![]() |
| पूर्णाङ्क २०८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
यो पक्षमा
६ पुस २०६३ः वरिष्ठ सङ्गीतकार एवं गायिका कोइलीदेवी (७८) को निधन। भजन, आधुनिक र राष्ट्रिय गरी चार हजारभन्दा बढी गीतका सङ्गीत, रचना र गायनमा संलग्न कोइलीदेवीको अवसानसँग्ौ नेपाली सङ्गीत फाँटको एउटा युगको अन्त्य। ७ पुस २०६४ः काठमाडौंमा अपहरित उद्योगपति महेश मुरारका पाँच दिनपछि मुक्त। अपहरणमा पर्नु १५ दिनअघिदेखि उनलाई धम्की आउने गरेको खुलासा। अपहरणपछि परिवारसँग भारतीय टेलिफोन नम्बरबाट फिरौती माग गरिएको तथ्य सार्वजनिक।
८ पुस २०६४ः पद्मरत्न तुलाधरको संयोजकत्वमा आयोजित नागरिक भेलामा एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र निधिबाट संविधानसभा चैत महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त। सात राजनीतिक दलका शीर्ष नेताहरूबीच नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्ने लगायतका २३ बुँदामा सहमति। ८ पुस २०६४ः तराई जनतान्त्रिक मुक्ति मोर्चा
(गोइत समूह) द्वारा वीरगञ्जमा नेपाल ब्याङ्कका वरिष्ठ अधिकृत मनोहरकुमार श्रेष्ठ (३५) को हत्या।
१३ पुस २०६४ः महन्थ ठाकुरको अध्यक्षतामा तराई–मधेश लोकतान्त्रिक पार्टी गठन भएको काठमाडौंमा घोषणा।
१४ पुस २०६४ः माओवादीका तर्फबाट कृष्णबहादुर महरा, देव गुरुङ, हिसिला यमि, मातृका यादव, पम्फा भुषाल, पद्म राई तथा नविनकुमार विकलाई मन्त्रिपरिषदमा समावेश गर्न प्रधानमन्त्रीलाई पत्र। पाँच जना मन्त्री र दुईलाई राज्यमन्त्रीका रुपमा प्रस्तावित। गणतन्त्र नेपालका
प्रथम राष्ट्रप्रमुख
अन्ततः संविधानसभाको निर्वाचन चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ८ पुसमा सात दलबीच भएको सहमतिले राजनीतिक गतिरोध र अन्योलको निराकरण गरेको छ। चार–चार वटा राजाका शासन देखे–भोगेका, नेपाली उखानको भाषामा भन्ने हो भने 'देश खाएर शेष भएका' ८५ वर्षीय गिरिजाप्रसाद कोइराला संसदबाट गणतन्त्रको घोषणा गरी संविधानसभाको पहिलो बैठकबाट त्यसको कार्यान्वयन गराउन आफूमात्र सहमत भएनन् माओवादीलाई पनि यसै बिन्दुमा सहमत गराउन सफल भएका छन्। २००४ सालको मजदुर आन्दोलनबाट राजनीतिक जीवनको सुरुआत गरेका कोइराला सात दल र सरकारको शीर्ष मात्र होइन राष्ट्रप्रमुखको जिम्मेवारी पनि सम्हालिरहेका छन्। विभिन्न असहज परिस्थितिलाई कठिनपूर्वक पार गर्दै उनी यो स्थानमा आइपुगेका हुन्। प्रजातन्त्रलाई निर्मूल गरेर तानाशाही व्यवस्था लाद्न खोज्ने राजाप्रति कत्ति पनि मोह नराखी उनले गणतन्त्रवादी कम्युनिष्टहरूसँगको सहयात्राका निम्ति कम्मर कसेका छन्। प्रजातन्त्रोत्तर कालमा सबैभन्दा बढी समय शासन सत्तामा रहने सौभाग्य गिरिजाले पाए। यही अवधिमा नेपालमा सशस्त्र द्वन्द्वको थालनी पनि भयो। माओवादीको जनयुद्ध प्रजातान्त्रिक मानिएकै व्यवस्था विरुद्ध लक्षित थियो। यस्तो अवस्था सृजना हुनमा उनको कत्तिको गल्ती रहेको थियो उनी आफैंले मूल्याङ्कन गर्नसके मात्र भावी दिनका चुनौतीको सामना गर्न उनी समर्थ हुनेमा कुनै द्विविधा छैन।
|