जनता
सुजनको अग्रता
विराटनगर
उपमहानगरपालिका–३ का भरतराज र विमला सुवेदीको घरको
रौनक नै अर्कै छ अहिले। भर्खरै प्रकाशित एसएलसी परीक्षाको नतिजामा
माइलो छोरा सुजनले पाएको सफलताले सुवेदी दम्पतीले उनलाई पढाउँदाको
दुःख, कष्ट बिर्सेका छन्। विराटनगरको इडेन नेशनल सेकेण्डरी बोर्डिङ
स्कूलबाट परीक्षा दिएका १६ वर्षेे सुजनले यस वर्षको एसएलसी परीक्षामा
९३.२५ प्रतिशत अङ्क ल्याएका कारण सुवेदी परिवारमा यतिविघ्न खुशीयाली
छाएको हो। सुजनले 'नेपाल टप' गरेको यकिन नभइसके पनि ल्याएको अङ्क हेर्दा
उनलाई बधाई भन्नै पर्छ।
नर्सरीदेखि नै सोही स्कूल पढेका
यी मेधावी छात्र सानै कक्षादेखि प्रथम हुँदै आएका थिए। जिल्ला तथ्याङ्क
कार्यालय, इनरुवा, सुनसरीका खरिदार बाबु भरतराज 'क्षमताले भ्याएसम्म
पढ्ने वातावरण बनाइदिएको' बताउँछन्। छोराको पढाइ राम्रो छ भन्ने बुझे
पनि यतिबिघ्न राम्रो अङ्क ल्याउला भन्ने नसोचेकी आमा विमला मख्ख पर्दै
भन्छिन्, “प्रगति गर्दै जाओस् हामी उसलाई साथ दिन्छौँ।” सुजनको सफलतामा
विद्यालय परिवार हर्षित त छ नै, त्यसमध्ये पनि ऐच्छिक गणितमा शतप्रतिशत
अङ्क ल्याएका कारण विषय शिक्षक मनोज कोइरालाको खुशीको सीमै छैन।
उनलाई आफ्नो कलेजमा भित्र्याउन पूर्वी
क्षेत्रका मात्रै नभई राजधानीका नाम चलेका 'प्लस टु' कजेलहरू पनि आकर्षक
प्रस्ताव बोकेर सुवेदी निवास धाउन थालेका छन्। तर भविष्यमा इन्जिनियर
बन्ने लक्ष्य राखेका सुजनले अहिलेसम्म कसैलाई पनि हुन्छ भनेका छैनन्।
एसएलसी बोर्ड प्रथा हटाएकोमा खिन्न सुजन भन्छन्, “अहिले म यसको शिकार
भएँ, तर सरकारले बुझोस् प्रतिस्पर्धालाई स्वागत गर्नुपर्छ।”
विषय र प्राप्ताङ्क
|
ऐच्छिक गणित |
१०० |
अनिवार्य गणित |
९९ |
विज्ञान |
९८ |
नेपाली |
८७ |
अङ्ग्रेजी |
९३ |
जनसङ्ख्या |
९१ |
समाजशास्त्र |
९० |
लेखा |
८८ |
| जम्मा– ७४६ (९३.२५प्रतिशत) |
शब्द/तस्बिरः मनोज श्रेष्ठ
भवानीको भावना
 |
| तस्बिरः कृष्ण खनाल |
एम्नेष्टी इन्टरनेशनलले
महिला मानवअधिकार रक्षाका लागि कार्यरत विश्वका पाँच महिलालाई समेटेर
बनाएको २५ मिनेट लामो वृत्तचित्रमा परेपछि भवानी राणा (३६) लाई आफूमाथि
ठूलो जिम्मेवारी थपिएको महसूस भएको छ। भर्खरै सार्वजनिक सो वृत्तचित्रमा
उनीसँगै ग्वाटेमाला, इजरायल, स्पेन र फ्रान्सका महिला समेटिएका थिए।
हरेकखालका द्वन्द्वमा सबैभन्दा बढी पीडित हुने महिलालाई उद्धार गरी
संरक्षण गरेको र सामाजिक–आर्थिक सहयोग गरी उद्यममा लगाउन योगदान पुर्याएकोमा
उनले यो अवसर पाएकी हुन्। महिला अधिकारका लागि सक्रिय नेपालगञ्जको
'साथी' संस्थाले भवानीकै नेतृत्वमा एकल महिलालाई संरक्षण गृहमा राखेर
सीपमूलक तालिम दिने अभियान चलाएको छ। सानो छँदा लोग्नेबाट सताइएका
महिलाको पीडा देखेर सहयोग गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने गरेकी
भवानी महिला हिंसा र चेलीवेटी बेचबिखन रोक्न क्रियाशील 'इण्डो–नेपाल
नेटवर्क' को संयोजक पनि छिन्।
एक सफल उद्यमी–व्यवसायी पनि हुन् भवानी। उनी नेपालगन्जको नामी होटेल
स्नेहाको सञ्चालक, नेपाल उद्योग वाणिज्य महासंघको एकमात्र महिला सदस्य,
महिला उद्यमी महासंघको संस्थापक र सार्क महिला उद्यमी काउन्सिलको सदस्य
छिन्। उनलाई लागेको छ अब सहकारी ब्याङ्क स्थापना गरेर महिला उद्यमीलाई
विना धितो कर्जा उपलब्ध गराउने अभियान चलाउनुपर्छ। भवानी भन्छिन्,
“महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म अधिकारको आवाज उठाउनै सक्दैनन्।”
|