रिपोर्ट माओवादी
प्रचण्ड संकटमा
माओवादी कार्यकर्ताबीच 'नेपाली माओ' को उपमा पाएका प्रचण्डको राप र ताप संकटमा परेको छ।
• जेवी पुन मगर

किरण पाण्डे |
शान्ति सम्झौता यता बाबुराम भट्टराईको सहयोगमा एकलौटी निर्णय गर्दै आएका माओवादीका 'प्राधिकार' नेता प्रचण्ड अहिले सङ्कटमा फसेका छन्। नेकपा माओवादीको इतिहासमा महत्वपूर्ण मानिने साउनमा भएको बालाजु प्लेनमका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डमाथि औंला उठाएपछि उनी सङ्कटमा पर्दै गएका हुन्। पार्टी हेडक्वार्टरको निर्णय आँखा चिम्लेर स्वीकार गरिने माओवादीको इतिहास बालाजु प्लेनमबाट तोडिएकाले पनि माओवादीभित्र यो भेलालाई विशेष महत्वका साथ हेरिन्छ। चुनवाङ बैठकअघि हेडक्वार्टरमा प्रचण्ड एक्ला थिए भने बैठकपछि बाबुराम भट्टराईलाई थपिएको थियो।
'शान्ति सम्झौताको नाममा सत्तामोहमा फसेर नेपाली काङ्ग्रेस र भारतको गोटी बनेको तथा भूमिगत कालमा उठाउँदै आएका प्रमुख मुद्दाहरूमा सम्झौता गरेपछि जनताबाट बहिष्कृत भएको' निचोडसहित केही केन्द्रीय नेताहरू प्रचण्डमाथि खनिएपछि उनले प्लेनममा माफी माग्नु परेको थियो। नेकपा माओवादीका 'थिङ्क ट्याङ्क' मानिने मोहन वैद्य (किरण), स्थापनाकालदेखि नै प्रचण्डसँग नेतृत्व टक्कर पर्ने र सङ्गठनमा पनि पकड राख्ने रामबहादुर थापा (बादल) र माओवादी आधार क्षेत्रमा बलियो प्रभाव भएका युवा नेता नेत्रविक्रम चन्द (विप्लव) को समूह प्लेनममा हावी भएको थियो। प्लेनमसँगै माओवादीभित्र यो समूहको विचार र नेतृत्व बलियो हुँदै गएको कुरा माओवादीका पछिल्ला अडानहरूबाट पनि देखिन्छ। शान्ति प्रक्रियामा आएलगत्तै खारेज गरिएकोे जातीय राज्यको अवधारणालाई यही समूहको दबाबमा प्लेनमबाट ब्यूँताइयो र गणतन्त्र तथा पूर्ण समानुपातिकको अडान नछाड्न प्रचण्डलाई विशेष निर्देशन दिइयो। साथै त्यसलाई अगाडि बढाउन जातीय सङ्गठनहरूसँग सहकार्य गर्ने निर्णय पनि गरियो। वार्ताको क्रममा समानुपातिक र संघीयताको अडान छाड्नाले दलित, जनजाति र मधेशबाट बढारिएको निष्कर्ष प्लेनमले अघि सार्यो। उल्लिखित मुद्दाहरूमा कुनै पनि हालतमा सम्झौता नगर्न र आफ्नो पुरानो हैसियत प्राप्त नहुँदासम्म चुनावमा नजान दिइएको निर्देशनलाई प्रचण्डले अवज्ञा गर्न सक्ने अवस्था नभएपछि अहिले माओवादी त्यही कार्यनीति अनुसार अगाडि बढिरहेको छ।
भूमिगतकालमा सर्वशक्तिमान प्रचण्ड कार्यकर्ता माझ् 'नेपाली माओ'को रूपमा चिनिन्थे। तर प्लेनमपछि पार्टीभित्र कमजोर भएपछि उनी अल्पमतमा पर्दै गएका छन्। पार्टीभित्र अलग धारका रूपमा उदाएका एक नेता भन्छन्, “चुनवाङ बैठकबाट हामीले प्रचण्डलाई राष्ट्रपतिको रूपमा सिँगारेर सार्वजनिक गरेका हौँ। तर उहाँ पनि अन्य दलका नेताहरू जस्तै सत्तामोहमा फस्नु भो।” ती नेताका अनुसार प्रचण्डले सम्झौताको नाममा पार्टीलाई कमजोर बनाउँदै लगेपछि उनी माथि नियन्त्रण शुरु गरिएको हो। उनको कडा टिप्पणी थियो, “यही तरिका रहेसम्म उहाँलाई धेरै दिन काँध थाप्न सकिँदैन।”
प्रचण्ड नजिक मानिने एक केन्द्रीय सदस्यको भनाइमा प्रचण्ड र बाबुरामले २ मङ्सिरमा नोबेल एकेडेमीका सञ्चालकहरूलाई वार्ताका लागि राजधानी झिकाउँदा एयरपोर्टबाटै हाईज्याक गरेर कुटपिट गर्ने योङ कम्युनिष्ट लीग (वाईसीएल) का उपत्यका इन्चार्ज सागर निमित्त मात्र थिए। त्यो घटना माओवादीभित्रको नेतृत्व विवादको एउटा परिणति थियो। ती नेताकोे भनाइमा त्यस घटना लगत्तै प्रचण्डले आफ्नो विश्वास पात्र वाईसीएलका अध्यक्ष गणेश पुनलाई बोलाएर सागर विरुद्ध तत्काल कारबाही अघि बढाउन निर्देशन दिएका थिए। सागरले त्यसपछि माफी पनि मागे। तर आफ्ना समर्थकले गल्ती गर्दा नबोल्ने प्रचण्डले आफ्नो आलोचक भएको कारण सागरलाई माफी मगाउन लगाएको भन्दै असन्तुष्टि उठेको थियो। बादलको नेतृत्वमा रहेको पूर्वी क्षेत्र अन्तर्गतको नोबेल एकेडेमी प्रकरणमा हेडक्वार्टरले हस्तक्षेप गरेपछि असन्तुष्ट पक्षले डा. ज्ञानेन्द्र कार्की लगायतलाई अपहरण गरी कुटपिट गरेका थिए।
बालाजु प्लेनमयता माओवादी कार्यकर्ताको उद्दण्डता देशव्यापी रूपमा बढेको देखिन्छ। युद्धकालमा सत्ताको शून्यता बढाउन गरिने यस्ता आक्रमण रोक्न प्रचण्डले दिने निर्देशन प्रभावकारी नदेखिएकाले पनि पार्टीभित्र प्रचण्ड कमजोर हुँदै गएको छनक दिन्छ। केही नेताहरूका अनुसार माओवादीभित्र प्रचण्डका विचार र निर्देशनको अवज्ञा हुनुको एउटा कारण उनलाई मनोमानी गर्नबाट रोकिनु पनि हो। तर बादलले सम्हालेको सङ्गठन विभागमार्फत् 'प्रचण्ड सत्तामोहमा फसेर कार्यकर्तालाई धोका दिन खोज्दैछन्' भन्ने सन्देश तलैसम्म प्रवाहित गरिएको बताइन्छ। त्यसैले पार्टीभित्र प्रचण्डको आदेश नमान्ने कार्यकर्ताहरूको जमात बढ्दै गइरहेको छ।

किरण पाण्डे |
नेतृत्व परिवर्तन
केही समययता माओवादीभित्र प्रचण्डको भूमिका माथि खुल्लमखुल्ला प्रश्न उठाउन थालिएको छ। बालाजु प्लेनमअघि पार्टीलाई जानकारी नै नदिई सिलिगुढीमा पुगेर भारतीय गुप्तचर संस्था 'र' का प्रमुखसँग भेटेको कुरालाई लिएर स्पष्टीकरण मागिएपछि प्रचण्डले गल्ती स्वीकारेका थिए। पछिल्लो समय सात पटक भारतीय राजदूतावासमा गएको खुलासासँगै सेनाका जर्नेलहरूसँग पनि भेटेको कुरालाई सार्वजनिक गर्ने प्रचण्डको शैलीप्रति पनि पार्टीभित्र विवाद उठेको छ। पार्टीमा सल्लाह नै नगरी निर्णय गर्ने र त्यसबारे सार्वजनिक रूपमा बोल्नेे प्रचण्डको बानीले पार्टीप्रति नकारात्मक धारणा बढ्दै गएको भन्दै बैठकमा उनको आलोचना हुन थालेको छ। जिम्मेवार नेताले सामान्य कूटनीतिक मर्यादा विर्सेर हल्का रूपमा विषयलाई सार्वजनिक गरेको भन्दै विरोध हुने गरेको छ।
पार्टीभित्रको अन्तरविरोधलाई सन्तुलनमा राखेर आफ्नो स्थिति बलियो पार्न सार्वजनिक समारोहमा प्रचण्ड उग्र रूपमा प्रस्तुत हुन थालेको चर्चा पनि माओवादीभित्र हुन थालेको छ। जनमुक्ति सेना दिवसको अवसरमा चितवनको शक्तिखोरमा 'आवश्यक परे अझै ४० वर्ष लड्ने' भन्ने प्रचण्डको उद्घोष त्यही पृष्ठभूमिमा आएको बुझ्ाइ माओवादीभित्र छ। चितवनमा प्रचण्डले लडाइँ, सेना समायोजन र नौलो खालको सङ्गठित विद्रोहको कुरा एकैसाथ उठाए।तर प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै विप्लव भन्छन्, “अहिले नै सेना समायोजन पार्टीको नीति होइन, राजनीतिक समस्या नसुल्झ्िई सेना समायोजनको प्रश्नै उठ्दैन। त्यो संविधानसभापछिको एजेण्डा हो।”
अन्तरविरोध बढ्दै गएपछि माओवादीभित्र नेतृत्व परिवर्तनको कुरा पनि उठ्न थालेको छ। चुनवाङ बैठकले युवा नेतृत्वलाई अगाडि बढाउने निर्णय गरेको थियो। तर त्यसपछि नेतृत्व झ्न् केन्द्रीकृत हुँदै गएको छ। सन्तुलन मिलाउनका लागि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेको विप्लव पनि स्वीकार गर्छन्। माओवादीमा पार्टी अध्यक्षमा बाहुन–क्षत्री बस्नेे हो भने सरकारमा जनजातिलाई नेतृत्व दिनुपर्ने र बाहुन–क्षत्री सरकारमा जाने हो भने पार्टी नेतृत्व जनजातिलाई सुम्पनुपर्ने दबाब शुरु भइसकेको छ। यसअघि बारम्बार नेतृत्व विवादमा मध्यस्थकर्ताको भूमिका खेल्ने किरण आफैँले एउटा लबीको नेतृत्व गरिरहेकाले पनि माओवादीभित्र चर्किएको नेतृत्व विवाद सहजै समाधान हुने सम्भावना देखिँदैन। बरु संविधानसभाको चुनाव लगत्तै सन्तुलनको नाममा नेतृत्वमा फेरबदल हुने सम्भावना प्रबल छ।
चुनावमा जाने
माओवादी अहिले आफ्नो पक्षमा अनुकूल स्थिति बन्दै गएको विश्लेषणसहित चुनावमा जाने मूडमा देखिन्छ। हिजो हार्ने चुनावमा नगएको स्वीकार्ने माओवादी नेतृत्व अहिले स्थिति बलियो हुँदै गइरहेकोमा ढुक्क देखिन्छ। गणतन्त्रको सुनिश्चितता गर्दै समानुपातिक प्रणालीअन्तर्गत ८०–२० मा काङ्ग्रेस तयार भएमा चैतभित्र चुनावमा जान चाहेको माओवादीहरूको भनाइ छ। तर त्यसका निम्ति माओवादी आफूहरूसँग सहकार्य गरिरहेका जातीय मोर्चाहरू बीच गोलमेच सम्मेलन गराई उनीहरूबाट अनुमोदन गराउन चाहन्छ। हिजो उनीहरूको सल्लाह बिना गरिएको निर्णयले आफूहरू समुदायबाट टाढिएकोले यसपटक त्यही गल्ती दोहोर्याउन चाहँदैन, माओवादी।
त्यसका निम्ति सेना, विदेशी शक्ति, उद्योगी, पेशाकर्मीहरूलाई आश्वस्त पार्न उनीहरूसँग नेतृत्वले निरन्तर संवाद गरिरहेको र त्यसबाट नेतृत्व सन्तुष्ट रहेको एक केन्द्रीय सदस्य बताउँछन्। माओवादीलाई आफ्नो आतङ्ककारी सूचीमा राखिरहेको अमेरिकाले समेत हालै माओवादी सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा र केन्द्रीय सदस्य सुरेश आले मगरलाई भीसा दिएको प्रसङ्गलाई माओवादी नेताहरू अमेरिकासँग सम्बन्ध सुधि्रएको भनेर चर्चा गरिरहेका छन्। प्रधानसेनापतिको रोलक्रममा रहेका कुलबहादुर खड्कालगायतका जर्नेलहरूसँग गोप्य वार्ता गरिसकेका माओवादी नेताहरू उनीहरूको प्रस्तुतिबाट सन्तुष्ट नै देखिन्छन्। नेपाल प्रहरीसँग राम्रो सम्बन्ध बनाइसकेको माओवादी सेनासँग पनि सम्बन्ध सुधारिनेमा विश्वस्त छ।
राजनीतिक रूपले विभिन्न जातीय मोर्चाहरूसँग गठबन्धन गरेर अघि बढिरहेको माओवादीको विश्लेषणमा गणतन्त्र भन्दा पूर्ण समानुपातिकको अडानले उपलब्धि भइरहेको छ। विप्लव भन्छन्, “यस्तो वातावरणमा पनि चुनावमा गएनौँ भने हामीलाई नै घाटा पर्छ र विदेशीहरूले पनि वैकल्पिक शक्तिलाई काखी च्याप्ने डर हुन्छ।” |