जनता

शब्द/तस्बिरः सञ्जिव थापा
|
| मैतामाया, रामकली र सरस्वती गुरुङ
(बायाँबाट क्रमशः)। |
थ्री सिस्टर्स'को आँट
आँट, क्षमता, मेहनत र इमानदारी भए जति नै अप्ठ्यारो परिस्थितिमा पनि सफल हुन सकिन्छ भनेर देखाएका छन् मनाङका 'थ्री सिस्टर्स'ले। धारापानी–६, ओडारगाउँका मैतामाया (४०), रामकली (३५) र सरस्वती गुरुङ (३०) ले २०५८ सालमा खेतीपातीको परम्परागत पेशा छाडेर चिया–चमेनाको व्यवसायमा हात हालेका थिए। गाउँमै मासिक रु.२५०० मा एउटा घर भाडामा लिएर रु.५० हजारबाट व्यवसाय थालेका उनीहरू अहिलेे रु.१ लाख भाडा तिर्छन् भने दैनिक रु.२० हजारसम्म आम्दानी गर्छन्। पर्यटकीय पदयात्रा मार्गमा खुलेको यी दिदीबहिनीको चिया–चमेना गृह अहिले 'होटेल थ्री सिस्टर्स' भएकोे छ भने उनीहरूले अर्को एउटा तिब्बती होटेल पनि भाडामा लिएर चलाइरहेका छन्।
शुरुमा व्यवसाय थाल्ने पैसा जुटाउन 'थ्री सिस्टर्स'लाई निकै धौ–धौ परेको थियो। आफ्नो पेवाको पैसा लगानी गर्न समेत बाबु–आमालाई रिझाउनु पर्यो। सफलताले हौसिएका उनीहरू भन्छन्, “काम ठूलो र सानो हुँदैन। मुख्य कुरा आँट, योजना र मेहनत नै हो।” अहिले मैतामाया चिया पसलमा, रामकली र सरस्वती होटेलमा व्यस्त हुन्छन्। पर्यटनसम्बन्धी कुनै तालिम नलिएका उनीहरूले आफ्नो न्यानो आतिथ्यबाटै पर्यटकको मन जितेका छन्।
मैतामाया र रामकलीका पति विदेशमा छन् भने सरस्वती अविवाहित छिन्। प्रसूति पीडाबाट गाउँका महिलाले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने मैतामायाको चाहना छ। त्यसैले आफ्नी छोरीलाई उनले स्त्रीरोग विशेषज्ञ बनाउने आशाका साथ काठमाडौँ पढ्न पठाएकी छन्।
बटुको बाकुदाम

किरण पाण्डे
|
आफ्नो घर आउनेहरूलाई बटु अर्याल बगैँचामा भएको एउटा नौलो फलको बयान मात्र सुनाउँदैनन्, चखाउँछन् र बिरुवा पनि दिएर पठाउँछन्। प्रायः नौला बोटबिरुवा लगाउने रहर भएका ६१ वर्षीय अर्यालले कुमारीगालस्थित आफ्नो बगैँचामा अष्ट्रेलियामा पाइने फल 'मेकेडेमिया नट' हुर्काएका छन्। अष्ट्रेलियाको फललाई घरेलु बनाउन उनले नेपाली नाउँ समेत सुझाएका छन्― 'बाकुदाम'। यो फललाई नेपालव्यापी बनाउन लागिपरेका उनले यस वर्ष मात्र तीन सय बिरुवा निःशुल्क वितरण गरेका छन्।
झ्ट्ट हेर्दा रिट्ठा जस्तो देखिने बाकुदाम फुटाएर खाँदा काजुको जस्तो स्वाद आउँछ। करिब डेढ दशकअघि सरकारले पनि नुवाकोटबाट यसको बिरुवा वितरण गरेको थियो। तर सरकारी काम प्रभावकारी हुन नसकेको देखेर अर्याल आफैँ यसको प्रबर्द्धनमा लागे। उनी भन्छन्, “फल लागेपछि एउटै रूखबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ। खेती नै गर्न सक्यो भने त निर्यातको समेत सम्भावना छ।” तर त्यसका लागि समय र मेहनत भने लाग्छ। यसमा फल लाग्न सामान्यतया आठ वर्ष कुर्नुपर्छ। उनी कलमी गरेर तीन वर्षमै फल फलाउने प्रयत्नमा जुटेका छन्। उनका अनुसार विदेशमा यो फल ब्रेन टनिक औषधि, चकलेट र कुकिज बनाउन प्रयोग गरिन्छ।
अष्ट्रेलियाइ मेकेडेमियासँगै उनी जापानी फल लोकाट र एभोकाडोका बिरुवा पनि वितरण गरिरहेका छन्। परिवर्तनका लागि ठूलै कुरा गर्नुपर्दैन भन्ने सोचाइ राख्ने बटु अर्यालको बाकुदामका रूखले नेपालका डाँडाकाँडा ढाकेर किसानको जीवनस्तर उकास्न सकियो भने भावी
पुस्ताले अझ् सुन्दर नेपाल देख्न पाउने विश्वास छ।
|