| •
ऋतुराज |
 |
ऋतुविचार
बिना बर्दीकी राधा
काठमाडौँको जुन इलाकामा ऋतुराजको बसोबास रहेको छ त्यस ठाउँमा पुग्ने वा त्यहाँबाट निस्कने निकास बडो साँघुरो छ। सडक त सडकै हो, तर यस्तो कि एउटा ट्रक वा स्कूल बसले पूरै एक किलोमिटर भागमा घण्टौँ ट्राफिक जाम गराइदिन सक्छ। सडकको त्यस भागलाई हिन्दीको 'सुरंगनुमा' भन्ने शब्दले बढी राम्ररी चित्रण गर्दछ। अर्थात् सुरुङजस्तो या सुरुङ टाइपको सडक जहाँ छिरेपछि त्यसको निकास नपुगेसम्म दायाँबायाँ गर्ने कुनै चान्स हुँदैन।
यहाँ सन्दर्भ जोड्न खोजिएको काठमाडौँ महानगरको त्यो भाग ठमेल डाँडादेखि ओरालो लागेर उत्तरतर्फ सामाखुसीसम्म जाने सडकखण्ड हो। बिहान होस् या दिउँसो या बेलुकी, सधैँ घचारो। बिदाको दिन होस् या अफिस चलेको दिन― सधैँ भीड, सधैँ जाम। भएभरका सवारीको दोहोरो लाइन अटुट रहन्छ। त्यसमाथि गाडा र बाँसका घना वा पानीका लामा पाइप बोकेका ढुवानी रिक्सा पनि थपिएमा के गति हुन्छ त्यसको सहजै अनुमान गर्न सकिन्छ।
यो जाम र यो घचारो पार पाइसक्नु हुन्थेन यदि राधा नभएकी भए। राधा कृष्ण धरावासीको मदन पुरस्कारबाट पुरस्कृत उपन्यासकी काल्पनिक पात्र होइन। यो एउटी फुर्तिली अधबैँसे नारीको नाम हो जसले यो सुरुङजस्तो सडकको ट्राफिक सुधार्ने जिम्मा आफूखुसी आफ्ना टाउकामा लिएकी छन्।
मुखले फुकेर बजाउने केवल एउटा सिठीका भरमा राधाले छाडा र अनुशासनहीन सवारी चालकहरूलाई केही वर्ष यतादेखि कज्याउँदै आएकी छन्। निजी गाडीको होस् या ट्याक्सी या माइक्रोबसको बेसोमती ड्राइभर, सबैलाई तह लगाउँदै आएकी छन्। कराएर, हकारेर बिन्तीभाउ गरेर जसरी भए पनि जाम लाउन दिन्नन्। लागिहाले पनि त्यसलाई तत्कालै खुलाएर छाड्छिन्।
राधाकै देखासिकी गरेर एक–दुई ठाउँ अन्त पनि एक–दुई नारी देखिए ट्राफिक सञ्चालन गर्ने काममा जुटेका। हातमा लौरो लिएका ती नारीहरूको व्यवहार भने उनीहरूको दिमागी सन्तुलनप्रति शङ्का जगाउने खालका हुन्थे। उनीहरूका सेवामा राधाको जस्तो नियमितता थिएन, न त राधाको जस्तो चुस्ती र सतर्कता। त्यसैले उनीहरू हराए, राधा भने टिकिरहिन् आफूले रोजेको सार्वजनिक सेवामा। उनले काम थालेको ठाउँ सामाखुसी कपुरधाराको दोबाटो हो। तर परिआएमा राधा गल्कोपाखा, ठमेलडाँडा, डेरीको जक्सनदेखि सोह्रखुट्टेको उकालोसम्म जहाँ पनि पुग्छिन्। ती ठाउँहरूमा गुजुल्टिने ट्राफिकका गाँठाहरूलाई फुकाउने चेष्टा गर्छिन्। बर्दी नलाएकी यी हिम्मतदार नारी कर्तव्यनिष्ठ अफिसरजस्ती देखिन्छिन्। उता छेउमा उभिएर उनको क्रियाशीलता हेरिबस्ने बर्दीवालाहरू चाहिँ उनका निकम्मा सहायकजस्ता।
माथि उल्लिखित ठाउँहरूमा अफिस टाइममा लामो जाम लाग्यो भने बुझ्नुपर्छ राधा कुनै कारणवश अनुपस्थित छिन्। अपरिहार्य भइसकेको छ राधाको उपस्थिति ती ठाउँहरूमा। उनी बिना ट्राफिक जाम हुन्छ, खुल्दैन।
एउटी राधाबाटै त्यति फरक पर्न सक्छ भने दुई–चार थप राधाहरू भइदिएमा कस्तो हुनेथियो होला? अनि ट्राफिक सञ्चालनमा राधामाथि नै भर पर्नुपर्छ भने ट्राफिक प्रहरी राख्नुको चाहिँ औचित्य के होला?
रा.च.पा. अर्थात् राष्ट्रिय चर्पी पार्टी

रविन साय्मि |
'ह्याप्पी टोयलेट डे'। यस्तो भन्ने र सुन्ने दिन पनि आउँदो रहेछ। अस्ति आयो। 'टोयलेट डे' अर्थात् 'चर्पी दिवस'। अनि 'चर्पी दिवस' मनाउने दिन पनि आउँदो रहेछ। अस्ति आयो। 'दिवस' भनेरै मनाएपछि शुभकामनाको आदान–प्रदान पनि हुनुपर्यो। अस्ति त्यो पनि भयो। शुभकामना केको भन्दा १ करोड ४० लाख नेपालीहरू चर्पी सुविधाबाट वञ्चित छन्। उनीहरू मैदान जान्छन् अथवा खुला ठाउँमा दिसा–पिसाब गर्छन्। त्यसैले प्रत्येक नेपालीले सके आजै या भोलि नै या सकेसम्म छिटो चर्पी जान पाउनै पर्छ। हो त्यसै कुराको शुभकामना!
कुरा ठीक हो। कोही भोको बस्न हुन्न, प्रत्येक नेपालीले खान पाउनै पर्छ। यो उसको जन्मसिद्ध अधिकार हो। खाएपछि चर्पी पनि जान पाउनै पर्छ, यो पनि उसको प्रकृतिसिद्ध हक हो। तर अघि नै भनियो, आधाभन्दा बढी नेपालीले यस हकको उपभोग गर्न पाइरहेका छैनन्। आज पनि। संसारले एक्काइसौँ शताब्दीमा पदार्पण गरेको सात वर्ष पुगिसक्दा पनि। किन त?
किनभने घर बनाएपछि त्यसको साथमा एउटा चर्पी पनि बनाउनुपर्छ भन्ने कुराको हेक्का थोरैलाई मात्र छ, धेरैलाई छैन। जहाँ जहाँ मान्छे जम्मा हुन्छन्, जहाँ मानिसको आवतजावत हुन्छ त्यहाँ त्यही माफिक चर्पी चाहिन्छ भन्ने हेक्का जसलाई हुनुपर्ने हो त्यसलाई छैन। त्यसैले त घर हुन्छ, चर्पी हुँदैन। कुनै सार्वजनिक स्थलमा जानोस् चर्पी पाइँदैन। डिपार्टमेन्ट स्टोर खोल्छन्, ठूलठूला 'मल' खोल्छन्। तर 'मानवमल' फ्याँक्ने सुहाउँदो ठाउँ बनाउँदैनन्। पार्क, उद्यान हुन्छ, चर्पी हुँदैन। सयौँ ग्राहक एकसाथ बस्न र खान सक्ने रेष्टुँरा हुन्छ या पार्टी प्यालेस हुन्छ तर ठाउँ सुहाउँदो सफा चर्पी हुँदैन। झकिझकाउ पसल चलाउँछन्, तर अभरमा परेको ग्राहकलाई हल्का पार्ने कुनै ठाउँ हुँदैन। कथम् ती ठाउँमा चर्पी भइहाले छिरी सक्नुहुँदैन। बत्ती, पानी, सफा केही हुँदैन।
अस्पताल र नर्सिङहोम गयो त्यही हाल छ। सिनेमा हल पस्यो हालत उस्तै छ। स्कूल गयो, कलेज छिर्यो त्यही हाल छ। बस अड्डा र एयरपोर्टको दुरवस्था उही छ। सरकारी कार्यालयको कुरा गरिसाध्ये छैन। घरमा महङ्गा टायल र सङ्गमरमरका बाथरुम हुने हाकिमहरूले कसरी सहन सकेका होलान् आफ्ना कार्यालयका दुर्गन्ध?
जो फोहोरको सान्निध्यमा बस्छ ऊ स्वस्थ होस् कसरी? अस्वस्थ र रोगी नागरिकहरू भएको देश अघि बढोस् कसरी? यही बुझेर होला मोहनदास करमचन्दले आफ्नो सामाजिक जीवनको सुरुआत फोहोरको सफाइबाट गरे, जो पछि महात्मा गान्धी कहलाइए।
हाम्रामा पनि कोही महात्मा भए शुरु गरे हुन्छ देशव्यापी चर्पी आन्दोलन– चर्पी नभएको ठाउँमा चर्पी बनाउने र भएको ठाउँमा त्यसलाई सफा राख्ने। खोले हुन्छ राष्ट्रिय चर्पी पार्टी। 'चर्पी दिवस' मनाउने जाँगर हुने मित्रहरूले यसबारे गौर किन नगर्ने? |