रिपोर्ट सुर्खेत दुर्घटना
गहन छानबिन आवश्यक


तस्बिरहरूः तीला भण्डारी
|
| पुल खस्नु केहीबेर अघि (माथि) र खस्नेवित्तिकै। |
सुर्खेतको मेहलकुना–३, सुवाघाटमा धान्यपूर्णिमाको दिन १० पुसमा भएको झ्ोलुङ्गेपुल दुर्घटनामा ज्यान गुमाउनेमध्ये २० जनाको शव भेटिएको छ, घाइतेहरू ६० भन्दा बढी छन्। प्रहरीले ३१ जना अझै हराइरहेको बताएको छ। तर प्रत्यक्षदर्शीहरूका अनुसार दैलेख, सल्यान, बाँके, बर्दियाबाट समेत मान्छेहरू मेला हेर्न आएका र धेरैलाई नदीले बगाएको बताइन्छ।
दुर्घटनाको झ्ण्डै दुई घण्टापछि सेना, प्रहरी र माओवादी टोली उद्धारका लागि आइपुगेका थिए। घटनास्थलबाट करिब ४३ किलोमिटर पश्चिम, सदरमुकाम वीरेन्द्रनगरस्थित मध्यपश्चिम पृतनाबाट हेलिकप्टरसहित आएको सैनिक टोलीका एक सुरक्षा अधिकारीका अनुसार पुलभन्दा तीन–चार किलोमिटर तलसम्म कैयौं मानिस गुहार माग्दै बगिरहेका देखिन्थे। प्रत्यक्षदर्शी जयकला खत्री भन्छिन्, “मेलामा आएका युवाले जतिलाई सके बचाए, सेना–प्रहरी आउँदा सबैकुरो बितिसकेको थियो।” पुलसँगै जोडिएको इलाका प्रहरी कार्यालय र स्थानीय प्रशासनले पुलमा खचाखच मानिसलाई समयमै सचेत नगराएको स्थानीयवासीको गुनासो छ।
सञ्चालन भएको महिना दिनमै चुँडिएको सुर्खेतको मेहलकुना र दहचौर जोड्ने यस पुलको निर्माणमा समेत प्रश्न उठेको छ। प्रशासन, सुरक्षा र स्थानीय निकायले क्षमताभन्दा बढी मानिस पुलमा हुनुलाई दुर्घटनाको कारण बताएपनि राजनीतिक र प्राविधिक अवरोधले गर्दा निर्माणक्रममै त्रुटि भएको पाइएको छ। पुल निर्माणमा खटिएका एक प्राविधिकका अनुसार, टावर ठड्याउन खाडल खन्दा ढुङ्गा भेटिएपछि आवश्यक गहिराइमा टावर गाड्न सकिएको थिएन। निर्माणपछि सुर्खेत जिल्ला विकास समितिका इन्जिनियरले इष्टिमेटभन्दा फरक केही होचो र बाङ्गो भएको बताउँदा बताउँदै जिविसले निर्माणकार्य स्वीकृत गरेको थियो। स्थानीय सिर्जनशील क्लबका अध्यक्ष भुपाल पुन भन्छन्, “हामी हिँड्दा पनि पुलको मोटो लहरा खुकुलो लाग्थ्यो। इन्जिनियरले खराबी छ भन्दाभन्दै जिविसले पास गर्नुका पछाडि केही रहस्य हुनुपर्छ।” स्थानीय विकास मन्त्रालय, झ्ोलुङ्गे पुल डिभिजनका इन्जिनियर बद्रीप्रसाद ढुङ्गेल मेन एङ्करेज ब्लक (टावर) को नट खुस्केकाले पुल खसेको हुनसक्ने बताउँछन्। तर पुलको नट मात्रै नभएर टावर नै खसेकाले सम्पूर्ण संरचनाकै निर्माणमा प्रश्न उठेको हो।
२०३६ पुसको मेला हेर्न आएका ४० जनाको डुङ्गा दुर्घटनामा मृत्यु भएदेखि माग हुँदै आएको पुल २०६१ मा मात्र स्थानीय विकास मन्त्रालयको योजनामा परेको थियो। काठमाडौंको फेस कन्सल्ट्यान्टले डिजाइन र सर्भे गरेको पुल निर्माणको जिम्मेवारी नेपालगञ्जको डिसी कन्स्ट्रक्सन एण्ड कम्पनीले पाएको थियो। तर रु.५२ लाखको लागतमा बन्न लागेको पुलको ४० प्रतिशत जति रकम माओवादीले चन्दा मागेपछि काम तत्काल शुरु हुन सकेन र निर्माण कम्पनीले त्यतिबेलै नेपालगञ्जमा पत्रकार सम्मेलन गरी माओवादीले भनेजति चन्दा दिए काम गर्न नसक्ने जानकारी गरायो। तर पछि कति चन्दा दिइयो भन्ने जानकारी नै नदिई पुलको निर्माण गरियो।
नेपालका विभिन्न ठाउँमा जडान गरिएका टावरजडित ५३० वटा झ्ोलुङ्गे पुलमध्ये चुँडिएर दुर्घटनाग्रस्त भएको यो पहिलो पुल हो। प्रमुख जिल्ला अधिकारी अनिलकुमार पाण्डेले घटनाको गम्भीर अनुसन्धान गर्ने र गृहमन्त्रालयद्वारा प्राविधिकहरूको उच्चस्तरीय छानबिन टोली गठन गरिने बताएका छन्। मेहलकुनाको पुल साँच्चै डिजाइनअनुसार निर्माण भए–नभएको, निर्माणकार्य स्वीकृत गरिँदा सञ्चालनयोग्य थियो–थिएन र कुन चरणमा त्रुटि भयो भन्ने छानबिन हुनु आवश्यक देखिन्छ।
रामेश्वर बोहरा, मेहलकुना–सुर्खेतमा
यसरी खस्यो पुल

कलेन्द्र सेजुवाल
|
| पतिको शोकमा भावविह्वल सुनिता सुनार। |
हरेक वर्ष पूर्णिमाको साँझ् शुरु हुने मेला यसपालि अघिल्लै दिनदेखि लागेको थियो र घर त्यतै भएकोले म पनि पुगेकी थिएँ। भेरी नदीको दुवैतिर र झ्ोलुङ्गे पुलमा मान्छे खचाखच थिए। पुलको बीचतिर केही युवाहरूमा विवाद हुनथालेपछि भीड झ्नै बढ्यो। पुलमाथि धेरै मान्छे झ्ुम्मिएको देखेर मैले नदीछेउ पुगेर तस्बिर लिएँ र मेलाको तस्बिर लिन पुलमा चढेँ। तस्बिर खिचेर क्यामरा झ्ोलामा राख्न खोज्दैथिएँ, एक्कासि कर्याककुरुक आवाज आयो। यताउति हेर्दा पुल त खस्न थालिसकेछ। पुल विस्तार–विस्तार खस्न थालेकोले मान्छेको भागाभाग भयो, हेर्दाहेर्दैै पारिपट्टिको पुलको टावर नै ढल्यो। आत्तिए पनि भाग्दा झ्नै खतरा हुने डरले म पुलमै अडिएर बसेँ। म भएतिरको पुलको भाग केही तलमात्रै झ्र्यो, खसेन। तर जहाँबाट नदी बगेको थियो, त्यतापट्टिको भाग पूरै नदीमा खस्यो।
जोगिएकोमा आफूलाई भाग्यमानी ठान्दै तस्बिर खिच्न तल ओर्लिएँ। क्यामरा झिकेर एक दुई वटा तस्बिर त खिचेँ, तर त्यो बिजोग देख्न नसकेर क्यामरा बन्द गरेँ। बच्नका लागि कोही 'बचाऊ..., बचाऊ...' भन्दै र कोही पौडिन खोज्दैथिए भने कति पानीको वेगसँग बग्दैथिए। महिला र बालबच्चा त एकैछिनमा पानीमा हराए। स्थानीय युवाहरूले नदीमा हाम्फालेर केहीलाई जोगाए। डेढ घण्टापछि सेना र प्रहरीको उद्धारटोली आए, तर एउटैलाई पनि जीवित उद्धार गर्न सकेनन्। एकदमै चिसो पानी भएको भेरीमा खसेका मानिस ज्यूँदै रहने सम्भावना थिएन। नदीमा कैयौं मान्छे खसेको मैले आफैँ देखेकी छु। मर्नेको सङ्ख्या धेरै हुनुपर्छ। नदीले बगाएकाले धेरैको शव पाइने कुरा पनि भएन।
पुल बनेपछि केही महिनाअघि आफँैले 'अब सास्ती हट्यो' भनेर समाचार लेखेकी थिएँ। अहिले आफैँ यो घटनामा पर्दा कैयौं गुणा ठूलो सास्ती थपिएजस्तो लागेको छ। सरकार र सम्बन्धित निकायले यस्तो कसरी भयो भन्नेबारे बेलैमा सोचेर फेरि दोहोरिन नदिन सचेत हुनुपर्छ।
तीला भण्डारी
|