![]() |
| पूर्णाङ्क २०८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
स्थलगत तराई चुपचाप विस्थापन
राज्यले सही सम्बोधन गर्न नसक्दा पहिचान, अधिकार र सामेलीका लागि शुरु भएको मधेश आन्दोलन पहाडे समुदायलाई पुस्तौंदेखिकोथातवासबाट विस्थापित गराउने डरलाग्दो मोडमा आइपुगेको छ। तराईमा बसोबास गर्दै आएका पहाडेहरू चुपचाप वासस्थान छाड्न थालेका छन्। किरण नेपाल, मध्यतराईबाट फर्केर पहिचान, अधिकार र सामेलीका लागि भएको मधेश आन्दोलन उत्कर्षमा पुगेको एक वर्ष नबित्दै तराईको समाज सामुदायिक विद्वेषको खतरनाक मोडमा आइपुगेको छ। मधेश आन्दोलनताका र त्यसपछि पनि आफूहरूप्रति व्यक्त आक्रोशले मानसिक र भौतिक रूपमा असुरक्षित महसूस गर्दै तराईका शहर, बजारदेखि दूरदराजका देहातहरूमा वर्षौँदेखि बस्दै आएका पहाडे परिवार 'आफ्नो बस्ती' खोज्दै उत्तरतिर लाग्न थालेका छन्। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट सयौँ पहाडे परिवारहरू काठमाडौँ, चितवन, हेटौँडा, धरानसँगै राजमार्गका पहाडे बहुल क्षेत्रमा विस्थापित भएका छन्। हिजो माओवादी हिंसाका क्रममा देशका विभिन्न भागबाट विना गन्तव्य हुलका हुल भएको विस्थापनको तुलनामा आफन्तको सहयोगमा कुनै निर्दिष्ट स्थानका लागि एक्लो–दुक्लो भइरहेका कारण तराईको विस्थापन अझै ओझ्ेलमै छ। सम्पत्ति निखारी नसकेको तथा नातागोता, खेतीकिसानी र जागिर त्यसै क्षेत्रमा भएको कारण पनि तराईको विस्थापन चुपचाप भइरहेको हो। १८ मङ्सिरमा हेटौँडाको कमाने क्षेत्रमा पुग्दा सन्तपुर दोस्तिया, रौतहटकी सरस्वती सापकोटा जग्गा खोज्ने तरखरमा थिइन्। ५ वैशाख २०६३ मा आफ्नोसहित पहाडेका सात घरमा डाँका पसेपछि सबै परिवार गाउँ छाड्ने निधोमा पुगेको र अहिलेसम्म ४९ पहाडे परिवारमध्ये ११ ले गाउँ छाडिसकेको सरस्वती बताउँछिन्। उनका अनुसार त्यो रात डाँकाले सम्पत्ति मात्र लगेनन्, 'पहाडिया के मार् मार्' भन्ने नारा समेत लगाए। सरस्वती भन्छिन्, “त्यस्तो नारा लागेपछि हामीले डाँका पसेको मात्र होइन, पहाडिया भगाउनै खोजेको बुझयौँ।” सोही गाउँबाट विस्थापितमध्ये देवी पौडेल, बलराम बराल, गुरुदत्त सुवेदी, कमल पौडेल हेटौँडा आएका छन् भने विष्णु सुवेदी पोखरा पुगेका छन्। वछनपुरवा–४, बाराका गोविन्द कोइराला र सत्यराज सुवेदी तथा कोलबीका पूर्ण श्रेष्ठ पनि हेटौँडा आएका छन्। सन्तपुर दोस्तियाको जग्गाजमिन बेचेर गाउँ छाड्ने मनस्थिति बनाएका सूर्यराज सुवेदी पनि हेटौँडामै भेटिए। २५ वर्षदेखि त्यहाँ बस्दै आएका सूर्यराज भन्दैथिए, “माओवादीको त्रासबाट बल्ल पार पाइएको थियो, अहिले उठिबास नै भयो।” गाउँमा अहिले कसैको घरमा टिभी छैन। एकसरो भाँडा र ओढ्ने ओच्छ्याउने बाहेक केही देखिँदैन। सूर्यराज भन्छन्, “दुई जना पाहुना आए भने पकाउन बाहन लाउनु र खान पालो कुर्नुपर्छ।” गाउँमा सेलर मिल चलाउँदै आएको पौडेल परिवारले यसअघि पनि माओवादी र जनतान्त्रिकलाई पटक पटक चन्दा दिँदै सम्झौता गर्दै आएका थिए। पछिल्लो पटक गएको वैशाखमा रु.७५ हजार चन्दा दिन नसक्दा जनतान्त्रिकका कार्यकर्ताले नाति हरिप्रसादलाई अपहरण गर्न खोजेपछि रु.२० हजार दिएर छुटाए। तर फेरि पनि चन्दाको माग भएपछि झ्ण्डै रु.७ लाख खर्च गरेर बनाएको पक्कीघर साढे तीनलाख र रु.४ लाख विघामा कारोबार हुन थालेको ठाउँको जग्गा रु.२ लाखमा बेचेर उनी हेटौँडा आइपुगे। पौडेल भन्छन्, “मधेशीहरू सबै नराम्रा छैनन्, कतिपटक अरूहरूले पहाडेलाई खेद्ने भन्दा स्थानीय मधेशीहरूले दिएका थिएनन्। तर बाहिरियाले खेले।” रौतहटकै विश्रामपुर–८ मा पर्ने बलेरी गाउँ, चाँदी खोलापारि एकलासमा पर्छ। 'जनयुद्ध'का बेला माओवादीको अत्यधिक चलखेल भएको झ्ण्डै ७० घरधुरीको यो गाउँ अहिले पूरै विस्थापित हुने स्थितिमा छ। गाउँ छाडेर चन्द्रनिगाहपुरमा बस्दै आएका रामचन्द्र तिमिल्सिनाका अनुसार अहिलेसम्म ४० परिवार विस्थापित भएर चन्द्रनिगाहपुर, सिन्दुरेघारी, हेटौँडा र काठमाडौँतिर लागेको छ। ४२ वर्षदेखि बलेरीमा बस्दै आएका तिमिल्सिना भन्छन्, “सोझ्ै गाउँ छाड भन्न त कोही आएन, तर महिनाको तीन–तीन पटकको डकैती, दिनदहाडै खाद्यान्न, बस्तुभाउ लगिदिएपछि बस्न सकिएन।” तिमिल्सिनाको भनाइमा समनपुर, सुन्दरपुर, धरमपुरलगायतका गाउँहरूबाट विस्थापित हुने पहाडे परिवारको सङ्ख्या ठूलो छ। ३० चैत २०६३ मा भएको डकैतीमा गोली लागेका बलेरीकै गोपाल धिताल अहिले १० जनाको परिवारसहित चन्द्रनिगाहपुरमा बस्दै आएका छन्। उनकी छोरी तारा धिताल भन्छिन्, “पढ्ने वातावरण नै भएन, पछि भाइबहिनीलाई पनि यतै ल्याइयो।” आफ्नो क्षेत्रमा काम गर्न नसकेर विस्थापित डुमरिया परवाहाका गाविस सचिव चित्र गिरीले धादिङ सरुवा गराएका छन्। ५० वर्षदेखि गौरमा बस्दै आएको गिरी परिवार त्यहाँको सम्पूर्ण जायजेथा बेचेर चन्द्रनिगाहपुर सरेको छ। उनी भन्छन्, “चन्दा आतङ्क र असुरक्षा दुवै समुदायमा छ। तर मधेशीहरूमाथिको चन्दा आतङ्क केही रकमको लेनदेनमा सीमित छ भने पहाडेहरूको ज्यान नै खतरामा छ।” गिरीको भनाइमा झ्ण्डै दुई दर्जन पहाडे परिवार गौर छाडेर हिँडिसकेका छन्।
पहाडे बस्तीका रूपमा चिनिने जनकपुर नगरपालिकाका भानुचोक, मुरलीचोक, ब्रह्मपुरी, सिमि्रक नगर, नमूनाबस्ती आदिमा अहिले पहाडेहरूको सङ्ख्या घट्दो छ। परिवारका सबै सदस्यलाई जनकपुर बाहिर पठाइसकेका नमूनाबस्तीका महेन्द्रराज थापा (५२) यो संवाददाता पुग्दा घरमा एक्लै साग केलाउँदै थिए। पहाडेहरूको विस्थापनको समाचार सङ्कलन गर्न आएको बताउँदा भावुक भएका थापाले भने, “करिब–करिब यो टोल नै विस्थापित भएको छ। घर बेच्नेहरूको सङ्ख्या बढ्दो छ। बेच्न नभ्याएकाहरूको घर छ, मान्छे छैनन्। बसेकाहरूले पनि छोरीबेटीलाई बाहिरै राखेका छन्।” “पहाडे चोर देश छोड भन्ने नारा त चर्को हो नि हैन”, भन्दै थापाले प्रश्न तेर्स्याए, “देश छाडेर कहाँ जाने? मेरो त पहाड घर कहाँ हो नै थाहा छैन। सात पुस्तादेखि तराईमा बस्दै आएको छु।” थापाका अनुसार पुण्डरी रेग्मी, मुरारी घिमिरे, जनार्दन ढुङ्गाना, रामेश्वर गौतम, हरिप्रसाद दुलाल, जङ्गीप्रसाद ढुङ्गाना, रमेश घिमिरे, हरि ठकुरीलगायतका करिब ३० परिवार नमूनाबस्तीबाट हिँडिसकेका छन्। भन्छन्, “घर बेच्दिनँ भन्ने पहाडे परिवार जनकपुरमा एउटै पाउनुहुन्न।” ७ वैशाख २०६४ मा घरमा डाँका पसेपछि हरि ठकुरीसँगै बस्तीका अन्य पहाडे परिवारलाई पनि विस्थापित गरायो। डकैतीको क्रममा हात र पेटमा गोली लागेका ठकुरीको परिवार अहिले धरान पुगेको छ। जनकपुर चुरोट कारखानामा कार्यरत ठकुरी १९ मङ्सिरमा पेटमा लागेको गोली निकाल्न धरान जाने तरखरमा थिए। परिवारको विस्थापनसँगै ठकुरीलाई शैक्षिकसत्रको बीचमा आएर क्याम्पस पढ्दै गरेका दुई छोरी र तीन कक्षामा अध्ययनरत् छोराको स्कूल–कलेज सार्नु परेको छ। त्रास यति छ कि ठकुरी अहिले आफू बस्दै आएको जनकपुरको ठेगाना खुलाउन चाहँदैनन्। प्रतिकार गर्ने क्रममा डाँकाहरूमा पनि क्षति पुगेको थाहा पाएका ठकुरी अहिले आफ्नो ज्यान खतरामा रहेको बताउँछन्। उनी भन्छन्, “त्यो समूह डाँकाको मात्र नभएर साम्प्रदायिकता निम्त्याउने गिरोहकै थियो।” झ्ण्डै ६० वर्षदेखि भानुचोकमा बसोबास गरिरहेका ८३ वर्षीय जयप्रसाद पोख्रेल र ८१ वर्षीया पूण्यदेवी पाँच महिनादेखि हेटौँडाको कर्रा खोलाछेउमा बस्दै आएका छन्। एक्लो छोरालाई कथं केही भइहाल्ला भन्ने त्रासमा यी वृद्ध दम्पतीले तिनकै शब्दमा 'मर्ने बेलामा पूण्यभूमि' छाडे। अहिले पनि जनकपुरमै जागिर रहेको र खेतीपाती अझै बिक्री गरी नसकेको कारण नाम खुलाउन नचाहेका पोख्रेल दम्पतीका छोराले भने, “कुनै चेतावनी पाएर भन्दा पनि कपिलवस्तुमा जस्तो अचानक घटना व्यहोरेर सबै कुरा गुमाउँदै भाग्नुपर्ने अवस्था नआओस् भनेर हो। म भइनँ भने त मेरो परिवारको विचल्ली नै हुन्छ!” यी केही उदाहरण हुन्, तराईबाट विस्थापित पहाडेहरूको। अहिले पनि आफूले छाडेर आएको ठाउँमा भएका नातागोता, सम्पत्ति र व्यक्तिगत सम्बन्धका कारण उनीहरू खुल्न चाहँदैनन्। मलंगवाबाट विस्थापित भएर लालबन्दीमा बस्दै आएका एक पूर्व नगर सभासदले भेट्न परै जाओस्, टेलिफोनमा समेत बोल्न रुचाएनन्। सर्लाहीका एक पत्रकारको भनाइमा करिब डेढसय पहाडे परिवार रहेको मलंगवाबाट झ्ण्डै एक दर्जनले शहर छाडिसकेका छन्। जनकपुर, नमूनाबस्तीका महेन्द्रराज थापा भन्छन्, “मधेशी पहाडेबीचको साम्प्रदायिकताको फाटो योविघ्न बढेको छ कि विस्थापित हुनेहरूबीच को बाहुन, को क्षेत्री, को नेवार, को राई, को लिम्बू केही हेरिएको छैन, बस हेरिएको छ त पहाडे को भन्ने।” अधिकांश विस्थापितले पहाडे बाहुल्य क्षेत्रलाई आफ्नो नयाँ बसाबासको स्थान बनाएका छन्। हेटौँडाको कमाने, मनकामना चोक आसपासमा मात्रै रौतहट र बाराबाट करिब ४० घरपरिवार विस्थापित भएर आएको छ। हेटौँडा–५ का पूर्व वडाध्यक्ष तथा हाल जग्गाको कारोबार गर्दै आएका अर्जुन ढुङ्गेलमार्फत् मात्रै करिब १० विस्थापित परिवारले घडेरी किनेका छन्। हुप्रचौर, कमाने लगायतका हेटौँडाका ७, ८, ९ नं. वडामा अहिले मधेशबाट विस्थापित भएर आउनेहरू थुप्रिएका छन्। ढुङ्गेलको भनाइमा हेटौँडा आउनेको सङ्ख्या मात्रै करिब तीन सय पुगिसकेको छ। विस्थापितहरूको बढ्दो आगमनले हेटौँडाका यी क्षेत्रका जग्गाको मूल्य आक्कासिएको छ। ६ महिना अघिसम्म कमानेमा एक–डेढ लाख रुपैयाँ कट्ठामा हुने जग्गाको कारोबार अहिले दुई–अढाई लाखमा पुगेको छ। जग्गाभन्दा पनि घरै किन्नेहरू देखिएका छन्। ढुङ्गेल भन्छन्, “वर्षौँदेखि बिक्री नभएका पानी चुहिने घरहरू समेत अहिले बिकेका छन्।” विस्थापितहरूको भनाइमा अहिले तराई नछाडिसकेका पहाडे परिवारले पनि हुर्केका छोरीबेटीलाई पढाउने वा अन्य यस्तै बहानामा काठमाडौँ, हेटौँडा, धरान, इटहरीलगायतका स्थानमा आफन्तकहाँ वा डेरा खोजेर राख्ने गरेका छन्। जनकपुरमा विज्ञान पढ्दै गरेकी छोरीलाई महेन्द्रराज थापाले मधेश आन्दोलनकै क्रममा काठमाडौँ पठाएका थिए। डकैतीको नाममा बाराको बछनपुर मुसहर्नियामा छोरीबेटीमाथि दुर्व्यवहार भएपछि त्यस क्षेत्रका मानिसहरूले आत्मसम्मानको लागि गाउँ छाड्न थालेका छन्।
सहकर्मी प्राध्यापक ईश्वरप्रसाद उपाध्यायले जनकपुर छाड्दा आफ्नो घरमा रुवावासी भएको सुनाउँछन्, रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. भोगेन्द्र झा। प्राध्यापक जस्तो व्यक्ति समेत विस्थापित हुन्छन् भने यहाँ को बस्छन् भन्ने परिवारका सदस्यहरूको प्रश्नको जवाफ डा. झासँग थिएन। उनी भन्छन्, “हाम्रो नजरबाट हेर्दा उहाँले छाड्नुपर्ने स्थिति थिएन। तर विगतका घटनाका आधारमा व्यक्तिगत सुरक्षालाई लिएर जुन हदसम्मको त्रास पहाडे परिवारहरूमा उत्पन्न भएको छ, त्यसले उहाँको निर्णयलाई अतिरञ्जित भन्न पनि मिल्दैन।” डा. झाको भनाइमा पछिल्लो समयमा मधेश अधिकारकै नाममा केही शक्तिहरू साम्प्रदायिक सद्भाव बिगार्ने काममा लागेका छन्। विस्थापित हुन् वा अझैसम्म तराईमा बस्दै आएका, अधिकांशको भनाइमा तराईका पहाडे समुदायले भोग्नु परेको अत्याचारमा रैथाने मधेशीहरूको संलग्नता छैन। उनीहरूकै शब्दमा यो सबै 'नयाँ नागरिक' हरूबाट भएको हो, जसको सङ्ख्या राज्यको अकर्मण्यताका कारण बढ्दो छ। फेरि मधेश अधिकारकै लागि लड्नेहरूले राजनीतिक स्वार्थवश भविष्यको ख्यालै नगरी अर्को समुदायप्रति पोख्ने आक्रोशले पनि हुर्कँदो पुस्तामा विषको काम गरिरहेको छ। जनकपुरबाट विस्थापित भएर हेटौँडा बस्दै आएका पोख्रेल परिवारका ती सदस्य स्थानीय मधेशी साथीभाइले जानुहुन्न भन्दै सम्झाएको बिर्सँदैनन्। तर भोलि कथं चार–पाँच सयको भीड आफ्नो घरमा प्रवेश गरेको खण्डमा दुई–चार जना साथीभाइको केही नचल्ने बताएपछि उनका मधेशी शुभचिन्तकहरू नाजवाफ भए। उनी भन्छन्, “अधिकारको नाममा 'पहाडिया चोर...' को नारा लगाउँदै पहाडे समुदायप्रति घृणा भरेर हातमा डण्डा थमाई सडकमा उतारिएका कलिला किशोरहरूमा भोलि गएर पहाडेप्रति कस्तो मनोभावना होला, सम्झ्ँदै मन भरङ्ग हुन्छ।” माघ, २०६३ को मधेश आन्दोलनको क्रममा कतिपय स्थानमा पहाडेहरूको घर खोजी खोजी लुटपाट र तोडफोड भए। तर मधेशी र पहाडे समुदायका स्थानीय अगुवाहरूको प्रयासमा स्थितिलाई थप भड्किन दिइएको थिएन। तर आन्दोलनका क्रममा पहाडे समुदायलाई लक्षित गरेर लगाइएका नाराले समुदायगत हिसाबले प्रत्येकको दिमागमा जमाएको पकडलाई निकाल्न सकेन। परिणाम; मधेशमा हुने हरेक किसिमका अपराध र अराजकतामा 'मधेशी–पहाडे' भावनाको रंग पोतिन थाल्यो। त्यससँगै तराईमा आफ्नो समुदायले व्यहोर्नु परेको अराजकताको विरोधमा राजमार्ग र आसपासका क्षेत्रमा चुरे–भावरको नाममा भएको पहाडेहरूको प्रदर्शनले दुई समुदायबीचको अविश्वासलाई अझै बढाउने काम गरेको छ। यद्यपि अझै तराईमा बस्दै आएका केही पहाडेहरूको भनाइमा चुरे–भावरका कारण पहाडेलाई सो स्थानमा बस्नका लागि सन्तुलन बनाएको छ। मधेश आन्दोलनका क्रममा उब्जेको त्रास र चुरे–भावरका कारण फैलिएको अविश्वासका बीच आफ्नो जीवनशैलीमा सम्झौता गरेर भएपनि बस्दै आएका पहाडे समुदायलाई गौर र कपिलवस्तुको घटनाले 'मधेशमा बस्न नहुने' निर्णयमा पुर्याएको बुझन सकिन्छ। पहाडे–मधेशीबीच दूरी देखिएको स्वीकार्दै जनकपुरका पूर्व मेयर वृषेशचन्द्र लाल दास भन्छन्, “एकातिर आन्दोलन उठ्यो, अर्कोतिर प्रतिकार जुलुस निस्कियो। त्यसले साम्प्रदायिक सद्भाव बिगार्नमा मद्दत पुर्यायो।”
मधेशबाट भइरहेको पहाडेहरूको विस्थापनलाई सामान्यीकरण गर्न नहुने बताउँदै पूर्व मेयर दास भन्छन्, “पहाडे गइदिँदा आफूले फाइदा पाउने भन्ने पनि होलान्, तर त्यसलाई सामान्यीकरण गर्न मिल्दैन। मधेशले समानताको हक पाउने वित्तिकै त्यस्ता व्यक्तिहरू पाखा लाग्छन्। पहाडेहरू जति धेरै मधेशमा ओर्लन्छन्, त्यति नै यहाँको समाज मिश्रित हुन्छ र मधेशमा शान्ति छाउँछ।” ६ मङ्सिरबाट मधेशी जनअधिकार फोरमले पुनः आन्दोलन गर्ने घोषणा गरेपछि सर्लाहीको सदरमुकाम मलंगवा त्रस्त हुनपुग्यो। एक दिनकै लागि भएपनि काम सकेर लालबन्दी, हरिऔनतर्फ लाग्नेहरू निक्कै भए। उता एकवर्षअघि नै फोरमको आन्दोलनको क्रममा धनुषाको किसानपुरमा दुई समुदायबीचको झ्डपमा भएको एकजनाको मृत्युको घटनाले निम्त्याएको सामाजिक फाटो अझै कायम छ, जसका कारण प्रहरीको लिष्टमा जिल्लाकै सबैभन्दा संवेदनशील क्षेत्र बन्न पुगेका छन्― किसानपुर, भगवानपुर, भिमान र धारापानी। आन्दोलनको क्रममा निकालिएको विरोध जुलुसमा सहभागी शिवशङ्कर यादव पहाडेबस्तीमा भएको मूठभेडमा मारिएका थिए। यसलाई मधेशी समुदायले हत्या भनेका छन् भने पहाडेहरूले झ्डपका क्रममा भएको दुःखद् घटना। प्रहरीले आफूकहाँ परेको जाहेरीको आधारमा नौ जनालाई पक्राउ गरेर कारबाही चलाएको घटनाले दुवै समुदायबीचको फाटोलाई कम पार्न सकेन। किसानपुरका राजाराम यादव भन्छन्, “अहिले फलानोले घटना गरायो वा फलानोले पक्राउ गरायो भनेर दुवै समुदायबीच तूष बढ्दै गएको छ, जसले गर्दा एकअर्काको बस्तीमा सजिलै जान नसक्ने अवस्था सिर्जना भएको छ।” चार वटा हाटबजार भएको यो गाविसमा तीन वटा पहाडे र एउटा मधेशी बस्ती छन्। दुवै समुदायले आफ्नो खेतदेखि अस्पताल, गाविस भवन जहाँ जान पनि एकअर्काको बस्ती भएर नगइहुन्न। यादव भन्छन्, “एकदमै गाह्रो छ!” उता घटना भएको स्थान भिमानका बासिन्दाहरूको भनाइमा चाहिँ विरोध जुलुस निकाल्ने नाममा राति आठ बजेपछि 'पहाडे चोर देश छोड' भन्दै पहाडे बस्तीमा प्रवेश गरेका आन्दोलनकारीले बल्दै गरेका टायरका टुक्रा घर–घरमा फालेपछि भिडन्त भएको हो। पहाडेहरू भागुन् भन्ने आशयमा त्यो हदसम्मको त्रास सिर्जना गर्न खोजेको आरोप तिनको छ। हत्याकै अभियोगमा पक्राउ परेका मध्ये एक नरेन्द्र राईका पिता पूर्व गाविस सदस्य सोमबहादुर राईको भनाइमा जे हुनु नराम्रो भयो, तर त्यो घटना हुनुमा आन्दोलनकारीहरूको भूमिका पनि कम थिएन। राई पनि घटनापछि फाटो बढेको स्वीकार्दै भन्छन्, “एकअर्काप्रति विश्वास छैन।” अहिले सामान्य घरजग्गा विवाद, राजनीतिक प्रतिस्पर्धा, व्यक्तिगत रिसइवीमा समेत मधेशी–पहाडेको रंग दिन थालिएको छ। व्यक्तिगत झ्गडामा नै किन नहोस्, एउटा समुदायको मानिस अर्कोबाट पिटिन्छ भने आक्रोश समुदायकै विरुद्धमा ओर्लिन्छ। सर्लाहीका पत्रकार राजेश मिश्रको भनाइमा अहिले नवलपुरमा मधेशी पिटिएको हल्ला मात्रै पुग्नुपर्छ, मलंगवामा पहाडेको चार–पाँच घरमा तोडफोड भइहाल्छ। साम्प्रदायिक अविश्वासले समाजबाट विवेकलाई पर पुर्याइदिएको छ। केही समयअघि नवलपुरमा भएको सिडी चक्का विवादमा मधेशीले पहाडे पिट्दा पहाडेहरूले केही मधेशीका मोटरसाइकल तुरुन्तै जलाइदिएका थिए भने सोही स्थानमा दुई जना मधेशीको लाश छ भन्ने हल्लाकै आधारमा मलंगवामा पहाडेहरूको चार वटा पसल तोडफोड भएको थियो।
अराजकताको पराकाष्ठा पहाडेले हेपेको भन्ने कुरालाई राजनीतिक नारा मात्र मान्छन्, सन्तपुर दोस्तियाका सूर्यराज सुवेदी। उनको भनाइमा केन्द्रमा सरकारी नीति के छ थाहा छैन, तर पहाडे बस्ती बढेपछि नै देहातमा मधेशीहरूको समेत भलाइ भएको हो। उनी भन्छन्, “२५ वर्षअघि सन्तपुर दोस्तिया पुग्दा साढे दुई किलोको बनिहारी (ज्याला) थियो, पहाडेहरूले नै पसेरी (पाँच किलो) दिन थाले। बढी बनिहारी किन दिएको भन्दै मधेशी महाजनहरू झ्गडा गर्न आएका थिए, अब शोषक को तपाइँ आफैँ भन्नुस्!” वीरगञ्जका पत्रकार चन्द्रकिशोर झाका शब्दमा अहिले 'मधेशी–पहाडे'का रूपमा मधेशी समाज चरम ध्रुवीकरणतर्फ लम्किरहेको छ। एकापस प्रतिको अविश्वास बढ्दो छ, जसको मुख्य कारण मधेशको मागप्रति राज्यले देखाएको उदासीनता तथा मधेशमा आफूलाई स्थापित गर्न विभिन्न शक्तिहरूद्वारा दिने गरिएको अतिवादी नारा हो। उनी भन्छन्, “अन्तर सामुदायिक अतिवादले झ्न ध्रुवीकरण बढाइरहेको छ।” अहिले मधेशी समाज बहुल जाति भन्दा पनि एकल जातिको नाराबाट ग्रस्त छ। राज्यसत्ताप्रतिको विद्रोहका क्रममा आफ्नो राजनीतिक हैसियत प्राप्तिका लागि अर्को समुदाय विरुद्ध नारा उरालिएको छ। मध्य तराईको एक जिल्लाका एसपी भन्छन्, “पहाडे विस्थापित हुनुहुँदैन भन्ने मधेशीहरू त छन्, तर तिनले पहाडे छोडो भन्नेहरूलाई मानसिक र भौतिक रूपमा परास्त गर्न सकेका छैनन्।” पत्रकार झाको भनाइमा अहिले मधेशमा तर्क र विवेकले काम गरिरहेको छैन, बरु मधेशी अधिकारका नाममा चर्का नारा प्रभावी भइरहेको छ। उनी भन्छन्, “जो तर्क, विवेकको कुरा गर्छ ऊ अल्पमतमा पर्छ, यदि उसको प्रभाव बढ्न थाल्यो भने मारिन पनि सक्छ। सिरहाका वेचन यादवको हत्या यसकै उदाहरण हो।" राज्यको उदासीनताकै कारण अहिले मधेशमा शान्तिकामीहरू पछाडिपरेका छन्। मधेशमा देखिएको जागरणलाई सही सम्बोधन गर्न राज्य असफल भयो, जसलाई हिंसारत् पक्षहरूले भजाए र शान्तिकामी मधेशीहरू पछाडि परे। सशस्त्र समूहको क्रियाकलाप र मधेश अधिकारको आन्दोलनलाई एउटै आँखाले हेर्न नमिल्ने तर्क गर्दै जनकपुरका पूर्व मेयर वृषेशचन्द्र लाल भन्छन्, “समानता चाहिएको हो; कम पनि होइन, बढी पनि होइन। तर यहाँ बराबरीको कुरा भन्नेवित्तिकै साम्प्रदायिक भनिन्छ।” मधेश आन्दोलनपछिको विकृतिले मधेशीलाई खत्तम पारेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. भोगेन्द्र झाको धारणा छ। यसले गर्दा मधेशको शिक्षा, व्यवसाय, रोजगार चौपट हुँदैछ, बालबालिकाहरूको भविष्य अनिश्चित बन्दै गएको छ। भारत र काठमाडौँसम्मका विद्यार्थीहरूलाई लक्षित गरेर खोलिएको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थीहरू छैनन्। काठमाडौँबाट पढाउन जाने प्राध्यापकहरूलाई सिमरासम्म सुरक्षित ल्याउने–पुर्याउने व्यवस्था गरिदिनुपर्छ। दिल्ली पब्लिक स्कूल, कादम्बरी स्कूल जस्ता स्तरीय शिक्षाका लागि खुलेका विद्यालयहरू सोचेअनुरुप चल्न सकेका छैनन्। हाल विस्थापित रौतहटको डुमरिया परवाहाका गाविस सचिव चित्र गिरीले अपहरणमा परेका थुप्रैका लागि मध्यस्थता गरेर रकम ओराल्ने काम गरेका थिए। लाखौँको मागलाई १०–१५ हजारमा तय गराएर उनले धेरैको ज्यान समेत जोगाए। सामान्यतः रौतहटमा अपहरणका लागि सुराकी दिनेले १५ प्रतिशत, अपहरण गर्नेले ५५ प्रतिशत र सम्बन्धित समूहको नेतृत्वले ३० प्रतिशत राख्ने गरी भागवण्डा तय हुन्छ। गिरीको प्रयासमा रकम घट्न थालेपछि उनीहरूको भागमा कम रकम पर्न थाल्यो। फलस्वरुप गिरीसँग रिसाए र ज्यानको धम्की दिन थाले। गिरीको भनाइमा राज्य संयन्त्रको निष्त्रि्कयता नै अराजकताको यो पराकाष्ठा हो।
'न हाजिरका हुजुर, ना गुमका अहसास!' मध्यतराईका एक एसपीले तराईको सुरक्षा अवस्था कस्तो छ भन्ने प्रश्नको जवाफ दिँदै उर्दू सायरीको यो हरफ सुनाएका थिए, जसको अर्थ हुन्छ― गरेको कामको पनि कुनै सुनुवाई नहुने र काम नगर्दा पनि कुनै सोधखोज नहुने। उनी भन्छन्, “कमाण्डबाट कुनै आदेश नै हुँदैन भने तल्लो तहका प्रहरीहरूले के काम गर्ने? अवस्था यस्तो छ, कुन काम गर्दा स्याब्बासी पाउँछु र कुन नगर्दा गाली भन्नेमै प्रहरी कमाण्डरहरू अन्योलमा छन्।” अहिले सर्लाहीका गाउँ गाउँ हतियारले भरिपूर्ण छ। साना हतियार राख्ने प्रवृत्ति निक्कै बढेको छ। प्रहरीको पछिल्लो कार्वाहीमा अधिकांश व्यक्ति हतियारसहित भेटिएका छन्। पक्राउ पर्नेहरूमा अधिकांश पूर्व माओवादी कार्यकर्ता र कुनै न कुनै रूपमा मधेश आन्दोलनसँग जोडिएका व्यक्ति छन्। गएको असारमा हतियारसहित पक्राउ परेका माओवादी कार्यकर्ता ठगारामलाई प्रहरीले कार्वाही गर्न सकेन। त्यस्तै भदौमा हतियारसहित पक्राउ परेका वाईसीएलका तत्कालीन जिल्ला संयोजक केशर कार्कीलाई त पार्टीले बढुवा गरेर मिथिलाञ्चल उपराज्य सदस्य बनाइदियो। आफ्ना कार्यकर्ता पक्राउ पर्नेवित्तिकै माओवादीले राजमार्ग बन्द गराएर प्रशासनलाई दबाब दिने गरेका छन्। माओवादीले कतै ज्यानमारालाई पक्राउ गर्न चक्काजाम गरेका छन् भने कतै छुटाउन। माओवादीकै सिको गरेर संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाले पनि हतियारसहित पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइका लागि केही समयअघि महोत्तरी बन्द गराएको थियो। माओवादीहरू गाउँगाउँमा हतियार लिएर हिँडछन्। माओवादीलाई प्रतिकार गर्ने कुरामा जनतान्त्रिकलाई अरूले 'आफ्नो' बनाएका छन्। बारामा एक महिनाअघि जनतान्त्रिकका एक कार्यकर्ता प्रहरीसँगको मूठभेडमा मारिए। सो घटनामा ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद भयो। यस्तै घटना रौतहटमा पनि भएको छ। तर पक्राउ परेका व्यक्तिलाई छुटाउन प्रहरीमा दलका नेता–कार्यकर्ताकै दबाब पुग्यो। जिल्लाका एक प्रहरी अधिकारीका अनुसार नेपाली काङ्ग्रेस तथा मधेशी जनअधिकार फोरम सम्बद्ध नेता–कार्यकर्ताहरूको दबाब धेरै छ। जनतान्त्रिक प्रभावित गाउँहरूमा प्रहरी परिचालन गर्दा भागाभागको अवस्था आयो। ती प्रहरी अधिकारी भन्छन्, “नेपाली काङ्ग्रेसले नै दबाब दियो, त्यसो गर्न भएन भनेर।” मध्यतराईका ती एसपीको भनाइमा सात दलले गरेको निर्णय बमोजिम अहिले तराईका आठ जिल्लामा गरिएको विशेष सुरक्षा परिचालनमा समेत तिनै दलका नेता कार्यकर्ताको प्रतिक्रिया आउन थालेको छ। राजनीतिक दलहरूमाथि दबाब पर्ने वित्तिकै यस्तो प्रतिक्रिया आउँछ। जनतान्त्रिकका कार्यकर्ता विना हतियार समातिए भने दलकै नेताहरू 'हतियार त छैन नि' भन्दै छाड्न दबाब दिन्छन्। समग्रमा मधेशमा असफल राज्यको पृष्ठभूमि तयार हुँदैछ। क्रमशः विध्वंसात्मक रूपमा राज्यको हातबाट मधेश फुत्किरहेको छ। मधेशमा बस्ने पहाडेको कारण भन्दा पनि काठमाडौँका पहाडे शासकका कारण मधेशीहरूको आक्रोश बढेको ठम्याई अधिकांश मधेशका पहाडेहरूको छ। हेटौँडा बस्दै आएका वृद्ध पोख्रेल दम्पतीका छोरा भन्छन्, “तिनको माग पूरा गरिदिँदा त्यहाँ बस्दै आएका पहाडियाहरूलाई सजिलै हुन्थ्यो, अप्ठेरो पर्दैनथ्यो।” नमूनाबस्तीका महेन्द्रराज थापा पनि समस्या मूल बासिन्दाहरूबीच नभई बाहिरबाट आएकाको भड्कावका कारण भएको बताउँछन्। उनी भन्छन्, “केही पर्दा जोगाइदिन्छौं भन्ने मधेशी साथीभाइकै आश्वासनमा त म बस्न सकेको छु।” तर सरकार कहाँ छ? थापाको प्रश्न छ। मधेशी सांसदको विद्रोह
२४ मङ्सिरमा विभिन्न दलसम्बद्ध मधेशी नेताहरू महन्थ ठाकुर, हृदयेश त्रिपाठी, महेन्द्रप्रसाद यादव, रामचन्द्र राय, सर्वेन्द्रनाथ शुक्ला, अनिस अन्सारी, रामचन्द्र कुशवाहा, वृषेशचन्द्र लाल, श्रीकृष्ण यादवले अन्याय र असमानता विरुद्धको निर्णायक शान्तिपूर्ण सङ्घर्षका लागि तराई–मधेशको 'बृहत् राजनीतिक शक्ति निर्माण अभियान'मा सामेल हुन संघसंस्था, राजनीतिक शक्ति र व्यक्तिहरूलाई अपील गरेका छन्। लामो समयदेखि नेपाली काङ्ग्रेसमा संलग्न महन्थ ठाकुर विज्ञान तथा प्रविधि मन्त्री र नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा अनुशासन समितिको संयोजकको पद त्यागेर तराई―मधेश पार्टी खोल्न अग्रसर भएपछि देशको भावी राजनीतिलाई जातीय प्रतिस्पर्धाले ग्रस्त पार्ने हो कि भन्ने चिन्ता छाएको छ। सँगसँगै शान्तिपूर्ण राजनीतिको वकालत गर्ने जिम्मेवार मधेशी राजनीतिकर्मीहरू समेतको संलग्नतामा शुरु भएको पहलले मधेशमा छाएको अराजकता र उच्छृङ्खलताको अन्त्यमा योगदान गर्न सक्ने सम्भावना पनि देखिएको छ। यद्यपि फरक फरक राजनीतिक पृष्ठभूमी भएका व्यक्तिहरूको यो झुण्ड अलमलमा परेको अर्को मधेशी जनअधिकार फोरममा परिणत हुने संभावना पनि त्यत्तिकै छ। तर 'सम्मान, स्वाभिमान र पहिचानयुक्त स्वायत्त मधेश' भन्ने उनीहरूको नाराले केही मात्रामा मधेशमा बढिरहेको आपराधीकरणलाई घटाएर पुनः राजनीतिक चेतनाको लहर फैलाउने आशा जगाएको छ। मधेशमा 'निर्णायक शान्तिपूर्ण सङ्घर्ष'का लागि बनेको नयाँ मोर्चामा लोकतन्त्र वहालीपछि पनि आपूर्ति मन्त्री बनेका सद्भावनाका हृदयेश त्रिपाठी दोश्रो नम्बरमा छन्। विगतमा केशरजङ्ग रायमाझ्ीको कम्युनिष्ट पार्टीको सदस्य भएर विद्यार्थी राजनीति शुरु गरेका त्रिपाठी बहुदलीय व्यवस्थाको आगमनपश्चात् पहिले गजेन्द्रनारायण सिंहको विश्वासपात्र र पछि विद्रोही मधेशी नेताका रूपमा स्थापित भएका थिए। स्पष्टवक्ताको रूपमा राष्ट्रिय राजनीतिमा पहिचान बनाएका त्रिपाठी राजधानीका पहाडिया समुदायका बीच पनि चर्चित छन्। एमाले र काङ्ग्रेसका अरू मधेशी राजनीतिकर्मीहरूलाई पनि यो झुण्डमा समाहित गर्ने प्रयास भइरहेको बुझिएको छ। सात राजनीतिक दलले मधेशका बाँकी जायज मागलाई सम्बोधन गर्न र राजनीतिक गतिरोध अन्त्य गर्न जति ढिलाइ गर्छन्, त्यत्ति नै चाँडो मधेशी नेताहरूको यो झुण्डले क्षेत्रीय पार्टीको स्वरुप हासिल गर्ने देखिन्छ। गाउँकै उठिबास
आरामसाथ घरमा नाति–नातिना खेलाएर बस्ने बेलामा ९५ वर्षीया दुम्सी माझ्ीले बासको लागि भौँतारिनु परेको छ। १५ वर्षअघि सुखी जीवनको खोजीमा पाँचथरबाट तराई झ्रेको माझ्ी परिवार यतिखेर आफू बस्दै आएको हरिपुर–१, सुनसरीबाट जिल्लाकै बराह क्षेत्र–६, जब्दी पुगेको छ। (हे. तस्बिर) यसपटक सुखको खोजीमा नभएर ज्यान जोगाउन हिँडेको १२ सदस्यीय माझ्ी परिवार खेतमा लगाएको धानबाली समेत काट्न नपाई विस्थापित भएको हो। सुनसरीको भण्टावारी चौकीका अनुसार उनीहरूसँगै हरिपुर–१ बाट ४६ परिवारका २०४ जना विस्थापित भएका छन्। यीमध्ये ३२ परिवार जब्दी, र बाँकी मोरङको उर्लाबारी, हँडिया, बुधबारे र झापातिर गएका छन्। जब्दीमा प्लाष्टिकको छानामुनि रात बिताउँदै आएका १६५ जना विस्थापितमा झुकुलबहादुर लिम्बूको परिवार पनि छ। २०३६ सालदेखि हरिपुरमा बस्दै आएका ५८ वर्षीय लिम्बूका अनुसार विस्थापित हुनेहरू विगत १५ देखि ३५ वर्षयता हरिपुरमा बस्दै आएका पहाडे परिवार छन्। सप्तरी र सिरहाबाट विस्थापित हुनेहरूको सङ्ख्या पनि बढ्दो छ। तर सरकारी/गैरसरकारी कुनै पनि निकायमा यकिन तथ्याङ्क छैन। पहिलेदेखि भारतीय ग्वालाहरूको अन्याय, अत्याचार सहँदै आएका हरिपुरका विस्थापितहरू पछिल्लो समयमा चन्दा आतङ्क, लुटपाट, अपहरण, छोरी–चेलीको इज्जतसँग खेलबाडसँगै केही व्यक्तिको ज्यानसमेत जान थालेपछि बढेको त्रासले आफ्नो थातथलो छाड्न बाध्य भएका हुन्। आफ्नो क्षेत्रमा चरन सकिँदै गएपछि सीमावर्ती भारतीय गाउँहरू वीरपुर, रत्नपुरा, बसन्तपट्टीतिरबाट हुल बाँधेर आउने ग्वालाहरूले धानबालीमा भैँसी चराइदिने, मौका मिले छोरीचेलीमाथि हातपात गर्नेसम्मको अत्याचार गर्ने गरेका विस्थापित पदमबहादुर तामाङ बताउँछन्। ग्वालाहरूको बढ्दो अराजकतासँगै अधिकारका लागि भएको मधेश आन्दोलनका नाममा गाउँका केही व्यक्तिहरूको रहस्यमय हत्या भएपछि उनीहरू गाउँ छाड्न बाध्य भए। एक आफन्तसँग रकम लिन १० चैत २०६३ मा धरान गएका हरिपुर–१ का तानहाङ्ग लिम्बू भोलिपल्ट ११ चैतमा सप्तरीको भारदह–१ स्थित कोशी ब्यारेजमा मृत अवस्थामा भेटिएका थिए। लिम्बू मारिएको चार महिना नबित्दै साउन २०६४ मा सोही ठाउँका टेकबहादुर कुँवर (धनकुट्टे)को गोली हानी हत्या गरियो। हत्याको जिम्मेवारी मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहले लिएको थियो। विस्थापित ५५ वर्षीया इन्द्रकुमारी राईका अनुसार कुँवरको हत्या टाइगर्सले मागेको रु.५० हजार दिन नसक्दा भएको थियो। हत्यालगत्तै टाइगर्सका कार्यकर्ताले गाउँका सबैसँग रकम माग गरे। केहीले एकपटकलाई दिए पनि, तर पटकपटक माग हुन थालेपछि ज्यान जोगाउन भाग्नु पर्यो। त्यसअघि २४ फागुन २०६३ मा मधेश मुक्ति टाइगर्सकै मानिसहरूले गाउँका ६ जनालाई अपहरण गरेर चार दिनपछि मुक्त गरेका थिए। त्यसयता लुटपाट, छोरीचेलीलाई रातभर बेपत्ता पार्ने क्रम झ्न् तीब्र हुन पुग्यो। टाइगर्सका कार्यकर्ताले नजिकैको राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षकहरूलाई समेत धपाएपछि त्यहाँ पढ्ने ५४ बालबालिकाको भविष्य समेत अन्धकार बनेको थियो। यी सबै घटनाबारे भण्टाबारी प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले केही गर्न नसकेको गुनासो लिम्बूको छ। उनी भन्छन्, “त्यसपछि पनि बस्तीबाट तिनले एकै पटक १३२ कुखुरा र १० वटा खसी लिएर गए।” विस्थापितहरूका हरिपुरका अधिकांश घरहरू पनि भत्किएका छन्। उनीहरूको भनाइमा मागेअनुसार दिन नसकेपछि टाइगर्सकै मानिसहरूले आएर भत्काइदिएका हुन्। यसैबीच, यस क्षेत्रमा चलेको चन्दा आतङ्कका कारण राजविराजका बाबा, श्याम र रघुपति राइस मिल बन्द भएका छन्। राजविराज–४ को नेपाल इन्ष्टिच्यूट अफ इन्फोरमेसन टेक्नोलोजीका सञ्चालक जनकपुर, देवी चोकका सिद्धान्त महासेठलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि इन्ष्टिच्यूट बन्द भएको छ। आतङ्ककै कारण दर्जनौँ उद्योगपति र व्यापारीहरू विस्थापित भएका सप्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोजकुमार मुन्धडा बताउँछन्। श्रवणकुमार देव, बराहक्षेत्रमा | |||||||||||||||