रमझम
एकैचोटि
आकाशमा
 |
देशभरका ११ हजार ३४५ प्रतिस्पर्धीलाई पछि पार्दै धादिङ, नौबिसे–४, खत्री पौवाका सन्तोष लामा (२२) नेपाली साङ्गीतिक आकाशमा चम्किए। ६ पुसमा गायन प्रतिभाको खोजी गर्ने नेपाल टेलिभिजनको कार्यक्रम क्लोज अप नेपाली तारा–२ को उपाधि जितेपछि उनको एउटा सपना पूरा भएको छ।
नेपाली तारा–२ भएपछि सन्तोषले नगद दुई लाख, डिस्कभर मोटरसाइकल, आफ्नै नयाँ एकल गीति अल्बम, म्युजिक भिडियो र बेलायत, मलेसिया, सिङ्गापुर भ्रमणका अवसर प्राप्त गरेका छन्। सामान्य परिवारका सन्तोषका लागि हिजोसम्म यी सब कुरा सपना जस्तै थिए। उनले भने “एक वर्षको अन्तरालमै म जस्तो साधारण मान्छे कहाँबाट कहाँ पुगेँ।” नेपाली तारा जस्तो कार्यक्रम नभई दिएको भए आफू यो उचाइमा आइपुग्न गाह्रै हुने उनी बताउँछन्। उनी भन्छन्, “म र मेरी आमाले देखेको सपना पूरा भयो, अब यो लोकप्रियतालाई जोगाई राख्न मैले अझ् मिहिनेत गर्नुपर्छ।”
सानैदेखि विद्यालयका कार्यक्रमहरूमा गीत गाउँदै आएका सन्तोषले पहिलो नेपाली ताराको प्रतिस्पर्धामा समेत भाग लिएका थिए। त्यसबेला उत्कृष्ट २० जनासम्म पुगेका उनले हरेश खाएनन्। भन्छन्, “सपना पूरा गर्नुथियो, त्यसैले धेरै मिहिनेत गरेँ।” बाल्यकालमै बुबाको मृत्यु भएपछि उनी आमा विष्णुमाया र तीन दाजु, एक दिदीका साथ हुर्किए। परिवारको आर्थिक भार कम गर्न उनी धादिङ जिविसको कर उठाउने कर्मचारीको जागिर खाँदै ठूलो गायक बन्ने सपना सँगाल्थे। त्यसैले पनि उनी आफूलाई नेपाली तारा बनाउने सबै श्रोता, दर्शकप्रति आभार व्यक्त गर्न चुक्दैनन्। नेपाली तारा–२ बनेपछि निक्कै ठूलो जिम्मेवारी समेत थपिएको महसूस उनले गरेका छन्। सबै प्रकारका गीतहरू गाउने क्षमता भएका सन्तोषको नेपाली सङ्गीत क्षेत्रमा केही नयाँपन दिने चाहना छ। केही शहरमा हुन लागेको आफ्नो कन्सर्टको तयारीमा रहेका उनले हिमाल सँग भने “अहिले चलिरहेको भन्दा फरक शैलीमा आफूलाई ढाल्दै पप–आधुनिकको फ्युजन गरेर फरकधार पस्कन चाहन्छु।”
शब्दः अनुशील
तस्बिरः किरण पाण्डे
नेपाली रङ्गमञ्चमा विदेशी
नाटक
प्रदर्शन हुँदै आएका दर्जनौं विदेशी नाटकले नेपाली दर्शकलाई नयाँ स्वाद चखाएका छन्।

डम्बरकृष्ण श्रेष्ठ
|
| नाटक पुतलीको घर मा कलाकारद्वय निशा शर्मा र राजकुमार पुडासैनी। |
विदेशी नाटकहरूलाई नेपाली भाषामा रुपान्तरण गरेर मञ्चन गर्ने परिपाटी नेपालमा बढेको छ। सुरुमा आरोहण नाट्य समूहले आरोहण शनिबार अभियानअन्तर्गत नाम चलेका विदेशी नाटकहरूको मञ्चन गरेको थियो भने जर्मन रङ्गकर्मी सविना लेहमनको नेपाल आगमनसँगै विदेशी नाटक मञ्चनले तीब्रता पाएको छ।
आरोहणले सर्वप्रथम २०४२ सालमा ग्रीक भाषाको नाटक इडिपस मञ्चन गरेको थियो। ग्रीक साहित्यका प्रसिद्ध नाटककार सोफोक्लिजले लेखेको यस नाटकको अनुवाद तथा निर्देशन सुनिल पोखरेलले गरेका थिए। उनकै निर्देशनमा २०४४ सालमा आरोहणले फ्रान्सेली भाषाको नाटक स्कापाको दाउपेच मञ्चन गरेको थियो। फ्रान्समा सुखान्त नाटकका पिता भनेर कहलिएका मुलिएरको हास्य विधामा आधारित यस नाटकले उतिबेला निक्कै चर्चा बटुलेको थियो। आरोहण शनिबार अभियानअन्तर्गत अल्बेयर क्यामुको उपन्यास लेथ्रजे लाई असम्बन्धित शीर्षकमा मञ्चन गरेको थियो। हिन्दी नाटककार मोहन राकेशको असारकोे एक दिन लाई आरोहणले २०४५ सालमा दर्शकसामू पस्कियो।
आरोहणका सुनिल पोखरेलका अनुसार, त्यसबेला जर्मन नाटककार बर्तोल ब्रेख्तको सेचुआको असल मान्छे, जापानी लेखक न्युन्जी किनोसिताको सन्ध्या सारस, अस्तित्ववादी नाटककार अल्बेयर क्यामुको न्यायप्रेमी, झ्ुलरोमाको डा. कनक, जात सोध्नु जोगीको लगायत विदेशी नाटकहरू मञ्चन गरिएको थियो। यीमध्ये कतिपय विदेशी नाटकहरूलाई आरोहणले गुरुकुल स्थापनापछि दोहोर्याएर देखाउँदै आएको छ। केही समययता आरोहणले पुनः विदेशी नाटकहरू प्रदर्शन गर्न थालेको छ। पछिल्ला दिनहरूमा पुराना छिमलका हरिहर शर्मादेखि नयाँ छिमलका अनुप बरालसम्मले विदेशी नाटक पस्किरहेका छन्। सर्वनाम नाट्य समूहले पनि कुनै बेला विदेशी नाटक मञ्चन गरेको थियो।
नेपाली रङ्गमञ्चमा विदेशी नाटक मञ्चनको बाढी नै आए पनि थोरै विदेशी नाटकले मात्रै नेपाली दर्शकको मन जितेको छ। सर्वनामले प्रस्तुत गरेको फ्रान्सेली नाटककार मुलिएरद्वारा लिखित तथा अशेष मल्लद्वारा निर्देशित आर्गनको व्यथा, सुनिल पोखरेलले निर्देशन गरेको नर्बेली नाटककार हेनरिक इब्सनको पुतलीको घर, महान शिल्पी, अल्बेयर क्यामुको न्यायपे्रमी, नेपाल प्रज्ञा–प्रतिष्ठानका हरिहर शर्माद्वारा निर्देशित अफ्रिकी नाटककार लरेन हेन्ड्स बेरीको क्रिसमसको बिस्कुन र अनुप बराल निर्देशित तथा भारतका विजय तेन्दुलकर लिखित जात सोध्नु जोगीको आदि दर्शकले अत्यन्तै रुचाएका थिए।
नारीप्रधान कथावस्तु रहेको पुतलीको घर नेपालमा मात्रै १५९ पटक मञ्चन गरिएको थियो भने भारत, बङ्गलादेश, डेनमार्क, पाकिस्तान र नर्बेको इब्सन महोत्सवमा पनि मञ्चन गरिएको थियो। त्यस्तै जात सोध्नु जोगीको पनि ७१ पटक मञ्चन गरिएको थियो। यस नाटकले शैक्षिक अवस्था माथि तीखो व्यङ्ग्य गरेको थियो। यता क्रिसमसको बिस्कुन ले आर्थिक अभावमा रुमल्लिएको अति महत्वाकाङ्क्षी एक अफ्रिकी परिवारको कथालाई उनेको थियो। सविना लेहमनले बज्र होटेलको नागा थिएटरमा मञ्चन गर्ने विदेशी नाटकहरू पनि नेपाली दर्शकले रुचाएका छन्। सविनाले विशेषगरी श्यामुअल, शेक्सपियर, बर्तोल बे्रख्त, लुइस क्यारोल आदिले लेखेका नाटकहरू मञ्चन गर्दै आएकी छिन्।
को के भन्छन्?
अधिकांश निर्देशकहरू मञ्चनयोग्य नेपाली नाटकको अभावले गर्दा विदेशी नाटकहरू मञ्चन गर्नु परेको बताउँछन्। चार वटा विदेशी नाटक निर्देशन गरिसकेका अनुप बराल भन्छन्, “पछिल्ला समयमा एकदमै कम नेपाली नाटक लेखिए, त्यसमा पनि मञ्चनयोग्य छैनन्।” बराल भारतमा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा लुसुनद्वारा लिखित चिनियाँ कथा आहा क्यू को नेपाली रुपान्तरण टलकजंग भर्सेज टुल्के लिएर भाग लिन जाँदैछन्। सुनिल पोखरेल भन्छन्, “मलाई विदेशी नाटक मन परेकाले मञ्चन गरे पनि बढी जसो नेपाली नाटक नै गरेको छु।” खासै अन्तर नभए पनि विदेशी नाटक निर्देशन गर्न बढी अध्ययन गर्नुपर्ने हरिहर शर्मा बताउँछन्। उनी भन्छन्, “जुन देशको नाटक हो त्यो देशको वस्तुस्थितिको अध्ययन त गर्नै पर्दछ।” अशेष मल्ल विदेशी नाटक मञ्चनको लहर चले पनि यसले नेपाली नाटकलाई असर नपार्ने बताउँछन्। विदेशी नाटकलाई भन्दा स्वदेशी नाटकलाई बढी महत्व दिनुपर्ने मल्लको भनाइ छ। मल्लले २०४२ सालमा फ्रान्सेली नाटक आर्गनको व्यथा नेपालीमा मञ्चन गरेका थिए। ९ वर्षअघि देशभर मञ्चन भएको नाटक झ्ुक्न मान्दैन हिमाल का लेखक आहूति भन्छन्, “विदेशी नाटकलाई महत्व दिने प्रवृत्तिले नेपाली नाटकको पहिचान हराउने सम्भावना हुन्छ।”
सन्तोष बराइली
सडकबाट सद्भाव सन्देश
 |
आन्दोलनले तनावग्रस्त तराईमा दलहरू खुलेर जान नसकिरहेका बेला भर्खरै नाट्य समूह शिल्पीलेे १८ दिनको मधेश यात्रामा २९ ठाउँमा नाटक प्रदर्शन गरेको छ। 'मधेश तराई' नाम दिइएको सडक नाटकले नागरिकता, पहुँच, अवसर र भाषा समस्याले सिर्जित मधेश आन्दोलन शान्तिपूर्ण र सही दिशामा लैजाने हो भने दलीय स्वार्थ त्यागेर तत्काल सद्भावका गतिविधि शुरु गर्नुपर्ने सन्देश ल्याएको छ।
शिल्पीले साम्प्रदायिक रङ्गभेदहरूलाई तोडेर जनकपुरको मिथिला नाट्यकला परिषद् र कपिलवस्तुको कालिका नाट्य समूहलाई यात्रामा समेटेको थियो। तराईवासी जित्सा काका (रामनारायण ठाकुर) र पहाडबाट तराई झ्रेका नरबहादुर (राजन खतिवडा) ले भोगेको गरिबी, अभाव, बेवास्ता र विपत्तिलाई नाटकमा बुनिएको छ। त्यो विपत्तिबाट उम्किन अधिकार प्राप्तिका लागि तराईवासीले शुरु गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि त्यही समस्यामा नाटकलाई रोकेर साम्प्रदायिक सद्भाव खल्बल्याउने तराई हिंसा कसरी समाधान गर्न सकिन्छ भन्ने उपाय पनि दर्शकबाट फुराइएको थियो। कसैको मुख नताकी समुदायले नै शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर हिंसात्मक बनाउने भिजिलान्तेहरूलाई कारबाही गर्नुपर्ने, विना भेदभाव सामुदायिक सद्भाव बढाउनुपर्ने, मधेश आन्दोलनले कोही मधेशवासीलाई दुःख दिन नहुने दर्शकको सुझावलाई कलाकारहरूले नाटकमार्फत् तत्काल सुझाएका थिए। नाटक पटक–पटक साम्प्रदायिक हिंसाको मार खेपिरहेको पूर्वको राजविराज, जनकपुर, लालबन्दी, चन्द्रनिगाहपुरदेखि मध्यपश्चिमको कपिलवस्तु, नेपालगञ्ज हुँदै बर्दियासम्म प्रदर्शन गरिएको थियो। ४५ मिनेटको कचहरी नाटकमा मैथली, भोजपुरी, अवधि र नेपाली चार भाषा मिसाएर फरक फरक संस्कृति, भाषा र अनुभवलाई समेत समेट्ने प्रयास गरिएको थियो। कलाकार राजन खतिवडा नाटकमा जस्तै तराईको शान्तिपूर्ण आन्दोलन गलत तत्वबाट भड्किएको छ भन्ने सबैले थाहा पाएको भएपनि यसको समाधान उनीहरूको वशभन्दा बाहिर गइसकेको बताउँछन्। उनले भने― “उनीहरू छिमेकी खेदेर वा हिंसा भड्काएर समस्या समाधान हुँदैन भन्नेमा पनि प्रस्ट छन्।”
हिंसाको पीडा पोख्ने ठाउँ समेत नपाइरहेका बेला प्रदर्शित नाटकमार्फत् तराईवासीले धार्मिक वा जातीय विभाजनमा नबाँडिई साम्प्रदायिक हिंसा विरुद्ध एक भएर लागौँ भन्ने आवाज उठाएका छन्। शिल्पीका नाटक निर्देशक घिमिरे युवराजका अनुसार नाटक वर्षौंदेखि चलिआएको जमिन्दारी र एकतन्त्रीय शासनको विरोध गर्दै देशको सामाजिक, राजनीतिक रुपान्तरण शुरु गर्ने रङ्गमञ्चीय आन्दोलन हो। ८ पुसमा काठमाडौँमा यात्राको समापन गर्दै युवराजले भने “मधेशका जनता प्रेम र सद्भावसहित आपसमा मिलेर बस्न चाहन्छन् तर उनीहरूको त्यो चाहनालाई कसैले पनि सही तरिकाले सम्बोधन नगरिदिँदा दुःखी छन्। दलहरू त त्यसमा नराम्ररी चुकेका देखिए।”
अनमोलमणि
हिट्सका हस्तीहरु

अनुप प्रकाश
|
| राजेशको खल्तीमा अवार्ड राखिदिंदै हरिवंश । |
यस पटकको एघारौँ हिट्स एफएम म्युजिक अवार्ड दार्जीलिङका गायक कर्मा ग्याल्छेन बमजनले चार र गायक राजेश पायल राईले दुई हात पारे। २८ मङ्सिरमा सम्पन्न समारोहमा कुल १९ वटा अवार्डमा कर्माले नवगायक, उत्कृष्ट पप सङ्गीत, सङ्गीत र गीतको उपाधि जिते। गायक राजेशपायल र उनको अल्बम कामना दुवै सर्वाेत्कृष्ट घोषित भए।
सर्वोत्कृष्ट गायिका कुन्ती मोक्तान, पपगायक र गायिकामा दीपेशकिशोर भट्टराई र पार्वती राई, युगल गायनमा उदय सोताङ र मनिला सोताङ, गीत रचनामा आनन्द अधिकारीले पुरस्कार पाए। रक समूह १९७४ एडीले पनि सर्वोत्कृष्ट रक सङ्गीत सिर्जना तथा सर्वोत्कृष्ट समूह गायन गरी दुई वटा पुरस्कार जित्यो। 'हिम्मत' चलचित्रको सङ्गीतका लागि महेश खड्काले पुरस्कार पाए। विदेशी भाषाको गीत रविन एन्ड द न्यु रिभुलेसन, सङ्गीत संयोजन फणीन्द्र राई, म्युजिक भिडियो आलोक नेम्वाङ सर्वोत्कृष्ट घोषित भए। लोकगीतमा पैसा झारे मारुनी र लोकगीति सङ्ग्रह– ह्याङ्गला सेलो जुहारी सर्वोत्कृष्ट भएको थियो। सङ्गीत क्षेत्रमा सर्वोत्कृष्ट योगदान पुर्याएबापत दिइने 'लाइफटाइम एचिभमेन्ट' भने यस पटक माणिकरत्न स्थापितलाई प्रदान गरियो।
आभासको आवाज

शैली
|
बोल के लब आजाद है तेरे
बोल जबाँ अब एक तेरी है...'
उर्दूभाषी कवि फैज अहमद फैजको शब्द रहेको गीत स्वतन्त्रताका लागि लड्दालड्दै हत्या गरिएकी पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोलाई समर्पण गर्दै १३ पुसमा सङ्गीतकार तथा गायक आभास पलेटीमा प्रस्तुत भए।
सन् २००७ का लागि अन्तिम पलेटीमा आभासले कहिले शब्द त कहिले सङ्गीत भित्रका कथा सुनाउँदै प्रेम, समाज र राजनीति समेत झ्ल्कने गीतहरू पस्किए।
नेपालयले आधुनिक नेपाली सङ्गीतमा केन्द्रित रहेर आयोजना गर्दै आएको यो अभियानलाई आभासले नै विगत तीन वर्षदेखि संयोजन र सञ्चालन गर्दै आएका छन्। पूर्वोत्तर भारतकोे कोसेली गम्छा र ढाका टोपीमा ठाँटिएका आभासले पलेटीको २००८ को शृङ्खलामा पूर्वोत्तर भारतका नेपालीभाषी कलाकार शान्तानुकुमार लिम्बू, अञ्जुदेवी, महाप्रसाद गुरुङ र मीरा थापा प्रस्तुत हुने जानकारी दिए। आगामी महिनामा भने पलेटीमा लोकप्रिय गायक प्रेमध्वज प्रधान प्रस्तुत हुँदैछन्।
रमझ्म विविध
कागबेनी को
विश्व–भ्रमण
 |
चलचित्र कागबेनी ले प्रदर्शनको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याउने भएको छ। २७ पुसदेखि राजधानीसहित देशका ९ शहरका २० चलचित्र हलमा डिजिटल प्रविधबाट एकैसाथ यसको प्रदर्शन हुँदैछ।
युएफओ डिजिटल सिस्टम जडान गरिएका हलहरूमा स्याटलाइटबाट एकै समयमा हुने प्रदर्शनको शुभारम्भ कागबेनी बाट हुने चलचित्रका निर्माता मध्येका एक नकिम उद्दिन बताउँछन्। उनी भन्छन्, “यो प्रविधिबाट नेपाली निर्माताहरूले आफ्ना चलचित्र कम खर्चमा सजिलै अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्नेछन्।” उनका अनुसार नेपालसँगै सो प्रविधिबाट एकसाथ भारतका दार्जीलिङ, कालिम्पोङ, सिलिगुडी, देहरादुन, सिमला, मुम्बई, दिल्ली, कोलकाता र अमेरिकाको न्युयोर्कमा समेतकागबेनी प्रदर्शन हुनेछ।
चलचित्र वितरण/प्रदर्शन गर्दै आएको क्वेष्ट इन्टरटेन्मेन्टले निर्माण गरेको कागबेनी उच्च हिमाली भेगको जनजीवनमाथि निर्माण गरिएको गीत तथा नृत्य बिनाको 'थि्रलर' चलचित्र हो। यसको निर्देशन भुषण दाहाल तथा निर्मातामा भाष्कर ढुङ्गाना, नकिम उद्दिन र राजेश सिद्धि रहेका छन्। नेपालमा पहिलो पटक एचडी
(हाइ डेफिनेशन) प्रविधिमा खिचिएको कागबेनी मा सौगात मल्ल, निमा रुम्बा, दिया मास्के, पूजा गुरुङ, आशा मगराती आदिको अभिनय छ। अहिले सार्वजनिक प्रदर्शन अगावै यो चलचित्रले चर्चा बटुल्न सफल भइरहेको छ।

― निमा रुम्बा, गायक तथा नायक |
अभिनय
गर्न गाह्रो
भएन
कागबेनी मा नायक नै बन्नुभएछ नि?
पहिलेदेखिको चाहना थियो। नौलो शैलीको चलचित्र भएकाले काम गरेको हुँ।
गाउनु र अभिनयमा कुन सजिलो?
म्युजिक भिडियोहरूमा अभिनय गरेकोले खासै गाह्रो भएन। छोटो म्युजिक भिडियो र फिचर फिल्ममा अभिनय गर्नुमा अन्तर त हुन्छ नै।
एकै साथ गाह्रो हुन्न?
गायन र अभिनय दुवैलाई सँगै लैजाने सोचेको छु। गाह्रो नहोला।
अरुमा पनि अफर आइसक्यो कि?
कुरा भइरहेछ तर, अब आफैँ चलचित्र निर्माणमा पनि हात हाल्ने योजना बनाउँदैछु।
गायन जस्तै अभिनय क्षेत्र फाप्ला?
मैले चरित्रमा डुबेर अभिनय गरेको छु। दर्शकले मनपराउनुहुनेछ भन्ने लागेको छ।
अनुशील
फेशनको
रन्को
राजधानीमा पुसको पहिलो साता ल्याक्मे नेपाल फेसन सप्ताह- २००७ भएलगत्तै १२ पुसमा डिजाइनरहरूबीचको प्रतिस्पर्धा भयो । दुवै फेशन शोमा पुसको जाडोमा पनि शरीरको आधा भाग मात्र छोपिने पहिरनमा समेत मोडलहरू र्याम्पमा उत्रिए ।
आर्ईईसी फेसन डिजाइन कम्पिटिसन-२००७ नामक प्रतियोगितामा मोडलहरू कागज, पात, प्लाष्टिक, पराल, डोरी आदिको प्रयोग गरेर तयार गरिएका पहिरनहरू समेत लगाएर प्रस्तुत भएका थिए । १७५ जना डिजाइनर सहभागी भएको प्रतियोगितामा विश्वास सिलवाल प्रथम भए । त्यसैगरी दीपा जलान र ओमादेवी र्राई दोस्रो र तेस्रो घोषित भए । डिजाइनरहरूको प्रोत्साहनका लागि यस्ता आयोजना गर्दै आएको आयोजक संस्था आर्ईईसीका निर्देशक शैलजा अधिकारी बताउँछिन् ।
यसअघि २-४ पुसमा सम्पन्न ल्याक्मे नेपाल फेसन सप्ताह मा १ सय १० डिजाइनरहरूले तयार पारेका ३०० भन्दा बढी पहिरनहरू पर््रदर्शन गरिए । युनिलिभर लिमिटेडको उत्पादन ल्याक्मेको मुख्य प्रायोजनमा आर्ईईसी फेशन डिजाइनिङ संस्थाले कार्यक्रमको आयोजन गरेको थियो । अनुप प्रकाश
फेरि बलिदान
२०४६ सालको जनआन्दोलनको कथामा एक दशकअघि बनेको चलचित्र बलिदान पुसको पहिलो सातादेखि राजधानीको विश्वज्योति हलमा पुनः प्रदर्शन भएको छ। माओवादी जनयुद्धलाई प्रोत्साहित गरेको भन्दै सरकारले यसको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो। यसअघि विश्वज्योति हलमै लगातार १३२ दिनसम्म प्रदर्शन भएको यो चलचित्र अहिलेको राजनीतिक माहोलमा समेत सान्दर्भिक रहेकोले पुनःप्रदर्शन गरिएको निर्माता श्याम सापकोटा बताउँछन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य क्रान्तिकारी भूमिकामा देखिएको बलिदान मा गाउँ गाउँबाट उठ.., रक्त क्रान्तिको ज्वालामुखीमा... जस्ता रामेशको स्वर र सङ्गीतका गीतहरू यसमा समेटिएको छ।
नेपालगञ्ज सुन्दरी
नेपालगञ्जमा पहिलो पटक आयोजित मिस नेपालगञ्ज–२००७ मा १५ सुन्दरीलाई पछि पार्दै सलिना कर्माचार्य (१६) ले उपाधि जितिन्। सुस्मिता राई फस्ट रनरअप र आकाङ्क्षा राणा सेकेण्ड रनरअप घोषित भए। २९ मङ्सिरमा सम्पन्न प्रतियोगितामा आदिवासी, जनजाति, मधेशी, दलित र मुस्लिम समुदायका सुन्दरीहरू गुन्यूँचोलो तथा जातीय पहिचान झ्ल्किने पोशाक नै लगाएर र्याम्पमा उत्रिएका थिए। आयोजक इन्ष्टिच्युट अफ मल्टी स्किलका अध्यक्ष जगत ढुङ्गाना हरेक वर्ष यसलाई निरन्तरता दिने बताउँछन्।
रामेश्वर, नेपालगञ्ज
|