बजार चिनियाँ सामान
सस्ता तर
कमसल पनि
सस्ता चिनियाँ सामानले गर्दा कम आय भएका नेपालीले पनि लुगाफाटादेखि इलेक्ट्रोनिकसम्मका आवश्यकता पूरा गर्न सक्ने भएका छन्। तर बजार हेरेर पठाइने विभिन्नस्तरका चिनियाँ सामान चिन्न सकिएन भने ठगिने पनि त्यत्तिकै सम्भावना हुन्छ।
• सन्तोष बराइली

तस्बिरहरूः मीनरत्न बज्राचायर्
|
प्रसूति गृह र अखिल नेपाल किसान संघ, केन्द्रीय कार्यालयका कुचिकार भक्तपुर–११, भेलुखेलका रमेश देउलाको मासिक कमाई रु.५ हजार मात्रै छ। तर नयाँ जिन्स, ज्याकेट र जुत्तामा ठाँटिएर हिँड्ने देउला तथा उनको परिवारले उपभोग गर्ने सामान २०–२५ हजार कमाउनेको भन्दा कम छैन। उनी भन्छन्, “पोहोर आठ हजारमा १४ इञ्चको रङ्गीन टेलिभिजन किनेँ। फ्रिज, ग्याँस चुल्हो, हिटर, कार्पेट पनि किनेको छु। यो सब सस्ता चिनियाँ उत्पादनले गर्दा हो, नत्र हाम्रा लागि सपना मात्रै हुन्थे।”
हिजोआज सस्ता चिनियाँ उत्पादनले निम्न र मध्यम वर्गीय नेपालीका धेरै आवश्यकता पूरा गरेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले एक वर्षअघि गरेको सर्वेक्षणले ७५ प्रतिशत नेपालीले चिनियाँ सामान उपभोग गर्ने गरेको देखाएको छ। प्रायः न्यून आय हुनेले उपभोग गर्ने चिनियाँ सामानमा धनाढ्यहरूको पनि आँखा लाग्न थालेको सर्वेक्षणको क्रममा थाहा भएको संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ बताउँछन्। “एकसमय खासाको सामान भनेर नाक खुम्च्याउने धनाढ्यहरू पनि अहिले यतातिर आकर्षित हुन थालेका छन्। तिनले धनी र गरिबबीच उपभोगमा देखिने असमानता घटाएका छन्,” उनी भन्छन्।
समाजशास्त्रीहरू पनि क्रमशः उपभोक्तावादी संस्कृतिले प्रवेश पाएको नेपाली समाजमा सस्ता चिनियाँ उत्पादनले परिवर्तन ल्याएको स्वीकार गर्छन्। समाजशास्त्री होमराज दाहाल भन्छन्, “चिनियाँ उत्पादनले सामान्य श्रमिकहरूको जीवनमा परिवर्तन ल्याएको छ, त्यो ठूलै परिवर्तन हो।”
के आउँदैन चीनबाट?
 |
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष साङ्ग दोर्जे शेर्पाका अनुसार अहिले प्रतिमहिना तातोपानी–काठमाडौँ रुटबाट १२–१५ सय तथा समुद्री जहाजबाट कलकत्ता भएर १०–१२ सय गरी सरदर दैनिक ८० ट्रक चिनियाँ सामान नेपाल भित्रिन्छन्। तिनमा सबैभन्दा बढी रेडिमेड कपडा र जुत्ता हुने गरेको नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष सतिशकुमार मौर बताउँछन्। त्यसपछि इलेक्ट्रोनिक सामान अनि कार्पेट, फलफूल, मसला, खेलौना, कम्बल, ग्याँस चुल्हो, विद्युतीय सामग्री, मोटरसाइकल, गाडीका पार्टपुर्जा, मदिरा, स्टेशनरी, कम्प्युटर हार्डवेयर, निर्माण सामग्री आउने गरेको जानकारी दिँदै उनी भन्छन्, “दाल, चामल र पानीबाहेक सबैथोक चीनबाट आउँछ। यिनको बढ्दो आयातले नेपालमा चिनियाँ सामानको माग बढेको पनि देखाउँछ।”
रेडिमेड व्यापारीहरूका अनुसार रु.१५०–२५० मा जिन्स पाइन्ट, १००–२०० मा सर्ट, टिसर्ट र २५०–७५० मा ज्याकेट, रु.७ देखि २५० मा उनीका पहिरन तथा १५०–६०० मा जुत्ता पाइन्छन्। चिनियाँ रेडिमेडका पुराना व्यापारी काठमाडौँ, महाबौद्धस्थित तेज टे्रडर्सका प्रोप्राइटर जयप्रसाद प्रसाईं भन्छन्, “चीनबाट मौसम अनुसारको रेडिमेड आउँछ,तर मूल्यमा खासै भिन्नता हुँदैन। चिनियाँ रेडिमेडको यो पनि एउटा राम्रो पक्ष हो।”
इलेक्ट्रोनिक र इलेक्ट्रिकल सामान पनि सस्तै मानिन्छन्। तिनका आधिकारिक बिक्रेताहरूका अनुसार रु.५ हजारदेखि रु.११ हजारमा १४ इञ्चदेखि २१ इञ्चको रङ्गीन टेलिभिजन, रु.२ हजारदेखि रु.३२ हजारमा एलसीडी टीभी, होम थिएटर, डीभीडी तथा रु.३०० देखि रु.१९०० मा मोबाइल सेट, टेलिफोन सेट पाइन्छन्। ग्याँस चुल्हो, ग्याँस गिजर, फ्रिज, पंखा, राइस कुकरलगायतका आधुनिक घरायसी सामानहरूको भाउ पनि सस्तो छ। चन्द्रसूर्य इन्टरनेशनल नेपालका प्रोप्राइटर केशवबहादुर रायमाझ्ी भन्छन्, “२० हजार रुपैयाँ हातमा भए टेलिभिजनदेखि सबै खालका घरायसी सामान किन्न सकिन्छ।” नेपालमा चिनियाँ इलेक्ट्रोनिक सामानका आधिकारिक बिक्रेता मात्रै २९ वटा छन्।
बढ्दो व्यवसाय र रोजगार
कुनैबेला काठमाडौँका केही सडकपेटी र टहरामा सीमित चिनियाँ उत्पादनको बजार अहिले निकै फैलिएको छ। झ्ण्डै सय वटा पसल भएको सुन्धारास्थित चाइना टाउन सपिङ सेन्टरका अध्यक्ष रामबहादुर श्रेष्ठ भन्छन्, “केही समय अघिसम्म चीनका सामानलाई हङकङको भनेर ढाँट्नुपर्थ्यो, अहिले उपभोक्ताको विश्वास बढेकोले त्यसो गर्नुपर्दैन।”
नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार पहिले काठमाडौँमा सीमित चिनियाँ उत्पादन पोखरा, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, जनकपुर, विराटनगर, धरान, झापा, काकडभिट्टाहुँदै गाउँघरमा लाग्ने सानातिना हाटबजारसम्म पनि पुगेका छन्। संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ भन्छन्, “अहिले शहरमा बग्रेल्ती खुलेका सबैजसो डिपार्टमेन्टल स्टोरमा चिनियाँ सामान राख्न थालिएको छ।”
चिनियाँ सामानका व्यापारीहरूका अनुसार सडक पेटी, सटर र डिपार्टमेन्टल स्टोरमा राखिएका सामानहरू प्रायः उस्तै हुन्छन्, तर मूल्यमा भारी अन्तर हुन्छ। भाटभटेनीका एक थोक फेन्सी स्टोरका प्रोप्राइटर प्रदीप श्रेष्ठ आफूकहाँ रु.५० मा पाइने सामानको सटर पसलहरूमा रु.४५० र डिपार्टमेन्टल स्टोरमा रु.१ हजारभन्दा बढी पर्न सक्ने बताउँछन्।
चिनियाँ उत्पादनको बजार जसरी बढ्दैछ, यसले धेरैलाई व्यवसाय र रोजगारी पनि दिएको छ। महाबौद्ध, भोटाहिटी, बागदरबार, भृकुटीमण्डप, कलङ्की, बौद्ध, चाबहिल, बालाजु, नयाँ बसपार्कमा चिनियाँ उत्पादनका खुद्रा पसल २५ हजारभन्दा बढी रहेको नेपाल व्यापार संघले जनाएको छ। चिनियाँ सामानको व्यापारले एक लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगार दिएको नेपाल हिमालय वाणिज्य संघका महासचिव केशवबहादुर रायमाझ्ी बताउँछन्। यसको व्यापारमा लागेर धेरैको जीवनस्तरमा परिवर्तन आएको छ।
कुनैबेला सडकपेटीमा चिनियाँ रेडिमेड सामान बेच्ने राजु श्रेष्ठ अहिले करोडौँको कारोबार गर्छन्। आफन्तहरूसँग रु.१५ हजार ऋण लिएर २०४९ सालदेखि 'खासा व्यापार'मा लागेका उनले चाबहिल, महाँकालमा घर बनाएका छन्। उनी भन्छन्, “अहिले दैनिक लाखौँ रुपैयाँको कारोबार गर्छु।” चिनियाँ उत्पादनका थोक बिक्रेता भनेर कहलिएकाहरूमध्ये अधिकांश कुनैबेला सडकपेटिका व्यापारी भएको बताउँदै भोटाहिटी व्यापार समितिका अध्यक्ष सुन्दर केसी भन्छन्,“भोटाहिटीका डेढसय थोक बिक्रेतामध्ये आधाजसो सडक व्यापारबाटै आएका हुन्। अहिले उनीहरूमध्ये धेरैको बङ्गला र अरूलाई रोजगार दिने हैसियत छ।”
चिनियाँ सामानको व्यापारमा लाग्नेहरूको पीडा पनि कम छैन। चिनियाँ दूतावासले सितिमिति भिसा नदिने, चीन पुगेपछि त्यहाँका उत्पादन कम्पनीहरूमा १२–१३ दिन लगाएर दौडधूप गर्नुपर्ने, होटल, लज र ट्याक्सी ड्राइभरहरूले बढी पैसा लिने, चिनियाँ पक्षले तोकिएभन्दा बढी भन्सार लिन खोज्ने र सामान लिएर आउँदा बाटोमा अवरोध आइलाग्ने व्यापारीका समस्या हुन्। जयप्रसाद प्रसाईं भन्छन्, “प्रायः १५–२० जनाको समूहमा सामान लिन जान्छौँ। १०–१५ दिनको चीनको बसाइ, खानपान र गाडी भाडामा मात्रै एक लाख रुपैयाँ जति खर्च हुन्छ।”
सम्बद्ध व्यापारीहरूका अनुसार नेपालबाट सामान लिन जाने व्यापारीहरू चीनका प्रमुख उत्पादन केन्द्रहरू ग्वाङ्जो, बान्जो, सेञ्जेन, यियु, संघाईलगायतका ठाउँका कम्पनीबाट १०–१५ दिन लगाएर सामान सङ्कलन गर्छन्। त्यसपछि ट्रकमा राखेर १३–१४ दिन लगाउँदै ग्वाङ्जोबाट खासा हुँदै तातोपानी भन्सार वा ३५ दिन लगाएर समुद्री जहाज हुँदै कोलकाता ल्याउँछन्। भाडा चाहिँ ग्वाङ्जो–खासा रुटमा प्रतिकिलो रु.२१.१३ र जहाजमा प्रतिकिलो रु.४८ तिर्छन्।
यता तातोपानीबाट अरनिको राजमार्ग प्रवेशसँगै कतिपय ठाउँमा स्थानीय युवाहरूबाट सडकमा मूढा तेर्स्याएर जबर्जस्ती चन्दा माग्ने र नदिए ढुवानी गर्न नदिने, कुटपिट गर्न खोज्ने क्रियाकलाप शुरु हुन्छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ भन्छन्, “अरनिको राजमार्गले छोएका काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई पटक–पटक ध्यानाकर्षण गराए पनि यस्ता अवरोध रोकिएका छैनन्।”
कमसल पनि छन्
बजारमा एकदमै कमसल चिनियाँ सामान पनि छन्। वास्तवमा चिनियाँ व्यापारीहरूले विश्व बजारका विभिन्न क्षेत्र र ग्राहकअनुसार थरिथरिको स्तरका सामान पठाउँछन्। युरोप र अमेरिका जाने सामानको तुलनामा नेपाल आउने चिनियाँ सामान अत्यन्त निम्नकोटिका हुन्छन्। नेपालमै पनि किन्न सक्नेहरूका लागि महङ्गा र स्तरीय चिनियाँ सामान पनि प्रशस्तै उपलब्ध छन्।
उदयपुरको कटारी–१, हडैयाका हिरालाल अधिकारीले ६ महिनाअघि महाबौद्धको एउटा रेडिमेड पसलबाट रु.८०० मा किनेको जिन्स पाइन्ट केही सातामै रंग उडेर हेर्नै नहुने भयो। उनी भन्छन्, “सस्तोमा पाइने चाइनिज पाइन्ट रहेछ, नराम्रोसँग ठगिएँ।” कतिपय उपभोक्ता सस्ता चिनियाँ सामानमध्ये राम्रो हातपार्नु भनेको चिठ्ठा पारेसरह हुने गरेको बताउँछन्।
सबै चिनियाँ सामान स्तरीय नहुने ब्राण्डेड रेडिमेड सामानका व्यापारीहरूको दाबी छ। भारतीय रेडिमेडका व्यापारी पुतलीसडकस्थित पिटर इङ्गल्याण्डका विवेक अग्रवाल भन्छन्, “धेरैजसो चिनियाँ रेडिमेड सस्तोमा पाइन्छ, तर तिनको गुणस्तर हुँदैन। छिट्टै भुवा आउँछ, रङ जान्छ, उधि्रन्छ।”
कतिपय व्यापारीले चिनियाँ सामानका नाउँमा पुराना इलेक्ट्रोनिक सामानका पार्टपुर्जा जोडेर बेच्ने गरेको पुतलीसडककै स्पीड इन्टरनेशनलका भाष्कर शर्मा बताउँछन्। उनी भन्छन्, “सस्तेामा पाइने धेरैजसो इलेक्ट्रोनिक सामान पुराना पार्टपुर्जा जोडिएकाले केही दिनमै बिग्रेर काम नलाग्ने हुन पुग्छन्।” चिनियाँ इलेक्ट्रोनिक सामानलाई विभिन्न ब्राण्डेड कम्पनीको लेबल लगाएर बिक्री गरिएको पनि पाइन्छ। जापानी, कोरियन ब्राण्डको नामसँग उस्तै देखिने गरी मिल्दोजुल्दो नाम राखिएका चिनियाँ सामान त छ्याप्छ्याप्ती नै देखिन्छन्।
|