हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

नक्कली सामान बरामद

युनिलिभर नेपाल लिमिटेडको सहयोगमा महानगरीय प्रहरीले करिब रु.७० लाख बराबरको नक्कली सामान पक्राउ गरेको छ। २३ असारमा प्रहरीले जेएसएम ट्रेडिङको काठमाडौँस्थित मखन, डल्लु, भोटेबहाल, भीमसेनस्थान र पाकोका पाँच वटा गोदामबाट अनधिकृत रूपमा प्रयोग भएको 'युनिलिभर' लोगो अङ्कित १४४ थान कार्टुनमा ती सामान बरामद गरेको हो।

महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरी निरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार, ती कार्टूनमा युनिलिभरद्वारा उत्पादन हुने डभ र लेक्मी कोल्ड क्रिम, फेसवास, बडी क्रिम र फेयर एण्ड लभ्ली क्रिमको नक्कल गरिएका सामानहरू फेलापरेका र प्रयोगशाला परीक्षणपछि तिनलाई नक्कली ठहर्‍याइएको थियो। यो प्रकरणमा प्रहरीले काठमाडौँ, क्षेत्रपाटी बस्ने भारत, राजस्थानका मनिष अग्रवाललाई दोषी ठहर्‍याई कानून बमोजिम अदालत चलान गरेको छ। युनिलिभर नेपालका कर्पोरेट अफेयर्स मेनेजर अम्बरबहादुर थापाका अनुसार, उद्योग मन्त्रालयको अनुमति अनुसार नेपालभित्र युनिलिभर उत्पादन बिक्रीवितरण गर्ने अधिकार युनिलिभर नेपाललाई मात्र छ। कम्पनीको प्रारम्भिक अनुसन्धानले बरामद भएका नक्कली सामानहरू चीनबाट ल्याइएको हुनसक्ने अनुमान गरेको छ। यी ब्राण्डका सक्कली उत्पादन जर्मनी र भारतबाट आयात गरिँदै आएको स्पष्ट गर्दै थापाले भने, “नक्कली उत्पादनको बिगबिगीबाट उपभोक्ता ठगिने र कम्पनी बद्नाम हुने भएकाले हामीले आफ्नै पहलबाट यस्तो व्यापार गर्ने गिरोहको खोजी गर्ने गरेका हौँ।”

एभरेष्ट ब्याङ्क को एक्काइसौँ शाखा

एभरेष्ट ब्याङ्क लिमिटेडले झापाको बिर्तामोडमा एक्काइसौँ शाखा खोलेर कारोबार विस्तार गरेको छ। भारतस्थित पञ्जाब नेशनल ब्याङ्क र नेपाली उद्यमीहरूको संयुक्त लगानीमा खुलेको एभरेष्ट ब्याङ्कले उक्त शाखामार्फत् अत्याधुनिक सूचनाप्रविधिसहितको सम्पूर्ण ब्याङ्किङ सेवा दिने जानकारी दिएको छ। निजी क्षेत्रबाट खुलेका ब्याङ्कमध्ये सबैभन्दा बढी शाखा भएको दाबी गर्ने एभरेष्टले छिट्टै नै शनिश्चरे र काकडभिट्टामा गाडीबाट मोबाइल ब्याङ्किङ सेवा विस्तार गर्ने योजना बनाएको पनि जनाएको छ।

स्पेनको 'जेल' नेपालमा

काठमाडौँस्थित ओभरसिज इन्टरनेशलन प्रालिले स्पेनमा उत्पादित लामखुट्टे भगाउने जेल र रुम फ्रेस्नरको बिक्री शुरु गरेको छ। आरएस नामक कम्पनीद्वारा प्राकृतिक रसायनको प्रयोग गरेर उत्पादित जेल अमेरिका र युरोपमा प्रख्यात रहेको ओभरसिज इन्टरनेशनलको दाबी छ। १२ किसिमको सुगन्धमा उपलब्ध जेलको उपभोक्ता मूल्य रु.१७५ देखि रु.३२५ रहेको कम्पनीले जनाएको छ।