हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०९ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट अपराध

डाँकाहरू पक्राउ पर्दै डर उस्तै

अभियुक्तहरू धमाधम पक्राउ परेका र डकैती, लुटपाट, अपहरणका घटनामा कमी आए पनि विराटनगर र आसपासका क्षेत्रमा असुरक्षा र त्रास हटेको छैन। 

डम्बरकृष्ण श्रेष्ठ/कमल रिमाल, विराटनगरमा

गएको कात्तिकमा गाडीमा आएका लुटेराले विराटनगर, सन्सारीमाइस्थानको पसलबाट मोटरसाइकलमा फर्कदै गरेका सीतामणि कोइराला (५८) लाई पञ्चाली मोडमा पेस्तोल देखाएर रु.२ लाख ७५ हजार लुटे। घटनाको केही घण्टापछि नै प्रहरीले लुटेराहरूको समूहलाई पक्रियो।

कात्तिकमै हात्तीमुडाका टेकनाथ अधिकारी र सीताराम पोख्रेलको घरमा डकैती गर्ने १० जनामध्ये सुल्तान मियाँ र नौसाद मियाँ पक्राउ परे। १५ भदौ राति विराटनगरका मन्दिरा कटवाल र टङ्कीसिनवारीका रामकुमार बुढाथोकीको घरमा डकैती गर्ने कटहरीका जब्बर मियाँ, रजावुल मियाँ र पप्पु मियाँलाई पनि प्रहरीले पक्राउ गरेको थियो। यो समूहले ५ साउनमा बैजनाथपुरका सुरेन्द्र राजवंशीको घरबाट पनि रु.९ लाख बराबरको धनमाल लुटेको थियो।

यसअघि भदौमा इलाका प्रहरी कार्यालय, रानीले पूर्व प्रहरीसहितको एक सक्रिय डकैत समूहलाई पक्राउ गरेको थियो। अघिल्लो महिना विराटनगरका ओमप्रसाद तोदी र उमेशचन्द्र पौडेलको घरबाट क्रमशः रु.९ लाख र रु.२ लाख ५० हजार बराबरको धनमाल लुटेको थियो। जेठमा रानीस्थित अमर हार्डवेयर, कटहरी पेट्रोल पम्पलगायत तीन ठाउँमा डकैती गर्ने समूहका चार जनालार्ई पनि प्रहरीले पक्रिएको थियो।


पछिल्लो समय विराटनगर र आसपासका क्षेत्रमा डकैती, लुटपाट र चोरीका घटनामा संलग्न समूहहरू धमाधम पक्राउ परेकाले यसपटकको दशैँ–तिहार विगतको भन्दा शान्त रह्यो। तर, दिनदहाडै, बीच बजारमै भइरहेका लुटपाट, हत्या र अपहरणले स्थानीयवासीको त्रास हटेको छैन।


झाण्डै ज्यान गएको त्यो घटनापछि अहिले चाँडै पसल बन्द गर्छु। 
सीतामणि कोइराला, व्यापारी

११ कात्तिकमा साँझ् ॐ राजु स्टोरका सीतामणि कोइराला चढेको मोटरसाइकललाई को १ ज ११६९ नम्बरको सेतो मारुति भ्यानमा आएका ६ जनाले 'ओभरटेक' गरेर बाटो छेके। लुटेराले आफूलाई अपहरण गरेर गाडीमा हाल्न खोजेको बताउँदै उनी भन्छन्, “६ जनामध्ये दुई जनाले कञ्चटमा पेस्तोल ताकेर पैसाको झ्ोला खोसे र गाडीमा हाल्न खोजे। मैले प्रतिवाद गरेपछि पेस्तोल समेत चलाएका थिए, तर पड्किएन र कुन्दाले हिर्काएर घाइते बनाए।” कोइरालालाई मोटरसाइकल पछाडि राखेर घर फर्किरहेका उनका धर्मपुत्र राजु खड्काले पनि लुटेराको प्रतिवाद गरेपछि उनीहरू भ्ाागेका थिए।

घटनालगत्तै कोइरालाले दिएको सूचनाको आधारमा प्रहरीले विराटनगर–१६ का मोहित राम, विमल कामत, १५ का मुन्ना खान र ७ का श्रवण चौधरीलाई गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझ्ी भन्छन्, “बरगाछीचोकको ग्यारेजमा लुटेराले प्रयोग गरेको भ्यान फेला परेपछि त्यसैको आधारमा साहु पत्ता लगाउँदै लुटेराहरूलाई एकपछि अर्को गर्दै रातभरिमा भिन्दाभिन्दै ठाउँबाट पक्रियौँ।” लुटेराहरूसँग प्रहरीले पाँच गोलीसहित एउटा कटुवा पेस्तोल, एउटा सिक्सर पेस्तोल र सात वटा एसएलआरको गोली फेला पारेको छ। उनीहरूका साथमा नगद रु.४ हजार मात्र भेटेको प्रहरीले कोइरालाको लुटिएको रकम कतै लुकाइसकेको आशङ्का गरेको छ।

विराटनगर तथा आसपासका क्षेत्रमा डकैती गर्नेहरूको यो समूहका चार–चार जना पक्राउ परेपनि कोइरालाको डर हटेको छैन। उनको पसल अहिले साँझ् साढे पाँच बजे नै बन्द हुन्छ। उनीहिजोआज पैसाको झ्ोला बोकेर हिँड्दैनन्। उनले हिमाल सँग भने, “पहिले असुरक्षित लाग्दैन थियो, तर अहिले कतिबेला के हुन्छ भन्न गाह्रो छ। त्यसैले चाँडै पसल बन्द गर्छु।”

पूर्व प्रहरी पनि डकैतीमा 

मोरङ प्रहरीले भदौको पहिलो साता पक्राउ गरेको अर्को एउटा गिरोहमा मोरङ, बबियाबिर्ता–३ का पूर्व प्रहरी युवराज बुढाथोकी समेत पक्राउ परेका थिए। उनले मिति सकिएको प्रहरी परिचय–पत्र देखाउँदै घर–घरमा 'सर्च' गर्दै डकैती गर्ने गरेका थिए। बुढाथोकीसँगै सो समूहका सात जनामा विराटनगरका विक्रम लामा, विनोद बराल, प्रमोद विष्ट, सिन्देश्वर यादव, बलराम कर्माचार्य र सौगात केसी पनि पक्राउ परेका छन्।

यी सातैजना विराटनगरमा भएका विभिन्न डकैतीका घटनामा संलग्न रहेको प्रहरी निरीक्षक केशव थेवे बताउँछन्। उनीहरूको साथबाट प्रहरीले को १ प २७९१ र ४१२४ तथा मे १ प ५५४४ नम्बरका मोटरसाइकलसहित दुई वटा कटुवा पेस्तोल, १८ राउण्ड थ्रीनटथ्री राइफलको र नौ राउण्ड एसएलआरको गोली, १२ तोला सुन, १५ तोला चाँदी, पाँच वटा मोबाइल सेट र रु.९ हजार ६८५ नगद बरामद गरेको थियो। 


मोहन मानन्धर

मोटरसाइकलको नम्बर परिवर्तन गरेर प्रयोग गर्ने समेत गरेको यो समूह ११ र १७ साउनमा विराटनगरका उमेश बस्नेत र ओमप्रकाश तोदीको घरमा भएको डकैतीमा संलग्न रहेको निरीक्षक थेवेले पुष्टि गरेका छन्। तीनटोलियाका ओमप्रसाद तोदीलाई साँझ् घर पुग्दा नकाबधारीहरूले गेटमै पेस्तोल देखाउँदै घरको चाबी मागेर रु.९ लाख बराबरको नगद र गहना लुटेका थिए। उनी भन्छन्, “मैले तुरुन्तै चाबी दिएँ। दराज खोलेर नगद र सुनचाँदी लिएर गए। त्यसअघि चाबी नदिएको भनेर श्रीमतीलाई कुटिसकेका रहेछन्।”  

लुट्नेहरू जेलमा बन्द भएपनि मुद्दाको फैसला नभइसकेकोले पीडितहरू अझै सशङ्कित छन्। सरकारले टोल–टोलमा प्रहरी खटाउनु र मोबाइल गस्ती बढाउनुपर्ने उनीहरूको सुझाव छ। सो घटनाले मानसिक तनाव झेलिरहेका तोदी भन्छन्, “उनीहरू समातिएपछि यस्ता घटनामा कमि त आएको छ। तर उनीहरूले पनि वकिल लगाएका छन्। छुटे भने फेरि दोहोरिन सक्छ।” हिजोआज तोदी उद्योगबाट छिटै घर फर्किन्छन्। साँझ् ६ बजेपछि घरको गेट खोल्न छाडिएको छ। एकजना थपेर दुई चौकीदार राखेका छन्। टोलमा पनि प्रत्येक घरबाट मासिक रु.५०० उठाएर ६ जना रात्रि चौकीदार राखिएको छ।

प्रहरी सक्रियता बढेपछि दुई महिनायता छिटपुटबाहेक ठूला घटना नभएको बताउँदै मोरङ व्यापार संघका अध्यक्ष जीवन नेपाल भन्छन्, “टेलिफोनबाट चन्दा माग्ने, अपहरण र हत्याको धम्की आउने क्रम भने उस्तै छ। कतिपय व्यापारीहरू गुपचुप रकम दिएर ज्यान जोगाउन बाध्य छन्। गृहमन्त्री नै चुनावसम्म देशको अवस्था यस्तै रहन्छ भनेर भाषण गर्छन् भने हामीले आफ्नो सुरक्षा आफै गर्नुको विकल्प छैन।” अहिले विराटनगर आसपासका क्षेत्रमा विभिन्न समूहका नाममा रु.५ हजारदेखि ५० लाखसम्मको चन्दा मागिँदै आएको नेपाल बताउँछन्।

प्रहरीले सक्रियता बढाएकोले धमाधम डाँकाहरू पक्राउ परेको दाबी मोरङका प्रहरी उपरीक्षक योगेन्द्र कटुवालको छ। प्रनाउ विद्यानन्द माझ्ी भन्छन्, “साँझ् ६ बजेदेखि राति १२ बजेसम्म प्रहरीको ड्युटी सकिने नियम फेरेर २४ घण्टे ड्युटी लगाउने र क्षेत्रीय प्रहरी तालिम केन्द्र र गणबाट समेत गरी दैनिक सयभन्दा बढी सुरक्षाकर्मी झिकाएर दिनरात गस्ती बढाउने गरेपछि अपराधीहरू पक्राउ गर्न सजिलो भएको छ।” तर अझै पनि सबैतिर सुरक्षा प्रदान गर्न कठिनाई भइरहेको स्वीकार गर्दै उनी भन्छन्, “एउटै मात्र घटना भयो भने तुरुन्तै पुग्न सक्छौँ, तर एकैसाथ तीन–चार ठाउँमा भए भने सबैतिर पुग्न गाह्रै छ।”


तस्बिरहरूः कमल रिमाल
डकैतीमा संलग्न पूर्व प्रहरी युवराज बुढाथोकीको म्याद सकिएको परिचयपत्र (बायाँ) र विभिन्न अपराधमा पक्राउ परेकाहरुलाई जिप्रका मोरङबाट अदालततर्फ लगिंदै।  

विराटनगरमा भइरहेको प्रहरी कारबाहीमा  हतियारसहित घुमिरहेका केही युवा पनि समातिएका छन्। २७ कात्तिकमा कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ परेका रिङ्कु मण्डल र उदय साहनीको साथबाट 'मधेशी मुक्ति टाइगर'को रसिद समेत फेला परेको छ। यसैगरी १ पुसमा मधेश मुक्ति टाइगरका दश जनालाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ। जसमध्ये इनरुवा– २ का टाइगर्सका झापा, मोरङ, सुनसरी ब्युरो सचिव गगनसिंह भनिने किशोर अटल, रामगञ्ज वेलगछिया– ५ घर भई सुनसरी जिल्ला इन्चार्ज भनिने जल्लाद सिंह उपनामका डोमीराम चमार समेत छन्। उनीहरूको साथबाट एक थान मेड इन अमेरिका लेखिएको पेस्तोल, मोटरसाइकल र चन्दा माग गरिएका लेटर प्याड र रसिद फेला परेको छ। सूर्य नेपाल प्रा.लि. लाई सम्बोधन गरेर रु.५१ लाख माग गरिएको पत्र समेत उनीहरूको साथबाट फेला परेको छ।

त्यस्तै, नेपाली सेनाका एक अधिकृतले विराटनगरका विजय बुढाथोकीलाई पेस्तोल बिक्री गर्न दिएको रहस्य खुलेको छ। २० मङ्सिरमा विराटनगर भन्सार क्षेत्रमा पक्राउ परेका बुढाथोकीले अमेरिकामा बनेको ६ गोली जाने पेस्तोल मोरङको तेेतरिया घर भई धनकुटास्थित कृष्णदल गुल्ममा कार्यरत लेसनायक विश्वासले पेस्तोल बेच्न दिएको प्रहरीलाई बताएका छन्। यसअघि ६ असोजमा सिसवानी जहदाका विनितकुमार साह पक्राउ परेका थिए। गोली लोड गरिएको कटुवा पेस्तोलसहित प्रहरी कार्यालयमा प्रवेश गरेका विराटनगरका सिन्देश्वर यादवलाई ३१ भदौमा इलाका प्रहरी कार्यालय रानीले पक्राउ गर्‍यो। विराटनगरकै कृष्ण कोइरालाको मोटरसाइकल चोरीको आरोपमा ४ भदौमा पक्राउ परी रु.२० हजार धरौटीमा २८ गते छुटेका यादव त्यसको तीन दिनपछि नै पुनः पक्राउ परेका थिए। उनको साथबाट एक पोका गाँजा समेत बरामद भएको थियो। उनी मझारेमा भएको आगजनीको आरोपमा इप्रका रानीमै थुनामा रहेका विद्यानन्द साहलाई यी वस्तु दिन आएको हुनसक्ने आशङ्का प्रहरीको छ। 


ठूला डकैती र  लुटपाट घट्न थाले पनि टेलिफोनबाट चन्दा, अपहरण र हत्याको धम्की आउने क्रम उस्तै छ। 
जीवन नेपाल, अध्यक्ष मोरङ व्यापार संघ

वितेको सात महिनामा सात वटा कटुवा र एउटा माउजर बरामद भएको बताउँदै प्रहरी निरीक्षक थेवे भन्छन्, “लुटपाटमा पनि कटुवाकै प्रयोग बढी हुने गरेको छ।” यसअघि गएको चैतमा भारतीय नागरिक निखिल पाण्डे र गणेश झासँग ६ राउण्ड गोली र एक म्यागजिनसहित एउटा माउजर फेला परेको थियो।

हतियारको जथाभावी प्रयोगका घटना पनि बढेका छन्। ६ पुसमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका जेठान किरण अर्यालको रामगञ्ज, सिनवारी–१ मा गोली हानी हत्या गरियो। हत्याको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समूह) ले लिएको छ। यसअघि ३ भदौ साँझ् एमाले निकट पिपुल्स भोलेन्टियर्सका विराटनगर संयोजक तथा मोरङ जिल्ला खेलकुद विकास समिति सदस्य परशुराम बस्नेतलाई एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो। २९ मङ्सिरको साँझ् विराटनगरमा भारत बिहारको अररिया जिल्लास्थित वथनाहा– ३ का मनोज यादव र महम्मद अम्मीलाई प्रहरीले पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएको छ। उनीहरू भारतीय प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेको बताइएको छ।

विराटनगर र आसपासका बासिन्दा आफ्नो सुरक्षाको लागि आफैँ डाँकाहरूसँग मुकाविला गर्न पनि थालेका छन्। ७ कात्तिकको राति विराटनगर नजिकैको हात्तीमुडा–८ स्थित पेठियामा लुटपाट गर्न आएका लुटेरा समूह र स्थानीयवासीबीच झ्डप हुँदा १२ वर्षिया बलिका पार्वती पोखरेलसहित दुई जना घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर क्षेत्रमा हतियारसहित हिंसा मच्चाउने र चन्दा असुल्ने दुई सातायता पक्राउ परेका एक दर्जन व्यक्तिलाई ४ पुसमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो।  


धन्न ज्यान बच्यो!

८ असोजमा विराटनगर १४ स्थित जुगल इम्पोरियम कपडा पसलबाट साँझ् साढे सात बजे घर फर्किने क्रममा खुकुरी प्रहार गरिएका वेणीगोपाल राठी (२७) को ज्यान मुश्किलले जोगियो। पसलबाट मोटरसाइकलमा घर जाने क्रममा लुटेराहरूले बीच बजारमै उनको ढाडमा खुकुरी प्रहार गरे। २० दिन अस्पताल बसेर बाँचेका राठी (हे. तस्बिर) भन्छन्, “बेहोस अवस्थामै ढाडमा रोपिएको खुकुरी अस्पतालमा झिकियो, खुकुरी अलिकति माथि लागेको भए ज्यानै जानेथियो।” हालसम्म दोषीलाई प्रहरीले पक्राउ नगरेकाले असुरक्षित महसूस गरेको उनी बताउँछन्। उनले भने “फेरि घटना दोहोरिने डरले चाडैे पसल बन्द गर्न थालेको छु।”