उकालो
लाग्दा
कमलको फूल काठमाडौ
सर्वत्र अँध्यारो छाउँदा पनि पानसको उज्यालो निभ्दैन, जब दियोमा तेल भरी हुन्छ। नेपालको संस्कृतिको तेल यति गुणस्तरीय रहेछ कि 'जनयुद्ध', आर्थिक विचलन तथा सरकारी अकर्मण्यताको बाबजूद यहाँ 'भोलि' को कल्पना गर्न सकिएको छ। र, गत केही महिनायता यो पनि लाग्न थालेको छ कि वर्षौँको हिंसा र राजनीतिक अन्योलको पकडमा रहेको समाज र अर्थतन्त्र सांस्कृतिक प्रतिकारमा लागेको छ। किन सधैँ धुमधुम्ती बस्ने? किन भोलिको लागि योजना नबनाउने? दलका नेताहरू राजनीतिक स्थायित्वको लागि कसरत गर्दै गरुन्, सामाजिक, सांस्कृतिक, व्यावसायिक, विकासे, व्यापारिक कार्यलाई किन जोशका साथ अगाडि नबढाउने? वास्तवमा, बौद्धिक र सांस्कृतिक क्षेत्रमा यस्तै हुन थालेको छ।
लाग्दथ्यो, काठमाडौँ उपत्यकामा जसरी अनियन्त्रित हिसाबले जनघनत्व बढ्दैछ, जसरी यहाँ फोहोर मैला जम्मा हुन्छ, जसरी बागमतीमा ढल बग्दछ र जसरी सामाजिक अराजकता छाएको छ– त्यही गुह्य पोखरीबाट आधुनिक संस्कृतिको कमलको फूल फुल्दैछ। कोलकाता शहरको अत्यासलाग्दो गरिबी र मानसिक पीडाबाट चुलिएको हो त्यहाँको सांस्कृतिक उचाइ– नामको हिसाबले माइकल मधुसूदन दत्त भन्नुस् वा रवीन्द्रनाथ ठाकुर वा सत्यजित राय वा महाश्वेता देवी। कोलकाताकै अनुभव नियाल्दै लाग्दथ्यो कि आधुनिकतालाई प्रयोग गर्दै वास्तविक अर्थमा सिर्जनशील, आधुनिक कला, सङ्गीत, साहित्य, रङ्गमञ्च, विद्या, वास्तुकलाले पनि यो उपत्यकामा अवसर पाउनै पर्छ। किनकि, यहाँको नेवार सभ्यताको जगमा पर्वतीय, पहाडिया, भोटिया र मधेशी टेवा छ, तिब्बतदेखि थरिथरिका दक्षिण एशियाली र समुन्द्रपारको प्रभाव छ। यस्तो कसौँडीमा पाकेको आधुनिक सांस्कृतिक खिचडी कति स्वादिलो, कति आनन्ददायी, कति 'स्टिमुलेटिंग' हुन्छ जस्तो लाग्दथ्यो। दशकौं कुर्दा पनि हामी मात्र पूर्वाधारको तयारीमा अल्मलिइरहेको जस्तो लागेथ्यो।
तर आधुनिक शहरकेन्द्रित सांस्कृतिक जागरणका लागि जनघनत्व पनि चाहिँदोरहेछ, जसको सामूहिक अस्तव्यस्तता, मानसिक तनाव तथा अन्तर्द्वन्द्वबाट कलात्मकताको मूल फुट्दो रहेछ। काठमाडौँ उपत्यकामा यस अर्थमा नपुग भनेको उपत्यकावासीको सङ्ख्या रहेछ भनाँ, जसले गर्दा उच्च सांस्कृतिक प्रस्तुतिको स्वाद लिन अब पारखी, श्रोता, पाठक, दर्शक जुट्न थालेका छन्।
 |
 |
यस्तो नयाँ आयामलाई जनताको चाहनाले अघि धकेल्नेछ र धकेल्न थालेको छ। सर्वत्र त सिर्जनशीलता छाएको छैन, जस्तै टेलिभिजन माध्यमको सम्भावना यत्तिकै छन् भने सिने जगतको पनि बेहाल नै छ। तर विज्ञापनको संसारमा आधुनिक नेपाली उपभोक्ताको मागलाई 'रिस्पोण्ड' गर्न थालेको देखिन्छ। उदाहरणः एउटा भारतीय बहुराष्ट्रिय कम्पनीले आफ्नो स्किन् क्रिमको विज्ञापनमा भारत बजारको लागि छनोट हुने जस्तो मोडलको प्रयोग नगरी नितान्त 'नेपाली' भनेर चिनिने दुई जना महिलाको प्रयोग गरेको छ(हे. तस्बिर)। हुन त कुन 'नेपाली' अनुहार र कुन 'अनेपाली' अनुहार भन्न सकिने अवस्था छैन, तर गोरो आर्यमूलकी महिला प्रस्तुत नगरेर एउटा अलि श्याम वर्णको र अर्को मङ्गोल मूलको मोडललाई राम्रो प्रस्तुतिका साथ टेलिभिजन र छापा विज्ञापनमा उतारिएको छ। यसले जनाउँछ कि बहुराष्ट्रिय कम्पनीहरूले 'नेपाली' समाज र अर्थतन्त्रको गहन मूल्याङ्कन गर्न थाले र नेपाली 'बजार' का लागि खर्च गरेर मौलिक र उच्चकोटिको विज्ञापन निर्माण गर्न थाले। बजारले आधुनिकीकरणोन्मुख र सबल संस्कृतिको पहिचान र कदर गरेको उदाहरण हो यो।
विज्ञापनको कुराबाट रङ्गमञ्चतर्फ लागौँ। पुरानो बानेश्वरमा गुरुकुलको नाट्यशालामा अनुप बरालद्वारा निर्देशित गिरिश कर्नाडको 'बाँकी उज्यालो' को मञ्चनमा जानुस्। स्टेजमा नाटक प्रस्तुति जति उत्कृष्ट छ, खचाखच दर्शकदीर्घामा रहेको 'अडिएन्स' को तवर पनि उत्तिकै उत्साहजनक छ। पूर्णिमाको जूनसँगै तपाई गुह्येश्वरी मन्दिरसँगको किराँतेश्वर पुग्नुस्, त्यहाँ हिन्दोस्तान शास्त्रीय सङ्गीतको पारखीको ठूलो जमात पाउनुहुन्छ। किराँतेश्वरले रोपेको बिरुवाले अब अन्त अन्त जरा गाडिसक्यो र उपत्यकाको ४–५ स्थानमा नियमित शास्त्रीय सङ्गीत प्रस्तुत हुँदा पनि कता हो कताबाट श्रोताहरू आएर सीट, गलैँचा, सुकुल र गुन्द्री भरिदिइहाल्छन्।
गत हप्ता रम्यता लिम्बूद्वारा निर्देशित 'काठमाडौँ इन्टरन्याशनल माउन्टेन फिल्म फेस्टिभल' ले ठूलै आँट गरेर ७०० सीटको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा वृत्तचित्र देखाउने निधो गर्यो। लिम्बूजीलाई खुल्दुली थियो, के श्रोता आउलान् जब कि दिल्ली, कोलकाता, ढाका र कराँचीले त त्यत्रो जमात ल्याउन सकेका छैनन्? तर आए दर्शकहरू। विशेषगरी नेपाली वृत्तचित्रको लागि त्यो हल यसरी भरियो कि फेरि 'रिस्त्रि्कनिङ' को बाचा गर्दै टिकट नपाउनेलाई फर्काउनु पर्यो। र, सभागृहमा यस्तो ताली, हाँसो र स्तब्धता छायो, एकपछि अर्को वृत्तचित्रमा कि मानौँ शाहरूख खानको फिल्म देखाइँदैछ।
पुल्चोकस्थित पार्क ग्यालरीमा अस्तिसम्म 'सर्वसाधारण' नेपालीको लागि भनेर 'पार्क आर्ट सयर' प्रस्तुत गर्दै कला कृतिहरू झुण्ड्याइएका थिए। ग्यालरीका सञ्चालक नवीन जोशी भन्छन्, “कलाकारहरूले तोकेको मोलमा पेन्टिङ राखिएको छ र नेपालीहरूको आधुनिक कलाप्रतिको रुचि बढ्दो छ।” अक्सर विदेशी मात्र ग्राहक बन्ने सन्दर्भमा उक्त 'आर्ट शो'को पहिलो ग्राहक नै नेपाली थिए।

नयाँदिल्लीमै म यस्तो रेस्पोन्स पाउँदिनँ, म चकित भएँ काठमाडौंका अडिएन्स देखेर।
|
साझा प्रकाशनले हालै रानीपोखरीस्थित राष्ट्रिय नाचघरको भव्य निर्माणाधीन भवनमा पुस्तक मेला गरेर कहिल्यै नपाएको पुस्तकप्रेमीको आनन्दमय घुइँचो व्यहोर्नु पर्यो। साझा प्रकाशनका नवनियुक्त अध्यक्ष साहित्यकार भिक्टर प्रधान भन्छन्, “नेपाली पाठकहरूमा आएको चेतना र उत्सुकताको सङ्केत थियो त्यो। किताब पढ्ने बानी भएको जमात कत्रो ठूलो बनेको रहेछ, हामीले बुझने मौका पायौँ।”
हुँदाहुँदा विद्वत् प्रवचनहरूमा समेत घुइँचो लाग्न थालेको छ। नयाँदिल्लीका प्रगाढ विद्वान् र सामाजिक आलोचक आशिष नन्दीले २७ मङ्सिर, बिहीबार कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा एउटा प्रवचन दिए। 'सोसल साइन्स वहाः' द्वारा वर्षैपिच्छे आयोजना गरिने 'महेशचन्द्र रेग्मी मेमोरियल लेक्चर' थियो त्यो र नन्दीले धर्म र धर्म निरपेक्षताको बारे आफ्नो विचार पेश गरेका थिए। हल भरिभराउ थियो, आइल–आइलमा श्रोता बस्न बाध्य भए र आयोजक दीपक थापाले भने, “विद्वत् प्रस्तुति सुन्न रुचाउनेहरूको सङ्ख्या ह्वात्तै बढेको जस्तो लाग्यो उपत्यकामा।” समाजशास्त्र र अध्ययनमा रुचिको मूल्याङ्कनको अवसर हो यो। आशिष नन्दी आफैँले भने, “नयाँदिल्लीमै म यस्तो रेस्पोन्स पाउँदिनँ, म चकित भएँ काठमाडौँका अडिएन्स देखेर।”
आखिर के भइरहेछ उपत्यका खाल्डोमा? एक त गत केही दशकको बौद्धिक तथा सांस्कृतिक क्रियाकलापले गहन सोचाइ तथा सांस्कृतिक लगावको दियोलाई मर्न दिएको रहेनछ। अर्को, उपत्यकाका विभिन्न धारको सामुदायिक उपस्थिति तथा विविध राष्ट्रिय तथा वैदेशिक प्रभावले गर्दा यो उपत्यका उर्वर सांस्कृतिक भूमि बन्न गयो। अनि, अन्तिम समयमा, गत दशकभित्रको ह्वात्तै बढेको जनघनत्वले पनि हर क्षेत्रको पारखीहरूको सङ्ख्या बढाइदियो। हेराँ, आउँदा दिनमा आजको काठमाडौँले हिजोको कोलकातालाई जित्न सक्ला नसक्ला।
जाँदाजाँदै सङ्गीत क्षेत्रमा सुजिल कर्माचार्यले भर्खरै पेश गरेको 'भुमो' गीतको मूल्याङ्कनले पनि आधुनिक सङ्गीतमा कसरी नयाँ आयाम थपिँदैछ प्रस्ट हुन्छ। हिमाली तिब्बती शैलीमा आधारित सुजिलको उक्त गीतले जो कसैलाई उच्चकोटिको प्रस्तुति ग्रहण गरिरहेको अनुभव हुन्छ। (तर त्यही गीतको म्यूजिक भिडियो भने स्तरीय छैन।) 'भुमो' को बोल छः
आमा बाउ मेरा हिमाल पारि
खुशी ल्याउँछ भनी आथेँ वारि
आज फेला पार्यो एक्लोपनले
भुमो... भुमो...
तिम्रो आगमनले मन झुम्यो
यो धर्तीले त्यो गगन चुम्यो...
 |