मन्तव्य
प्रत्येक अस्पतालमा फिजियोथेरापी!
केही रोगहरूको उपचार औषधि र शल्यक्रियाबाटै
गर्नुपर्ने हुन्छ भने केही रोगहरूको राम्रो उपचारका लागि फिजियोथेरापी
नै आवश्यक पर्छ।
•
डा.
कञ्चन सङ्ग्रौला
 |
| किरण पाण्डे |
सन् १९९७ मा
भारतको बैङ्गलोरस्थित राजिव गान्धी विश्वविद्यालयमा फिजियोथेरापी पढ्न
शुरु गर्दा शुभचिन्तक र आफन्तहरू मलाई 'नेपालमा यो विषयको स्कोप नै
छैन, किन पढेको' भन्ने गर्थे। बाहिर जे जवाफ दिए पनि भित्रभित्रै मलाई
'कतै भविष्य अन्धकार त हुने हैन' भन्ने चिन्ता लाग्थ्यो। तर चुनौती
थुप्रै भएपनि नयाँ विषयप्रतिको आकर्षणले मलाई फिजियोथेरापीतिरै तान्यो।
पाँच वर्ष पढेर विदेशी विद्यार्थीहरूलाई उछिन्दै प्रथम स्थानमा बीपीटी
(व्याचलर्स अफ फिजियोथेरापी) गरेर नेपाल फर्किएँ। केही महिनापछि काठमाडौँमानेपाल
अर्थोपेडिक हस्पिटल र हिमाल नर्सिङ्ग होममा काम पनि पाएँ।
हालै क्यानडाको भ्याङकोभरमा भएको १६ औँ विश्व फिजियोथेरापी
सम्मेलनमा भाग लिने क्रममा एसिया–प्रशान्त क्षेत्रको बैठकमा सहभागी
भएको थिएँ। विश्व फिजियोथेरापी सम्मेलनमा सहभागी ११० मध्ये केही विकसित
देशले मुटुु, क्यान्सर, एड्स जस्ता घातक रोगहरूको उपचारमा समेत फिजियोथेरापी
पद्धतिको विकास गरिसकेको सुन्दा अचम्म लाग्योर हामीले फिजियोथेरापी
उपचार पद्धतिको विकास गर्न धेरै बाँकी रहेछ भन्ने अनुभूति भयो।
फिजियोथेरापी एउटा भौतिक चिकित्सापद्धति हो। यो पद्धतिमा
गर्नेसकेसम्म शल्यक्रिया र औषधिको प्रयोग नगरी हात र विभिन्न उपकरणको
प्रयोग तथा नियमित व्यायामबाट उपचार गरिन्छ। सामान्यतः यसबाट घँुडा,
कम्मर, गर्दन र मांसपेशीहरूको दुःखाइको उपचार बढी गरिन्छ। विस्तारै
शुरु हुने कम्मर, गर्दन, घुँडा र विभिन्न मांसपेशीको दुःखाइको उपचार
समयमै गरिएन भने यसले दीर्घरोगको रुप लिनसक्छ। हाडजोर्नी, मांसपेशी
लगायतको अप्रेशनपछि बिरामीलाई सामान्य अवस्थामा ल्याउन गरिने शारीरिक
अभ्यासहरू पनि फिजियोथेरापी अन्तर्गत नै पर्दछन्,जसमा यसले ठूलो मद्दत
गर्छ। फिजियोथेरापीबाट सुस्त मनस्थितिका बालबच्चा, प्यारालाइसिसका
बिरामी, बुढेसकालमा हड्डी खिइएर लाग्ने विभिन्न रोगबाट थलिएका र अवस्था
हेरेर दीर्घरोगबाट पीडित बिरामीको उपचार समेत गरिन्छ। फिजियोथेरापी
पद्धतिबाट बस्ने, उठ्ने तरिकाहरूका साथै दीर्घरोग लाग्न नदिने शारीरिक
अभ्यासहरू पनि सिकाइन्छ।
दक्ष जनशक्तिको कमी
नेपालमा बीपीटी गरेका फिजियोथेरापिष्टहरू जम्मा ३९ जना छन्। त्यस्तै
प्रमाणपत्र तह उत्तीर्ण ४५, एकवर्षे कोर्ष गरेका २६ र ६ महिने कोर्ष
गरेका ६० जना जति छन्। यो सङ्ख्याले नेपालमा फिजियोथेरापीको क्षेत्रमा
दक्ष जनशक्तिको कमी छ भन्ने देखाउँछ। मूलतः तीन महिनादेखि एकवर्षको
तालिम लिएर आएकाहरूले फिजियोथेरापी उपचार धान्नुपर्ने अवस्था छ। फिजियोथेरापी
पढेका व्यक्तिहरूले पाउने उपाधि संरक्षण (टाइटल प्रोटेक्सन) को पनि
समस्या छ। साधारण कोर्ष गर्नेदेखि बीपीटी गर्ने सबैले आफूलाई 'फिजियोथेरापिष्ट'
भन्छन्।
यसलाई व्यवस्थित गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा
दर्ता भएपछि मात्र काम गर्न पाउने व्यवस्था गर्नुपर्ने र अस्पताल तथा
उपचार केन्द्रहरूले दक्षता अनुसारको काम मात्र दिनुपर्ने व्यवस्था
गर्न जरुरी छ। नेपालमा फिजियोथेरापी उपचारपद्धतिको विकासमा धेरै चुनौतीहरू
छन्। फिजियोथेरापीको प्रयोग र यसबाट लिन सकिने फाइदाको बारेमा सर्वसाधारणलाई
जानकारी नहुनु एउटा मुख्य चुनौती हो। जनशक्तिको अभावले यो उपचार पद्धतिलाई
काठमाडौँमा हाडजोर्नी, नशा र मांसपेशी दुःखाइको सामान्य उपचारमा मात्रै
प्रयोग गर्न सकिएको छ, जिल्ला र गाउँसम्म विस्तार गर्न सकिएको छैन।
आर्थिक अभावले बिरामीले लामो समयसम्म सेवा लिन नसक्ने र औषधि खाए जस्तै
छिटो सन्चो हुने अपेक्षा गर्ने समस्या पनि देखिएको छ। अर्धदक्ष जनशक्तिको
कारण कहिलेकाहीँ फिजियोथेरापिष्टहरूले गलत शारीरिक अभ्यासहरू सिकाइदिने
गरेको पनि पाइएको छ।
गाउँ–गाउँमा विस्तार जरुरी
सरकारले फिजियोथेरापी उपचारपद्धतिको विकासमा चासो दिएको छैन। सरकारी
अस्पतालमा फिजियोथेरापिष्टहरूलाई सुब्बा सरहको पदमा मात्र भर्ना लिइन्छ
र वृत्ति विकासको कुनै अवसर दिइँदैन। अधिकृतस्तरको दरबन्दीको व्यवस्था
नभएकोले सरकारी अस्पतालप्रति फिजियोथेरापिष्टहरूको कुनै आकर्षण छैन।
यो स्थितिमा नेपालमा तत्कालै फिजियोेेथेरापीलाई चिकित्साशास्त्रमा
उपयोगी बनाउन सजिलो छैन। प्रायः नेपालीहरू निरन्तर शारीरिक अभ्यास
गरेर र औषधि नखाएर उपचार गर्ने पद्धतिप्रति जानकार र अभ्यस्त नभएकाले
औषधि खाएर तुरुन्तै रोगबाट निको हुन चाहन्छन्। केही रोगहरूको उपचार
औषधि र शल्यक्रियाबाटै गर्नुपर्ने हुन्छ भने केही रोगहरूको राम्रो
उपचारका लागि फिजियोथेरापी नै आवश्यक पर्छ। त्यसैले सबभन्दा पहिले
चिकित्सक र बिरामीलाई फिजियोथेरापीको बारेमा राम्रो जानकारी हुनु आवश्यक
छ।
नेपालमा दैनिक खेतीकिसानी गर्ने, भारी बोक्ने मानिसहरूको
सङ्ख्या धेरै छ। यसरी शारीरिक काम गर्दा चाँडै घँुडा र शरीरका अन्य
हाडजोर्नी दुख्ने समस्या आउँछ। आम नेपालीहरू त्यसलाई लामो समयसम्म
सहेर दीर्घरोगी भएपछि मात्रै अस्पताल जाने र तुरुन्तै निको हुने औषधि
उपचार खोज्ने गर्दछन्। वास्तवमा त्यस्ता बिरामीहरूले बेलैमा फिजियोथेरापी
पद्धतिबाट उपचार गराउने हो भने रोग निको हुन सक्छ। तर त्यसको लागि
सर्वसाधारणलाई यो पद्धतिको बारेमा जानकारी गराउन र जिल्ला तथा गाउँसम्म
यो सुविधाको विस्तार गर्न आवश्यक छ। प्रत्येक अस्पतालमा फिजियोथेरापी
विभाग स्थापना गर्न सके हरेक बिरामीले यो सुविधा लिन सक्नेछन्। त्यसको
लागि योजना नै बनाएर काम थाल्ने जिम्मा स्वास्थ्य मन्त्रालयको हो।
|