![]() |
| पूर्णाङ्क २०८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
वैदेशिक रोजगार
जापानः आकर्षक तर असुरक्षित
जापानमा गैरकानूनी कामदारको रूपमा बसेका नेपालीहरूबीच गरिएको एक सर्वेक्षणले त्यहाँ जान, काम गर्न र बस्न नेपालीले जे–जस्ता उपाय गरेका छन्, त्यसबाट उनीहरू सुरक्षित छैनन् भन्ने देखाएको छ। नेपालमा भारत वा अरू तेस्रो मुलुकमा कामका लागि जानु स्थापित र आम मान्यता भइसकेको छ। नेपालको वैदेशिक रोजगारी ऐन २०४२ ले पनि नेपालीहरू वैदेशिक रोजगारीका लागि विदेशिने प्रवृत्ति बढेको स्पष्ट गर्दछ। सन् १९९० पछि नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रम र सङ्ख्या दुवै हिसाबमा उल्लेखनीय रूपमा बढेको छ। नेपालीहरू वैदेशिक रोजगारीमा जाने मुलुकमध्ये जापान एक आकर्षक गन्तव्य हो। नेपालमा हालै गरिएको एक अध्ययनले हङकङ र कुवेतपछि जापानलाई बढी रुचाइएको वैदेशिक रोजागारीको गन्तव्यको रूपमा देखाएको छ। जापान खासगरी सन् ८० को दशकको तीब्र आर्थिक विकासपछि त्यस्तो गन्तव्य बन्न पुगेको हो। जापान र अरू एसियाली मुलुकबीचको बढ्दो आय अन्तर, जापानमा वृद्ध–वृद्धाहरूको सङ्ख्यामा वृद्धि, युवा जनसङ्ख्यामा ह्रास र जापानीहरूमा 'काम' लाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन यसका प्रमुख कारण हुन्। हुन त जापानका आप्रवास नीतिहरू पनि कडा छन्। एक तथ्याङ्क अनुसार, जापानमा सन् १९९३ मा रहेका कुल ६ लाख १० हजार आप्रवासीमध्ये ५० प्रतिशत गैरकानूनी थिए। यो सङ्ख्या अहिले विस्तारै घटाइँदैछ। सन् २००४ को डिसेम्बरमा संशोधित कानूनले गैरकानूनी रूपमा जापान प्रवेश गर्नेलाई ३ लाखदेखि ३० लाख येन जरिवाना गर्ने व्यवस्था गरेको छ। हाल जापानले गैरकानूनी विदेशीलाई सुपुर्दगी गर्ने कामलाई समेत प्राथमिकता दिएको छ र हालै मात्र फिलिपिन्स, चीन तथा कोरियाका केही गैरकानूनी आप्रवासीहरूलाई सुपुर्दगी गरिएको थियो। गैरकानूनी रूपमा जापान भित्रिने नेपालीमध्ये ३०–३५ वर्षका कामदारहरू ४० प्रतिशत छन् भने २५–३० उमेर समूहका २३.३ प्रतिशत। यसले युवाहरू बढी सङ्ख्यामा जाने गरेको देखाउँछ। यिनीहरूमध्ये कोही पनि अशिक्षित छैनन्। ६० प्रतिशतले त कलेजको अध्ययन पूरा गरेका या बीचैमा छोडेका छन्। गैरकानूनी रूपमा जापान पुग्नेमध्ये ८० प्रतिशत विवाहित छन्। यी नेपालीहरू विदेशिनुको प्रमुख कारण आफ्नो कमजोर आर्थिक अवस्थालाई मान्दछन्। ५० प्रतिशतले नेपालको न्यून आम्दानीलाई कारणका रूपमा अघि सारेका छन्। धेरैले जापान आउनुअघि कति आम्दानी हुन्थ्यो भन्ने कुरा खुलाउन नचाहे पनि नेपालको कम औसत आयले नै उनीहरूको आम्दानी कम थियो भन्ने पुष्टि गर्दछ। पारिवारिक समस्याका कारण जापान आएको बताउनेहरू पनि केही थिए, जसमध्ये कतिपयको परिवार १० जनासम्मको थियो। नेपालमा रोजगारी नपाएका कारण आउनुपरेको भन्ने पनि प्रशस्त भेटिए। उनीहरू नेपालमा आफ्नो गरिबी हटाउने सम्भावना नदेखेपछि जापान आउन बाध्य भएको तर्क गर्छन्। जापानमा हामीले भेटेका मध्ये कतिपयले चाहिँ माओवादी आन्दोलनका कारण नेपालको खस्कँदो राजनीतिक अवस्था र राजा तथा राजनीतिक दलको कुशासनबाट वाक्क भएर आएको बताएका थिए। भारत सजिलो गन्तव्य भए पनि त्यहाँ गएर आफ्नो जीवनमा तात्विक परिवर्तन नहुने भएकोले जापान आएको उनीहरू बताउँछन्। गैरकानूनी रूपमा जापान पुगेका नेपालीहरूमध्ये ६६ प्रतिशत कारखानामा, १३ प्रतिशत निर्माण क्षेत्रमा र १० प्रतिशत सेल्स र व्यापारको काम गर्छन्। हप्ताको ५–६ दिन, दैनिक ८ देखि १२ घण्टा काम गर्ने उनीहरू विभिन्न फलामे यन्त्रहरू चलाउने, होटेल–घरमा एअर कन्डिसनर जडान गर्ने, इलेक्ट्रोप्लेटिङ, काष्ठकला, कार निर्माण र छापाखानाका काम गर्ने, प्लास्टिक प्याकेजिङ गर्ने, मासु र तरकारी काट्नेजस्ता कामहरू गर्छन्। 'जे पाए पनि गर्ने' अवस्थामा भएकाले जस्तो काम पनि गर्नुपर्छ। उनीहरूमध्ये ७० प्रतिशतलाई आफूले गरेको काम चित्त बुझ्ेको छैन। जापान आएपछि नेपालीहरूको आर्थिक अवस्था सुधि्रएको छ। ६६ प्रतिशतले वर्षमा साढेदुई लाखदेखि आठ लाख रुपैयाँ घर पठाउँछन् भने १६ प्रतिशतले वार्षिक नौ लाखदेखि १२ लाख पठाउँछन्। एउटा अपवाद पनि भेटियो― नारायणगढबाट पर्यटक राहदानीमा आएर 'सेकेन्ड ह्यान्ड' कारको व्यवसायमा लागेका एक युवकको मासिक आम्दानी सरदर साढेचार लाख रुपैयाँ थियो। (नेपाली कामदारहरूको सुरक्षालाई ध्यानमा राखेर यो अध्ययनमा उनीहरूकोे परिचय, वासस्थान र कार्यस्थलबारे जानकारी दिइएको छैन।) जापानी कामदारलाई भन्दा नेपालीलाई कम पारिश्रमिक छ। प्रतिघन्टा औसत एक हजार येन पाउने नेपाली कामदारको पारिश्रमिक जापानी कामदारको भन्दा झ्ण्डै चार सय येन कम छ। जापानमा बस्ने यी नेपालीहरूको बसोवासको अवस्था पनि खासै राम्रो छैन। उत्तरदातामध्ये ८० प्रतिशत १०138१० फिटको कोठामा बस्छन्। सर्वेक्षणमा समावेश ६३ प्रतिशत गैरकानूनी आप्रवासी नेपालीहरू सन् २००१ देखि २००४ बीचको अवधिमा जापान भित्रिएका थिए। जापान भित्रिन गैरकानूनी प्रक्रिया अपनाएका नेपालीहरूले यहाँ काम र बसोवास गर्न पनि त्यस्तै तरिका अपनाएका छन्। तीमध्ये कतिपय सरकारी कामको सिलसिलामा आएर नफर्किने थिए। हामीले भेटेका दुई जना जापानमा आयोजित प्रदर्शनीमा भाग लिन सरकारले पठाएर आएका थिए भने एक जना खेलकुद र तीन जना कार्यशाला/सम्मेलनमा भाग लिन आएका थिए। एक तयारी पोशाक डिजाइनर र अर्का एक गैरसरकारी संस्थाका स्वयंसेवी पनि फर्केनन्। अर्का एक जनाचाहिँ आफ्नो बाबुको सरकारी कामका सिलसिलामा उनीसँगै 'पर्यटक' का रूपमा आएर बसेका छन्। एक जनाले आफू ओसाकामा नेपाली हस्तकलाको व्यापार गर्न आएको, तर व्यापार बिग्रेपछि यतै बस्न बाध्य भएको बताए। यीमध्ये कतिपयलाई नेपाल छोड्दा नै आफू गैरकानूनी रूपमा जापान जान लागेको थाहा थियो। ५६ प्रतिशतले जानाजान दलालहरूलाई रुपैयाँ दिएर जापान जाने प्रबन्ध मिलाएका थिए। धेरैले फिक्सर र दलालमार्फत् जापानमा काम पाउँछन्। कतिपयले 'हुन्डी' मार्फत् घरमा पैसा पठाउँदा समेत दलालको सहायता लिने गरेका छन्। हामीले भेटेकामध्ये सात जनाले चाहिँ घरमा पैसा पठाउनेबाहेक अरू कामका लागि कहिल्यै दलालको सहायता नलिएको बताए। जापान जानका लागि नेपालीहरूले ठूलो रकम खर्च गर्ने गरेका छन्। ७० प्रतिशतभन्दा बढीले रु.५ लाखदेखि ९ लाख खर्च गरेका छन् भने बाँकीले त्योभन्दा कम। जापान आउन लाग्ने खर्च प्रायः नेपालीहरूले आफ्नै पुर्ख्यौली सम्पत्तिको जमिन, सुन आदि बेचेर जुटाउने गरेका छन्। कतिले वार्षिक १८ देखि ३६ प्रतिशतसम्म व्याज तिर्ने गरी ऋण लिएका छन्। धेरैजसो काठमाडौँ–ब्याङ्कक–टोकियो रुट भएर जापान आइपुग्छन् भने त्यसपछि बढी प्रयोग हुने हवाइमार्ग काठमाडौँ–साङ्घाई–ओसाका हो। काठमाडौँबाट सिङ्गापुर र दिल्लीहुँदै छिर्नेहरू पनि छन्। गैरकानूनी भएका कारण जापानमा नेपालीहरूले सुरक्षासम्बन्धी धेरै समस्या भोग्नुपर्दछ। यसैकारण उनीहरू आफूलाई सधैँ असुरक्षित महसूस गर्छन्। कतिले सुरक्षित रहनलाई पैसासमेत तिर्नुपर्छ। केही वर्षअघि 'सेकेन्ड ह्यान्ड' कार किनबेच गर्ने नारायणगढका नेपालीले एउटा पाकिस्तानी 'याकुजा' (माफिया समूह)बाट धम्की पाएपछि केही नलागेर पाँच हजार डलर (तत्कालीन विनिमय दरअनुसार रु.३ लाख ५० हजार) तिर्नुपरेको थियो। आफ्नो स्थिति खुल्ने र चिनिने डरले उनी प्रहरीमा उजुरी गर्न जान सकेनन्। धेरै उत्तरदाताहरूको अनुभवमा यस्ता 'ग्याङ'हरू आप्रवासीमध्येबाटै जन्मिने गरेका छन्। बेला–बेलामा जापानी प्रहरीले गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गर्न सडक, डिपार्टमेन्टल स्टोर, सार्वजनिक स्थल आदि ठाउँहरूमा छापा मार्ने गरेको छ। यसबाट नेपालीहरू पनि त्रसित हुन्छन्। तर, ९३ प्रतिशत उत्तरदातालाई अहिलेसम्म प्रहरीले भेट्टाएको छैन। प्रहरीले छिमेकका घरमा आएर आफूहरूबारे सोध्ने गरेको चाहिँ उनीहरू बताउँछन्। यति हुँदाहुँदै पनि समग्रमा नेपालीहरूका लागि जापान आकर्षक रोजगारीको थलो हो। तर, त्यहाँ छिर्न, काम गर्न र बस्नका लागि जे जस्ता उपायहरू गरेका छन्, त्यसबाट उनीहरू सुरक्षित भने छैनन्। |