हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०८ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

यो पक्षमा

३ पुस ०६४ः तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह समूह) द्वारा सप्तरीको कल्याणपुर–८, भदैयाका गजेन्द्र श्रेष्ठ (३८), पशुपति श्रेष्ठ (५०), भोला श्रेष्ठ (५२) र जनक श्रेष्ठ (२१)को अपहरण गरी तीमध्ये गजेन्द्र र पशुपतिको निर्मम हत्या।  


६ पुस २०६३ः वरिष्ठ सङ्गीतकार एवं गायिका कोइलीदेवी (७८) को निधन। भजन, आधुनिक र राष्ट्रिय गरी चार हजारभन्दा बढी गीतका सङ्गीत, रचना र गायनमा संलग्न कोइलीदेवीको अवसानसँग्ौ नेपाली सङ्गीत फाँटको एउटा युगको अन्त्य। 


७ पुस २०६४ः काठमाडौंमा अपहरित उद्योगपति महेश मुरारका पाँच दिनपछि मुक्त। अपहरणमा पर्नु १५ दिनअघिदेखि उनलाई धम्की आउने गरेको खुलासा। अपहरणपछि परिवारसँग भारतीय टेलिफोन नम्बरबाट फिरौती माग गरिएको तथ्य सार्वजनिक। 


८ पुस २०६४ः पद्मरत्न तुलाधरको संयोजकत्वमा आयोजित नागरिक भेलामा एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र निधिबाट संविधानसभा चैत महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त। सात राजनीतिक दलका शीर्ष नेताहरूबीच नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्ने लगायतका २३ बुँदामा सहमति।


८ पुस २०६४ः तराई जनतान्त्रिक मुक्ति मोर्चा  (गोइत समूह) द्वारा वीरगञ्जमा नेपाल ब्याङ्कका वरिष्ठ अधिकृत मनोहरकुमार श्रेष्ठ (३५) को हत्या। 



९ पुस २०६४ः संसदीय व्यवस्था मन्त्री नरेन्द्रविक्रम नेम्वाङद्वारा 'संविधान सभा निर्वाचन ०६४ सालभित्र हुने' र 'नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने' लगायतका विषयवस्तु समेटी अन्तरिम संविधानको ६ वटा दफामा संशोधन प्रस्ताव पेश।  


१३ पुस २०६४ः महन्थ ठाकुरको अध्यक्षतामा तराई–मधेश लोकतान्त्रिक पार्टी गठन भएको काठमाडौंमा घोषणा।


१४ पुस २०६४ः माओवादीका तर्फबाट कृष्णबहादुर महरा, देव गुरुङ, हिसिला यमि, मातृका यादव, पम्फा भुषाल, पद्म राई तथा नविनकुमार विकलाई मन्त्रिपरिषदमा समावेश गर्न प्रधानमन्त्रीलाई पत्र। पाँच जना मन्त्री र दुईलाई राज्यमन्त्रीका रुपमा प्रस्तावित।


गणतन्त्र नेपालका प्रथम राष्ट्रप्रमुख

अन्ततः संविधानसभाको निर्वाचन चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ८ पुसमा सात दलबीच भएको सहमतिले राजनीतिक गतिरोध र अन्योलको निराकरण गरेको छ। चार–चार वटा राजाका शासन देखे–भोगेका, नेपाली उखानको भाषामा भन्ने हो भने 'देश खाएर शेष भएका' ८५ वर्षीय गिरिजाप्रसाद कोइराला संसदबाट गणतन्त्रको घोषणा गरी संविधानसभाको पहिलो बैठकबाट त्यसको कार्यान्वयन गराउन आफूमात्र सहमत भएनन् माओवादीलाई पनि यसै बिन्दुमा सहमत गराउन सफल भएका छन्। २००४ सालको मजदुर आन्दोलनबाट राजनीतिक जीवनको सुरुआत गरेका कोइराला सात दल र सरकारको शीर्ष मात्र होइन राष्ट्रप्रमुखको जिम्मेवारी पनि सम्हालिरहेका छन्। विभिन्न असहज परिस्थितिलाई कठिनपूर्वक पार गर्दै उनी यो स्थानमा आइपुगेका हुन्। प्रजातन्त्रलाई निर्मूल गरेर तानाशाही व्यवस्था लाद्न खोज्ने राजाप्रति कत्ति पनि मोह नराखी उनले गणतन्त्रवादी कम्युनिष्टहरूसँगको सहयात्राका निम्ति कम्मर कसेका छन्।

बीपी जीवित रहुन्जेल उनको भूमिका बीपीको आदेशानुसार पार्टीको सङ्गठन सुदृढ गर्नुमै सीमित रहेको थियो। बीपीको निधनपछि उनीमाथि अर्को दायित्व थपियो– नेपाली काङ्ग्रेसमा कोइराला परिवारको वर्चस्व यथावत् राख्नु। काङ्ग्रेसमा योग्य र सिद्धान्तनिष्ठको साटो कोइरालाप्रति वफादार मानिस मात्रै पार्टीको केन्द्रबिन्दुमा पुग्ने कारण यही नै मानिन्छ। जनमत सङ्ग्रहपछि पञ्चायतभित्रै विकल्प खोज्ने विचार सार्वजनिक गरेपछि काङ्ग्रेसका नेताद्वय कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले उनलाई पार्टीबाट निष्काशन गर्न समेत आँटेका थिए। तर, समय क्रममा भट्टराई र सिंह दुवै नेपाली काङ्ग्रेसको नेतृत्वबाट नजानिँदो किसिमबाट बाहिरिनु पर्‍यो। 

२०१५ सालको आमनिर्वाचनबाट उनका दाजु बीपी प्रधानमन्त्री भएका थिए भने ०४८ सालको आम निर्वाचनले उनलाई प्रधानमन्त्रीको कुर्सीमा आसीन गरायो।

प्रजातन्त्रोत्तर कालमा सबैभन्दा बढी समय शासन सत्तामा रहने सौभाग्य गिरिजाले पाए। यही अवधिमा नेपालमा सशस्त्र द्वन्द्वको थालनी पनि भयो। माओवादीको जनयुद्ध प्रजातान्त्रिक मानिएकै व्यवस्था विरुद्ध लक्षित थियो। यस्तो अवस्था सृजना हुनमा उनको कत्तिको गल्ती रहेको थियो उनी आफैंले मूल्याङ्कन गर्नसके मात्र भावी दिनका चुनौतीको सामना गर्न उनी समर्थ हुनेमा कुनै द्विविधा छैन। 

मनमोहन अधिकारीसँग मिलेर ००४ सालमा मजदुर आन्दोलनको नेतृत्व गरेर राजनीतिमा लागेका गिरिजा माले, मसाले र मण्डलेलाई एकै थान्कोमा राख्ने गर्दथे। कम्युनिष्टहरूसँग कुनै हालतमा कार्यगत एकता गर्न नचाहने गिरिजाको  राजा र माओवादी मिलेर नेपालमा प्रजातन्त्रलाई खतरा पुर्‍याएको निष्कर्ष कालान्तरमा गलत साबित भएको छ। दुई प्रमुख कम्युनिष्ट पार्टीसँग मिलेर लोकतन्त्र संस्थागत गर्ने अभिभारा पनि उनले लिएका छन्। काङ्गे्रसबाहेक अन्य दलहरूलाई प्रजातान्त्रिक नदेख्ने डेढ दशकअघिका गिरिजाले बहुलवादी संस्कृतिमा समाहित हुने प्रयत्न त्यतिखेर मात्रै गरे, जब राजाले सत्ता आफ्नो हातमा लिए। राजाको तानाशाहीबाट मुक्त हुन कम्युनिष्टहरूसँग कार्यगत एकता गर्नुबाहेक उनले कुनै विकल्प भेटेनन्।
 
सात दलबीच २३ बुँदे सहमति हुनुअघि महन्थ ठाकुरलगायतका सांसदहरूको राजिनामाले सङ्कटमाथि थप अन्योल सृजना गरिदिएको छ। र, ठाकुरको काङ्गे्रससँगको सम्बन्धको अन्त्यलाई भारतसँग जोडेर प्रतिक्रिया पनि बाहिर आउन थालेको यस घडीमा 'गिरिजाबाबु'लाई बेलाबेलामा सहयोग गरेर उत्साहित पारिदिने उनका समवयी भारतीय मित्रहरूको भारतको राजनीतिक वृत्तमा कुनै अर्थवान् उपस्थिति छैन। लोकतन्त्र स्थापनालाई आफ्नो जीवनको अन्तिम लडाइँ मान्ने गिरिजाले अहिलेको चुनौतीपूर्ण अवस्थालाई निकास दिनसके नेपालको इतिहासमा एकै हातको औंलामा गन्न सकिने सीमित राजनेताहरूको श्रेणीमा दरिने छन्।


सुधीर यादव