हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०८ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

पूर्वमा मोडलिङ रहर मात्रै

मोडलिङ र सौन्दर्य प्रतियोगिताले सोचेजस्तो फड्को मार्न नसक्दा पूर्वी नेपालका सुन्दरीहरूको सपना 'रहर' मै सीमित भएको छ।

विराटनगरमा २१ मङ्सिरमा भएको मिस टिन कोशीको उपाधि जितेकी समिरा गैरेल यतिखेर मिस टिन नेपालका लागि तयारी गर्दैछिन्। विराटनगरमा ए लेभलमा अध्ययनरत् समिराको ध्याउन्न मिस टिन नेपालको उपाधिसँगै फेशन/मोडलिङको क्षेत्रमा जम्ने पनि छ। उनको विचारमा फेशन मोडलिङको क्षेत्रमा सम्भावना छ। पढाइ, मोडलिङसँगै नृत्य गर्ने र विराटनगरस्थित कोशी एफएममा सातामा दुई वटा अङ्ग्रेजी कार्यक्रम सञ्चालन गर्ने समिरा भन्छिन्, “केही गर्छु भन्ने लागेको छ।”

पूर्वी नेपालको फेशन/मोडलिङको इतिहास अलिकति मात्र चियाउने हो भने पनि भन्न कर लाग्छ, यसअघिका सुन्दरीहरूले देखेको यस्ता सम्भावनाहरू 'रहर'मा मात्रै सीमित रहन पुगेका छन्। उनी जस्तै सपनाका साथ आएका यसअघिका सुन्दरी प्रतियोगिताका अधिकांश विजेताहरू आफ्नो 'रहर' पुर्‍याएर यो क्षेत्रबाटै पलायन भइसकेका छन्

फेशनेवल शहरका रूपमा चिनिए पनि पूर्वाञ्चलका धरान, विराटनगरमा मोडलिङ र सौन्दर्य प्रतियोगिताले सोचेजस्तो फड्को मार्न सकेको छैन। डेढ दशकदेखि हँुदै आएका फेशन शो तथा सुन्दरी प्रतियोगिताहरूका करिब एक दर्जन विजेताहरूले मिस नेपालमा सहभागिता जनाइसकेका छन्। तर, मिस पूर्वाञ्चल, मिस कोशी, मिस धरान, मिस विराटनगर, मिस झापाको ताज पहिरिएका यी सुन्दरीहरू अहिले फेशन/मोडलिङको दुनियाँमा कतै देखिन्नन्। पूर्वाञ्चलमा 'इभेन्ट' आयोजना गर्दै आएका ललित राई भन्छन्, “रहर पूरा भएपछि यो क्षेत्रलाई चटक्कै छाड्छन्।” कतिले चर्चा पाउन त कतिले रहर पूरा गर्न मात्रै यो क्षेत्रमा आउने हुनाले व्यावसायिक रूपमा मोडल भएकाहरूको सङ्ख्या न्यून भएको अनुभव उनको छ। अझ्, नियमित कार्यक्रम नहुनाले पनि तिनलाई व्यावसायिक हुन गाह्रो भएको उनी सुनाउँछन्।

प्रतियोगिताका विजयीहरूले समेत मोडलिङलाई पेशाका रूपमा निरन्तरता दिनसकेका छैनन्। सम्बद्धहरूको भनाइमा १६ देखि २५ वर्षसम्मको उमेरभित्रै केही गर्न नसके यो क्षेत्रमा टिक्नै गाह्रो हुन्छ। त्यसैले पनि २५ वर्ष नाघेपछि धेरैले यो क्षेत्र छाडेर अरू पेशा अपनाउन बाध्य भएका छन्।

सन् २००२ मा विराटनगरमा भएको मिस कोशीको उपाधि पाएकी रनिता भगतले मोडलिङ पेशा छाडेर पढाइ र व्युटिपार्लरलाई निरन्तरता दिएकी छिन्। भगत भन्छिन्, “एक समय रहर थियो पूरा भयो त्यसपछि छाडेँ।” सन् २००३ मा धरानमा भएको मेघा मोडेल कन्टेष्टको ताज पहिरिएकी एरिना प्रधानाङ्ग पनि केही प्रतियोगिता र फेशन–शो पछि यो क्षेत्रबाट टाढिइन्। उनी भन्छिन्, “व्यावसायिक रूपमा टिक्न गाह्रो छ। मोडलिङको पारिश्रमिकले मेकअप र ड्रेसका लागि पनि पुग्दैन।” मिस कोशी १९९७ भएकी उनकी भाउजू कृति श्रेष्ठ पनि गृहिणीमै सीमित छिन्। धरानकी पूर्व मोडेल तथा कोरियोग्राफर तारा चाम्लिङ अहिले आफ्नै विषयको बारेमा पत्रपत्रिकामा लेख तथा समाचार लेख्छिन्। उनी भन्छिन्, “एउटा उमेर भएसम्म मात्रै मोडलिङ गर्न सकिन्छ।”

धरानकी सेञ्जिका लिम्बू मिस पूर्वाञ्चल २००० र मिस झापा २००० बनेकी बबिता शर्मा एयर होस्टेज छन्। मिस कोशी संयुक्ता लामिछाने कल सेन्टर काठमाडौँ, मिस कोशी सगुन शर्मा स्टाफ नर्स, विराटनगरकी सुचित्रा आचार्य विवाहपछि अष्ट्रेलिया, धरानमा भएको समर ९७ की विजेता योगिता श्रेष्ठ, मिस धरान १९९६ पार्वती श्रेष्ठ, मिस भ्यालेन्टाइन ९८ नित्य लिम्बूलगायतका धेरै अहिले मोडलिङ क्षेत्रलाई छाडेर अध्ययन वा अरू नै पेशामा छन्।

पूर्वका धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड फेशन/मोडलिङ हुने शहरहरू हुन्। पूर्वाञ्चलमा मात्रै साना ठूला गरी करिब चार दर्जन यस्ता प्रतिस्पर्धाहरू भइसकेका छन्। यसमध्ये डेढ दर्जनभन्दा बढी धरानमा मात्रै भएका छन्। त्यसपछि विराटनगरमा पनि करिब एक दर्जन प्रतियोगिताहरू भइसकेका छन्। पूर्वाञ्चलमा हुने यस प्रकारका प्रतियोगितामा अहिलेसम्म दुईहजार भन्दा बढीले मोडल बन्ने रहर पूरा गरिसकेका छन्। तीमध्ये उत्कृष्टमा हुनेहरू मात्रै करिब सय जनाको हाराहारीमा होलान्। यी सय जनामा मोडलिङ पेशालाई निरन्तरता दिनेहरू भने औंलामा गन्न सकिन्छ।

मिस कोशी २००० का सेकेण्ड रनरअप तथा हालकी चर्चित नायिका रेखा थापा, पूर्वाञ्चल सुपर मोडेल कन्टेष्ट २००६ की सहभागी विराटनगर–५ जामुनगाछीकी ममता श्रेष्ठलगायत केहीले मात्रै ग्लामरको क्षेत्रमा आफूलाई स्थापित गर्न सकेका छन्। रेखा नेपाली सिने क्षेत्रमा जमेकी छिन् भने ममता पनि मिस नेपाल बन्ने अठोटमा काठमाडौँमै बसेकी छिन्। अहिले जस्तो म्यूजिक भिडियो, फिल्म, फेशन शो जस्ता धेरै ठाउँमा मौका पहिले नपाउने हुनाले पनि पुराना मोडेलहरूले यस क्षेत्रमा निरन्तरता दिन नसकेको कोरियोग्राफर चाम्लिङ बताउँछिन्। मोडेलहरूको आयु एकदम छोटो हुने भएकोले पनि निरन्तर रूपमा लागिपर्न नसकिने मिस टिन कोशी समिरा गैरेलले बताइन्।

त्यस्तै, माओवादी जनयुद्ध समाप्ति हुन नपाउँदै फेरि तराईमा बढेको हत्या, अपहरण, चन्दा आतङ्कको मार फेशन मोडलिङमा पनि परेको छ। बढ्दो असुरक्षाले गर्दा कार्यक्रम प्रायोजन गर्न कसैले नमानेको कारण पनि पूर्वी क्षेत्रमा अहिले सुन्दरी प्रतियोगिताहरू हुन छाडेको छ। क्रियटिभ आई, विराटनगरका प्रबन्ध निर्देशक सन्दिप दास श्रेष्ठका अनुसार विराटनगर, धरानमा फट्टफुट्ट कार्यक्रम भएपनि बिर्तामोड, दमक, इटहरीलगायतका स्थानमा भने प्रायः ठप्पै छ।

पूर्वाञ्चलमा वर्षमा कम्तीमा दुई/तीन पटकसम्म हुने मोडलिङ तथा सुन्दरी प्रतियोगिता अहिले दुई वर्षमा एकपटक पनि हुन छाडेको छ। विराटनगरमा विगत तीन वर्षमा दुई वटा प्रतियोगिता भए पनि धरान, इटहरी र झापामा एउटा पनि भएको छैन। यस क्षेत्रमा पहिल्यैदेखि प्रायोजन गदै आएको युनिलिभरको पूर्वी नेपालका सेल्स अफिसर भरत प्रसाई असुरक्षाले गर्दा जुन पायो त्यो कार्यक्रममा प्रायोजन गर्न छाडेको बताउँछन्। उनी भन्छन्, “पहिले जस्तो अवस्था अहिले नभएको कारण पनि कम्पनीले प्रायोजन गर्न मान्दैन।” सुरक्षाको अवस्थामा सुधार आए मात्रै प्रायोजन गरिने जानकारी प्रसाईले दिए।

शब्दः मनोज श्रेष्ठ
तस्बिरः सञ्जय श्रेष्ट


रमझम रिपोर्ट

सिनेमामा सेना


चलचित्र 'लालसलाम'को एक दृश्य।

सिनेमाका केही दृश्यहरूमा सीमित सेनाको कथा अहिले सिनेमा निर्माणको मुख्य विषय बन्न थालेको छ। तर, सेनाको कथालाई क्यामरामा कैद गर्न जति गाह्रो छ, त्योभन्दा कठिन सिनेमा निर्माणका लागि आवश्यक सामग्रीहरूको जोहो गर्नुमा छ।

चलचित्रमा लाहुरेबाट शुरु भएको सेनाको कथामा आधारित नेपाली चलचित्र बनाउने 'ट्रेण्ड' लोकतन्त्र बहालीपछि ह्वात्तै बढेको छ। नेपाल चलचित्र विकास बोर्डका अनुसार अहिलेसम्म सैनिक कथामा आधारित करिब एक दर्जन सिनेमा निर्माण भइसकेका छन्। जनचासोको विषयवस्तुमा सिनेमा बनाउँदा चल्ने बताउँदै बोर्डका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली भन्छन्, “दसवर्षे द्वन्द्वमा विद्रोही र सेनाका क्रियाकलापप्रति जनताको चासो रहेका कारण पनि यो विषयमा सिनेमा बनाउन निर्माताहरू आकर्षित भएका हुन्।”

माओवादी शान्ति प्रक्रियामा आएयता मात्रै सेनामा आधारित ६ वटा सिनेमा बनिसकेका छन्। जसमध्ये बद्री अधिकारी निर्देशित आवाज, दीपक बस्नेत निर्देशित रक्तिम क्रान्ति प्रदर्शन भइसकेका छन्। शिवजी लामिछानेको निर्देशनको लालसलाम र विजय बस्नेत निर्देशित शहीद निर्माण सम्पन्न भएर प्रदर्शनको पर्खाइमा छन्। त्यस्तै, जनयुद्ध नामक चलचित्रको पनि सम्पूर्ण प्राविधिक काम सकिएको छ। युद्धकथामै आधारित शासन को छायाङ्कन चलिरहेको छ।

सजिलो छैन निर्माण

सम्बद्ध व्यक्तिहरूको भनाइमा अन्य विषयमा जस्तो सेनाको विषयमा सिनेमा बनाउनु सजिलो छैन। माओवादी युद्धमा आधारित चलचित्र लालसलाम का निर्देशक शिवजी लामिछाने भन्छन्, “कसरी खान्छन्, कसरी बोल्छन्, युद्धताका कसरी लडे भन्ने बारेमा भुक्तभोगीहरूसँगै बुझ्ेर दुवै सेनाको विषयमा गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्ने हुन्छ।” यसअघि आगो बनाएका लामिछानेले लालसलाम मा वास्तविक माओवादी लडाकूहरूलाई अभिनय गराएका छन्। त्यस्तै चलचित्र आर्मीमा तत्कालीन शाही नेपाली सेनाका जवानहरूलाई अभिनय गराएका निर्देशक शोभित बस्नेत भन्छन्, “अध्ययनका क्रममा सेनाका जर्नेलदेखि लिएर जवानहरूसँग पनि निकै समय उठबस गर्नुपर्ने भएकाले सजिलो छैन, यो विषयमा चलचित्र बनाउन।” राज्यले पक्राउ गरेका माओवादी सेनाको कथामा आधारित चलचित्र शहीद बनाएका निर्देशक विजय बस्नेतले सिनेमा बनाउनुअघि नख्खु जेलमै गएर धेरै माओवादी नेताहरूलाई भेटेर अध्ययन गर्नु परेको थियो।

सेना तथा युद्धका कथालाई चलचित्रमा उतार्न जति गाह्रो छ, त्योभन्दा कठिन छ आवश्यक सामग्रीहरूको जोहो गर्न। निर्माता/निर्देशकहरूको भनाइमा सैनिक पोशाक, हतियार, यातायातलगायतका सामग्रीहरू सहजै नपाइने तथा सम्बद्ध निकायहरूबाट प्राप्त गर्न पनि निक्कै कठिन पर्ने गरेको छ। माओवादी सेना र नेपाल सेनालाई आफ्नो चलचित्र शहीद मा उतारेका निर्माता/निर्देशक विजय बस्नेत भन्छन्, “सेनाको सामग्रीको लागि सिनेमाको स्त्रि्कप्ट र निवेदन दुवै पक्षलाई बुझाउनु पर्‍यो। माओवादी सेनाको सामग्री त पायौँ तर नेपाल सेनाको सामग्री पाइएन, आफैँले बनायौँ।”

यद्यपि यसअघि प्रदर्शन भइसकेको आर्मी तथा हाल छायाङ्कन भइरहेको शासन का लागि नेपाली सेनाले सामग्री उपलब्ध गराएको थियो। आर्र्मी का निदर्ेेशक शोभित बस्नेत भन्छन्, “आर्र्मी पूरै शाही नेपाली सेनामा आधारित सिनेमा भएकोले हामीले सजिलै सामग्रीहरू पायौँ।” शासन का निर्देशक आकाश अधिकारी पनि चलचित्र छायाङ्कनका लागि पाँच दिनसम्म नगरकोटको आर्र्मी क्याम्पसँगै हातहतियार र पोशाक पनि पाएको बताउँछन्।

दुवै सेनाका अधिकारीहरूको भनाइमा निर्माण हुने सिनेमाको कथाअनुसार सहयोग गर्ने/नगर्ने तय हुने बताउँछन्। नेपाल सेनाका एक उच्च अधिकारीका अनुसार सङ्गठनको हित विपरीतको सन्देश दिने सिनेमाका लागि आवश्यक सामग्री दिइँदैन। माओवादी सेनाका डेपुटी कमाण्डर प्रभाकरको भनाइ पनि यस्तै छ। उनी भन्छन्, “माओवादी सेनामा आधारित सिनेमा बनाउनु भनेको राजनीतिमा आधारित हुने भएकाले जसलाई पायो उसलाई सैन्य सामग्री दिँदैनौँ। सिनेमाको कथा र सिनेमा बनाउने ब्यानर हेरेर मात्रै दिन्छौँ।” प्रभाकर चलचित्र लालसलाम का लेखक पनि हुन्।

जनचासोको विषय भएकाले ठूलो लगानीसाथ सेनामा आधारित सिनेमा बन्ने गरेको भएपनि निर्माताहरूका लागि भने यो फाइदाको व्यापार हुनसकेको छैन। तुलसी घिमिरेको लाहुरे र किशोर राना निर्देशित सीमारेखा बाहेक सैनिक कथावस्तुका कुनै पनि सिनेमालाई दर्शकले रुचाएको पाइन्न। आर्र्मी हलमा लागेको केही दिनमै उत्रिएको थियो। आवाज ले पनि नाफा आर्जन नगरेको निर्माता नवल खड्का बताउँछन्। हाल पश्चिम नेपालमा प्रदर्शन भइरहेको शहीद ले भने राम्रै व्यापार गरेको दाबी निर्देशक विजय बस्नेतको छ।

सन्तोष बराइली 


अभिनयभन्दा युद्ध लड्न सजिलो'

प्रमिला अधिकारी, नायिका


सौजन्यः विशाल स्मृति सांस्कृतिक परिवार

नेकपा माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गतको विशाल स्मृति सांस्कृतिक परिवारकी सदस्य हुन्, प्रमिला अधिकारी (१९)। महासंघकै अगुवाईमा बनेको माओवादी युद्धमा आधारित चलचित्र लालसलाम मा नायिका भएर अभिनय गरेकी छिन्, अधिकारीले।

अभिनयसम्बन्धी कुनै तालिम लिनुभएको थियो?
कहाँ तालिम लिनु नि! सांस्कृतिक कार्यक्रमहरूका लागि नृत्यको 'रिहर्सल' चाहिँ धेरै पटक गरेकी थिएँ।

लालसलाम मा नायिका बन्ने अवसर कसरी मिल्यो?
जनसांस्कृतिक महासंघले कलाकार छनौट गर्ने क्रममा मलाई नायिकामा खेलाउने निर्णय गर्‍यो। शायद कथाको लागि म योग्य थिएँ।

क्यामरा अगाडि अभिनय गर्दाको अनुभव कस्तो रह्यो?
यथार्थमा जनयुद्ध लड्न सजिलो थियो। लडेको अभिनय गर्न एकदमै गाह्रो भयो। फिल्म खेल्न जनयुद्ध लडेको भन्दा अप्ठ्यारो हुँदोरहेछ।

फिल्म खेल्न पाइएला जस्तो लाग्थ्यो?
अहँ! लागेको थिएन। यसरी हाम्रो महासंघले फिल्म बनाउला र खेल्न पाइएला भन्ने सोचेको पनि थिइनँ।

मनपर्ने कलाकार छन् कोही?
छन् नि! गायिकामा अरुणा लामा, अभिनेत्रीमा मिथिला शर्मा।

अरु सिनेमाको प्रस्ताव आयो भने खेल्नुहुन्छ?
प्रगतिशील सिनेमामा त नखेल्ने कुरै भएन। तर, सङ्गठनले स्वीकृति दिनुपर्छ।