![]() |
| पूर्णाङ्क २०८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
पुस्तक शाही शासनकालमा नेपाली रेडियोको सङ्घर्ष
नेपालका स्वतन्त्र रेडियो स्टेशनहरू १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि शुरु भएको शृङ्खलाबद्ध आक्रमणको शिकार बनेका थिए। शाही शासनमा स्वतन्त्र रेडियोः दमन र प्रतिरोधको कथा भन्ने किताबमा पत्रकार विनोद ढुङ्गेलले त्यस कालमा नेपालका रेडियो स्टेशनहरूले भोग्नु परेको दमन, धम्की र त्यसको प्रतिरोधमा भएका सङ्घर्षका अभियान र आन्दोलनहरूलाई सिलसिलाबद्ध ढङ्गले प्रस्तुत गरेका छन्। स्थानीय एफएमहरूले कमाएको लोकप्रियता र देशव्यापी हुँदै गएको तिनको सञ्जाललाई आफ्नो शासनको मुख्य अवरोध ठानेर हुनसक्छ, शाही घोषणा सकिन नपाउँदै राजधानीका एफएम स्टेशनहरूमा सैनिक टुकडी पुगिसकेका थिए। त्यसपछि समाचार प्रसारण नगर्न रेडियो स्टेशनहरूमाथि लगाइएकोे प्रतिबन्धका कारण सिर्जना भएको तनाव र परिस्थितिको किताबमा सजीव चित्रण गरिएको छ। लेखकको आफ्नै भोगाइले पनि किताबलाई जीवन्त बनाएको छ। पाँच खण्डमा विभाजित किताबको पहिलो खण्डमा शाही घोषणालगत्तै रेडियो स्टेशनहरूमाथि गरिएको भौतिक, कानूनी, आर्थिक दमनका साथै सत्ताको दुरुपयोग गरेर सरकारी सञ्चारमाध्यमहरूबाट स्वतन्त्र रेडियो स्टेशनविरुद्ध भएको गलत प्रचारबाजीलाई समेटिएको छ। दोस्रो खण्डमा दमनका असरहरूको चर्चा गरिएको छ। समाचारमूलक कार्यक्रममाथि लागेको प्रतिबन्धका कारण आम मानिसहरूको सूचनाको अधिकार त कुण्ठित भयो नै, साथै रेडियो स्टेशनमा कार्यरत सयौँ पत्रकार पनि बेरोजगार हुन पुगे। केही पत्रकारहरू पेशाबाटै विस्थापित भए। स्थानीय पत्रिकामा प्रकाशित एक एफएमका सम्वाददाता पत्रकारिता छोडेर भैँसी पालनमा लागेको समाचारले शाही शासनका दौरान रेडियो स्टेशनहरूले भोग्नु परेको कहालीलाग्दो अवस्थालाई चित्रण गरेको छ। किताबको तेस्रो र चौथो खण्डमा रेडियो स्टेशनहरूमाथि भएको दमनको विरोधमा भएको रेडियो बचाउ आन्दोलन अभियान र त्यसप्रति विभिन्न क्षेत्रबाट देखाइएको ऐक्यबद्धतालाई समेटिएको छ। रेडियो पत्रकारहरूले थालेको सङ्घर्षका कार्यक्रम, नागरिक समाज र विश्व समुदायले दिएको समर्थनका साथै लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन एफएम स्टेशनहरूले निर्बाह गरेको भूमिकाको चित्रण गरिएको छ। किताबको अन्तिम तथा पाँचौँ खण्डमा शाही शासनमा भोग्नु परेको कठिनाई र पीडालाई रेडियोकर्मी तथा सञ्चालकहरूले एउटा पाठका रूपमा लिएर अगाडि बढ्नुपर्ने सुझाव दिइएको छ। सुरेश
|