![]() |
| पूर्णाङ्क २०८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
ऋतुविचार
पुस लाग्यो खुसी लाग्यो यस सालको मङ्सिर महिना छोटो परेछ― २९ दिनको मात्र। यो मङ्सिर महिना यसरी छोटो भएको र छिटै सकिएकोमा ऋतुराजलाई औधी खुसी लागेको छ। खुसीको कारण मानवीय छ। सबैलाई ज्ञात भएकै कुरा हो लगनगाँठो बाँधिने महिनाहरूमा मङ्सिर एउटा हो। यसपछि पुस आउँछ र यस महिनाभरि नै परम्परागत रूपमा विवाह गर्ने–गराउने कार्य हुँदैन। अर्थात् विवाह कार्यले ब्रेक पाउँछ यस महिनामा। विवाह नभएपछि भोज–भतेर हुँदैन। भोज–भतेर नभएपछि निम्तारु नारीहरूले भोजमा जान आधुनिक फेसनमा सिँगारिनु पनि पर्दैन। ऋतुराजलाई खुसी लाग्ने कारण त्यही हो। यसपटक मङ्सिरमा दुई–चारओटा बिहेभोजमा सामेल हुने मौका मिलेको थियो ऋतुराजलाई। जाडो यस्तो चम्केको छ। रातिको बेला छ। बाहिर खुला ठाउँमा तापमान झ्रेर १० डिग्री सेल्सियस पुगेको छ। तर ऊ के देख्छ भने फेसनप्रेमी नवयौवनाहरू 'स्लीवलेस' मात्र होइन झ्न्डै झ्न्डै 'ब्लाउज–लेस' परिधानमा भोज खान आएका छन्। उनीहरू देखिन्छन् मन्दिरा वेदीलाई भरसक माथ गर्ने नत्र भने तिनीसित सेखासेख गर्ने भेषभूषामा। मन्दिरा वेदीलाई त स्याटेलाइट टिभी च्यानेलमा भारतीय कार्यक्रम हेर्नेहरू सबैले चिन्नुभएकै होला। पहिले फेसन–मोडेल रहिसकेकी मन्दिरा घाँटी र गला मात्र होइन आफ्ना दुवै चौडा काँधका साथै वक्षस्थलको उपरी भागलाई पूरै उदाङ्गो राखेर सारी लगाउने फेसन लिएर आइन्। उनको प्रस्तुतिले गर्दा हो या उनको अपरम्परागत पहिरनले गर्दा हो उनी छोटो समयमै लोकप्रिय टिभी व्यक्तित्व बन्न पुगिन्। नृत्य, गीत र फेसनका हल्काफुल्का कार्यक्रम बाहेक क्रिकेट खेलबारे टिप्पणी र विश्लेषण गर्ने हैसियतसम्म तिनले बनाइन्। मन्दिराकै फेसनबाट अभिप्रेरित भएर हो क्यार हाम्रा शहरी अधुना नवयौवनाहरू पनि सङ्कोच नमानी काँधलाई नछोपी खुलै छाडेर भोज–भतेरमा जान थालेका छन्। वातानुकूलित कक्षमा भए वा गर्मी मौसममा भए त्यसरी शरीरको निकै ठूलो हिस्सा उदाङ्गो राख्ने कामलाई बेठीक भन्न नमिल्दो हो र कसैले त्यस्तो पहिरन लगाएकामा अप्ठ्यारो अनुभव नहुँदो हो। तर यहाँ त काठमाडौँ खाल्डोको लुगलुग कमाउने मङ्सिर मासको जाडो छ। तर हाम्रा फेसनप्रेमी अधुना नारीहरू भने नाङ्गा काँधमाथि पातलो सारीको सप्को मारेर प्रकृतिलाई चुनौती दिँदै घुमिरहेका देखिन्छन्। हेर्नेलाई भने त्यो फेसन–प्रदर्शन यन्त्रणा जस्तो लाग्छ आफैँले आफैँमाथि थोपरेको। करुणाभाव जागेर आउँछ त्यो देख्दा। तापक्रम जतिसुकै तल झ्रे पनि बस्त्रको सीमा झार्ने काम त्यस्ता नवयौवनाहरूबाट रोकिने देखिँदैन। उनीहरूबाट आत्म–यन्त्रणा कार्य जारी रहिरहने देखिन्छ। अब पुस लाग्यो। अर्को एक महिना बिहे भोज हुँदैन। कम से कम एक महिनाका लागि कोमलाङ्गीहरूले फेसनका खातिर दुःख झ्ेल्नुपर्दैन। उनीहरूप्रति टीठ जागेर नै हो खुसी लागेको। कुनै पनि सहृदयीका लागि खुसी हुनुपर्ने के यो यथेष्ट कारण होइन र? पहिलेको श्रीमान गम्भीरवाला राष्ट्रिय गान खारेज गरेपछि अर्को नयाँ राष्ट्रिय गान आजै चाहिन्छ, अहिल्यै चाहिन्छ भनेर सबैले ठूलो हुट्हुटी लगाए। राष्ट्रिय गान नभए देशको गाडी नै नचल्ने, खान–पिउनु नै बन्द हुने जस्तो गरे। हतारहतार गीत छाने, हतारहतार सङ्गीत भराए। राष्ट्रिय गान बनाउन छानिएको गीतमा धुन भर्ने सङ्गीतकारले चित्तबुझदो तरिकाले सङ्गीत सज्जा गर्न नपाई संसदमा प्रस्तुत गर्ने ठेगान गरे। संसदबाट करतल ध्वनिका साथ त्यो पारित पनि गरे। सबैले टिभीमा हेरे अनि रेडियोमा नयाँ राष्ट्रिय गान सुने। नयाँ नेपालको नयाँ राष्ट्रिय गान सृजना गर्ने गीतकार तथा सङ्गीतकार पुरस्कृत पनि भए। नयाँ राष्ट्रिय गानबारे समाचार र विश्लेषण पनि लेखिए। तर त्यसपछि त्यो नयाँ राष्ट्रिय गान कसैले गाएको, त्यसको धुन कसैले बजाएको कतै सुनिएन। कम से कम यी कानले त सुनेनन्। संसदबाट नयाँ राष्ट्रिय गान सदर गरिएको यतिका महिनापछि बल्ल 'काठमान्डू माउन्टेन फिल्म फेस्टिभल'मा देखाइएको प्रणय लिम्बूको 'नबिर्स, तर क्षमा देऊ' भन्ने डकुमेन्ट्रीमा यस टुँडोबाजले त्यो गीत सुन्न पायो। अनि लाग्यो, हाम्रो नयाँ राष्ट्रिय गान यो पो हो त साँच्चि! जुन हुट्हुटीका साथ राष्ट्रिय गान तयार पारिएको थियो त्यस्तै तत्परताका साथ त्यसलाई फैल्याउने/फिँजाउने काम थालिएको भए पो त्यो मान्छेको मन–मस्तिष्कमा टाँसिन्छ। नत्र कता–कता सुने सुनेको जस्तो मात्र लाग्छ― न गीतको गेडा आउँछ न धुन। 'नहुँदा कस्तो कस्तो, हुँदा सस्तो' भनेको चाहिँ यही राष्ट्रिय गान हो कि क्या हो?
माननीय र सम्माननीय कतिपय मानिस यस्ता हुन्छन् जो प्रमुख अतिथि को छ त्यो थाहा नपाई कुनै सार्वजनिक कार्यक्रममा जाँदैनन्। उनीहरू पहिल्यै सोध्छन् प्रधानमन्त्री वा कुन मन्त्री छन् प्रमुख अतिथि भनेर, मानौँ मन्त्रीहरूको काम रिबन काट्ने वा पानसमा दियो बाल्ने मात्र हो। कुनै कलाकार, साहित्यकार, कवि, लेखक, चित्रकार वा समाजसेवी प्रमुख अतिथि भएमा त्यसको उनीहरूलाई मतलब हुँदैन। उनीहरूलाई त चाहिन्छ गाडीमा झ्न्डा फर्फराउँदै सैनिक अङ्गरक्षक आगापिछा लाएर समारोहमा आउने मन्त्री, भएमा उपप्रधानमन्त्री, सकेमा प्रधानमन्त्री! अनि उनीहरूलाई जाँगर चल्छ त्यस्ता समारोहमा उपस्थित हुनलाई। शायद त्यसो हुँदा उनीहरूलाई सम्माननीय माननीय कहलाउने पावरदारहरूका आँखामा पर्ने मौका मिल्दो हो। त्यस्ता पावरदारहरूसित भलाकुसारी गर्न पाउँदा वा अभिवादन आदान–प्रदान गर्न पाउँदा उनीहरूलाई गौरवानुभूति हुँदो हो। त्यस्ता कोटिमा प्रायः पढालेखा, जान्ने–सुन्ने र भद्रभलाद्मी भनाउँदाहरू नै पर्ने गर्छन्। काठमाडौँको एउटा एफएम रेडियो स्टेसनले रातदिन एक नागरिकभन्दा ठूलो कुनै माननीय वा सम्माननीय हुँदैन भनेर सम्झाइरहन्छ। माननीय–सम्माननीय भनिनेहरूलाई ज्यू–हजुर गरेर आफूलाई सानो ठान्नुपर्दैन भनेर बुझाइरहन्छ। तर जी–हजुरी र चाकरी चाप्लुसी राष्ट्रिय अध्यावसाय बनिसकेको बेलामा त्यस्ता परिवर्तनकारी सन्देशले केही फरक पार्ला र? |