| • ऋतुराज |
 |
ऋतुविचार
अहिल्यै गरौं, पछि चुक्चुक् नगरौं

किरण पाण्ङे
|
| “पोखरामा एकचोटि आफैँ आइदिनुहोस्। एकचोटि साथीलाई ल्याइदिनुहोस्। एकचोटि भेटेजतिलाई पोखरा जानु भनिदिनुहोस्।” |
यो स्तम्भकार यसपटक पोखरा जाँदाको उसको सहयात्री दस वर्षपछि त्यहाँ गइरहेको थियो। त्यसैले पोखराका हरेक चीज उसलाई नौलो लागिरहेको थियो। त्यहाँका सडक, घर, ट्राफिक, बजार, पसल, मानिसको भीड सबथोकले उसको स्मृतिपटलमा अङ्कित छविभन्दा बेग्लै तस्बिर प्रस्तुत गरिरहेका थिए। पोखराको परिवर्तित स्वरूप देखेर ऊ अवाक् थियो र किञ्चित् विस्मित। दस वर्षअघि देखेको कुनै रूपवती षोडषीलाई दस वर्षपछि दुई बच्चाकी आमाका रूपमा भेटेजस्तै भएको थियो उसलाई। उसले विरक्तिएर भन्यो, “पोखरा पनि काठमाडौँकै तालमा लागिसकेको रहेछ।”
काठमाडौँ खाल्डामै जन्मी हुर्केर साढे तीन दशक उमेर गुजारेको त्यस सहयात्रीको निराशा, चिन्ता र सरोकारको समग्र अभिव्यक्ति थियो त्यो। नहोस् पनि किन! काठमाडौँको प्राकृतिक वैभव चिथोरिएको, कोपरिएको, छियाछिया पारिएको र खोस्टा हुन्जेल चुसिएको दृश्य नजिकबाट हेर्दै हुर्किएको थियो ऊ।
हुन पनि त्यहाँका बसपार्क, पृथ्वीचोक, सृजनाचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा र बगरजस्ता ठाउँहरूले काठमाडौँकै गन्जागोल ट्राफिकलाई सम्झाउँछन्। केही सडक खण्ड राम्रा छन्, केही काठमाडौँकै ताल र सुरका छन्। खानेपानीको अभाव उस्तै छ। घरहरू असरल्ल उम्रेका छन्। न तिनको अहा भन्न लायक वास्तुशैली छ न तिनको उचाइमा कुनै नियन्त्रण नै। सार्वजनिक चउर र चौतारा हराउँदै गएका छन्। दिनहुँ उब्जिने फोहोर सेतीको गल्छीमा खाँदेर बाहिरबाट सफा देखिए पनि भविष्यको परिणामप्रति पोखरा अन्जान छ। एउटा फेवाताल छ सुनको फूल पार्ने परिकथाको हाँसजस्तो। सबै मिलेर त्यसको छाती चिर्न थालेका छन्।
काठमाडौँले आफ्नो सुन्दरतालाई मिल्काएर कुरूपता अँगालेकामा पोखरेली कवि तीर्थ श्रेष्ठले ठूलो चुक्चुकी गरेका थिए हालै एउटा लेखमा। उनले भनेझैँ काठमाडौँ हद नाघेर त्यहाँ पुगेको छ, जहाँबाट उसलाई शायद फर्काउन सकिन्न। पोखराको हकमा समय अझै बितिसकेको छैन। त्यसलाई अझै जोगाउन सकिन्छ काठमाडौँको नियति अँगाल्नबाट। पोखराको सुन्दरतालाई हराउन नदिन समय छँदै सबै मिलेर अहिल्यै केही गर्न सके पछि चुक्चुक् गर्न नपर्ने थियो कि?
टाउको फुटाउन तत्पर युवा
यसपालि पोखरा जाँदा दुईदिने बन्दको मूर्च्छापछि पोखरा भर्खर बिउँझेको थियो। सडक र चोकहरूमा यत्रतत्र बन्दमा बलेका टायरका अवशेष देख्न सकिन्थ्यो।
पीर थियो आफ्नो बसाइलाई फेरि कुनै अप्रत्यासित बन्दले बेस्वादिलो बनाइदेला कि भन्ने। नभन्दै पोखरा ओर्लेको भोलिपल्टै एउटा क्याम्पसमा दुई विद्यार्थी समूहबीच मारपिट भयो। त्यसबाट उत्पन्न सनसनी र तनावको खबर पाएपछि लाग्यो खतम भयो यसपालिको पोखरा बसाइको रमाइलो। तर धन्न, त्यस झ्गडाको आगोले के कारणले हो हावा पाएन र क्याम्पस इलाकाभन्दा पर्तिर त्यो सल्केन। अर्को बन्दको मार पोखरा नगरले व्यहोर्नु परेन।
क्याम्पसका विद्यार्थी समूहबीचको दङ्गा भड्किएर नफैलनु सन्तोषको विषय थियो भने दङ्गा सुरु हुने कारणचाहिँ बडो रोचक थियो। जानकार व्यक्तिहरूले बताएअनुसार त्यस झ्गडाको बीउ एउटा मोबाइल फोनको सेट थियो।
भएछ यस्तो! क्याम्पसकी एक छात्राको मोबाइल फोन सेट हरायो। कसले फेला पार्यो त? ती छात्रा जुन विद्यार्थी समूहसित सम्बद्ध थिइन् त्यस समूहका सदस्यहरू हूल बाँधेर गएछन् ज्योतिष देखाउन। ज्योतिषले त्यो फोन सेट क्याम्पसकै कुनै छात्रले फेला पारेको छ भनी त्यस छात्रको हुलियासमेत बताइदिएछन्। त्यो हुलिया विरोधी खेमाको एक छात्र नेतासँग मिल्न गएछ। बस्, के चाहियो र! ज्योतिषले दिएको हुलिया मिल्ने छात्रमाथि मोबाइल फोन सेट चोरेको आरोप लाग्यो। प्रत्यारोप भयो। दुई खेमाबाट युद्धघोष भयो। मारपिट सुरु, क्याम्पस बन्द।
ज्यानै त कसैको गएन र क्याम्पसमा आगो पनि लागेन। झ्गडापछि मोबाइल फोन सेट फेला पर्यो परेन त्यो चाहिँ थाहा भएन, तर त्यस घमासानमा धेरै जना जख्मी भएका खबरचाहिँ सुनियो।
एक त जहाँ पनि 'राजनीतिमा पोलटिक्स' त्यसै घुसी नै हाल्छ। त्यसमा पनि क्याम्पसमा त त्यो अलि बढी नै घुस्ने गर्छ। त्यस्तोमा मोबाइल फोनजस्तो अति महत्वको वस्तु हराएको। झ्गडाको निहुँ चाहिएको थियो। त्यो मिलिहाल्यो। अनि नयाँ नेपाल बनाउन जागरुक युवाहरू एकअर्काको टाउको फुटाउन तत्पर किन नहोऊन्?
डाँडाघरे वाइन
“जब जब तपाईं डाँडाघरे वाइन सम्झ्नुहुन्छ तब तब हुन सक्छ भने एउटा असल मान्छे सम्झिदिनुस्, एउटा असल साथी खोजिदिनुस् अनि एक पटक आफैंलाई हेरिदिनुस् के आफ्नो मन दहि्रलो छ? मन भरिलो छ? मन रसिलो छ? र, मन मलिलो छ? यदि छन् भने तपाईं साँच्चैको सोमरसको नजिक पुगिसक्नुभयो? अब तपाईंको हरेक घुट्कीले सुन्दर नेपाललाई सुन्दर देख्नुहुनेछ र प्यारो सुन्दर पोखरालाई त झ्नै सुन्दर देख्नुहुनेछ। सुस्वास्थ्यका लागि हार्दिक शुभकामना।”
माथिका हरफहरू पढ्दा के तपाईंलाई लाग्दैन कुनै कविले लेखेको कविता पढेजस्तो? अथवा कुनै दार्शनिकको दर्शन पढेजस्तो? तर होइन। यो शब्दावली त पोखरामा उत्पादित नयाँ पेय पदार्थ 'डाँडाघरे वाइन' को बोतलको लेबलमा छापिएको सन्देशको उतार हो।
यस वाइनको उत्पादन झ्लक थापाको दिमागको उपज हो। झ्लक थापा― पोखरा नगरले ठहर्याएको नवरत्नमध्येका एक। 'डाँडाघरे वाइन' २४ थरी फलफूल र जडीबुटीको सम्मिश्रणबाट तयार पारिएको झ्लक थापाको दाबी छ र यसलाई पोखराको कोसेली बनाउने उनको उम्मेद छ।
त्यसैले थप सन्देश पनि बोतलको लेबलमा छ, जो यस्तो छ : “पोखरामा एकचोटि आफैँ आइदिनुहोस्। एकचोटि साथीलाई ल्याइदिनुहोस्। एकचोटि भेटेजतिलाई पोखरा जानु भनिदिनुहोस्।”
वाइन भए पनि बजारमा पाइने आयातीत वाइनहरू हेरी यसमा अल्कोहलको मात्रा कम रहेको झ्लक थापाको भनाइ छ। तर सरकार यसलाई दुधिया, मौवा र सोफी जस्तै भन्ठान्छ र बिक्री अनुमति दिन धिङन्याइ गरिरहेछ। फलतः झ्लक थापाले तयार पारेको डाँडाघरे वाइनको डङ्गुर ब्याङ्कको ब्याज बढाएर त्यसै थन्किरहेको छ।
बरा झ्लक दाइको दुःख पुकारा सुन्न सत्ताको मदमा मस्त हाकिमहरूलाई फुर्सद कहाँ?
|