रिपोर्ट पत्रकार
माओवादीका शिकार
पत्रकार वीरेन्द्र साहको हत्या र प्रकाश ठकुरीको अपहरणको सशक्त विरोधपछि माओवादी हच्केका त छन्, तर उनीहरूको हिंसात्मक कार्यशैलीमा सुधार आएको छैन।
• पूर्ण बस्नेत

नगेन्द्र उपाध्याय |
| पत्रकार धनबहादुर रोका मगरको
परिवार। |
चार मङ्सिरमा नेकपा माओवादीका कञ्चनपुर जिल्ला इञ्चार्ज अखण्ड र सह–इञ्चार्ज विक्रम कञ्चनपुरका पत्रकार प्रकाश ठकुरीको अपहरणको सन्दर्भमा नेपाल पत्रकार महासंघको मिसनसँग निकै आक्रामक रूपमा प्रस्तुत भए। “सबै प्रश्नको जवाफ दिन आवश्यक छैन” भन्दै उनीहरू यो अपहरण माओवादीबाट भएकै होइन भनेर त्यसको जिम्मेवारीबाट पन्छिन खोज्दैथिए। त्यतिमात्रै होइन, अध्यक्ष प्रचण्डलगायत पार्टीका वरिष्ठ नेताहरूले गल्ती भएको स्वीकार गरिसकेका बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा समेत उनीहरू हत्यारालाई 'पार्टीले कारबाही गरिसकेकाले माओवादीलाई मुछ्न नमिल्ने' जिकिर गर्दैथिए।
शत्रुको व्यवहार
निरन्तर गल्ती गर्ने र त्यसलाई ढाकछोप गर्न खोज्ने माओवादी कार्यकर्ताको जबरजस्ती प्रवृत्तिका कारण २०५२ यता नौ जना पत्रकार माओवादीको शिकार भएका छन्। शान्ति सम्झौताको उल्लङ्घन गर्दै भएको वीरेन्द्र साहको हत्या र प्रकाश ठकुरीको अपहरण शान्ति कालमा पनि पत्रकारलाई शत्रु ठान्ने माओवादी कार्यकर्ताको हिंसात्मक सोच र शैलीमा परिवर्तन नआएको प्रमाण हो। नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी भन्छन्, “माओवादीले प्रतिबद्धता एउटा र व्यवहार अर्को गरेर द्वैध चरित्र देखाउँदै आएको छ, पछिल्ला आक्रमण पनि त्यसैको निरन्तरता हो।”
२०५२ सालमा सशस्त्र द्वन्द्व शुरु भएयता, खासगरी २०५८ सालदेखि, माओवादी र प्रेसको सम्बन्ध जटिल र चुनौतीपूर्ण रहँदैआएको छ। सशस्त्र द्वन्द्व प्रभावित क्षेत्रमा संवाददाताहरूको उपस्थिति बढ्न थालेपछि आलोचनात्मक दृष्टिकोण राख्ने पत्रकारहरू उग्र माओवादी कार्यकर्ताको शिकार हुन थाले। माओवादीले पत्रकारहरूलाई आफ्नो पक्षमा लेख्न वा पत्रकारिता पेशा नै त्याग्न दबाब र धम्की दिने, माओवादी प्रभावित क्षेत्रमा स्वतन्त्र रूपमा घुम्न र समाचार सङ्कलन गर्न अवरोध पुर्याउने, अपहरण गरेर बेपत्ता बनाउने, शारीरिक र मानसिक यातना दिने र हत्या समेत गर्ने शृङ्खला नै चलाए। यसक्रममा माओवादीका सशस्त्र कार्यकर्ताहरूले २०५८ भदौमा माओवादीको बैठक र खुलासभाको समाचार सङ्कलन गर्न उत्तरी रोल्पाको कुरेली गाउँ पुगेका पाँच जना संवाददातालाई 'प्रतिक्रियावादी पत्रकार' भन्दै आतङ्कित पारी तीन दिनसम्म थुनेर पत्रकारहरूमाथि सङ्गठित आक्रमण शुरु गरेका थिए।
२०५९ मा राज्यद्वारा बेपत्ता बनाइएका माओवादी निकट पत्रकार कृष्ण सेनको स्थिति सार्वजनिक गर्न माग गर्दै सङ्घर्ष गरिरहेका पत्रकारहरूलाई माओवादीले कालीकोटमा पत्रकार नवराज शर्मा 'वसन्त'को हत्या गरेको समाचारले स्तब्ध तुल्याएको थियो। राजधानीमा पत्रकारिता सिकेर कर्णाली फर्केका शर्माले २०५७ मा आफैँ प्रकाशक/सम्पादक भएर कालीकोटबाट कदम साप्ताहिक निकालेका थिए। तर माओवादीका उग्र कार्यकर्ताले उनलाई सुराकीको आरोप लगाउँदै १८ वैशाख २०५९ मा अपहरण गरेर चरम यातना दिई १९ जेठमा हत्या गरे। शर्मा माओवादीबाट मारिएका पहिलो पत्रकार थिए। त्यसपछि अपहरण र हत्या शृङ्खलाको शिकार भए― मोरङका अम्बिका तिमल्सिना, रोल्पाका धनबहादुर रोका मगर, काभ्रेका ज्ञानेन्द्र खड्का, पर्साका गोपाल गिरी, दैलेखका डेकेन्द्र थापा, सुनसरीका खगेन्द्र श्रेष्ठ, कञ्चनपुरका प्रकाश ठकुरी र बाराका वीरेन्द्र साह।
नेपाल पत्रकार महासंघको अभिलेखअनुसार, २०५९ यता नेपालमा १९ पत्रकार मारिएका र दुई बेपत्ता छन्। यीमध्ये ११ जना राज्य र आठ जना माओवादीबाट मारिएका छन् भने दुवैपक्षबाट एक–एक जना बेपत्ता पारिएका छन्। राज्यका सुरक्षाकर्मीबाट होस् वा माओवादीबाट, पत्रकारको अपहरण र हत्या हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण हो। माओवादीका यस्ता कदम गलत थिए भन्ने कुरा स्वयं माओवादी निकट पत्रकारहरू पनि स्वीकार गर्छन्।
रेडियो नेपालको सुर्खेत प्रसारण केन्द्रमा खाम मगर भाषाका समाचारवाचक रोल्पाका धनबहादुर रोका मगरकी श्रीमती दिलकुमारी रोकाले आफ्नो श्रीमान् अपहरणमा परेको खबर २० दिनपछि र मारिएको खबर तीन वर्षपछि पाएकी थिइन्। धनबहादुरको हत्याविरुद्ध पछि मात्रै आवाज उठेपनि २०६० भदौमा ज्ञानेन्द्र खड्का र २०६१ साउनमा डेकेन्द्र थापाको निर्मम हत्यापछि माओवादीले ठूलो दबाबको सामना गर्नु परेको थियो। खड्कालाई खम्बामा बाँधी परिवार र गाउँवासीका सामुन्ने खुकुरीले घाँटी रेटेर हत्या गरिएको थियो भने थापालाई चरम यातना दिएर मारिएको थियो। तर पत्रकारहरूको देशव्यापी सङ्घर्ष र अन्तर्राष्ट्रिय दबाबपछि माओवादीले पहिलो पटक गल्ती स्वीकार गर्दै क्षमायाचना गरेको थियो। २५ भदौ २०६१ मा नेपाल पत्रकार महासंघको केन्द्रीय समितिलाई पठाइएको माओवादी प्रवक्ता कृष्णबहादुर महराको पत्रमा भनिएको थियो, “...पत्रकार डेकेन्द्र थापाको घटना हाम्रो पार्टीको केन्द्रीय नीति र निर्देशन विपरित भएको स्पष्ट गर्दै पार्टीको तर्फबाट सार्वजनिक आत्मालोचनासहित आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।”
तर माओवादीले कस्तो प्रतिबद्धता व्यक्त गर्यो भन्दा पनि कत्तिको इमान्दारितापूर्वक त्यसको व्यावहारिक कार्यान्वयन गरेको छ भन्ने कुराले महत्व राख्दछ। पार्टी प्रवक्ता महराको प्रतिबद्धता आएपनि माओवादीका स्थानीय कार्यकर्ताबाट पत्रकारको अपहरण गर्ने क्रम रोकिएन। त्यसका अनेकौँ उदाहरणमध्ये इलामका पत्रकार सोम शर्मा र उमेश गुरुङको अपहरण पनि हो। 'पार्टी नीति विरोधी समाचार लेखेको' आरोपमा ३० वैशाख २०६२ मा अपहरण गरी गाउँका १७ वटा सेल्टरमा मानसिक यातना दिँदै राखिएका शर्मालाई पत्रकार महासंघको पहलमा ५५ दिनपछि इलामको राँकेबाट मुक्त गरिएको थियो। रेडियो नेपालका इलाम संवाददाता उमेश गुरुङलाई पत्रकारिता छोडेर जनयुद्धमा लाग्न अस्वीकार गरेको कारण नौ दिनसम्म घरमै नजरबन्द राखिएको थियो। गुरुङमाथि कारबाही चलाउने माओवादीका स्थानीय कार्यकर्ताले सार्वजनिक रूपमा 'पत्रकार माओवादीको तेस्रो शत्रु हुन्' भनेर सम्पूर्ण पत्रकारहरूलाई दुश्मनको कित्तामा राखेका थिए। माओवादी कार्यकर्ताको ज्यादतीकै कारण कृष्ण सेन 'इच्छुक'देखि विनोद चौधरी 'साजन'सम्मका माओवादी निकट पत्रकारहरूको सुरक्षाकर्मीले हत्या गर्दा पनि अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूको साहनुभूति उनीहरूले पाउन सकिरहेका छैनन्।
डेकेन्द्र थापाको हत्याको तीन वर्षपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आयो र बृहत् शान्ति प्रक्रियाअन्तर्गत माओवादी स्वयं संसद र सरकारको हिस्सेदार बन्यो। तैपनि पत्रकारविरुद्ध हिंसा र तिनको अपहरण तथा हत्याको क्रम रोकिएको छैन। प्रकाश ठकुरीको अपहरण र वीरेन्द्र साहको हत्या त्यसका प्रमाण हुन्। नेकपा एमालेका सांसद रघु पन्तको विचारमा माओवादी लोकतान्त्रिक रूपान्तरणलाई भन्दा पनि हिंसात्मक गतिविधिलाई नै निरन्तरता दिन चाहन्छ। “माओवादीले वाईसीएललाई राजनीतिक सङ्गठन होइन बल प्रयोग गर्ने संस्था बनाए, त्यसैको परिणाम हो अहिलेको आक्रमण शृङ्खला” पन्त भन्छन्।
लडाइँबाट आएको शक्तिमा हिजोको धङ्धङी रहनु स्वाभाविक ठान्ने माओवादी निकट पत्रकारहरूको सङ्गठन क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल भन्छन्, “तर व्यक्तिगत प्रतिशोधको भावनाले गरिएको वीरेन्द्र साहको हत्याको अपराधमा सिङ्गो पार्टीलाई मुछ्न खोज्नु नियोजित षड्यन्त्र हो।” त्यस्ता 'छिटपुट घटना'लाई सच्याउनुपर्ने र अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने उनको धारणा छ। प्रेस काउन्सिलका अध्यक्ष राजेन्द्र दाहालको विचारमा भने पेशाकर्मी माथिको निरन्तर आक्रमण छिटपुट घटना मात्रै नभएर माओवादीको दृष्टिकोणमा परिवर्तन नभएको प्रस्ट सङ्केत हो। “घटनाका क्रमिक शृङ्खलाले माओवादीको भनाइलाई पत्याउने आधार दिँदैन,” उनी भन्छन्, “शान्ति सम्झौता पालना गर्नु त्यसमा हस्ताक्षर गर्ने दुवै पक्षको दायित्व हो, सम्झौता विपरित हिँड्नु त्यो भङ्ग गरेसरह हो।”
न्यायको प्रतीक्षा
पत्रकारमाथि अनेकन् आरोप लगाएर अपहरण गरी हत्या गर्नु वाईसीएलका लडाकुहरूलाई ठूलो कुरा नहोला; उनीहरूसँग अपहरण, यातना र 'सफाया'को राम्रै अनुभव छ। पत्रकार मात्रै किन, कुनै पनि नागरिकले 'गल्ती' गरेमा उसलाई नियन्त्रण गर्ने कानूनी बाटोलाई बेवास्ता गरेर अगाडि बढ्नु कानूनको शासनको ठाडो उल्लङ्घन हो। यस्ता कारबाहीबाट माओवादीले आफ्ना हिंसात्मक गतिविधिलाई सही सावित गर्न सक्दैनन्। तर शान्ति प्रक्रियामा आइसकेपछि पनि माओवादीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न नसक्नु चाहिँ आश्चर्य लाग्ने कुरा हो।
माओवादीका अध्यक्ष प्रचण्डले वीरेन्द्र साहका हत्यारालाई नियन्त्रणमा लिन वाईसीएललाई परिचालन गरिएको बताएका छन्। माओवादीले अपराधीलाई प्रहरीको जिम्मा लगाएर कानूनी कारबाहीमा सहयोग गरे भने त्यो सकारात्मक कदम मानिनेछ। त्यसले माओवादी तथा राज्य पक्षबाट मारिएका १९ र बेपत्ता पारिएका दुई पत्रकारका सम्बन्धमा अनुसन्धान अघि बढाउन सहयोग पुग्नेछ। साथै, दोषीहरूमाथि कारबाही गर्ने ढोका पनि खोल्नेछ। तर सांसद रघु पन्तको विचारमा प्रचण्डको अभिव्यक्ति जनमतका लागि मात्रै हो। वीरेन्द्रका परिवार मात्रै होइन, माओवादी र राज्य पक्षका सुरक्षाकर्मीद्वारा हत्या–अपहरण गरिएका २१ जना पत्रकारका आफन्त न्याय र क्षतिपूर्तिको प्रतीक्षामा छन्। “श्रीमान्को हत्यापछि माओवादीले हामीलाई पनि उनीहरूसँगै भूमिगत हुन दबाब दिए”, धनबहादुरकी श्रीमती दिलकुमारी भन्छिन्, “अहिले न्याय त परको कुरा भो, लुगाफाटो र पेट पाल्नकै समस्या छ।”
नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी पत्रकारको सुरक्षा एवं दण्डहीनताको अन्त्यका लागि माओवादी र राज्य दुवैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “अपराधीलाई नियन्त्रणमा लिएर कारबाही चलाउने दायित्व सरकारले पूरा गर्नै पर्छ, माओवादीले पनि त्यसमा सहयोग गरे भने सकारात्मक मानिनेछ।”
माओवादीका शिकार
९ पत्रकार
(वैशाख २०५९ – असोज २०६४)

प्रकाश ठकुरी (३६), कञ्चनपुर।
प्रकाशक/सम्पादकः आजको समाचार दैनिक।
अपहरणः २१ असार २०६४ मा अपहरणपछि हालसम्म बेपत्ता।
परिवारः श्रीमती र दुई छोरा |

डेकेन्द्र थापा (३३), दैलेख।
संवाददाताः रेडियो नेपाल।
हत्याः २७ साउन २०६१मा अपहरणपछि यातना दिएर हत्या।
परिवारः श्रीमती र दुई छोरी। |
| |

ज्ञानेन्द्र खड्का (३२), सिन्धुपाल्चोक।
संवाददाताः राष्ट्रिय समाचार समिति।
हत्याः २१ भदौ २०६० मा घाँटी रेटी हत्या।
परिवारः श्रीमती र तीन छोराछोरी। |

अम्बिका तिमल्सिना (२५), मोरङ।
संवाददाताः जनादेश साप्ताहिक।
हत्याः २५ मङ्सिर २०५९ मा सुराकीको आरोपमा अपहरण गरी हत्या। |
| |

वीरेन्द्र साह (३४), बारा।
संवाददाताः नेपाल एफएम, एभिन्यूज टेलिभिजन र दृष्टि साप्ताहिक।
हत्याः १८ असोज २०६४ मा अपहरण गरी हत्या।
परिवारः श्रीमती र दुई छोराछोरी। |

खगेन्द्र श्रेष्ठ (४९), सुनसरी
प्रकाशक/सम्पादकः धरान टुडे दैनिक।
हत्याः २ चैत २०६१ मा गोली प्रहार, १८ चैतमा मृत्यु।
परिवारः दुई श्रीमती र दुई छोराछोरी |
| |

गोपाल गिरी (५२), पर्सा।
सम्पादक/स्तम्भकारः सार्थक साप्ताहिक (हत्याको बखत वीरगन्ज नगरपालिकाको मेयर)।
हत्याः १ माघ २०६०।
परिवारः श्रीमती र तीन छोराछोरी। |

धनबहादुर रोका मगर
(२७)रोल्पा।
खाम मगर भाषाको समाचार वाचकः रेडियो नेपाल, क्षेत्रीय प्रसारण केन्द्र सुर्खेत।
हत्याः १६ माघ ०५९ मा अपहरण गरी हत्या।
परिवारः श्रीमती र तीन छोराछोरी। |
| |

नवराज शर्मा 'वसन्त' (३८), कालीकोट।
प्रकाशक/सम्पादकः कदम साप्ताहिक।
हत्याः १८ वैशाख २०५९ मा अपहरण गरी यातना दिएर १९ जेठमा हत्या।
परिवारः श्रीमती र चार छोराछोरी |
|