हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०९ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ध्रुवचन्द्र गौतम

सम्झाना


जो बारम्बार जन्मिदैन

नेपाल भाषाका प्रथम उपन्यासकार धुस्वाँ साय्मिको ७८ वर्षको उमेरमा २ पुस २०६४ मा निधन भयो।


'तस्बिर २०६२' पुस्तकबाट

धुस्वाँ साय्मि एक कालखण्डका रूपमा वितेका छन्, एउटा छाप छाडेर। धुस्वाँलाई श्रद्धाञ्जली दिँदा मेरो मनमा केवल एउटै वाक्य गुँज्दछ, उनी पूर्णकालिक कवि हुन्। कुन अर्थमा भने, कविता नलेख्दा पनि उनी कवि नै हुन्थे। उनको स्वभाव, संवेदनशीलता र 'मूड' सब त्यस्तै रहन्थे, जस्तो काव्य रचनाका क्षणमा हुन्थे। त्यसैले मैले पूर्णकालिक कवि भन्न खोजेको हूँ। 

मानिसले चर्चा गरेगरेनन्, धुस्वाँ आशुकवि पनि थिए। कसैले कुनै हृदयहीन व्यवहार गर्‍यो, तत्काल कम्तीमा ४–६ पङ्क्तिको एउटा कविता फुरिहाल्थ्यो, प्रायः हिन्दीमा। पछि उनी आफैँ त्यसको अनुवाद नेपालीमा गर्दथे। त्यस्ता कति कविता मैले पनि सुनेको छु। 

उनको अर्को विशेषता थियो, एक दिनमा एउटा मात्र कविता लेखेर उनीभित्रको कवि सन्तुष्ट हुँदैनथ्यो। पाँच–सात त मामुली पुग्थे। उनले एक दिनमा पचास वटा कवितासम्म पनि लेखेका थिए, विभिन्न विषय र स्वादका।  धुस्वाँ मूलतः कविका रूपमा देखा पर्दछन्। यद्यपि उनको सर्वाधिक चर्चित कृति हो― उपन्यास 'गंकी', एउटा गद्य। यसैले उनलाई नेपाल भाषाको प्रथम उपन्यासकार हुने श्रेय दिलायो। यही कृति उनको सर्वाधिक चर्चित र प्रशंसित कृति रह्यो। विभिन्न भाषामा अनुवाद भयो। यसै कृतिले उनलाई सर्वाधिक चर्चित र सम्मानित बनायो। हो, लेखकहरूको जीवनमा त्यस्तो कमै कृति हुन्छ, जसले प्रथम प्रकाशनमै आफ्नो लेखकलाई एकदम शिखरमा पुर्‍याउँदछ। 'गंकी' त्यस्तै थियो। पछि यसै कृतिका नाउँमा उपन्यासको क्षेत्रमा 'गंकी पुरस्कार' स्थापना भयो। त्यसबखत श्रीमती बसुन्धरा साय्मिले निकै उत्साह देखाएकी थिइन्। पछि उनको निधनसँगै पुरस्कारलाई 'गंकी–बसुन्धरा'को नाउँ दिइयो। म पनि त्यसको एक संस्थापक सदस्यमध्ये हुँ। यो पुरस्कारबाट विभिन्न भाषाका उपन्यासकार सम्मानित भइसकेका छन्। 

धुस्वाँले कतिपय नयाँ–पुराना प्रतिभालाई प्रोत्साहन दिएका छन्। तिनको पुस्तक छापिदिएका छन्। तिनलाई सम्मानित गरेका छन्। उनी आफैँले 'उपन्यास सम्राट'को उपाधि पाएका थिए। एकेडेमीमा बस्दा वैशाख २०५३ भरिमा लेखेका कविताहरूको सङ्ग्रह 'वैशाख २०५३' प्रकाशित भएको थियो।

धुस्वाँ चाँडो खुशी हुन्थे। त्यसैगरी कसैको सानै नकारात्मक व्यवहारले पनि उनलाई दुःखी तुल्याउँदथ्यो। म र ध्रुव सापकोटा भरिसक्के उनलाई दुःखी तुल्याउने काम गर्दैनथ्यौँ। उनी खुशी भएको बखत अरू बेलाभन्दा बढी उदार हुन्थे। मैले उनको एउटा अन्तर्वार्ता लिएको थिएँ। उनले त्यसबखत मलाई एउटा कलम उपहार दिएका थिए।

एकेडेमीमा सँगै काम गर्दा बढी घनिष्टता भयो। एक दिन मूड आयो, उनले भने, “हिँड बुक एक्जिविशनमा जाउँ्क।” मैले प्रदर्शनीमा दुई हजार जतिको पुस्तक किनेँ। धुस्वाँले भने, “थोरै किन्यौ। मैले त ठानेको कमसेकम पाँच हजारको किन्छ ध्रुवले।”

मैले भनेँ, “पैसा नपुग्ला भन्ठानेँ सर।”

उनले भने, “मैले १० हजार लिएर आएको थिएँ।” प्रायः प्रदर्शनीमा उनी त्यति रुपैयाँ लिएर जाने गर्दथे।

दिल्लीको एउटा पुस्तक मेलामा जान दूतावासबाट दुईजनाको लागि निम्तो आयो। मैले धुस्वाँको नेतृत्वमा ध्रुव सापकोटा समेतको एक प्रतिनिधि–मण्डलको सिफारिस गरेर चिठी लेखेँ।

धुस्वाँलाई के लागेछ कुन्नि, उनी अडिदिए― तँ नगए म पनि जान्नँ। मलाई पर्‍यो मुश्किल। फेरि गएर दूतावासकी संस्कृति हेर्ने मोनिका कपिल मोहतालाई समस्या बताइदिएँ। उनले सहानुभूतिपूर्वक विचार गरिन् र प्रतिनिधिमण्डलमा मलाई पनि सामेल गराइदिइन्। नेतृत्व धुस्वाँकै थियो। त्यहाँ उनले राम्रो बोले। हाम्रो समस्या राखे। प्रतिनिधिमण्डलको नेता भएकोले उनको बस्ने ठाउँ हाम्रोभन्दा बेग्लै थियो। तर उनले पछि आफ्नै नजिक हाम्रो कोठा पनि तयार गराए।

त्यसैबेला उनले आफ्नो मनपर्ने मात्र होइन, आत्मीय मित्र अमृता प्रितमसित भेट्न लगे। मैले अन्तर्वार्ता लिएँ। त्यसमा अमृताले उनको एक उपन्यासको नायक धुस्वाँ नै भएको बताएकी थिइन्। त्यसबखतको एउटा नाम चलेको अखबारमा छापिएको त्यो अन्तर्वार्ता धेरै चर्चित पनि भएको थियो। उपन्यासको नाउँ भने अहिले बिर्सेँ।


दिल्लीमा आफ्नो नाउँको उच्चारण गर्न नजानेर अङ्ग्रेजी पढ्ने–लेख्ने कतिपय व्यक्तिले 'दुश्मन स्वामी' भन्ने गरेको रोचक प्रसङ्ग सुनाएका थिए उनले। पछि कहिलेकाहीँ लेखनमा पनि आफूलाई 'मिस इन्टरप्रेट' भएको भन्ने उनको गुनासो हुन्थ्यो। अब यी 'दुश्मन स्वामी' आफ्ना त्वरित कविता र उदासीको स्वर सुनाउन हाम्राबीच छैनन्। आफ्ना रचना र कृतिहरूमार्फत् उनले आफूलाई हिन्दी, नेपाली र नेवारीमा समान रूपमा लेख्न सक्ने एक बहुमुखी प्रतिभा सावित गरेका छन्। उनी दुश्मन स्वामी थिएनन्, दूरी मन नपराउने स्वामी थिए। 

हामी चाहन्छौँ, यस्ता दुश्मन स्वामी बारम्बार जन्मिउन्। यो हाम्रो चाहना हो। तर वास्तविकता के छ भने, धुस्वाँ साय्मि अर्थात् यो दुश्मन स्वामी बारम्बार जन्मिन सक्दैन। एक पटक जन्मेको थियो, अब छैन।