हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०८ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

हवाई सेवा

बढ्दैछन् यात्रु र बिमानसेवा

विदेशी पर्यटकका साथै अध्ययन र रोजगारका लागि विदेश जाने नेपालीको सङ्ख्या बढ्नाले हवाई टिकटको माग बढेको छ । यही मागको फाइदा उठाउन धेरै नयाँ वायुसेवा नेपाल भित्रिइरहेका छन् भने नेपाल वायुसेवा निगम चाहिं भएका विमान उडाउन पनि सङ्र्घष्ा गरिरहेको छ ।

सुरेशराज न्यौपाने र शैली बस्नेत


तस्विरहरु: किरण पाण्डे
केही वर्षअघिसम्म दिनभरिमा चार पाँच वटा मात्र जेट ओर्लने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा हिजोआज एकै समयमा पाँचवटा जेट विमानहरू देखिन थालेका छन्।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा लाम लागेका देशी–विदेशी एअर–लाइन्सका रङ्गीविरङ्गी विमान, तिनका काउन्टरमा देखिने यात्रुको भीड र विमानस्थल बाहिर मानिसहरूको घुइँचो देख्दा सहजै अनुमान लगाउन सकिन्छ― नेपालको आकाशमा बढेको चहल–पहलको। अध्ययन र रोजगारका लागि विदेश जानेहरूसँगै पछिल्लो समय पर्यटकहरूको सङ्ख्या पनि उत्साहजनक रूपले बढेको छ। प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) बाट ६ हजारभन्दा बढी यात्रु ओहोरदोहोर गर्छन्।

यो चहलपहलसँगै नेपाल आउने–जाने हवाई टिकटको माग निकै बढेको छ। बढ्दो मागका कारण नेपालमा स्थापित एअरलाइन्स कम्पनीहरू उडान थपिरहेका र थप्न खोजिरहेका छन् भने नयाँ कम्पनीहरू पनि त्यत्तिकै आकर्षित भइरहेका छन्। पछिल्लो एक वर्षमा मात्र इत्तिहाद एअरवेज, कोरियन एअर, चाइना साउदर्न, हङकङ एक्सप्रेस, सिल्क एअर, ड्रागन एअर गरी ६ वटा नयाँ विमान कम्पनीले नेपालमा सेवा शुरु गरिसकेका छन् भने ओरियन्ट थाई यही महिनादेखि उडान गर्ने तयारीमा छ। अन्य केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले पनि नेपालमा उडान अनुमति लिन प्रयास गरिरहेका बुझिएको छ।

माग धेरै, सीट थोर

हाल नेपाल आउने–जाने अन्तर्राष्ट्रिय उडानमा मागको तुलनामा पर्याप्त सीट नभएको कारण महिनौंदेखि टिकट बुक गर्नुपर्ने अवस्था छ। पर्यटक र नेपालीहरूको आवागमन बढिरहेको बेलामा दैनिक करिब पाँच उडान गर्दै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) को उडान नियमित नभएकोले पनि टिकटको समस्या चर्किएको हो। टिकट नपाएका कतिपय यात्रुहरू सडक मार्गबाट भारत गएर त्यहाँबाट अन्यत्र उड्ने गरेका छन्। पश्चिमी मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई भिसापछि दोस्रो ठूलो समस्या बन्ने गरेको छ― हवाई टिकट। ओसो ट्राभल्सका श्याम थपलिया भन्छन्, “कतिपय यात्रु इकोनोमी क्लासको टिकट नपाएर विजनेस क्लासमा यात्रा गर्न बाध्य छन्।”

बढ्दो मागको कारण भारतको जेट एअरवेजले आफ्नो उडान हप्ताको सात वटाबाट १० वटा पुर्‍याएको छ। थाई एअरवेजका नेपाल महाप्रबन्धक प्रासेत तान्हान्साले जानकारी दिएअनुसार ३९ वर्षदेखि काठमाडौँ–ब्याङ्कक उडान गर्दै आएको थाईले पनि हप्ताको सात वटाबाट १० वटा उडान पुर्‍याउन नेपाल सरकारसँग अनुरोध गरेको छ। प्रत्येक हप्ता ११ उडान भर्ने कतार एअरवेज थप उडान अनुमति पर्खेर बसेको छ। साताको एउटा उडान गरिरहेको कोरियन एअरले चाँडै नै तीन वटा पुर्‍याउने भएको छ। कोरियन एअरका नेपाल प्रतिनिधि युनिभर्सल ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पराशर प्रसाई भन्छन्, “फागुन महिनाका लागि बौद्ध धर्मावलम्वीहरूले दुई वटा उडान चार्टर गरेका छन्।”

पर्यटकहरूको आवतजावत नै व्यापारको मेरुदण्ड हुने गरेको अन्तर्राष्ट्रिय हवाई सेवाका लागि पछिल्लो समयमा नेपाली यात्रुहरू पनि महत्वपूर्ण ग्राहक बनेका छन्। अध्ययनका लागि मात्र बर्सेनि करिब २० हजार नेपाली विद्यार्थी विदेश पुग्छन्। त्यस्तै, श्रम विभाग र वैदेशिक रोजगार व्यवसायी संघको तथ्याङ्कअनुसार, हाल दैनिक सरदर ६०० नेपाली काम गर्न विदेश जाने र ४०० काम सकेर वा छुट्टीमा देश फर्किने गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक तथ्याङ्क, २००६ का अनुसार सन् २००६ मा हवाई मार्गहुँदै विदेशमा रहेका तीन लाखभन्दा बढी नेपाली स्वदेश आएका र चार लाखभन्दा बढी नेपाली विभिन्न मुलुक पुगेका थिए। नेपालीहरूमा विदेश घुम्न र उपचार गराउन जाने क्रम पनि बढेको छ। यती ट्राभल्सका प्रमुख कार्यकारी निर्देशक मनोहर राणा भन्छन्, “आजभोलि विद्यार्थी, कामदार र व्यापारी मात्र नभई घुम्न र उपचार गर्न विदेश जाने नेपालीहरू पनि बढेका छन्।” मन्त्रालयको तथ्याङ्कअनुसार सन् २००६ मा हवाई मार्ग हुँदै करिब तीन लाख पर्यटक नेपाल आएका थिए। यो वर्ष त्यो सङ्ख्या चार लाख पुग्ने पर्यटन व्यवसायीहरूको दाबी छ।

नेपालबाट विदेश जाने–आउने क्रम बढेपछि भूपरिवेष्ठित मुलुक भएकोले स्वाभाविक रूपमा हवाई सेवाको माग बढ्छ नै। साउदी अरब, कतार, यूएई, बहराइन आदि खाडी मुलुक तथा मलेसिया, दक्षिण कोरिया र जापान नेपालीहरूका लागि वैदेशिक रोजगारका प्रमुख गन्तव्य हुन्। नेपाल आउने पर्यटकमा अधिकांश भारत, संयुक्त अधिराज्य, जापान, जर्मनी र अमेरिकाका नागरिक हुन्छन्। यी स्थापित गन्तव्य बाहेक काठमाडौँबाट नयाँ–नयाँ गन्तव्यतर्फ उडान शुरु गर्न पनि वायुसेवा कम्पनीहरू लागिपरेका छन्। उदाहरणका रूपमा लिन सकिन्छ, चाइना साउदर्न एअर–लाइन्सको ग्वाङ्झाउ रुटलाई।

हप्ताको तीन दिन सयभन्दा बढी यात्रुहरूलाई चीनको औद्योगिक नगरी ग्वाङ्झाउ लाने–ल्याउने चाइना साउदर्नले पछिल्लो दुई महिनामा थुप्रै जापानी पर्यटकहरूलाई नेपाल भित्र्याएको छ। चाइना साउदर्नको नेपाली एजेन्ट फक्स टुर्स एण्ड ट्राभल्स्का कार्यकारी निर्देशक एआर तण्डुकारको भनाइमा ब्याङ्ककपछिको दोस्रो आकर्षक ट्रान्जिट रुट बन्ने संभावना छ ग्वाङ्झाउ। उनी भन्छन्, “ग्वाङ्झाउबाट सोल, ओसाका, लस एन्जलसदेखि विश्वका प्रमुख शहरहरूका लागि प्रशस्त नियमित उडान हुने हुनाले पनि यो रुटको सम्भावना बढेको हो।” लुम्बिनीका कारण कोरियाली पर्यटकहरूको नेपालप्रतिको आकर्षण बढेको छ भने कोरिया पुग्ने नेपाली कामदार र कोरिया हँुदै अमेरिका जाने विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएकोले दुई देशबीचको हवाई आवागमनमा यथेष्ट सम्भावना देख्छन् कोरियन एअरका प्रबन्ध निर्देशक पराशर प्रसाई।

सामान्यतया नयाँ एअरलाइन्स् आउँदा स्थापित एअरलाइन्स्को व्यापार प्रभावित हुने गर्दछ। तर नेपालमा नयाँ गन्तव्यको सम्भावना बढ्नुका साथै भएका गन्तव्यहरूमै पनि सेवा अपुग भएकोले नयाँ एअरलाइन्स् कम्पनीहरू भित्रिदा समेत पुराना कम्पनीहरूले ग्राहक गुमाउनुपर्ने अवस्था छैन। कतार एअरवेजका गिरिश भास्कर भन्छन्, “मागभन्दा हवाई सेवाको आपूर्ति कम हुनाले निकै प्रेसरमा काम गर्नु परिरहेको छ। त्यसैले नयाँ एअरलाइन्स् आउँदा हामीलाई पनि सहयोग नै हुन्छ।”

नयाँ एअरलाइन्स्बाट यात्रुहरूलाई थप सुविधा पुग्ने निश्चित भएपनि विमान टिकटको शुल्कमा भने खासै परिवर्तन नआउने भास्करको अनुमान छ। उनी भन्छन्, “नेपाल आउने–जानेमा इकोनोमी क्लासका यात्रु बढी हुन्छन् र त्यो टिकटको मूल्य पहिले नै धेरै महँगो छैन। टिकटको शुल्क घटाउने प्रतिस्पर्धा भयो भने अहिले जसरी एअरलाइन्स्हरू आएका छन्, पछि त्यसरी नै निस्कन्छन् पनि।”

कमजोर व्यवस्थापन


विमानस्थल हो कि बसपार्क?: दिउँसोको समयमा धेरै उडान भएका कारण विमानस्थलमा लागेको भीड।

विमान कम्पनीहरूको चहलपहल र पर्यटकहरूको आगमनबाट जति उत्साहित हुने ठाउँ छ, त्यतिकै दयनीय अवस्था छ― त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको। नेपालको यो एक्लो अन्तर्राष्ट्रिय विमानस्थल एकै समयमा हुने विमानहरूको भीड र भौतिक पूर्वाधार, जनशक्ति, प्रविधि तथा व्यवस्थापनको कमीबाट ग्रस्त छ। नयाँ प्रविधिको अभावका कारण दैनिक करिब ४० विमान उडाउँदा र अवतरण गराउँदा एअर ट्राफिक कन्ट्रोलरहरूले ठूलो तनाव व्यहोर्नुपरेको सम्बद्ध एक अधिकारी बताउँछन्। उनी भन्छन्, “सन् १९९२ मा भएको थाई विमान दुर्घटनामा धेरै जापानीको मृत्यु भएकाले त्यतिबेला जापानले दिएको राडारले नै अहिलेसम्म धानिरहेको छ। उडान र अवतरणका लागि पनि एउटै रनवे छ। यस्तो अवस्थामा कसरी विश्वस्तरीय सेवा दिन सकिन्छ?”

त्यस्तै अवस्था छ, विमानस्थल ह्याण्डलिङ्गको पनि। आधा दर्जन विमानको उडान, अवतरण र तिनको लगेज र कार्गो ओसारपसार गर्न पुग्ने करिब दुई सय कर्मचारीले अहिले आफ्नो क्षमताभन्दा तीन गुणा बढी विमानहरूका लागि काम गर्नु परेको छ। त्रिअविका चिफ स्टेशन म्यानेजर एनबी राईको भनाइमा अहिलेको कर्मचारी सङ्ख्यालाई दोब्बर बनाएमात्र जनशक्ति पर्याप्त हुन्छ। उनी भन्छन्, “यति थोरै जनशक्तिले जसोतसो धानिरहने अवस्था छ। त्यसो भन्दैमा सुरक्षाका हिसाबले सम्झौता गरेका छैनौँ।”

त्रिअविले एकपटकमा बढीमा पाँच वटा विमानलाई मात्र सेवा दिन सक्छ र दिउँसोको समयमा बढी विमान उडान–अवतरण गर्ने अनुमति दिइएकाले विमानस्थलमा भीडका साथै ढिलाइ पनि हुने गरेको छ। त्रिअविका महाप्रबन्धक मीनराज उपाध्याय भन्छन्, “सबै एअरलाइन्स्हरू दिनमै उड्न चाहन्छन्। एकै समयमा फ्लाइट भएकोले बढी भीड र अव्यवस्थित देखिएको हो।”

एअर अरेबियाकी महाप्रबन्धक वेनजिर खान विमानस्थलमा भीड धेरै र काउण्टरहरू थोरै भएकाले विमानस्थल बढाउनै पर्ने भएको बताउँछिन्। अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि चौबीसै घण्टा खुला नरहनु त्रिअविको अर्को कमजोरी भएको केही विदेशी वायुसेवा कम्पनीहरू औंल्याउँछन्। स्टेशन म्यानेजर एनबी राई स्लट म्यानेजमेन्टका लागि भरमग्दुर प्रयास भइरहेको बताउँछन्। उनी भन्छन्, “इत्तिहाद, हङकङ एक्सप्रेस, ड्रागन एअर राति नै सञ्चालन भइरहेका छन्।” तर, विमान कम्पनीहरू भित्रिने क्रम बढिरहेको अवस्थामा कसलाई कुन समय दिने भन्ने बारेमा गम्भीर हुनु आवश्यक भइसकेको कुरामा राई पनि सहमत छन्।

त्रिअविले शुल्क अनुसारको सेवा नदिनु विदेशी एअरलाइन्स्हरूको साझा गुनासो हो। प्रायः सबैको एउटै धारणा छ, यस क्षेत्रका अन्य विमानस्थलका तुलनामा महँगो ल्याण्डिङ, पार्किङ र नेभिगेशनल दस्तुर लिएर पनि त्रिअविको सेवा हदैसम्म न्यून स्तरको छ। गल्फ एअरका महाप्रबन्धक मोहम्मद जैनाल भन्छन्, “हालसालै मुसाले बिगारेकोले हामीले आफ्नो काउण्टरको १५ वटा कम्प्युटर फेर्नुपर्‍यो। हामीलाई त घाटा भयो नै, तर अन्तर्राष्ट्रिय एअरपोर्टमा मुसाको विगविगी देख्दा विदेशीलाई कस्तो लाग्यो होला?” विमानस्थलमा सुविधायुक्त प्रतीक्षालय नहुँदा यात्रुहरूलाई पर्ने अप्ठेरोको सूची लामै छ। मनोरञ्जनको कुरा परै जाओस्, सफा शौचालय र रेस्टुरेन्टको समेत उचित सुविधा छैन। जैनाल भन्छन्, “फ्लाइट ढिलो हुँदा हाम्रा २५० यात्रु अलपत्र पर्छन्। विमानस्थलमा राम्रो खाने ठाउँ नहुँदा बाहिरबाटै लन्चको व्यवस्था गर्नुपर्छ।” यही अभावलाई पूरा गर्न थाई एअरवेजले आफ्नो छुट्टै रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताउँछन् थाईका मार्टिन लामा।

खाँचो अर्को अन्तर्राष्ट्रिय विमानस्थलको

हवाईमार्गहुँदै कुन देशबाट कति पर्यटक ?
(सन् २००७ को नोभेम्बरसम्म)

भारत ८७,५७७
बेलायत २५,०३०
अमेरिका २२,८४९
जापान १९,४८७
जर्मनी १६,१५६
फ्रान्स १५,८१५
स्पेन १२,४२०
द.कोरिया ११,४६३
चीन १२,६४७
इटाली ८,७१४
अष्ट्रेलिया ८,६०४
स्रोतः नेपाल पर्यटन बोर्ड

व्यवश्थापन र भौतिक पूर्वाधार मात्र नभई त्रिअविसँग अन्य समस्या पनि जोडिएका छन्। झ्ण्डै पाँच हजार फिटको उचाइमा रहेको त्रिअविबाट उड्ने विमानको इन्जिनमा बढी चाप पर्छ। त्यसमाथि उपत्यकामा अवस्थित हुनाले धावनमार्ग छाडेपछि विमान सीधै नउडी आकाशमा घुम्नुपर्ने हुन्छ। इमिरेट्स एअरका विमानचालक पीजे शाह भन्छन्, “यी दुई कारणले गर्दा काठमाडौँबाट उड्ने विमानले कम भार बोक्नुपर्ने हुन्छ भने एकै पटक धेरै लामो दूरी तय गर्न सक्दैनन्। त्यसैले सकेसम्म चाँडो काठमाडौँ बाहिर प्राइमरी एअरपोर्ट बनाउनै पर्छ।”

करिब तीन किलोमिटर लामो त्रिअविको धावनमार्ग पनि आवश्यकताको अनुपातमा छोटो मानिन्छ। दुईतिर बाग्मती र मनहरा नदी अनि वरिपरि शहरिया वस्ती हुनाले धावनमार्गलाई विस्तार गर्ने सम्भावना कम छ। नेपाल नेशनल एभिएशन काउन्सिलका सदस्य हेमन्त अर्याल भन्छन्, “धेरै लम्बाइ बढाउन नसके पनि सकिने जति मात्र बढायो भने अहिलेको अवस्थामा केही राहत हुनेथियो।” मौसम खुला नरहनाले पनि पटक–पटक फ्लाइटमा ढिलाइ हुन्छ। यसले बढ्दो सङ्ख्याका नयाँ एअरलाइन्स्हरूलाई कुन समय दिने भन्ने समस्या ल्याउने पनि निश्चित छ। यी विभिन्न कारणले गर्दा नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य भइसकेको छ।

हुन त एक दशकदेखि नै अर्को अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा चलिरहेको छ। कहिले लुम्बिनी, कहिले पोखरा त कहिले सिमरामा विमानस्थल बनाउनुपर्ने तर्कहरू सुनिए पनि पछिल्लो समयमा भने सरकारले बाराको निजगढ नजिकै नयँा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्ने लक्ष्य लिएको छ। तर अर्को विमानस्थल नबनेसम्म स्तरीय सेवा दिनका लागि त्रिअविको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता पनि टड्कारो भइसकेको छ। त्रिअविका महाप्रबन्धक मीनराज उपाध्याय भन्छन्, “त्यस अवधिका लागि भएपनि त्रिभुवन विमानस्थललाई विस्तार गर्नु र सुविधासम्पन्न बनाउनु पर्छ नै।” (हे. अन्तर्वार्ता)। यसैलाई ध्यानमा राखेर अर्को विमानस्थल बन्न लाग्ने आगामी १५ वर्षसम्मका लागि त्रिअविले कसरी यात्रु आवागमनलाई व्यवस्थित बनाउन सक्छ भन्ने विषयमा अध्ययन गर्न मन्त्रालयले एउटा कार्यदल गठन गरिसकेको छ। 

आशाको केन्द्र पर्यटन

वैदेशिक रोजगारमा जाने नेपालीको बढ्दो सङ्ख्याले वायुसेवा क्षेत्र फस्टाए पनि यो दीर्घकालीन हुनसक्दैन, देशको आर्थिक विकासका साथै वायुसेवाहरूको सुनिश्चित भविष्यका लागि पर्यटनमै बढी जोड दिनुपर्छ भन्ने वायुसेवा कम्पनीहरूको धारणा छ। सन् १९९८ को नेपाल भ्रमण वर्षताका गरिएको नेपालको प्रचारका कारण सन् १९९९ मा पर्यटकहरूको सङ्ख्या उल्लेख्य मात्रामा बढेको थियो। तर माओवादी द्वन्द्व इण्डियन एअरलाइन्स्को अपहरण र अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतङ्कवादी हमलाजस्ता कारणले खुम्चिँदै गएको नेपाली पर्यटन क्षेत्रमा लोकतन्त्रको पुनर्वहालीपछि फेरि रौनक छाएको छ।

यो वर्ष पर्यटकहरूको आगमनमा उत्साहजनक वृद्धि भएको हवाई मार्गबाट आउने पर्यटकहरूको सङ्ख्याले देखाउँछ। नेपाल पर्यटन बोर्डका अनुसार, सन् २००६ मा हवाईमार्गहुँदै २ लाख ७५ हजार ५४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने सन् २००७ को नोभेम्बरसम्मै त्यो सङ्ख्या ३ लाख ३० हजार ४५५ पुगिसकेको छ। यो गतसालको भन्दा २८.६ प्रतिशत वृद्धि हो। पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्वीकार्दै ओशो ट्राभल्सका थपलिया भन्छन्, “पछिल्लो दुई महिनामा धेरै कामदारहरू बोक्ने गरेका कतारजस्ता एअरलाइन्स्हरूलाई समेत विदेशी पर्यटक ओसार्न भ्याईनभ्याई छ।”

विगतमा कामदारहरू नै ओसार्न व्यस्त गल्फ एअर, एअर अरेविया, कतार एअरवेज, विमान बङ्गलादेश, जीमजी एअरलाइन्स्, इत्तिहाद एअरवेजहरू पनि अहिले पर्यटकले भरिभराउ छन्। हवाई सेवाको यो रौनक कायम राख्न सरकारले पर्यटनलाई राष्ट्रिय उद्योगको मान्यता दिन ढिलो गर्न नहुने व्यवसायीहरूको धारणा छ। यती ट्राभल्सका राणा भन्छन्, “म्यानपावरकै भरमा हवाई सेवा दीर्घकालीन हुँदैन, पर्यटनलाई प्रवर्द्धन गर्न पूर्वाधारहरू विकास गर्न ढिलाइ गर्नुहुँदैन।”


'सुधार चाहिन्छ, तर बजेट छैन'

मीनराज उपाध्याय, महाप्रबन्धक, त्रिअवि

एअरलाइन्स्को सङ्ख्या बढ्दो छ तर एअरपोर्ट त निकै अव्यवस्थित देखिन्छनि!
अव्यवस्थित भन्दा पनि 'टाइम स्लट'को समस्या हो। सबै एअरलाइन्स्हरू दिनमै उड्न चाहन्छन्। एकै समयमा फ्लाइट हुने भएकोले बढी भीड देखिएको हो।

यही हिसाबले विदेशी वायुसेवा कम्पनीहरू आए भने त्रिअविले कहिलेसम्म धान्न सक्छ?
त्रिअविको प्रतिघण्टा ७५० यात्रुलाई सेवा दिने क्षमता छ। अहिले दिनमा २५ सयदेखि तीन हजार यात्रुको मात्र ओहोरदोहोर छ। त्यस हिसाबले क्षमताभन्दा निकै थोरै यात्रुलाई सेवा दिइरहेको छ। कहिलेकाहीँ एकै समयमा धेरै विमानहरू आउने–जाने हुनाले मात्र भीड देखिएको हो।

क्षमता भनेको एअरपोर्टमा उपलब्ध ट्रली, शौचालयसम्मका सबै सुविधाको कुरा हो नि, हैन?
ट्रली विदेशबाट झिकाउनुपर्छ। त्यसका लागि प्रायोजकको खोजी हुँदैछ। शौचालयको कुरामा प्रयोग गर्नेले पनि ध्यान दिनुपर्छ। जति सफाई गरे पनि प्रयोगकर्तामै भर पर्छ। सबैले आफ्नै ठान्नु पर्‍यो। यहाँको समस्या भनेको घरबेटी र भाडावालबीचको जस्तो दुवै पक्षको हो। विमानस्थललाई हेर्न लायक बनाउने जिम्मेवारी त एअरलाइन्स्हरूको पनि हो। तर एअरलाइन्स्कै काउण्टर पछाडि फोहोरको डङ्गुर हुनेगर्छ। कतिपय अनावश्यक डेस्कहरू छन्, जसले गर्दा यात्रुहरूले नचाहिँदो झ्ण्झ्ट व्यहोर्नु पर्छ र भीड पनि बढ्ने गर्छ। विमानस्थलमा हुनुपर्ने ठाउँमा जनशक्ति छैनन्, नहुनुपर्ने ठाउँमा धेरै छन्। एअरपोर्टमा खटिएका सम्बन्धित निकायबीच हुनुपर्ने समन्वयको अभावले पनि यस्तो भएको छ।

सुधार गर्ने कुनै योजना छैन?
योजना तयार छ, तर समस्या बजेटको हो। यसका लागि कम्तीमा पनि रु. ८–१० अर्ब आवश्यक पर्छ। यति ठूलो रकमका लागि वैदेशिक सहयोग नै खोज्नुपर्छ र त्यसको पहल भइरहेको पनि छ। तर, अन्तर्राष्टियस्तरको बनाउन त्रिअविलाई अझ् बढी स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ। अधिकांश बाहिरी मुलुकहरूमा एअरपोर्ट अथोरिटी स्वायत्त निकायको रूपमा रहन्छ।

आधुनिक विमानहरूका लागि त्रिअविमा अवतरण र उडान सहज छैन भनिन्छ नि?
विदेशी एअरलाइन्स्हरूको मुख्य गुनासो त्यही छ। त्यसैले इन्स्ट्रूमेण्टल ल्याण्डिङका लागि तयारी भइरहेको छ। त्यसका लागि अष्ट्रेलियन टोलीले छिट्टै नै एउटा सर्भे गर्दैछ।

अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता कत्तिको देख्नुहुन्छ?
दोस्रो पुस्ताका लागि भए पनि नयाँ विमानस्थल अत्यावश्यक छ। तर, त्यो बनाउन कम्तीमा पनि १५ वर्ष लाग्छ। त्यसबेलासम्मका लागि त्रिभुवन विमानस्थललाई अद्यावधिक राख्नैपर्छ।


 सबैको चिन्ता नेवानि


सुरेशराज न्यौपाने

कुनै पनि देशको हवाई र पर्यटन क्षेत्र कत्तिको सफल र व्यावसायिक छ भन्ने कुराको मापदण्ड त्यस देशको राष्ट्रिय ध्वजावाहक वायुसेवाको सफलताबाट पनि मापन गरिन्छ। यात्रुहरूको यति ठूलो चाप भएको अवस्थामा पनि नेपाल वायुसेवा निगम (नेवानि) ले भने आफ्ना दुई वटा बोइङ्ग विमानसमेत नियमित उडाउन सकेको छैन। हाल एकमात्र विमानबाट हप्ताको ११ उडान गरिरहेको नेवानिको वर्तमान अवस्थाका लागि राजनीतिक हस्तक्षेप र भरपर्दो दीर्घकालीन रणनीतिको अभाव मुख्य कारक मानिन्छन्।

नेपालमा हवाई टिकटको माग र पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको अवस्थामा पनि नेवानिको स्थितिमा सुधार हुने सम्भावना देखिँदैन। तर महाप्रबन्धक गौतमदास श्रेष्ठ निगमको अवस्थामा क्रमशः सुधार हुँदै गएको दाबी गर्छन्। उनी भन्छन्, “गत वर्षमात्र हामीले रु.७० करोड ब्याङ्क ऋण तिरेका छौँ। यहाँको समस्या बीसौँ वर्ष पुरानो हो, एक दिनमा हल हुँदैन।” श्रेष्ठले जेजस्तो दाबी गरे पनि पर्यटन व्यवसायीहरू नेवानिको घट्दो उडान र साखको असर पर्यटन र समग्र हवाई क्षेत्रमा परिरहेको बताउँछन्। युनिभर्सल टुर्स एण्ड ट्राभल्सका पराशर प्रसाई भन्छन्, “अधिकांश विदेशी पर्यटकहरू जुन देशमा घुम्न जाने हो, पहिले त्यही देशको वायुसेवालाई प्राथमिकता दिने गर्छन्। नेवानिले पर्यटन क्षेत्रका लागि विदेशमा मार्केटिङ्ग टुल्सको काम गर्न सक्छ।”

तर नेवानिको सीधा उडान नहुँदा विदेशी पर्यटकहरूले समयमै टिकट नपाउने, लामो रुटमा उड्नुपर्ने र महँगो हवाई भाडा तिनुपर्ने जस्ता समस्या व्यहोर्नु परेको छ। नेवानि बलियो हुने हो भने अन्य एअरलाइन्स्हरूलाई पनि फाइदा पुग्ने तर्क राख्छन् थाई एअरवेजका बिक्री प्रबन्धक मार्टिन लामा। उनी भन्छन्, “नेवानिको उडान सुचारु भएमा पर्यटक बढ्नुका साथै, एअरलाइन्स्हरूबीच पनि स्वस्थ प्रतिस्पर्धा शुरु हुन्छ।” यसरी हवाई सीट प्रशस्त भएमा भाडामा प्रतिस्पर्धा भएर मूल्यमा समेत कमी आउन सक्ने ओसो ट्राभल्सका श्याम थपलिया बताउँछन्।

आगामी फेब्रुअरीदेखि दुवै विमानको उडान सुचारु हुने दाबी गर्दै निगमका महाप्रबन्धक श्रेष्ठ भन्छन्, “हामीले नयाँ विमान नकिनी सुखै छैन, दुइटा वाइड बडी र चार वटा न्यारो बडी विमानका लागि सरकारसँग प्रस्ताव राखिसकेका छौँ।” तर अहिले भने चलिरहेको नेवानिको एक्लो विमान पनि मर्मतका लागि ब्रुनाइ जाँदैछ, जसले गर्दा दुई हप्ताका लागि नेवानिको विमानसेवा पूर्ण रूपमा ठप्प हुने भएको छ।