हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०८ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्थलगत तराई

फर्केनन् विस्थापित

गाउँ फर्कंदा अर्को समुदायले आफूमाथि दागा धर्ने डरमा कपिलवस्तु दङ्गाका क्रममा विस्थापित भएका मधेशी र पहाडे दुवै समुदायका मानिसहरू घर फर्कन मानिरहेका छैनन्।

भारत, दूधनियाको एउटा दाना फ्याक्ट्रीमा काम गर्ने कपिलवस्तु, पत्थरदैयाका रसिद मिया ३० भदौमा भएको मोइद खानको हत्या र तत्पश्चात् जिल्लामा भड्केको दङ्गापछि घर फर्किएका छैनन्। २४ मङ्सिरदेखि उनी कपिलवस्तु घटनामा दोषीको आरोप लागेकाहरूको ठूलो समूहसँगै थुनामा रहेका मधेशीको रिहाइ र लुटपाट तथा आगजनीको मुद्दा खारेजीको माग गर्दै कृष्णनगर भन्सारअगाडि धर्ना बसेका छन्।

पत्थरदैयाकै कलावती कार्की खानको हत्यापछि आफ्नो घर जलाइएकोले वरकलपुरको महेन्द्र राजमार्ग छेउमा पाल टाँगेर बसेकी छन्। कार्कीले हिमाल लाई भनिन्, “हाम्रो इज्जत लुटिने डर छ, आफ्नो घर भएको ठाउँ जान सक्दैनौँ।” कपिलवस्तुको पत्थरदैया, विसनपुर, गणेशपुरलगायतका ठाउँबाट विस्थापित भएर शिविरमा बसेकामध्ये विसनपुरको देवीपुरका २४ र अन्य ठाउँका २० भन्दा धेरै परिवार पुरानो ठाउँमा फर्केका छैनन्।


मुकेश पोखरेल 

यी घटनाक्रमले दङ्गाको तीन महिनापछि पनि कपिलवस्तुको अवस्था अझै साम्य नभएको दर्शाउँछन्।

मोइद खानको हत्या हुँदा आफू नेपालमै नभएको दाबी गर्ने रसिद आमा, दाइ, भाउजू सहितको आफ्नो पाँचजनाको परिवार सम्पर्कमा नआएको बताउँछन्। यता इलाका प्रहरी कार्यालय, कृष्णनगरका प्रहरी निरीक्षक कमल नेपाल भने अहिलेसम्म बेपत्ताबारे प्रहरीकहाँ जानकारी नआएको बताउँदै भन्छन्, “सबैलाई घर गएर बस्न हाम्रो अनुरोध छ। सुरक्षाको ग्यारेण्टी हामी गर्दछौँ। बेपत्ताबारे जानकारी पाए खोज्न पनि सहयोग गर्छौं।”

तर, रसिद र उनीसँग धर्ना बसेकाहरू प्रहरी निरीक्षक नेपालको आश्वासनप्रति विश्वस्त छैनन्। पत्थरदैयाका मोहित साह स्थानीय प्रशासनले कारबाही चलाउन ४१७ जनाको सूची तयार पारेको, तीमध्ये धेरैले आफू निर्दोष भएको दाबी गरिरहेका र परिवारसहित भारतमा बस्दै आएका बताउँछन्। दङ्गा हुँदा घरमा नभई दाङ, घोराहीको सैलुनमा रहेको भन्ने अर्का धर्नाकारी समसुल अलि आफ्नो नाम पनि त्यो सूचीमा भएकोले घर जान नसकेको र भारत गएको ४२ जनाको आफ्नो परिवारको खोजीमा नेपालगञ्ज हुँदै कृष्णनगर आइपुगेको बताउँछन्। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी कुवेर कडायत भने प्रशासनले कारबाहीको सूची बनाएको छ भन्ने कुरा अस्वीकार गर्दै कसैले जाहेरी दिएको आधारमा मात्रै आरोप नलाग्ने बताउँछन्। उनको भनाइ छ, “जाहेरीपछि हामी अनुसन्धान गर्छौं र प्रमाण फेला परेपछि कारबाहीअघि बढाउँछौँ।”

कृष्णनगर भन्सारअगाडि भएको धर्ना र प्रदर्शन 'उत्पीडित मधेशी सङ्घर्ष समिति कपिलवस्तु'ले आयोजना गरेको हो। समितिद्वारा जारी विज्ञप्तिमा कपिलवस्तुमा मारिएका मोइद खान, रामेश्वर चौधरी, दूधनाथ तेली र नुरुद्दिन खानलाई शहीद घोषणा, उनीहरूका हत्यारालाई कारबाही, कपिलवस्तु दङ्गामा संलग्न भएको आरोपमा जिल्ला कारागार तौलिहवामा थुनिएका १८ जना मधेशीको रिहाइ, बेपत्ता मधेशीहरूको स्थिति सार्वजनिक, मधेश प्रान्तको घोषणा, नेपाली सेनामा मधेश रेजिमेण्टको स्थापना र केन्द्र सरकारमा ५० प्रतिशत मधेशीलाई आरक्षणजस्ता माग छन्। एकमहिनाअघि यिनै मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा र गृहमन्त्रालयसम्म पुर्‍याएपनि पूरा नभएकोले आन्दोलनमा उत्रिनुपरेको आन्दोलनकारीहरूको भनाइ छ।

मोइद खानका भाइ अत्ताउर रहमान भन्छन्, “सरकारले मोइद खानको हत्यापछि उत्पन्न आक्रोशमा भएको घटनाका आधारमा कसैलाई पक्रिने र मुद्दा चलाउने काम गर्नुहुँदैन। नयाँ छानबिन आयोग गठन गरेर नयाँ तरिकाले छानबिन गर्नुपर्दछ।” तर जिल्ला प्रहरी कार्यालयका डीएसपी कडायत सशस्त्र प्रहरीले२४ जनालाई घटना भइरहेकै बेला पक्राउ गरेको बताउँदै भन्छन्, “अदालतले दोषी पाएर नै पुर्पक्षका लागि राखेको होला। निर्दोष भएकालाई तारेखमा छाडिसकेको छ। कानून र नियम त सबैले मान्नु पर्‍यो

नि!” घटनाका दोषीलाई कारबाही नगर्न दबाब दिने उद्देश्यले गरिएका आन्दोलनका कार्यक्रमले दण्डहीनतालाई प्रश्रय दिने र भविष्यमा अझ् ठूला घटना हुनसक्ने सम्भावना निम्त्याएका छन्।
उत्पीडित मधेशी संघर्ष समितिका नाममा आन्दोलन शुरु भएपछि विस्थापित पहाडे समुदायले पनि आफूहरूको पुनर्स्थापना हुन सुरक्षाको लागि हतियार दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्। हतियार चलाउन जान्नेहरूका लागि प्रत्येक वार्डमा २० वटा हतियार, सिंचाई, विद्युत्जस्ता पूर्वाधार भए मात्र आफूहरू पुरानो ठाउँमा फर्कनसक्ने खुरुरियाबाट विस्थापित गिरी श्रीस मगर बताउँछन्।

माओवादीको डर

मोइद खानको हत्या हुनुअघि चन्द्रौटादेखि दक्षिण–पश्चिम क्षेत्रमा छिर्न नसकेको माओवादी अहिले ठाउँ–ठाउँमा क्याम्प राखेर बसेपछि मधेशी मूलका, विशेष गरी शाही शासनकालमा प्रशासनको सहयोगमा प्रतिकार समिति गठन गरेर माओवादीविरुद्ध उत्रिएकाहरू डराएका छन्। सो क्षेत्रमा एकलौटी वर्चस्व राख्दै आएको मोइद परिवार आफ्नो वर्चस्व गुमेको र माओवादीको प्रभाव बढेको हुनाले पनि भारतमा विस्थापितहरूलाई अगाडि सारेर आन्दोलनमा लागेको हुनसक्छ। माओवादीको डरले घर फर्कन नसकेकाहरूलाई सबै पहाडिया माओवादी भएको भान समेत परेको छ।

खानको हत्यापछि एकाएक माओवादीको उपस्थिति बढ्नु र त्यसमा प्रशासनको रोकटोक नहुनुमा उनीहरू माओवादी र प्रहरी प्रशासनको मिलेमतो पनि देख्न थालेका छन्। प्रशासनका अधिकारीहरूले मोइदको हत्या हुनु १० दिनअघिदेखि नै उनलाई सुरक्षित रहन निर्देशन दिएको प्रसङ्गलाई समेत जोडेर मोइदको परिवारमा अहिले हत्याबारेप्रशासनलाई पूर्व जानकारी भएको हुनसक्ने अनुमान गरेको छ। मोइदलाई सुरक्षित रहन खबर गर्ने इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक धर्मबहादुर सुनार भन्छन्, “मोइदलाई बाहिर हिँड्दा सुरक्षित रहनू र एक्लै नहिँड्न भन्नू भन्ने एसपी सा'बको निर्देशनअनुसार मैले खबर गरेको हुँ।”

माओवादीलाई स्थानीय प्रशासनले सहयोग नगरे लट्ठीका भरमा आफैँ प्रतिकार गर्न सक्छौँ भन्ने मोइदका अर्का भाइ अफताब आलम खानको भनाइले पनि उनीहरूको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी माओवादी नै भएको पुष्टि हुन्छ। २० मङ्सिरमा कपिलवस्तुको वीरपुर कुदरवेटास्थित मोइद खानको घर पुगेको यो संवाददातालाई अफताव र डा. मन्जुर खाँले फोटो छापिएपछि अरूले चिन्न सक्छन् भन्ने डरले फोटो नखिच्न अनुरोध गरे। यो परिवारमा अहिलेसम्म माओवादीको आक्रमणबाट तीन जनाको ज्यान गइसकेको छर उनीहरूको दावीअनुसार मोइद खानको हत्या पनि माओवादीले नै गरेको पुष्टि भएमा यो सङ्ख्या चार पुग्नेछ। २०६१ सालमा माओवादीले मोइद खानको घरमा आक्रमण गरेपछि महिला र बालबच्चासहित १४ जनाको मोइदको परिवार भारतमा बस्दै आएको छ। ३० भदौअघिसम्म कुदरवेटामै बस्दै आएका मोइदका भाइ र उनीहरूका छोरा पनि त्यसपछि रात बस्ने गरी घर आएका छैनन्।

राजनीतिक स्वार्थमा प्रयोग

कपिलवस्तु घटनापछि भारत र नेपालका विभिन्न ठाउँमा विस्थापितहरूको समस्या सुल्झाउने भन्दा पनि त्यसलाई राजनीतिक स्वार्थमा प्रयोग गर्ने काम भएको छ। कपिलवस्तुमा क्रियाशील राजनीतिक दलहरूले पनि समन्वयको प्रयास गरेका छैनन्र यसले गर्दा पनि विस्थापितलाई उक्साउनेहरूलाई सजिलो भएको छ। विस्थापितहरूको पुनःस्थापना र सामाजिक सद्भाव बहालीका लागि अहिलेसम्म कुनै प्रयास नभएको स्थितिमा विभिन्न शक्तिले खेल्ने मौका पाएका छन्।

२४ मङ्सिरदेखि शुरु गरिएको धर्नामै राजनीतिक गन्ध भेटिन्छ। कृष्णनगर सीमा प्रहरी चौकीको अगाडि बसेर धर्नाको नेतृत्व ब्रह्मानन्द उपाध्याय, वीरेन्द्र मिश्रा, परवेज खान, अत्ताउर रहमान खानलगायतका व्यक्तिहरू मोइद खान अध्यक्ष रहेको लोकतान्त्रिक मधेशी मोर्चाका सदस्य र नजिकका मानिसहरूले गरेका छन्। वीरेन्द्र मिश्रा भन्छन्, “माग पूरा नभएपछि आन्दोलन शुरु भएको हो। हाम्रो यसमा नैतिक समर्थन छ।” अत्ताउर रहमान खान आफूहरू समाजमा शान्ति कायम गर्न लागेको र यसअघि पनि भारतमा विस्थापितहरूलाई नेपाल फर्काउन सहयोग गरेको, तर सरकार त्यसमा गम्भीर नभएको आरोप लगाउँछन्।

शान्तिपूर्ण धर्नाबाट सुनुवाई नभए हिंसात्मक आन्दोलन हुनसक्ने चेतावनी दिँदै अफताब आलम खान भन्छन्, “सुरक्षा निकायमै विश्वास छैन। जगदिशपुरमा सिडियो, एसपीकै अगाडि मान्छे मार्दा कारबाही भएन।” मस्जिदमा भएको आगजनी र जगदिशपुरमा भएका घटनालाई उठाएर पनि अहिले सेलाइरहेको वातावरणलाई तताउने काम भएको छ।

मधेशी समुदायका नाममा अहिले कपिलवस्तुका विभिन्न ठाउँमा हिन्दीमा लेखिएका पर्चा–पम्प्लेट छरिएका छन्। 'मधेशी एकता–जिन्दावाद', 'इन्कलाव–जिन्दावाद' लेखिएका साम्प्रदायिकता भड्काउने खालका ती प्रचार सामग्रीमा मधेशी समुदायको अस्तित्व रक्षाका लागि इँटाको जवाफ पत्थरले दिने, लड्ने र विद्रोहका लागि तयार रहनेजस्ता कुरा उल्लेख छन् (हे. तस्बिर)। यस्ता खालका पर्चा–पम्प्लेट खामबन्दी गरेर पहाडे समुदायमा पनि पुर्‍याइएका छन्। पूर्वी तराईबाट हिंसात्मक विद्रोह सुरुआत गरेको तराई जनतान्त्रिक मुक्ति मोर्चाले मोइद खानको हत्याविरुद्ध ५–६ असोजमा आह्वान गरेको तराई बन्दमा पनि यस्तै विज्ञप्ति निकालेर मोइद समर्थक र हिजो माओवादी प्रतिकार समितिमा संलग्न मानिसहरूलाई आफ्नो पक्षमा तान्ने कोशिश गरेको थियो।

यसले हिंसात्मक विद्रोहमा लागेका मोर्चा जस्ता समूहहरू कपिलवस्तुमा मोइदको हत्यापछि उत्पन्न परिस्थितिको फाइदा उठाउन लागिपरेका पुष्टि गरेको छ। भारतमा बसेकाहरूलाई तराई जनतान्त्रिक मुक्ति मोर्चाले पनि उक्साइरहेको छ। जनतान्त्रिकका पश्चिम कमाण्ड इन्चार्ज आजाद कृष्णनगरपारि बसेका मानिसहरूसँग बरोबर भेट्ने गर्छन्। मोर्चाले दुई साताअघि कृष्णनगर र चन्द्रौटाको बीचमा रहेको सुरइ नदीको किनारमा झ्ण्डा गाडेर र हवाई फायर गरेर आफ्नो उपस्थिति देखाएको थियो।

यता पहाडे मूलका विस्थापितहरूका शिविरमा पुगेर माओवादीले उनीहरूलाई 'राम्रो ठाउँमा जग्गा पाइन्छ' भनेर उचाल्ने काम गरेका छन्। माओवादी कपिलवस्तुका सेक्रेटरी सञ्जिवकुमार भन्छन् “जनताले सहयोग चाहियो भनेको हुनाले पाँच ठाउँमा शिविर राखेर काम गरेका हौँ।”

संवादको प्रक्रियाबाट शुरुमै समस्याहरूलाई सम्बोधन नगर्दा भोलि अरू जटिल समस्या थपिनसक्ने चन्द्रौटाका बुद्धिजीवी साधुराम खनाल बताउँछन्। “प्रतिशोधको भावना जागेको छ। यसले समस्याको समाधान हुँदैन”, उनले हिमाल लाई भने।

मुकेश पोखरेल