हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०८ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

बीबीसीका नेपाली महिला


विकास रौनियार

पहिलो हुनुको मज्जै अर्कै हुन्छ। तर, त्योसँगै चुनौती पनि थपिन्छ। अहिले यस्तै महसूस गर्दैछन्–बीबीसी नेपाली सेवामा महिलाबाट पहिला बनेका चार नेपाली महिलापत्रकार।

सीता, हरिदेवी, बसुन्धरा र सीता पत्रकारितामा प्रवेश गरेको छोटै समयमा आफूहरूलाई विश्वकै प्रतिष्ठित समाचार संस्थासम्म पुर्‍याउन सफल भएका छन्। ताप्लेजुङकी सीता निरौला, जुम्लाबाट हरिदेवी रोकाया, धरानबाट सीता मादेम्बा र दाङकी बसुन्धरा गौतम– यी चारैजनाले फागुन २०६३ देखि बीबीसी नेपाली सेवामार्फत् आफ्ना आवाजलाई नेपाली श्रोतामाझ् पुर्‍याइरहेका छन्। आजभोलि निक्कै जिम्मेवारी थपिएको महसूस गर्ने यी महिला पत्रकारहरूका शब्दमा, “बीबीसीमा काम गर्न थालेपछि धेरैले इज्जत गर्छन्, तपाइँको समाचार सुन्यौँ भन्दा खुशी लाग्छ। र, जिम्मेवारी थपिएको महसूस भएको छ।”

निरौला अन्नपूर्ण पोष्ट दैनिक र रोकाया कर्णाली एफएम बाट चार वर्षअघि पत्रकारितामा प्रवेश गरेका हुन् भने मादेम्बाले पाँच वर्षअघि तेह्रथुमबाट प्रकाशित हुने नौलो सन्दर्भ साप्ताहिकबाट र गौतमले ६ वर्ष पहिले रेडियो स्वर्गद्वारी बाट यसक्षेत्रमा आफ्नो 'करिअर' शुरु गरेका हुन्। नेपालमा बीबीसी समाचार बज्न थालेको ३८ वर्षपछि उसले पहिलो पटक पूर्वको पहाड र पश्चिमको कुना–कन्दराको समाचार खोज्ने जिम्मा त्यहीँका महिलाहरूलाई सुम्पेर आफ्नो संस्थामा सामेलीको राम्रो परिचय दिएको छ।


ऊर्जाका गुरु


किरण पाण्डे

ग्याँसका लागि घण्टौँ लाममा बस्ने व्यक्तिले त्यसैका कारण विश्वभर ख्याति कमाउँछ भने त्यस्तो सास्ती किन नभोग्ने! हो, आजभन्दा १२ वर्षअघि नोकरीबाट छुट्टी लिई लिई घण्टौँ लाइनमा बस्ने ठमेल गल्कोपाखाका सानुकाजी श्रेष्ठ (६३) ले फोहोर र सौर्य ऊर्जालाई वैकल्पिक इन्धनका रूपमा प्रयोग र विस्तार गरेकै कारण विश्वमै नामी पुरस्कार हात पारेका छन्। बीबीसी वर्ल्ड र न्यूजवीक साप्ताहिकले गरेको प्रतियोगितामा श्रेष्ठले व्यक्तिगत तवरमा पाँच वर्षअघि मात्र स्थापना गरेको दिगो प्रविधि संस्थाले उत्कृष्ट तीनमध्येको पुरस्कार जितेको छ, जसको राशी १० हजार अमेरिकी डलर छ। उनको प्रविधिमा शिशा, प्लाष्टिक र टिनबाहेकका घरमै उत्पादन हुने सबै किसिमका फोहोरलाई ब्रिकेट बनाई मज्जाले आगो बाल्न सकिन्छ। सूर्यको तापबाट अहिले चलिरहेको दरमा भन्दा कम मूल्यमा ऊर्जा निकाल्न सकिन्छ।

विज्ञानसम्बन्धी कुनै औपचारिक अध्ययन नगरेका श्रेष्ठलाई वैकल्पिक ऊर्जासम्बन्धी काम गर्न कम मेहनत गर्नु परेन। २०५९ सालमा बीसवर्षे जागिरबाट अवकाश पाएलगत्तै श्रेष्ठ अमेरिका, डेनमार्कलगायत विभिन्न मुलुकमा यसको प्रविधि सिक्न गए। अहिले श्रेष्ठ नेपालका लागि मात्र होइन, विश्वकै लागि वैकल्पिक ऊर्जाका गुरु बनेका छन्। राजधानीबाहेक थोरै जिल्लामा मात्र उनको प्रविधि पुगेको भएतापनि उनी आफ्नो सीप र अनुभव साट्न कोलम्बिया युनिभर्सिटीदेखि स्पेन, नैरोबी र इण्डोनेशिया समेत गइसकेका छन्। आउँदो महिना उनी यही कामका लागि कम्बोडिया जाने तयारीमा छन्।

आफ्नो अवधारणालाई पूरै मुलुकमा फैलाए इन्धनका लागि हुनेे वन विनाशलगायतका विभिन्न प्रकारका क्षतिहरू कम हुने र प्राकृतिक स्रोतसाधन प्रयोग गरी सस्तोमा ऊर्जाको दीर्घकालीन शक्ति निकाल्न सकिने उनी बताउँछन्। तर उनको यति ठूलो उपलब्धिबारे सरकारलाई पत्तो छैन। भन्छन्, “मैले कुनामा गरेको गरिबमुखी प्रविधिलाई विदेशीले देखेर प्रशंसा गरे, तर देशमा कसैलाई यसबारे चासो छैन।”