हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०९ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण

नागरिक बने राष्ट्रप्रमुख


तस्बिरहरू किरण पाण्डे

१३ पुस २०६४ हिमाल खबरपत्रिका का लागि विशेष फोटो–सेसन गर्ने क्रममा प्रम आफ्नो  बेडरुमसँगैको बैठक कोठामा।

१३ पुस अपराह्न तीन बजे बालुवाटारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निकै प्रफुल्ल थिए। बेडरूमसँगैको बैठकमा लवेदा सुरुवालमा देखिएका कोइरालाले फोटो खिच्ने अनुमति दिँदै सोधे, “किन खिच्न लाग्नुभो?”

“हिमाल खबरपत्रिका को लागि,” मैले भनेँ। “राम्रो गर्न कि बिगार्न? के लेख्दै हुनुहुन्छ?” प्रधानमन्त्रीले हाँस्दै सोधे। “चुनाव, देश र तपाईंको बारेमा लेख्दैछौँ,” मैले भनेँ।
 
प्रधानमन्त्रीको पहिलो पटक फोटो–सेसन गर्दै रहेका हिमाल का फोटो पत्रकारद्वय किरण पाण्डे र अनुपप्रकाशले कुराकानीकै बीचमा केही 'क्लिक' गरिसकेका थिए। अग्लो शरीरका धनी प्रमलाई बस्न सहज हुने 'फिक्स्ड' कुर्सी राखिएको यसै कोठामा उनको स्वास्थ्य अनुकूलको तापक्रम मिलाइएको छ। प्रमले माओवादी अध्यक्ष प्रचण्ड तथा एमाले महासचिव माधवकुमार नेपालसँगको गोप्य भलाकुसारी पनि यसै कोठामा गर्छन्।

तस्बिर खिच्नेक्रममा किरणले लाइट मिलाउन पर्दा पन्छाउन खोज्दा प्रमले “लाइट मिलेन जस्तो छ, म तलै आउँछु” भन्दै हाम्रा लागि चिया ल्याउन सहयोगीलाई निर्देशन दिए।
 
हामी भुइँतलामा रहेको नीलो बैठकमा झ्र्‍यौँ। माथिभन्दा केही ठूलो यसै कक्षमा प्रम सात दलका शीर्ष नेताहरूसँग बैठक गर्छन्। १५ वैशाख २०६३ पछिका महत्वपूर्ण सहमतिका अधिकांश दस्तावेजहरू यसै कक्षमा तयार भएको बताइन्छ।

नीलो बैठकमा बसेर चिया पिएपछि हामी पूर्वपट्टिको क्याबिनेट बैठकमा छिर्‍यौँ। केही समय अक्सिजन लिइसकेपछि प्रम कोइराला आफूलाई तलमाथि गर्न सहज होस् भनी बनाएको लिफ्टबाट ओर्लिएर क्याबिनेट बैठकमा प्रवेश गरे।

६ महिनादेखि आफ्नो जीवनी बताउने क्रममा प्रम कोइरालाले 'आत्मकथा'को अधिकांश पाटो यसै बैठकबाट वर्णन गर्दै आएका छन्।
 
संसद्को बैठकमा जाने तयारीमा रहेका कोइराला करिब तीन मिनेटको फोटो–सेसन पछि पुनः अक्सिजन लिन सँगैको अर्को कोठामा पसे। 'संसद जान हतार भयो' भन्दै त्यहाँबाट निस्केका कोइराला तत्पश्चात् सीधै सिंहदरबारको ग्यालरी बैठकतिर प्रस्थान गरे, जहाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणासहित उनलाई संवैधानिक रूपमै पहिलो नागरिक राष्ट्र–प्रमुख बनाइयो। 

ध्रुब सिम्खडा


सोही दिन फोटो दिनका लागि क्याबिनेट बैठकमा प्रवेश गर्दै।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको पक्षमा मतदान गर्न संसदतर्फ प्रस्थान गर्दै।

जनआन्दोलन–२ को सफलतापछि शक्तिशाली प्रधानमन्त्रीको रूपमा पुनः सत्तामा पुगेका गिरिजाप्रसाद कोइराला १३ पुस २०६४ देखि संवैधानिक रूपमै राष्ट्रप्रमुख बनेका छन्। शाहवंशीय राजाहरूले पृथ्वीनारायण शाहको पालादेखि राष्ट्रप्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आएका राजनीतिक, सैनिक, सांस्कृतिक र सेरेमोनियल भूमिका अब प्रधानमन्त्री कोइरालाको काँधमा आएको छ। राष्ट्रप्रमुखको वैधानिक व्यवस्थासँगै कोइरालालाई नेपालको 'पहिलो राष्ट्रपति'को रूपमा हेर्न थालिएको छ। १० वर्षको सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र संसदीय राजनीतिमा क्रियाशील ६ राजनीतिक दलबीच पटक–पटक बनेको समझ्दारी, सहमति र सहकार्यले यो ऐतिहासिक राजनीतिक परिवर्तन भएको हो।

नेपालको 'म्याग्नाकार्टा'को रूपमा हेरिएको ४ जेठ २०६३ को प्रतिनिधिसभाको घोषणाले राजाको अधिकारमा अत्यधिक कटौती गरेको भएपनि उनको राष्ट्रप्रमुखको भूमिका यथावत् नै थियो। तर, १ माघ २०६४ मा माओवादी समेत सम्मिलित व्यवस्थापिका–संसदले जारी गरी घोषणा गरेको अन्तरिम संविधानले राजालाई राष्ट्रप्रमुखको भूमिकाबाट निलम्वन गर्‍यो। यद्यपि अन्तरिम संविधानमा राष्ट्रप्रमुखको भूमिका प्रधानमन्त्रीले सम्हाल्ने कुरा उल्लेख गरिएको थिएन, तर संविधान जारी भएपछि माओवादी र दलहरूबीचको समझ्दारी अनुसार राष्ट्रप्रमुखको काम प्रधानमन्त्री कोइरालाले नै गर्न थाले।

२३ असार २०६३ मा सरकारको तर्फबाट गृह मन्त्रालयले राजाको जन्मोत्सव नमनाउने सूचना जारी गर्‍यो। सोही वर्ष १ कात्तिकको सैनिक दिवस तथा फूलपाती बढाइँमा राष्ट्रप्रमुखको हैसियतमा राजाको सट्टा प्रधानमन्त्री कोइरालाले पहिलो पटक काठमाडौँको टुँडिखेलमा सेनाको सलामी लिए। त्यस दिन उनले सैनिक पोशाकमा नेपाल सेनाको 'कमाण्डरसिप' गर्दै आएका राजालाई विस्थापित गरेर जनताको तर्फबाट विना वर्दीमा त्यो जिम्मेवारी पूरा गरेका थिए। राजसंस्थाप्रति झ्ुकाव राख्ने सेनाको नेतृत्व पनि औपचारिक रूपमा आफूबाट खोसिएपछि राजा ज्ञानेन्द्र सम्पूर्ण रूपमा शक्तिहीन बन्न पुगे। त्यति मात्र होइन, राजाले राष्ट्रप्रमुखको रूपमा उपभोग गर्दै आएको सम्पत्तिमाथि पनि राज्यले नियन्त्रणको प्रक्रिया शुरु गर्‍यो।


सन् १९५२

सन् १९९१

सन् २००६

सन् २००७

अन्तरिम संविधानले राजालाई राष्ट्रप्रमुखको जिम्मेवारीबाट अलग गरेपछि वर्षौंदेखि राजाहरू सरिक हुँदै आएका सैन्य गतिविधिसँगै राजदूतहरूको ओहोदाको प्रमाणपत्र बुझने काम र सांस्कृतिक परम्परा पनि प्रधानमन्त्री कोइरालाले नै गर्दै आएका छन्। नेपाल एकीकरणदेखि हिन्दू सम्राटको रूपमा शाह राजाहरूले हेर्दै आएको रातो मत्स्येन्द्रनाथको भोटो पहिलो पटक १७ असार २०६४ मा प्रधानमन्त्रीले नै हेरे, जसले नेपालको सांस्कृतिक–राजनीतिक इतिहासमा निकै ठूलो महत्व राखेको थियो। निलम्बित अवस्थामा रहेका राजा ज्ञानेन्द्रले भोटो हेर्न जाने इच्छा गरेपनि राष्ट्रप्रमुखका रूपमा प्रधानमन्त्री उक्त कार्यक्रममा सहभागी हुने सूचना जारी गरेर गृहमन्त्रालयले उनको इच्छा पूरा हुन दिएन। त्यसैगरी १८ भदौमा कृष्ण जन्माष्टमीको दिन पाटनस्थित कृष्णमन्दिरमा पूजा गर्न जाने परम्परालाई पनि राजाले निरन्तरता दिने चाहना व्यक्त गरेका थिए। तर त्यसमा पनि प्रधानमन्त्री नै सरिक भए।

मजदुर नेतादेखि राष्ट्रप्रमुखसम्म
ट्रेड युनियन काङ्ग्रेसको सभापति १९४८
मोरङ काङ्ग्रेसको सभापति १९५२–१९६०
महेन्द्रको 'कु' पछि कारावास १९६०–१९६७
भारत निर्वासन १९६८
प्लेन अपहरणको नेतृत्व १९७३
मेलमिलापसँगै स्वदेश फिर्ता १९७६
काङ्ग्रेस महामन्त्री १९७५–१९९१
जनआन्दोलनका वरिष्ठ नेता १९९०
प्रतिनिधिसभामा निर्वाचित १९९१
पहिलोपटक प्रधानमन्त्री  १९९१–१९९४
प्रतिनिधिसभामा पुनः निर्वाचित १९९४
काङ्ग्रेस सभापति १९९६
दोस्रोपटक प्रधानमन्त्री १९९८
तेस्रोपटक प्रधानमन्त्री १९९८–१९९९
प्रतिनिधिसभामा पुनः निर्वाचित १९९९
चौथोपटक प्रधानमन्त्री २००१
दोस्रोपटक काङ्ग्रेस सभापति २००१
तेस्रोपटक काङ्ग्रेस सभापति २००६
जनआन्दोलन–२ को नेतृत्व २००६
गठबन्धन सरकारको प्रधानमन्त्री २००६
प्रधानमन्त्री तथा राष्ट्रप्रमुख २००७
सत्याग्रहमा ९ महिना नजरबन्द १९८७
(सबै वर्ष ईस्वी सम्वत्मा)

यति मात्र होइन, ८ असोजमा बसन्तपुरमा कुमारीको दर्शन गर्न पनि राष्ट्रप्रमुखको हैसियतमा प्रधानमन्त्री कोइराला नै सरिक भए। नेपाल एकीकरणपछि सांस्कृतिक समारोहहरूमा राष्ट्र प्रमुखका रूपमा राजाहरू सरिक हुने परम्परा एकपछि अर्को गरी तोडिएपछि एकप्रकारले राजतन्त्र समाप्त भएको सन्देश जान थाल्यो। त्यसबाट चिन्तित भएर राजा ज्ञानेन्द्र व्यक्तिगत हैसियतमै भएपनि प्रधानमन्त्रीको पछिपछि बसन्तपुरमा कुमारीको दर्शन गर्न पुगेको बुझन सकिन्छ।

राजाले सेरेमोनियल रूपमा ग्रहण गर्दै आएको विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र पनि राष्ट्रप्रमुखका रूपमा प्रधानमन्त्रीले नै बुझिरहेका छन्। ६ वैशाख २०६४ मा चिनियाँ राजदूत झेङ जियाङ्लीनले पहिलोपटक सिंहदरबारस्थित 'ग्रेट हल'मा प्रधानमन्त्री कोइरालासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए। यससँगै नारायणहिटी राजदरबारमा हुने सबै सेरेमोनियल गतिविधिहरू पनि सबै सिंहदरबारमा सरेका छन्।
 
राजनीतिक, सैनिक, सांस्कृतिक र सेरेमोनियल रूपमा राष्ट्रप्रमुखको हैसियतमा काम गरिरहेका प्रधानमन्त्री कोइराला १३ पुसमा संविधानको तेस्रो संशोधनपछि नागरिकको तर्फबाट संवैधानिक रूपमै पहिलो राष्ट्रप्रमुख बन्न पुगेका छन्। संविधानले नै नेपाललाई 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य' घोषणा गरेपछि प्रधानमन्त्री कोइराला एकप्रकारले 'राष्ट्रपति' नै बनेका छन्, यद्यपि संविधानसभाबाट त्यसको औपचारिक कार्यान्वयन हुन बाँकी नै छ। उक्त दिन संविधान संशोधनलाई प्रमाणित गरेपछि प्रफुल्लित मुद्रामा देखिएका सभामुख सुवास नेम्वाङ संविधानको तेस्रो संशोधनलाई ऐतिहासिक उपलब्धि ठान्छन्। “देशमा अब गणतन्त्र आयो,” सभामुख नेम्वाङले हिमाल सँग भने, “राष्ट्रपति भन्ने शब्द संविधानमा नभए पनि अन्तरिमकालमा राष्ट्रप्रमुखको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीमा रहने संवैधानिक व्यवस्था भएको छ।”


तस्बिरहरू किरण पाण्डे

भूमिका राष्ट्रप्रमुखकोः चिनियाँ राजदूतसँग ओहोदाको प्रमाणपत्र लिँदै र कुमारी दर्शन गरेर फर्कंदै

गृहमन्त्री कृष्ण सिटौलाका अनुसार प्रधानमन्त्री कोइरालाले ४ जेठ २०६३ को संसदको घोषणादेखि नै राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्दै आएका थिए। अहिले त्यसलाई संवैधानिक रूपमा व्यवस्थित गरिएको मात्रै हो। “जनताका छोराछोरी राष्ट्रप्रमुख बन्ने पद्धति शुरु भएको छ,” गृहमन्त्री सिटौला भन्छन्, “यसलाई राष्ट्रपति वा राष्ट्रप्रमुख जे भने पनि हुन्छ।”

एक वर्षअघिसम्म 'बेबी किङ', वा 'माइनर किङ' जस्ता विभिन्न स्वरुपमा राजा राख्न सकिने विचार व्यक्त गर्दै आएका प्रधानमन्त्री कोइराला र केही वर्षअघिसम्म कम्बोडियाका सिंहानुकको जस्तो सेरेमोनियल स्वरुपमा राजा राख्न सकिने तर्क गर्दै आएका माओवादीबीच संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापना गर्ने सहमति भएपछि नेपालमा संवैधानिक रूपमा राजतन्त्र समाप्त भएको हो। यद्यपि, संशोधित संविधानमा अझै पनि नाम मात्रको राजालाई स्थान दिइएको छ र संविधान–सभाको पहिलो बैठकबाट गणतन्त्रको कार्यान्वयन गर्न थालिएपछि त्यो औपचारिक रूपमा समाप्त हुनेछ।

तर पहिलो नागरिक राष्ट्रप्रमुख गिरिजाप्रसाद कोइरालाका अगाडि चुनौतीहरूको कमी छैन। संविधानसभाको चुनाव सम्पन्न गरेर गणतन्त्रलाई संस्थागत गर्नु नै उनको पहिलो ठूलो चुनौती हो। कोइरालालाई राष्ट्रप्रमुख बनाउन काँध थाप्ने वामपन्थीहरूसँग होइन, राजासँग सहकार्य गर्नुपर्छ भन्ने आवाज काङ्ग्रेसभित्र अझै पनि उठिरहेको छ। तर स्वतन्त्रताको लामो यात्रा हिँडिरहेका कोइराला भने वामपन्थीहरूसँगको सहकार्यलाई अझै कसिलो पारेर अगाडि बढ्ने मनस्थितिमा देखिन्छन्। १० पुसमा गृहनगर विराटनगरमा कोइरालाले भने, “म राजालाई समाप्त गर्न चाहनेहरूलाई एक बनाएर अगाडि बढ्न चाहन्छु।”

ध्रुब सिम्खडा