पुस्तक
शिक्षाविद् विद्यानाथ कोइरालाको
शिक्षामा वैकल्पिक चिन्तन
लेखकः प्रा.डा. विद्यानाथ कोइराला
प्रकाशकः सामाजिक अनुसन्धान र सामग्री विकासका लागि प्राज्ञिक मञ्च, काठमाडौं
पृष्ठः ६११ मूल्यः रु. ४००
|
पुस्तक शिक्षामा वैकल्पिक चिन्तन मा नेपालको शिक्षा प्रणालीको विगत र वर्तमानलाई विहङ्गम दृष्टि दिँदै भविष्यका लागि वैकल्पिक उपायहरू सुझाउने जमर्को गरिएको छ। खुला विश्वविद्यालयको अवधारणादेखि कम्युनिष्ट नेता माओले परिकल्पना गरेको शिक्षा, अनौपचारिक शिक्षा, सबैका लागि शिक्षा, समावेशी शिक्षा र शिक्षामा निरीक्षण तथा मूल्याङ्कनलगायत ९७ शीर्षकमा लेखिएको यस पुस्तकले नेपालको शिक्षामा वैकल्पिक चिन्तनका लागि आधार प्रदान गरेको छ।
आजको शिक्षाले शिक्षार्थीलाई सैद्धान्तिक ज्ञानको ओइरो लगाएको तर व्यावहारिक सिकाइमा चासो नदिएको टिप्पणी हुँदै आएको छ। व्यावहारिक शिक्षामा जोड दिँदै कोइरालाले शिक्षामा सबैको पहुँच स्थापित गर्न विषयगत, कलागत, स्थानगत जस्ता खुला विश्वविद्यालयको आवश्यकता औँल्याएका छन्। त्यस्तै बहुलअर्थ्याइको खोज र बहुअर्थमै काम गर्ने समझ्दारीको विकास, व्यवहारगत वैकल्पिक चिन्तनतर्फ फड्को मारेर खुला तथा दूरशिक्षा कार्यक्रममार्फत् स्थानीय ज्ञानलाई विश्वव्यापी ज्ञानसँग तादात्म्यता गर्ने प्रस्ताव पनि गरिएको छ।
स्तरीय शिक्षामा प्रत्येक सरोकारवालाको मापो फरक भएकाले सबैको चासोलाई समेट्ने संयन्त्रको आवश्यकता औँल्याइएको छ। हरेक विद्यार्थीलाई उनीहरूको रुचिका फरक फरक क्षेत्रको गति, प्रविधि, व्यवस्थापन आदिमा पारङ्गत बनाउनुपर्ने कुरामा जोड दिइएको छ। स्तरीय शिक्षा सापेक्ष हो, निरपेक्ष होइन भन्ने मान्यताका आधारमा व्यावसायिक शिक्षालाई विलासी बनाउनुको सट्टा जीवन्त व्यवसायलाई आधुनिकीकरण गर्ने प्रस्ताव गरिएको छ। जनवादी, मनवादी र धनवादी सबैको लगानी भए विद्यालयहरूको दृष्टिकोण परिवर्तन गर्न सम्भव हुने लेखको निष्कर्ष छ।
कोइरालाले शिक्षाको अभिन्न अङ्गको रूपमा रहेको पाठ्यक्रम 'ब्रह्म' हो कि 'जगत' भन्ने प्रश्न अघि सार्दै पाठ्यक्रमको स्रोत र प्रयोगको औचित्यमा जोड दिएका छन्। पाठ्यक्रमलाई सापेक्षित रूपमा परिभाषित गर्न नसक्दा पाठ्यसामग्री, शिक्षण विधि, शिक्षक तालिम र शैक्षिक मूल्याङ्कनमा सृजना हुनसक्ने अन्योल तथा जटिलताको लेखाजोखा गर्नुपर्ने स्पष्ट गर्दै पाठ्यक्रम निर्माण गर्ने चार धारहरू अघि सारेका छन् कोइरालाले― पहिलो, केन्द्रीयता आत्मसात् गर्ने धार जसले केन्द्रकै पाठ्यक्रमविद्को चिन्तनको रुपान्तरण गर्दछ। दोस्रो, विकेन्द्रियता आत्मसात् गर्ने धार जसले पेशागत विज्ञता र दक्षता आर्जेका शिक्षकहरूले तत्स्थानमै पाठ्यक्रम निर्माण गर्ने कल्पना गर्दछन्। तेस्रोमा केन्द्रीय खाका समाएर आ–आफ्नो परिवेशको पाठ्यक्रम निर्माण गर्ने कल्पना गर्दछन् भने चौथो धारमा केन्द्रीय न्यूनताको सिद्धान्तका आधारमा पाठ्यक्रममा न्यूनतम विषयवस्तु तोक्ने कल्पना गरिन्छ।
सशस्त्र द्वन्द्वको असरले शिक्षा क्षेत्रलाई नराम्ररी गाँजेको विश्लेषण गर्दै कोइरालाले हाम्रो शिक्षाले किन एउटै देवस्थलमा हिन्दू, बौद्ध, इस्लाम र क्रिश्चियन धर्मलाई आबद्ध गर्न र सबैका साझा सन्देशहरू लेख्न सिकाएन भन्ने प्रश्न गरेका छन्। बहुसांस्कृतिक समझ्दारीका आधार तयार गर्न र चिन्तनका विषयवस्तु तथा शिक्षण शैलीको पुनः अभिमुखीकरण गर्न सहयोग पुर्याउने शिक्षाको खाँचो औँल्याइएको यस पुस्तकमा शिक्षाबाटै दरिलो मानव सम्बन्धको विकास गरी शान्तिप्रक्रिया पहिल्याउन सकिने ठहर गरिएको छ।
आधुनिक युगमा ज्ञानको स्रोत बदलिएको अनुभूत गर्ने लेखकले अहिलेको सत्य बहुल सत्य भएकोले सामाजिक न्यायमा आधारित शिक्षाको वकालत गरेका छन्। अहिलेको शिक्षाले नागरिकको नभएर राजाको इतिहास पढ्न, लेख्न र स्तुति गर्न सिकाउने टिप्पणी गर्दै पुस्तकमा वस्तुपरक तथा खोजमूलक शिक्षाको आवश्यकतामा जोड दिइएको छ। पुस्तकमा शिक्षालाई सार्थक बनाउन प्रभावकारी शिक्षालयको खाँचो औंल्याउँदै शिक्षा क्षेत्रको संरचना तथा संस्कारमा औषधि गर्नुपर्ने जिकिर गरिएको छ। संरचनामा औषधि गर्दा बेलायती र अमेरिकी अनुसन्धानका सुझावहरू शिरोपर गरे फरक नपर्ने तर संस्कारमा औषधि गर्दा अन्तरक्रियात्मक, सहजवादी, रुपान्तरणवादी, साझेदारी र व्यावहारिक संस्कारतर्फ लम्कनुपर्ने सुझाव दिँदै कोइरालाले संस्कार बदल्न स्वभाव बदल्नुपर्ने आवश्यकता औंल्याएका छन्। तर जतिसुकै संस्कारको कुरा गरेपनि कार्यान्वयनको संस्कारले प्रश्रय नपाएसम्म सबै कुरा निरर्थक हुने उनको धारणा छ।
बोलीचालीको शैलीमा लेख्न रुचाउने विद्यानाथ कोइरालाको यो पुस्तक राजनीतिक नेता, योजनाविद्, पाठ्यक्रम विशेषज्ञ, सामग्री लेखक, तालिम प्रशिक्षक, अनुसन्धानकर्ता, समावेशी राज्यका पक्षधर तथा पठनपाठनमा अभ्यस्त शिक्षक र विद्यार्थी सबैका लागि उपयोगी छ। कोइरालाको पुस्तकले शिक्षा क्षेत्रको पुनर्संरचनासम्बन्धी बहस अगाडि बढाउन राम्रै मद्दत पुर्याउन सक्छ।
हेमन्तराज दाहाल
मन्थन र रिड
अजय दीक्षितको संयोजन र सम्पादनमा पाटनढोकास्थित सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्थाले कात्तिक २०६३ देखि मन्थन नामक पुस्तक समीक्षामा केन्द्रित चौमासिक पत्रिका प्रकाशन गरिरहेको छ। पुस्तकहरूको समीक्षात्मक विश्लेषण प्रस्तुत गरिने यो पत्रिकाको अहिलेसम्म तीन वटा अङ्क प्रकाशन भइसकेको छ। आफ्नो रुचि अनुकूलको पुस्तक छनौट गर्न यसले गम्भीर अध्येताहरूलाई अवश्य सघाउन सक्छ।
काठमाडौँस्थित फाइनप्रिन्ट बुक क्लब फाउण्डेसनले अजित बरालको सम्पादनमा प्रकाशन गरिरहेको अङ्ग्रेजी त्रैमासिक पत्रिका रिड मा नेपाली बजारमा उपलब्ध विविध पुस्तकहरू सम्बन्धी जानकारी समेटिने गरेको छ। अहिलेसम्म एक परिचयात्मकसहित चार वटा अङ्क निस्किसकेको रिड मा गम्भीर वा चर्चामा रहेका अध्येताका अनुभव, अन्तरवार्ता आदि समेत प्रकाशन गर्ने गरिएको छ।
|