जीवनशैली
आकर्षक देखिने होड
स्वस्थ र तन्दुरुस्त रहन 'हेल्थ क्लब' धाउनेहरूको
सङ्ख्या निकै बढेको छ राजधानीमा।
•
सुरेशराज
न्यौपाने
 |
| तस्बिरहरू किरण पाण्डे |
ललितपुरको रेज
फिटनेस सेन्टरमा बिहान ६ नबज्दै ३५–४० जना युवायुवती पुगिसकेका हुन्छन्।
राजधानीका हरेक ठूला र आधुनिक हेल्थ क्लबमा यो दृश्य आजभोलि सामान्य
लाग्न थालेको छ। डाक्टर, पत्रकार, कलाकार, इन्जिनियर, व्यापारी, विद्यार्थीदेखि
गृहिणीहरू राजधानीको प्रदूषण र दौडधूपको जीवनबाट आफूलाई चुस्त र स्फूर्त
राख्न हेल्थ क्लब धाउने क्रम बढेको छ।
एअर होस्टेज बन्ने धोको राखेकी बबिता लिम्बू आकर्षक
र फिट हुन नियमित रेज फिटनेस सेन्टर जाने गरेको बताउँछिन्। राष्ट्रसंघको
कार्यालयकी जागिरे शिला थापा पनि आफ्नो स्वास्थ्य र फिटनेसप्रति निकै
सचेत देखिन्छिन्। पहिले घरमै योगा र सामान्य व्यायाम गर्दै आएकी शिलालाई
हेल्थ क्लबमा बिताउने गरेको समय निकै महत्त्वपूर्ण लाग्ने गरेको छ।
भन्छिन्, “शरीर त आकर्षक र स्वस्थ बन्छ नै, यहाँ बन्ने नयाँ साथीहरूसँगको
भेटघाट झन् रमाइलो हुन्छ।” सहकर्मीहरूले 'यु आर लुकिङ स्मार्ट एण्ड
फिट' भन्दा हेल्थ क्लबबाट साँच्चिकै प्रतिफल पाएको अनुभव गर्छिन् उनी।
हरेक बिहान करिब दुई घण्टा स्टे्रेचिङ, साइक्लिङ र एरोबिक्स गर्ने
शिला कार्यालयको व्यस्तताबीच पनि सदा सक्रिय र स्फूर्त रहन्छिन्।
हेल्थ क्लब धाउनेमा पुरुषहरू पनि पछाडि छैनन्। मार्कोपोलो
ट्राभल्सका नागेश राणा साढे दुई वर्षदेखि नियमित हेल्थ क्लब गइरहेका
छन्। सिटी हेल्थ क्लब, कमलपोखरीमा व्यायाम गरेर उनी त्यहीँबाट कार्यालय
जान्छन्। राणा भन्छन्, “पहिले पहिलेका जीमखानामा हात धुने ठाउँ पनि
हुँदैनथ्यो, अहिले त साउना, स्टीम वाथ जस्ता सुविधाले हेल्थ क्लबलाई
निकै आकर्षक बनाएको छ।” ५० वर्षको उमेरमा पनि तन्नेरी देखिने राणाको
अनुभवमा शहरियाहरूमा स्वास्थ्यप्रति चेतना बढेपनि सबै त्यति गम्भीर
भइसकेका छैनन्। नियमित हेल्थ क्लब जानु र व्यायाम गर्नुको महत्त्व
दर्शाउँदै राणा भन्छन्, “यो त ब्याङ्कमा पैसा राख्नु जस्तै हो, जसको
प्रतिफल उमेर ढल्केपछि प्राप्त हुनथाल्छ।”
आफूलाई स्फूर्त र फिट राख्न पढेलेखेको शहरी युवापुस्ता
बढी नै सचेत देखिन्छ। त्यसै कारण हेल्थ क्लब जानेहरूमा ८० प्रतिशतभन्दा
बढी २०–४० वर्षे उमेर समूहका युवा नै छन्। यीमध्ये कतिपय चाहिँ साथीहरूको
लहैलहैमा रमाइलो गर्न र समय बिताउन वा घरमा एक्सरसाइज गर्ने जाँगर
नचलेर जाने पनि हुन्छन्। हेल्थ क्लब धाएर मात्र हुँदैन, फिटनेसलाई
जीवनकै एउटा अंश बनाउनुपर्ने धारणा छ रेज हेल्थ क्लबका सञ्चालक तथा
प्रशिक्षक सन्देश पलुङ्वाको। प्रशिक्षकहरू मानिसको स्वास्थ्य औषधि
र डाक्टरमा भन्दा फिटनेसमा भरपर्ने बताउँछन्। उनीहरूका अनुसार नेपालीहरूको
खाना नै असन्तुलित छ र अधिकांश धेरै पोषिलो र बढी खानाले स्वस्थ एवं
बलियो भइन्छ भन्ने गलत मान्यता राख्छन्।
 |
| नायिका रेजिना उप्रेती |
स्वयं डाक्टरहरूले पनि बाथ, दम, मधुमेह, रक्तचाप, हाडजोर्नीलगायतका
बिरामीलाई हेल्थ क्लब जान सिफारिस गर्ने गरेका कुण्डलिनी हेल्थ क्लबका
व्यवस्थापक लोक न्यौपानेको अनुभव छ। कुण्डलिनीका सदस्यमध्ये कतिपय
त डाक्टरहरू नै रहेका छन्। तीमध्येका एक हुन्, वरिष्ठ न्यूरो सर्जन
डा. जगदीश अग्रवाल। किन बढ्दै छ त हेल्थ क्लब जाने फेशन? न्यौपाने
भन्छन्, “घरमा खुला ठाउँको कमी, प्रदूषित र असुरक्षित सार्वजनिक स्थल
तथा स्वास्थ्यप्रति बढ्दो चेतना।” न्यौपानेसँग सहमत कुण्डलिनीका प्रशिक्षार्थी
तथा नेपाल इन्भेष्टमेन्ट ब्याङ्कका चार्टर्ड अकाउन्टेन्ट रविन सिजापति
दिनभरिको तनावबाट मुक्त हुन क्लब धाउने गरेको बताउँछन्। उनी भन्छन्,
“मलाई पसिना बगाउने नशा नै बसिसकेको छ। अफिसमा उफ्रिन भएन। त्यसैले
कार्यालय समयपछि नियमित रूपमा क्लब आउँछु।” सिजापति साँझ दुई घण्टा
ट्रेडमिल, जीम, साउना र पौडीमा बिताउँछन्।
राजधानीका हेल्थ क्लबहरू कलाकारहरूका लागि पनि आकर्षणको
केन्द्र बनेका छन्। पर्दामा स्मार्ट र स्लिम देखिने श्रीकृष्ण श्रेष्ठ,
शिव श्रेष्ठ, वीरेन श्रेष्ठ, रेजिना उप्रेती र झरना थापाजस्ता सिने
कलाकारका साथै ओमविक्रम विष्ट, बाबु बोगटी, यशकुमार, राम श्रेष्ठजस्ता
गायकहरूको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस हेल्थ क्लबमा घुइँचो
नै लाग्छ। आफूलाई स्वस्थ राख्न र 'फिगर मेन्टेन' गर्न दुई–तीन वर्षदेखि
नियमित हेल्थ क्लब जाने गरेको बताउँदै नायिका रेजिना उप्रेती भन्छिन्,
“फिट छ भने जस्तो लुगा पनि सुहाउँछ र दिनभरि फ्रेस रहिन्छ।” अहिले
इन्साफ चलचित्रको शुटिङमा व्यस्त रहेकी रेजिना शुटिङको दिन पनि सबेरै
हेल्थ क्लब पुग्न चुक्दिनन्।
क्लबका सहायक व्यवस्थापक नारायणराज पोखरेलका अनुसार
गर्मीयाममा पौडीमा बढी आकर्षण देखिए पनि साउना, जीम, एरोबिक्स, डान्स
र रेष्टुराँका सुविधा लिने शहरिया युवायुवतीको सङ्ख्या दिनहुँ बढ्दो
छ। बिरामी हुनुपूर्व सांसद विद्या भण्डारीसमेत नियमित रूपमा पुलिस
हेल्थ क्लब आउने गरेको पोखरेल बताउँछन्।
मान्यता बद्लियो
 |
| शिला थापा |
एरोबिक्स, पौडी, थरी–थरीका साउना, योग, प्राकृतिक चिकित्साका
साथै विभिन्न खेल सुविधाले हेल्थ क्लबहरू परम्परागत व्यायामशाला र
जीमखानाभन्दा धेरै भिन्न रूपमा प्रस्तुत भएका छन्। मुटु र फोक्सो बलियो
बनाउने कार्डियो स्टेशनरी बाइकका साथै स्टेपर, मल्टि स्टेशन, ओलम्पिक
बारजस्ता अत्याधुनिक उपकरणले यिनलाई अझ आकर्षक बनाएको छ।
पहिले–पहिले जस्तो जीमखानामा जानेवित्तिकै डम्बल उठाएर
अभ्यास शुरु गर्न पाइँदैन अहिले खुलेका हेल्थ क्लबहरूमा। शुरुमै एक्सरसाइज
गर्न प्रोत्साहित नगरेर, प्रशिक्षार्थीको स्वास्थ्य स्थिति र शारीरिक
बनोटका आधारमा व्यायाम र अन्य सुविधाहरू सिफारिस गर्ने गरेको दाबी
सन्देशको छ। प्रायः सबै क्लब सञ्चालकहरू प्राथमिक परीक्षणपछि अनुभवी
प्रशिक्षकको प्रत्यक्ष निगरानीमा अभ्यास गराइने भएकोले नै प्रशिक्षार्थीहरूले
अपेक्षा गरेअनुरुप लाभ लिएको दाबी गर्छन्।
नियमित हेल्थ क्लब धाएर व्यायाम र सङ्गीतको तालसँगै
एरोबिक्स गर्ने कामकाजी, विद्यार्थी र गृहिणी महिलाहरूको सङ्ख्याले
'महिला पनि जीम जाने हो र?' भन्ने पुरानो मान्यतालाई पनि गलत साबित
गरिदिएको छ। हेल्थ क्लबहरूमा महिलाको सङ्ख्या बढ्दै जानुको कारण स्वास्थ्यप्रतिको
बढ्दो चेतना मात्रै हो त? सिटी हेल्थ क्लबका प्रशिक्षक तथा सञ्चालक
गोपाल क्षेत्री भन्छन्, “सुरक्षित र सहज वातावरणका साथै सुविधाहरूको
विविधता पनि हो।” उनको भनाइमा महिलाहरू विशेषगरी तौल घटाउने, बढाउने
र आफूलाई फिट राख्नतर्फ बढी ध्यान दिने गरेका छन्। क्षेत्री थप्छन्,
“कतिपय ब्याङ्कका कर्मचारी त समय अभावका कारण लन्च टाइममा समेत आउने
गर्छन्।”
राजधानीमा ठूला र स–साना गरी करिब २०० हेल्थ क्लब सञ्चालनमा
रहेको अनुमान छ। तीमध्ये द क्लबका, शालिग्राम, इिशानी, अरोमा, हार्दिक,
बानुज, गुडविल, व्यायाम मन्दिर र द पावर जीमका साथै तारे होटेलमा रहेका
हेल्थ, फिटनेस, स्पोर्ट्स क्लब तथा टोलटोलमा खुलेका स–साना जीमखानाहरूले
पनि आ–आफ्नै पहिचान बनाएका छन्। तिनले सदस्यता शुल्कबापत प्रशिक्षार्थीबाट
मासिक रु.२०० देखि २००० सम्म लिने गरेका छन्साथै मानसिक र शारीरिक
आनन्द र विश्राम लिन योगा, साधना र प्राकृतिक चिकित्सा (न्याचुरोप्याथी)
केन्द्रमा जानेहरू पनि बढ्दै गएका छन्। प्राकृतिक चिकित्सकसमेत रहेका
सन्देश भन्छन्, “अधिकांश रोगहरूको उपचार संभव हुने र शरीरलाई धेरै
दबाब दिनु नपर्ने भएकाले पनि योग, साधना र न्याचुरोथेरापीप्रति आकर्षण
बढेको हो। ”
 |
| बबिता लिम्बू |
शहरियाहरूमाझ लोकप्रियता बढ्दै गए पनि हेल्थ क्लबहरू
अझै पनि सर्वसाधारणको पहुँचबाहिर रहेको धेरैको धारणा छ। त्यसैगरी कतिपय
हेल्थ क्लब र जीमखानाहरू दक्ष प्रशिक्षक बिनै चलिरहेका छन्। परिणामस्वरुप
कतिपय प्रशिक्षार्थीहरूमा शारीरिक व्यायाम र अभ्यासको नकारात्मक असर
पनि देखिने गरेको छ। निश्चित मापदण्ड, स्तरीय उपकरण र सुविधा बिना
खुलेका क्लबहरूले लगानी उठाउने मात्र उद्देश्य राख्ने गरेका र आफ्ना
सदस्यहरूको स्वास्थ्यप्रति त्यति चासो नदिएको गुनासो महेन्द्र पुलिस
हेल्थ क्लबका प्रशिक्षक राकेश शाहको छ।
स्वस्थ र तन्दुरुस्त रहन चाहने सबैलाई सचेत गराउँदै
राकेश भन्छन्, “क्लबमा अन्तर्राष्ट्रिय फिटनेस संघबाट दक्षताको प्रमाणपत्र
लिएका प्रशिक्षकहरू र स्तरीय उपकरणहरू हुनैपर्छ। अन्यथा नशा खुम्चिने,
जीउ बाङ्गिने र अनुहार नै बिग्रिने खतरा रहन्छ।” कठिन र जटिल व्यायामहरूलाई
प्राथमिकता दिनुभन्दा दिनहुँ हल्का अभ्यास र शरीर सुहाउँदो डाइटप्रति
चनाखो हुनसके, स्वस्थ र तन्दुरुस्त शरीरको लागि हेल्थ क्लब र जीमखाना
धाइराख्नै नपर्ने राकेशको सल्लाह छ।
|