि भइरहेको छ। स्थानीय नेपाली अखबारले हस्ताक्षर अभियान नै चलाएका
छन्। ठाउँ–ठाउँमा र्याली आयोजना हुँदैछन्। दार्जीलिङ प्रहरीले मातहतका
निकायमा प्रशान्तलाई भोट हाल्न सर्कुलर नै जारी गरेको छ। प्रहरी निरीक्षक
सुदेश गुरुङ भन्छन्, “एक एक भोटको महत्त्व भएकाले हामीले सबै सरकारी
कर्मचारी र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छौँ।”
दार्जीलिङका बूढापाकाहरूले पनि चोकचोकमा गई प्रशान्तका लागि भोट मागिरहेका
छन्। स्थानीय वृद्ध दिलबहादुर लेप्चाले भने, “काम छाडेर भोट माग्न
बसेका छौँ।” उनले प्रशान्त यस बेला सबैको सहयोगको खाँचो भएको बताए।
प्रशान्तका सहपाठी जिएल लेप्चा भन्छन्, “सबै कठिनाई पार गरेर प्रशान्तले
उपाधि जित्नेमा हामी विश्वस्त छौँ।” प्रशान्तकी आमा रुपा भन्छिन्,
“विद्यालयमा छँदा पनि गीत गाएर पुरस्कार ल्याइरहन्थ्यो उसले आफ्नै
प्रयासमा प्रतिस्पर्धामा भाग लिए पनि सबैको सहयोगले गर्दा नै यो स्थानसम्म
पुगेको हो। उसलाई अहिले सबैको सहयोग चाहिएको छ।” मिजासिला प्रशान्त
अत्यन्तै लजालु स्वभावका छन्। स्थानीय तुङसुङ चोकमा तीन वटा कोठा मासिक
पन्ध्र सय तिरेर उनको परिवार बसेका छन्। उनी र स्थानीय होटेलमा रुम
इन्चार्जको रूपमा कार्यरत वृद्धा हजुरआमाको कमाइमा परिवार चलेको छ।
उनका दुई दिदी छन्। बङ्गाल प्रहरीमा कार्यरत प्रशान्त बुबाको निधनपछि
सन् २००२ मा त्यही स्थानमा सेवामा प्रवेश गरेका हुन्।
कुमार लुइँटेल, दार्जीलिङमा
रमझम
विविध
राखीको नखरा
म्युजिक
भिडियो होस् या भारतीय टेलिभिजन च्यानलका हास्य कार्यक्रम या चलचित्रको
'आईटम' गीत– चर्चा हुँदा राखी सावन्तको नाम आइहाल्छ।परदेशीया... बोलको
रिमिक्स गीतकोे भिडियोबाट 'आईटम गर्ल'को रूपमा चिनिएकी राखी बारम्बार
चर्चामा आइरहन्छिन्। एक वर्षअघि गायक मिका सिंहले एक पार्टीमा खुलेआम
चुम्बन गरेपछि उनी मिडियामा छाएकी थिइन्।राखीको नखरा अहिले विकाउ भएको
छ। एकपछि अर्को टेलिभिजन शो र चलचित्रहरूमा व्यस्त उनी करण जौहरको
कफी विथ करण, प्रभु चावलाको सीधी वात जस्ता चर्चित 'टक शो' मा समेत
छाइन। सोनी टीभीको बिग बोस कार्यक्रममा भाग लिएपछि उनको व्यस्तता एकाएक
बढेको हो।
सङ्घर्ष गरेर आफ्नो पहिचान बनाउन सफल राखी आफू एकदमै
भावुक र संवेदनशील भएको बताउँछिन्। भन्छिन्, “म मनमा कुरा राख्दिनँ,
जे मन लाग्यो बोलिहाल्छु,।” आफ्नो चालढाल, पहिरन र खुल्लापनका कारण
उनले बुबाआमाको साथ समेत गुमाउनुपरेको छ। मुम्बई पुलिसका एस्पी रहेका
बाबुले छोरी बिग्रिई भनेर सपार्न गाली र कुटपिट गरे पनि केही लागेन।
उनका विचार धेरैलाई अनौठो लाग्छ। ब्वाई फ्रेण्डका साथ अलग्गै अपार्टमेण्टमा
बस्दै आएकी राखीले एक अन्तर्वार्तामा भनेकी छिन् “म कहिल्यै विवाह
गर्दिनँ र बच्चा पनि पाउँदिनँ, एक्लै बस्न मनपराउँछु।”
जापानमा 'काठमाडाँै'
एक दशकदेखि फोटो पत्रकारिता
क्षेत्रमा क्रियाशील चन्द्रमान महर्जनका ५४ वटा फोटोे ९–१० असारमा
जापानमा काठमाडौँ फोटो प्रदर्शनी मा प्रदर्शित भए। ६ हजार दर्शकले
अवलोकन गरेको सो प्रदर्शनीमा आफ्ना तस्बिर सामु उभिँदा निकै गर्वको
अनुभूति भएको उनी बताउँछन्। चन्द्रमानले काठमाडौँको संस्कृति झल्कने
झण्डै आधा जति तस्बिरहरू उतै छोडेर आए। उनी भन्छन्, “प्रदर्शनीबाट
नेपालको प्राचीन कला र संस्कृति बाँड्न पाएकोमा खुशी छु।” प्रदर्शित
फोटोमध्ये पशुबलि दिइएका फोटोहरू जापानी नागरिकले नरुचाएको चन्द्रमानले
बताए। पचासौँ अन्तर्राष्ट्रिय पुष्पदिवस एवं जापानको मात्सुमोतो गाउँबाट
शहरमा परिवर्तन भएको एक शताब्दी पुगेको उपलक्ष्यमा भएको विशेष समारोहमा
सो फोटो प्रदर्शनी आयोजना गरिएको थियो।
रामहरि
प्रवासमा भाषा मोह
हङकङका
नेपाली लेखक, पत्रकार, साहित्यकार, संघसंस्थाका प्रतिनिधि तथा
सरकारी विद्यालयका शिक्षक, विद्यार्थीहरूले २९ असारमा आदिकवि भानुभक्त
आचार्यको सम्झना गरे।
प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने
उद्देश्यले यहाँ बर्सेनि भानुजयन्ती मनाइँदै आएको छ। हङकङ नेपलिज फाउण्डेशनको
संयोजन तथा नेपाली साहित्य परिषद्को आयोजना रहेको कार्यक्रममा भानुभक्तको
जीवनी, नेपाली गीत, कविता वाचन गरिएको थियो। विद्यार्थीहरूले नृत्यसँगै
बालकृष्ण समद्वारा रचित नाटक 'भक्त भानुभक्त' मञ्चन गरेका थिए। कार्यक्रममा
फाउण्डेशनका अध्यक्ष एकराज राई, सङ्गीतकार दिनेश सुब्बा, हेम लिम्बू,
किसन राई आदिले भानुभक्तको योगदान र नेपाली भाषाको बारेमा चर्चा गरेका
थिए।
देवराज, हङकङमा
स्रष्टासँग रमाउँदै
धादिङको गजुरीबाट
१० वर्षअघि राजधानी छिर्दा दीपकराज पाण्डे (२८) ले गायक र चलचित्रको
नायक बन्ने सपना सँगालेका थिए। गाउँमै छँदा उनी गीत गाउँथे, साथीभाइलाई
बटुलेर चलचित्रको संवाद बोलेरै रहर पूरा गर्थे। तर यी दुई विधाभन्दा
पनि अहिले उनी रेडियो उद्घोषकका रूपमा चिनिएका छन्।
२०५६ सालमा रेडियो सगरमाथामा काम शुरु गरेका पाण्डेले रेडियोमा दैनिक
तीनदेखि पाँच घण्टासम्म बोल्नुपर्ने हुन्छ। मीठो आवाज र कलात्मक शैलीका
कारण पनि अरू रेडियो जक्कीहरू भन्दा उनी अलग छन्। त्यसो त पाण्डे गाउँमा
७ कक्षा पढ्दै साथीहरूसँग भागेर काठमाडौँ आई दुई वर्ष बरालिएका थिए।
त्यो दुई वर्षमा उनले खानुसम्मको हण्डर खाए अनि गाउँ नै फर्केर फेरि
पढ्न थाले। भन्छन्, “गलैँचा बुनेँ, अर्काको घरमा नोकर बसेर मालिक्नीको
पेटीकोट पनि धोएँ, ढुङ्गा–गिटी कुटेँ, घर बनाउने ठाउँमा ज्यामी बनेर
इँटा पनि बोकेँ।” काठमाडौँको आकर्षणमा लोभिएर आएका उनी थप्छन्, “खानुसम्म
हण्डर खाएर, यो खाल्डोबाट फर्केर घरै गएँ तर फेरि यही खाल्डोमा आउनै
पर्यो।”
पाँच वर्षदेखि उनले सञ्चालन गर्दै आएको सङ्गीत सरोवर कार्यक्रमले
साहित्य तथा सङ्गीत क्षेत्रका ओझेलमा परेका धेरै स्रष्टालाई खोजी–खोजी
श्रोतामाझ ल्याएको छ। पाँच वर्षमा उनले अढाइ सय स्रष्टासँग भलाकुसारी
गरेका छन्, उनको कार्यक्रम स्रष्टाहरूको रुने र हाँस्ने थलो नै बनेको
छ। लुकेका स्रष्टाहरूको जीवनका आरोह–अवरोह मिहिन ढङ्गले खोतलेर पस्कनमा
माहिर पाण्डे यसबाट आफूले आत्मसन्तुष्टि पाएको बताउँछन्। भन्छन्, “म
हरेकलाई हृदयबाटै छुन्छु। कार्यक्रममा कसैको आँशु बजाउनुपर्छ, कसैको
हाँसो, श्रोताले यसलाई रुचाएकै छन्।” रेडियो सगरमाथामा उनका मेरो कथा,
गीत विविध आदि कार्यक्रम पनि नियमित सुन्न पाइन्छ। उनका कार्यक्रममा
श्रोताका चिट्ठीपत्रको ओइरो लाग्छ।
सानो छँदाको रहर पूरा गर्न उनले गीत गाए अनि नेवारी चलचित्र चण्डालिका
मा अभिनय पनि गरे। लोक, पप र आधुनिक गरेर दुई दर्जन गीत गाएका पाण्डे
गीत र सङ्गीतको रचना समेत गर्छन्। लोकगीतका केही अल्बमका लागि समेत
गाएका उनको पप आधुनिक गीतको सोलो अल्बम निकाल्ने धोको भने आर्थिक अभावका
कारण पूरा हुनसकेको छैन। भन्छन्, “अल्बम निकाल्न, चलचित्र, टेलि–चलचित्रमा
काम गर्न कि पैसा कि चाकडी चाहिने रहेछ ती दुवै म गर्न सक्दिनँ।”
अनुशील |