हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०९ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

बसपार्कजस्तै विमानस्थल 

'बढदैछन् यात्रु र विमानसेवा'(हिमाल १–१५ पुस) पढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था गोङ्गबुको नयाँ बसपार्क भन्दा फरक छैन भन्दा अत्युक्ति नहोला। चर्को विमानस्थल शुल्क असुल्ने तर यात्रुहरूलाई सेवा दिन नसक्नु सम्बन्धित पक्षको गैरजिम्मेवारीपनको पराकाष्ठा हो। पहिलोपटक नेपाल उत्रनासाथ पर्यटकहरूमा पर्ने नकारात्मक सन्देशले राष्ट्रको छवि नै बिग्रन्छ। 

उता, रस पेलेर फालेको उखुको खोस्टाजस्तै भएको छ नेपाल वायुसेवा निगम। सँगैका विमान कम्पनीहरूले कति उन्नति गरे तर नेपालको राष्ट्रिय ध्वजावाहकको भने यस्तो कन्तविजोग कहिलेसम्म रहिरहने हो, श्री पशुपतिनाथ नै जानून्। 


सुब्रत स्वार, सुयश स्वार
पो.ब.नं. ५०३, काठमाडौँ

चेतनाको खाँचो

'राउटे बने ब्यापारी'  (हिमाल १–१५ पुस) समाचारले मलाई हर्षित तुल्यायो। कहिले जङ्गल, कहिले गाउँघरमा सदियौंदेखि घुमन्ते जीवन बिताउँदै आएका राउटेहरू सामाजिक जीवनमा समावेश भई ब्यापारी बन्नु समाज र राष्ट्रका लागि खुशीको कुरा हो। शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले रु.५०० तिरी कोसी किनेर राउटेहरूको कामको सम्मान गरिदिँदा उनीहरूमा सामाजिक जीवनमा घुलमिल भई व्यवसाय गर्ने थप हौसला प्रदान भएको छ। तर राउटेहरूले पनि आफ्नो मेहनत हेरेर मालको मूल्य लिनुपर्दछ न कि मान्छे हेरेर मूल्य गर्नुहुँदैन भन्ने बुझनु बुझाउन जरुरी छ। राउटेहरूलाई सरकारले जग्गा, घर दिन्छु खेती गरेर खाउ भन्नुभन्दा उनीहरूको मानसिक तथा सामाजिक चेतना र विश्वासको विकास गर्दै जाने कि?

लोकबहादुर खड्का
पोखरीकाँडा–४, सुर्खेत

सबैलाई खुशीलाग्ने कुरा

१–१५ पुस हिमाल को ऋतुराजको 'पुस लाग्यो खुसी लाग्यो' र 'माननीय र सम्माननीय' पढेर सबैलाई खुसी लाग्नु नै पर्ने हो। सबैलाई ज्ञात भएकै कुरा लगनगाँठो बाँधिने महिनाहरूमा मङ्सिर पनि एउटा हो। तर पुस महिनामा भने विवाह कार्य हुँदैन। पुस महिनामा निम्तारु नारीहरूले आधुनिक फेसनमा सिँगारिनु नपर्ने ऋतुराजलाई मात्रै खुसी नलागेर सबैलाई खुसी लाग्ने कुरा हो। मङ्सिर महिनाको जाडो तैपनि फेसनप्रेमी नवयौवनाहरूको अपरम्परागत पहिरनले कतै लोकप्रिय व्यक्तित्व बनाउन पो हो कि भन्ने उदाहरण भारतीय मन्दिरा वेदीको व्यक्तित्वलाई दर्साएका छन्। त्यसैले ऋतुराजले भनेजस्तै 'काठमाडौँको लुग–लुग कमाउने जाडो तैपनि 'स्लीबलेस' मात्र नभएर झ्ण्डै 'ब्लाउजलेस' परिधान गरी नाङ्गा काँधमाथि पातलो साडीको सप्को मारेर प्रकृतिलाई मात्रै चुनौती नदिएर नेपाली संस्कृति र अस्तित्वलाई चुनौती दिइरहेका छन्।'

त्यस्तै 'माननीय र सम्माननीय' पनि चित्तबुझदो लाग्यो। किनकि धेरैजसो मानिस आफ्नो व्यक्तित्व, स्वार्थको लागि मान र सम्मानको मौका लिन एक टुक्रा हड्डीमा दर्जनौं कुकुर झ्म्टे झैं झ्म्टिएको देखिन्छ। यो सत्य हो हाम्रो देशमा साहित्यकार, कवि, लेखक, चित्रकार जस्ता महान् व्यक्तिहरूको चर्चा कमै मात्रामा हुन्छ। सबैलाई ज्ञात भएकै कुरा हो कुनै पनि कवि, लेखक जस्ता महान् व्यक्तिहरूको जन्मजयन्ती मनाउनुको त कुरा नै नगरौं त्यस्ता महान् व्यक्तिहरूको समारोहमा समावेश हुन पनि हिच्किचाउँछन्। 

पीताम्बर पौड्याल,
झापा

एचआईभी र एड्स

प्रभाव फिचरअन्तर्गत १६–२९ मङ्सिर २०६४ मा छापिएको  लेख र १–१५ पुस २०६४ मा प्रकाशित रामेश्वर बोहराको रिपोर्टमा जताततै एचआईभी/एड्स लेखिएको पाएँ।  एचआईभी र एड्स यी दुई शब्दले भिन्न अर्थ र अवस्थाको बोध गराउने भएकाले /चिह्नको साटो 'र' नै लेखिएको भए मिल्थ्यो कि? राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशकले पनि एचआईभी र एड्स शब्दको बीचमा 'र' उच्चारण गर्न कञ्जुस्याइँ गरेछन्। ४० जिल्लाका ९६ ठाउँमा स्वेच्छिक परामर्श र परीक्षण केन्द्रहरू कहाँकहाँ छन् भन्ने थाहा नपाउँदा भने आफूलाई दुर्गम जिल्लावासीको पाठक भएको अनुभव भयो।

विमल नेपाली 
खलङ्गा ९, सल्यान

गरे नहुने के छ र!

'आफ्नै पैसामा गाउँ झ्लमल' हिमाल (१–३० कात्तिक) पढ्न पाइयो। सरकारबाट विद्युत् सेवा नपाएका पाल्पा, अर्घाखाँची, गुल्मी र स्याङ्जाका जनताहरूले कसैको पनि भर नपरी आफ्नै स्रोत, साधन लगाएर गाउँ झ्लमल पारेकोमा मुरी मुरी बधाई! यसबाट सरकारको मात्र भर पर्नुहुँदैन भन्ने शिक्षा ग्रहण गर्न सकिन्छ। 

हृदयप्रसाद श्रेष्ठ
जोमसोम, मुस्ताङ

सच्याइएको

गताङ्ग (१–१५ पुस) को 'गिट्टी कुट्दैछन् रोल्पाली विस्थापित' शीर्षकको समाचारमा असम्बन्धित तस्बिर छापिन गएकोले सखेद सच्याइएको छ।

  – सं.