पुस्तक परिचय
युद्ध–साहित्यमा अर्को आयाम
किताबः छापामारको छोरो (२०६३)
कथाकारः महेशविक्रम शाह
पृष्ठः १२४+, मूल्यः रु.११०
साहित्यकारलाई
सबैभन्दा बढी उद्वेलित बनाउने विषयवस्तुहरू हुन्– आफ्नै देश, आफ्नै
परिवेश। यिनलाई जति मिहिनसँग हेर्न र अनुभूत गर्न सक्यो, सिर्जनामा
उति नै चमक आउने धेरैको ठम्याइ छ। समकालीन नेपाली कथा–साहित्यमा यस्तै
चमक भित्र्याइरहेका महेशविक्रम शाहले आफ्नो चौथो कथासँगालो छापामारको
छोरो मा फेरि एकपल्ट विषयवस्तु, प्रस्तुति र विधागत शिल्पको चमत्कार
देखाएका छन्, थप परिपक्वताका साथ। देशले भोगेको एक दशक लामो द्वन्द्वको
पीडा र परिणति, त्यसका पात्र र प्रवृत्ति अनि कारुणिक संवेदनाहरूलाई
कथाकार शाहले निकै कुशलतापूर्वक सिर्जनामा उतारेका छन्। कथाकार स्वयंले
भनेका छन्, “मानवका करुण चित्कार र क्रन्दनमाथि टेकेर लेखक कहिल्यै
मुस्कुराउन सक्दैन। एक संवेदनायुक्त लेखकका लागि विद्रोही छापामारको
आहट, एक सिपाहीको ऐया र आम नागरिकको क्वाँ–क्वाँ सबै युद्धको प्रभावले
निम्त्याएका समान पीडाहरू हुन्।”
यस्तै पीडाहरूको दस्तावेज पनि हो यो सँगालो। सुरक्षा
अधिकारीका रूपमा सशस्त्र द्वन्द्वको एक पात्र तथा प्रत्यक्षदर्शीसमेत
रहेका कथाकार शाहले छापामारको छोरो मा आमनागरिक, सुरक्षाकर्मी र विद्रोही
सबैको मनोदशालाई उतारेका छन्– कसैप्रति आग्रह, दुराग्रह नराखी। केही
कथामा निकै भयावह लाग्ने स्वैरकल्पनाहरू पनि छन्। द्वन्द्व नटुङ्गिएको
भए चाँडै यथार्थ हुनसक्ने ती चित्रणले पाठकको मनमस्तिष्कलाई निकै दिन
हुँडल्ने सामर्थ्य राख्छन्। यथार्थवादी कथाहरूमा कथाकारले देखाएको
'गृहयुद्धको क्षति र विनाशको चित्र' ले प्रकारान्तरले एउटा सन्देशसमेत
दिएको छ, “त्यो दुर्दान्त कालखण्डका पीडाव्यथाहरू भोलि नबल्झियुन्।”
कथाहरू प्रतीकात्मक छन्, मनोवैज्ञानिक पनि छन्। इतिहासको साहित्यिक
चित्रणसमेत भन्न सकिने यी कथाहरूभित्र थुप्रै उपकथाहरू भेट्न सकिन्छ।
सँगालोका १८ वटै कथाले कुनै न कुनै विशेषता बोकेका छन्। तथापि, 'छापामारको
छोरो', 'बन्द ढोका र समय', 'सडकमा गान्धीहरू', 'पशुअवतार', 'एउटा अर्को
खाडल', 'सिपाही र सालिक' जस्ता कथाले शाहभित्रको कथाकारलाई शिल्पगत
नयाँ उचाइ दिएका छन्। द्वन्द्वका अनेक याम, आयामको साहित्यिक चिरफार
गर्ने काममा छापामारको छोरो मार्फत् बाजी मारेका छन् कथाकार शाहले।
द्वन्द्वको आर्थिक लेखाजोखा
किताबः नेपाल्स कन्पि्क्लक्टः ए माइक्रो–इम्प्याक्ट
एनालाइसिस अन् इकोनोमी (२००७)
लेखकः प्रा. डा. विश्वम्भर प्याकुर्याल र रविशंकर
सैंजु
पृष्ठः १२०+, मूल्यः रु.३५०
त्रिभुवन
विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रा. विश्वम्भर प्याकुर्याल
र राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक रविशङ्कर सैँजुले १०
वर्षे सशस्त्र द्वन्द्वले नेपाली अर्थतन्त्र र सामाजिक क्षेत्रमा पुर्याएको
असरको सूक्ष्म अध्ययन गरेका छन्, यो किताबमार्फत्। विस्तृत् शान्ति
सम्झौतापछिको विकास एजेण्डामा केन्द्रित यो अनुसन्धान–कृतिमा द्वन्द्वका
कारण मुलुकले व्यहोर्नुपरेको पीडा र क्षतिका बारेमा सातवटा अनुच्छेदमा
विश्लेषण गरिएको छ।
पहिलो अनुच्छेदमा अनुसन्धान तरिका र उद्देश्य, दोस्रोमा
द्वन्द्वको असर, तेस्रोमा 'सर्भिस डेलिभरी' तथा स्थानीय अर्थतन्त्रको
वृद्धि, चौथोमा द्वन्द्वकालीन ठूला लगानीको परिदृश्य, पाँचौँमा साना
तथा मझौला व्यवसायमा परेको प्रभावबारे बाँके, रुपन्देही, कास्की र
सुनसरी जिल्लाको सामाजिक–आर्थिक पक्षको सर्वेक्षण प्रस्तुत गरिएको
छ। छैटौँ अनुच्छेदमा साना तथा मझौला खालका लगानीमा परेको असर, सातौँमा
निष्कर्षसहितको सुझाव र अन्त्यमा शान्ति कायम रहेको अवस्थामा सन् १९९४/९५
लाई आधार वर्ष मानेर सन् २०२१ सम्मको कुल गार्हस्थ उत्पादन प्रक्षेपण
गरिएकाले किताब निकै जानकारीमूलक लाग्छ। पुस्तकले औंल्याएको एउटा तथ्य
के हो भने यस्ता सशस्त्र सङ्घर्षमा भएका क्षतिको यकिन आँकडा निकाल्न
कठिन हुने गर्छ। तीन वर्षअघि योजना आयोगले रु.१ अर्ब ७ करोडको क्षति
उल्लेख गरेकोमा पछिल्लो समय शान्ति तथा पुनर्निर्माण मन्त्रालयले रु.५
अर्ब १३ करोडको भौतिक क्षतिको आँकडा निकालेको छ।
समग्रमा, १० वर्षे सशस्त्र द्वन्द्वले थुप्रै भौतिक
संरचना ध्वस्त पारिदियो, राज्यको सेवा–सुविधामा बाधा पुग्यो र वित्तीय
व्यवस्थापन र स्थायित्व धर्मराउनाले विकास अवरुद्ध हुनपुग्यो। सुशासन
दिन र गाउँघरसम्म आर्थिक, सामाजिक अवसरहरू पुर्याउन राज्य असफल बन्दै
गयो। परिणामतः राज्यको पूरै अर्थतन्त्र प्रभावित भयो। यो पृष्ठभूमिमा
द्वन्द्वबाट केही समय उम्केर पुनः असफलतातिर धकेलिएका राष्ट्रहरूको
जस्तो वित्तीय दुर्गति नेपालमा नआओस् भन्नेतर्फ सचेत रहन पुस्तकमा
जोड दिइएको छ।
कवितामा अलग धार
किताबः निगुरोको खरानी (२०६४)
कविः टङ्क उप्रेती
पृष्ठः ७१, मूल्यः रु.७५
कविता विधामा नयाँ
पुस्ताका सशक्त हस्ताक्षर टङ्क उप्रेतीका लामा सिर्जनाहरूको सँगालो
हो, निगुरोको खरानी। यसमा सङ्गृहीत चार कविताले काव्य–साहित्यका प्रचलित
धारभन्दा अलग्गै, नौलो स्वरुप बोकेका छन्। निगुरोको खरानी, विरुपाक्ष,
जलकुम्भीका दाँतहरू, यलम्बरको सिकार जस्ता शीर्षकबाटै उप्रेतीको विम्बप्रेम
र नौल्याइँको अनुमान गर्न सकिन्छ। कविताहरूमा समकालीन विकृतिहरूमाथि
चोटिलो प्रहार, देशको राजनीतिक यथार्थमाथिका समीक्षात्मक टिप्पणी,
साम्राज्यवादी प्रवृत्तिमाथि प्रहारलगायतका विषयमा लीलालेखन, आयामेली
प्रस्तुति जस्ता विविध आयाम समेट्ने कलात्मक शिल्पका कारण उप्रेतीका
कविताहरू लामा भएर पनि निरस छैनन्। बरु दोहोर्याउँदै जाँदा रसपूर्ण
र लयात्मक लाग्छन्।
“बिरुवा भएर उम्रन्छ हुर्कन्छ
तर निगुरो बढ्छ
लत्र्याउँछ टाउको
सम्झौताको मोडमा”
जस्ता अभिव्यक्तिमार्फत् विम्बको रोचक प्रयोग रुचाउने कवि उप्रेतीले
सङ्ग्रहमार्फत् निगुरो जति झुके पनि, बिके पनि एकदिन पुनः ठडिन्छ,
त्यसैले भविष्य निराशाजनक छैन भन्ने सन्देश दिन खोजेका छन्। सँगालो
पढिसकेपछि पाठकको धैर्यलाई लामा कवितामार्फत् चुनौती दिने उप्रेतीको
अठोट निरर्थक लाग्दैन।
|