• सीके लाल |
 |
छिमेक
पाकिस्तानमा भुट्टो युगको अन्त्य
अमेरिका, आर्मी र अल्लाहका आत्मघाती सिपाहीहरू सबैलाई सम्भाव्य नियतिको पूर्ण जानकारी थियो।

कनकमणि दीक्षित
|
लोकतान्त्रिक राजनीतिक दलहरूमा 'आजीवन अध्यक्ष' जस्तो कुनै पद हुँदैन। तर पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष वेनजिर भुट्टो (वीवी) असाधारण थिइन्। चामत्कारिक राजनीतिकर्मी जुल्पि्ककार अलि भुट्टोकी छोरीको रूपमा जन्मिएकी उनी अक्सफोर्ड विश्वविद्यालय विद्यार्थी समूहको पहिलो महिला अध्यक्ष, हार्वर्ड विश्वविद्यालयकी स्नातक र ३५ वर्षको उमेरमा संसारको पहिलो मुिस्लम महिला प्रधानमन्त्री बनिन्। सामान्य पाकिस्तानीहरूको नजरमा 'वे–नजिर' साँच्चिकै अतुल्य थिइन् भने पश्चिमा मुलुकका दक्षिण एशियाली जानिफकारहरूका लागि आँटिलो लोकतन्त्रवादी तथा आदर्श 'पूर्वकी छोरी'को रूपमा उनको परिचय बनेको थियो।
वीवीको राजनीतिक उदय चामत्कारिक रूपमा भएजस्तै अवसान पनि स्तब्ध तुल्याउने नै भयो। पाकिस्तानी सुरक्षा फौजको मुख्यालय रहेको छाउनी शहर रावलपिण्डीमा उनी ठ्याक्कै त्यही ठाउँमा मारिइन्, जहाँ १६ अक्टुबर १९५१ मा पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अलि खाँको हत्या भएको थियो। वीवीका पिता जुल्फीलाई पनि सैनिक तानाशाह जियाउल हकले रावलपिण्डी छाउनीमा नै झ्ुण्ड्याउन लगाएका थिए― एक प्रकारको राजनीतिक हत्या नै थियो उनको फाँसी। प्रसङ्गवश, हत्याको राजनीतिले भुट्टो परिवारलाई कहिल्यै छाडेन। वीवीका भाइ शाहनवाज सन् १९८५ मा पेरिसमा विषपानको शिकार भए। उनका अर्का भाइ मुर्तजा सन् १९९६ मा प्रहरीहरूद्वारा मारिए। वीवीलाई मार्ने प्रयत्न उनी झ्ण्डै एक दशकको प्रवासपछि स्वदेश फर्किएलगत्तै १८ अक्टुबर २००७ का दिन कराँचीमा पनि भएको थियो। त्यसमा उनी जोगिए पनि डेढ सय जति निर्दोष पाकिस्तानीहरूले ज्यान गुमाएका थिए। २७ डिसेम्बरको आत्मघाती हमलाबाट भने नियतिले उनलाई जोगाउन सकेन। वीवीको मृत्युपछि पाकिस्तानी सैन्य संस्थापनको दशकौँदेखिको सपना पूरा भएको छ। पाकिस्तान पिपुल्स पार्टीले आफ्नो 'रहनुमा' र 'रहवर' अर्थात् रक्षक र पथप्रदर्शक गुमाएको छ। तर वीवीको असामयिक मृत्यु उनको अन्तिम राजनीतिक जीत ठहरिने सम्भावना झिनै भए पनि अद्यापि कायम छ। एक किसिमले उनी मारिएपछि आफ्ना पिताजस्तै अमर भएकी छन्। र, पाकिस्तानको सैन्य संस्थापनको जग नराम्ररी हल्लिएको छ।
वीवीको हत्याको लाक्षणिक असरले विश्वका कतिपय राजधानीहरूमा समेत सानोतिनो भुइँचालो नै गएको भान हुन्छ। विश्वव्यापी प्रभाव भएको यस राजनीतिक दुर्घटनाले पश्चिम एशियाको भूराजनीति, दक्षिण एशियाको शान्ति, पाकिस्तानको स्थायित्व, इस्लामिक सभ्यताको भविष्य र अमेरिकी वर्चस्वको संवेदनशीलतालाई एकैसाथ गहिरो प्रश्नको घेराभित्र उभ्याएको छ। लाग्दछ, यस्तो महत्वपूर्ण शहादतको पटकथा वीवी स्वयंले नलेखेको भए पनि सम्भाव्य अन्तिम दृश्यका बारेमा उनी अनभिज्ञ भने थिइनन्। उनको पाकिस्तान आगमन मृत्युका सौदागरहरूलाई एक प्रकारले खुला चुनौती थियोः 'आऊ, मेरो हत्या गर र मलाई अमर बनाइदेऊ।' इच्छामृत्यु वरण गर्ने यस्तो सुयोग कमै मात्र राजनीतिकर्मीले पाउँछन्। तर वीवीको अमरत्वबाट पाकिस्तानले के पाउँछ वा के गुमाउँछ भन्ने कुरा हेर्नका लागि कम्तीमा अर्को निर्वाचनसम्म कुर्नुपर्ने हुन्छ।
सम्भ्रान्त सहमति
पाकिस्तान स्थापना भएको ६ दशक पुगेको अवसर पारेर महिला सञ्चारकर्मीहरूको वर्चस्व रहेको, कराँचीबाट प्रकाशित हुने खबरपत्रिका न्यूजलाइन ले '६ दशक स्वतन्त्रताको वा असहाय अस्तित्वको?' भन्ने प्रश्नमा एउटा राय सङ्कलन सर्वेक्षण गरेको थियो। प्रश्न जति उत्तेजक थियो, अधिकांश उत्तर उत्ति नै मर्मस्पर्शी थिए। अभिजात्य समूहको राजनीतिक उद्यमशीलताबाट दक्षिण एशियाका मुसलमानहरूको आश्रयस्थलको रूपमा स्वतन्त्र भएको पाकिस्तान अद्यापि सम्भ्रान्तहरूको चङ्गुलबाट मुक्त हुनसकेको छैन। स्वतन्त्रतापछिको एउटै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएको छैन; सेनाले खारेज नगरेको कुनै संविधान छैन। सरकारप्रमुख र राष्ट्रप्रमुखको नियुक्ति र निष्काशन सार्वजनिक रुचिको विषय बन्न छोडेको वर्षौं भइसक्यो। अधिकांश सम्पन्न पाकिस्तानीहरू या अग्लो सुरक्षा पर्खालको घेराभित्रबाट मुलुक सञ्चालन गर्ने प्रयत्न गर्दछन् वा पश्चिमा शहरहरूमा बसेर राष्ट्र सुधार्न सकिने भ्रममा बाँच्दछन्।
पाकिस्तान राष्ट्र भने सुस्तरी भौतिक जीवनबाट विरक्त भएर उग्र इस्लाममा मुक्ति खोज्नेहरूको हातमा पुग्दैछ। मारिएकाको त के कुरा, स्वाभाविक मृत्यु प्राप्त गरेका व्यक्तिहरूका बारेमा समेत अनादरयुक्त भाषा बोल्नु निन्दनीय ठानिने दक्षिण एशियाली समाजमा वीवीको आलोचना शायद अब हुन छाड्नेछ। तर बाँचुञ्जेल उनी विवादास्पद व्यक्तित्व र पश्चिमाहरूको कठपुतलीको रूपमा नै स्थापित रहिन्। बाँकी जम्मै पाकिस्तानीहरूबाट निःशर्त वफादारी बाहेक अरू केही सुन्न नचाहने शासकीय सम्भ्रान्तको 'सय परिवार' मध्येकै एक थिइन् 'गढी खुदाबक्स, लरकाना, सिन्ध' पुत्री वीवी। उनको आकस्मिक पाकिस्तान आगमन समेत पाकिस्तानको कुख्यात 'सम्भ्रान्त शासकीय सहमति' अनुसार नै भएको थियो। सदा झैँ, 'दुवई सुलह' नाम दिइएको वीवी–मुसर्रफ सम्भाव्य सत्ता साझेदारीका समेत रचनाकार थिए अमेरिकी रणनीतिकारहरू। तर 'अमेरिका, आर्मी र अल्लाह'द्वारा संयुक्त रूपमा चलाइने पाकिस्तानमा अब अमेरिका र अल्लाहका बन्दाहरूको खेमा बेग्लाबेग्लै छ। आर्मी भने किंकर्तव्यविमूढताको बन्दी भएको छ।
'दुवई सुलह'का शर्तहरू अनुसार मुसर्रफ जर्सावलाई वैधानिक राष्ट्रपतित्व तथा अमेरिकाको प्रत्यक्ष नियन्त्रणको निरन्तरताको बदलामा वीवीको भ्रष्टाचारका पापहरू पखालिने, उनको परिवारलाई पाकिस्तानमा पुनर्स्थापन गराइने र पीपीपीलाई प्रमुख राजनीतिक दलका रूपमा उदाउन दिइने व्यवस्था मिलाइएको थियो। तर सुलहका शर्तहरूप्रति सम्बद्ध पक्ष शुरुदेखि नै इमान्दार थिएनन्। वीवीले शायद सोचेकी थिइन्, 'डेढ अर्ब डलरको भ्रष्टाचारका मुद्दाहरू पाकिस्तान, स्पेन, बेलायत र स्वीट्जरल्याण्डका अदालतहरूबाट त हटुन्, म देखाइदिन्छु अमेरिका र आर्मी दुवैलाई। अल्लाह र अवाम एक ठाउँमा भए भने पाकिस्तान वीवी बाहेक अरू कसैको हुनसक्ने छैन।' जनरल मुसर्रफको सम्भवतः दाउ थियो, दुई 'भ्रष्टाचारी' पूर्व प्रधानमन्त्री नवाज सरिफ र वेनजिरले एकअर्कामाथि हिलो छ्यापाछ्याप गर्न शुरु गर्नासाथ सैनिक शासनबाट आजित भइसकेको पाकिस्तानी जनता राजनीतिबाट विरक्तिएर पुनः सेनाकै शरणमा फर्किन बाध्य हुनेछ। दुवैथरीको निकासको आश पनि एकै प्रकारको थियोः आत्मघाती।
वीवीले शायद सोचेकी थिइन्, 'यस अभियानमा म कथंकदाचित मारिएँ भने पनि भुट्टोको नाउँ अमर बन्नेछ। भ्रष्टाचारको आरोपमा आठ वर्ष जेल सजाय बिताएका मेरा पतिले पाकिस्तानको नेल्सन मण्डेला बन्ने हक पाउनेछन्। र, मेरा सन्तानका दुबई, लण्डन र न्यूयोर्कका घरहरूलाई त्यसपछि कसैले पापको कमाइ भनेर औंला ठड्याउन आँट गर्न सक्ने छैनन्।' मुसर्रफले शायद अनुमान लगाएका थिए, 'वीवीको हत्या भयो भने अलकायदा र तालिवानलाई झ्नै ठूलो खतराको रूपमा तेर्स्याएर पाकिस्तानको स्थायित्वका लागि सेनाको पूर्ण नियन्त्रणको अपरिहार्यता सिद्ध गर्न सजिलो हुनेछ।' यसप्रकार वीवीको हत्या दुःखद् भए पनि अनपेक्षित थिएन। अमेरिका, आर्मी र अल्लाहका आत्मघाती सिपाहीहरू सबैलाई सम्भाव्य नियतिको पूर्ण जानकारी थियो। तर, राजनीतिक हत्याका अनपेक्षित असरहरूले भने सबै पक्षलाई स्तब्ध तुल्याउने सम्भावना अद्यापि कायम छ।
पाकिस्तानको राजनीति अब शुद्ध सम्भ्रान्त सहमतिको आधारमा मात्र चल्न सक्दैन। शीतयुद्धको उत्कर्षमा अमेरिकी हितको दक्षिण एशियाली पहरेदारको रूपमा ठड्याइएको पाकिस्तानको सैनिक राज्यले अब अरू मनोमानी गर्न सक्दैन। सैनिक संस्थापनको क्षयीकरणपछि इरानजस्तै धार्मिक तानाशाही उदाउँछ, अफगानिस्तानमा जस्तो अराजकता जन्मिन्छ, रूसको जस्तो सम्पत्तितन्त्र हावी हुन्छ वा बङ्गलादेशमा जस्तै गैसस नियन्त्रित परामर्शदाता–सेना समन्वयको सरकार चल्छ? पाकिस्तानका अगुवाहरूले रोज्ने कुरा हो। तर, पाकिस्तानमा लोकतन्त्र संस्थागत गर्ने सङ्घर्ष लामो कालसम्म चल्न सक्ने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन। जनस्तरबाट उठ्ने त्यस्तो लोकतन्त्र भुट्टो–छाप निर्वाचित तानाशाही भन्दा फरक र दिगो प्रकृतिको हुनेछ। त्यसो हुनसक्यो भने वीवीको बलिदान व्यर्थ ठहरिने छैन।
भविष्यको पाकिस्तान
वीवीको हत्यालाई दुःखद् दुर्घटनाको रूपमा चित्रित गर्न खोजेर पाकिस्तानको सैनिक संस्थापनले आफ्ना पश्चिमा संरक्षकहरूलाई आश्वस्त गर्न चाहेको बुझन गाह्रो छैन। पाकिस्तानमा पश्चिमाहरूका मुख्य तीन रुचि छन्― पहिलो, पाकिस्तानको परमाणु अस्त्र अलकायदा वा तालिवानजस्ता आतङ्कवादी समूहहरूको हातमा पुग्नुहुँदैन। त्यो कुरा पाकिस्तानकै सेनाको हित विपरीत हुनसक्ने भएकाले त्यस्तो अवस्था उत्पन्न हुने सम्भावना छैन। दोस्रो, अमेरिकाको भौगोलिक सीमाविहीन 'राज्य'मा अलकायदा विरुद्धको 'युद्ध' अवरुद्ध हुनुहुँदैन। अमेरिकाको युद्ध पाकिस्तानी सेनाका लागि लाभप्रद उद्यम सावित भएकाले त्यस्तो स्थिति उत्पन्न हुने सम्भावना पनि उति साह्रो छैन। पश्चिमाहरूको तेस्रो स्वार्थ भने पाकिस्तानीहरूको चाहनासँग मेल नखाने ठहरिन सक्छ।
अमेरिका आफ्नो सामरिक स्वार्थ रहेका राष्ट्रहरूमा 'निर्देशित प्रजातन्त्र' मात्र सञ्चालन होस् भन्ने चाहन्छ। प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धाबाट आएका प्रायशः तेस्रो विश्वका लोकप्रिय नेताहरू पश्चिमा मुलुकहरूको हुकुम तामेली मात्र गरेर राजनीति गर्न सक्दैनन्। त्यसैले अमेरिका निर्वाचन त चाहन्छ, तर सम्भाव्य परिणाम पूर्वनिश्चित भएको अफगानिस्तान वा इराकको जस्तो। त्यस्तो खाले निर्वाचनले पाकिस्तानीहरूको आकाङ्क्षालाई सम्बोधन गर्न सक्दैन। त्यसैले फलफूल र मिनरल वाटरको बोतल बोकेर सैनिक शासनको विरोध गर्न अङ्ग्रेजीमा प्लेकार्ड देखाउने पेशाकर्मीहरूको जुलुसमा सामान्य पाकिस्तानी अहिलेसम्म रमिते मात्र भएका छन्। जुन दिन श्रमिक, कृषक र विपन्न जुर्मुराउँछन्, इस्लामावादको कृत्रिम सम्पन्नता स्वतः ढल्छ। त्यस्तो परिदृश्य अमेरिकी रणनीतिकारहरूका लागि अलकायदा र तालिवानको विजयभन्दा पनि भयावह हुनेछ। त्यसैले पश्चिमा समर्थित पाकिस्तानी सेना र स्वतन्त्रताप्रेमी पाकिस्तानी जनताबीचको सङ्घर्ष आउँदा दिनहरूमा तीब्र हुँदै जाने लगभग निश्चित छ।
पाकिस्तानको त्यस ऐतिहासिक प्रक्रियाका अप्रत्यक्ष असरबाट दक्षिण एशियाका अन्य मुलुकहरूको तुलनामा नेपाल शायद बढी प्रभावित हुनेछ। त्यो किनभने, सैनिक आधिपत्य अन्तर्गत 'एक धर्म, एक भाषा, एक जाति र एक जीवनशैली' भएको राष्ट्र राज्यको अवधारणा पाकिस्तान र नेपालको मध्यमवर्गमा एकसमान रूपले लोकप्रिय छ। वीवीको हत्या भएकै साँझ् हिमाल खबर डटकम ले नेपालका प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरूसँग पाकिस्तानको परिघटनाबारे मागेको प्रतिक्रियामा नेपाली नेताहरू स्पष्ट रूपले चिन्तित देखिएका थिए। विदेशीहरूको चलखेल बेपत्ता बढेको आभास भइरहँदा नेपालका राजनीतिकर्मीहरूको चिन्ता अस्वाभाविक लाग्दैन। तर पाकिस्तानको राजनीतिक अस्थिरताबाट सिक्नै पर्ने सबभन्दा महत्वपूर्ण पाठ के हो भने जति नै वैधानिक देखिए पनि सम्भ्रान्त सहमतिको राजनीति दिगो हुँदैन। पाकिस्तानमा त उखानै छः शासकहरू दम्भले टाठो भएर सत्तामा आउँछन् र निस्तेज वा निर्जीव भएर समतल वा तेर्सो अवस्थामा बाहिरिन्छन्। जनतासँग निरन्तर सम्पर्क र सम्वाद त्यस्तो त्रासदी नदोहोरिने एकमात्र ग्यारेन्टी हुन सक्छ। पाकिस्तानमा जस्तै नेपालका राजनीतिकर्मीहरूले समेत 'अन्तर्राष्ट्रिय समुदायले के भन्छ?' भन्नेमा सचेत रहन शुरु गर्नु आवश्यक छ।
निरन्तर निराशाले अदम्य आशावादिता जन्माउन सक्दोरहेछ भन्ने सकारात्मक पाठ पनि पाकिस्तानको परिदृश्यमा उपलब्ध छ। चुनाव प्रचारको सिलसिलामा वीवी, नवाज सरिफ वा मुसर्रफमध्ये कसैले उत्साहित गर्न नसकेपछि पाकिस्तानमा एउटा एसएमएस खूब चलेको थियो। “मानौँ वीवी, नवाज र मुसर्रफ एउटै डुङ्गामा सवार छन्। तीमध्ये कसैलाई पौडिन आउँदैन। डुङ्गा डुब्न थाल्छ। भन्नुस् त्यस दुर्घटनाबाट को सकुशल जोगिन्छ?” उत्तर स्वतः स्पष्ट छ, जोगिने तालको नाउँ हो पाकिस्तान, जहाँ भोलि अर्को डुङ्गा, अरू सवार र अन्य नौकाचालकहरू देखिने छन्। तालको स्थायित्वको बारेमा अनावश्यक तर्क–वितर्क गर्न तत्काल जरुरी छैन।
वीवीको दुःखद् अन्त्यले नेपालका राजनीतिक दलका हर्ताकर्ताहरूलाई पार्टीलाई प्राइभेट लिमिटेड कम्पनी बनाइँदा कार्यकारी प्रमुखको अवसानपछि उत्पन्न हुनसक्ने भयावह रिक्तताका बारेमा समेत सतर्क तुल्याएको हुनुपर्दछ। आउँदा दिनका जटिलताहरूलाई सम्बोधन गर्ने दलहरू स्वयं समावेशी र लोकतान्त्रिक हुनु जरुरी हुनेछ। दल नेताभन्दा ठूलो र स्थायी भएन भने लोकतन्त्र फस्टाउन सक्दैन। एकताका वीवीका सहायक सैनिक सचिव रहिसकेका पाकिस्तानका वर्तमान सेनाप्रमुख जनरल असफाक कायानीको आकाङ्क्षाका बारेमा शङ्का उठाइए झैँ नेपालमा पनि राजनीतिक सैनिक सम्भ्रान्त सहमतिबारे चर्चा–परिचर्चा चल्ने गर्छ। तर त्यस्तो आकाङ्क्षा मृगतृष्णा मात्र सावित हुनेछ भन्ने कुरा पाकिस्तानको घटनाक्रमले पनि देखाउँछ।
|